गायक प्रकाश सपुत विवादमा तानिएका छन्। सामाजिक सञ्जालहरूमा ४ महिना अघि बसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको एक इनारमाथि चढेर ‘कमाउने नि हो, रमाउने नि हो’ तीज गीतमा डान्स गरिरहेको म्युजिक भिडियोको एक क्लिप भाइरल भएपछि गायक सपुत विवादमा तानिएका हुन्।
सामाजिक सञ्जाल ट्विटर प्रयोगकर्ताले ४ महिनाअघि उनले बनाएको म्युजिक भिडियोको सो क्लिप ट्विट गरेसँगै प्रयोगकर्ताहरू गायक सपुतविरुद्ध खनिएका छन्। सो क्लिपमा गायक सपुत मोडल विश्वकर्मासँग बसन्तपुर क्षेत्रमा रहेको कुमारी घर नजिकको मल्लकालीन इनारमाथि चढेर डान्स गरिरहेका छन्। कोरियोग्राफर शंकर बीसीले सिकाएको डान्सको स्टेप पछ्याउँदै गायक सपुत र मोडल विश्वकर्मा गीतमा नाचिरहेका देखिन्छन्। परम्परागत रूपमा जीवित देवी कुमारीको निजी इनारमाथि चढेर भिडियो खिचेको दृश्यका कारण फेरि गायक सपुत विवादित बनेका हुन्।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गायक सपुतले नेवाः सभ्यता र संस्कृतिको अपमान गरेको जनाएका छन्। हिउँदमा जीवित देवी कुमारीले सो इनारको पानी प्रयोग गर्ने हुँदा गायक सपुतले अराजकता फैलाएको तर्क प्रयोगकर्ताहरूले गरेका छन्।
‘नेवाः सभ्यता र संस्कृतिसँग जोडिएको मल्लकालीन समयमा बनाइएको जीवित देवी कुमारीको निजी इनारमाथि चढेर कलाकारहरूले नाचिरहेको भिडियोले हामीलाई आघात पु¥याएको छ,’ कुमारी घरका चिताइदार (संरक्षक) तथा इन्द्रजात्रा व्यवस्थापन समितिको अध्यक्ष गौतम शाक्यले भने, ‘जीवित देवी कुमारीले पानी प्रयोग गर्ने भएकाले ताल्चा लगाइएको इनारमाथि चढेर नाचेर कलाकारहरूले नै नेवाः सभ्यतामाथि व्यङ्ग्य गरेका छन्। यस किसिमको हर्कत कसैलाई मान्य हुन सक्दैन्।’
उनका अनुसार जीवित देवी कुमारीले प्रयोग गर्दै आएको इनारको संरक्षण र प्रयोगका लागि गुठी समेत सक्रिय छ। ‘हामीले पटक–पटक सो इनार संरक्षणको लागि काठमाडौं महानगरपालिकालाई ध्यानाकर्षण गराएका थियौँ,’ उनले भने, ‘महानगरबाट बेवास्ता हुँदै आएको छ। सो गुठीले हरेक वर्षमा दुई पटक सो इनार खोलेर पूजा गर्ने गर्दछौँ।’ उनका अनुसार मंगलबारमात्र सो इनार खोलेर पूजा गरिएको थियो।
बसन्तपुर क्षेत्रमा रहेको सो इनारमाथि चढेर कसैलाई म्युजिक भिडिया खिच्न अनुमति नदिएको जानकारी हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए। ‘हामीले काल भैरव र कुमारी घरको बाहिर म्युजिक भिडियो खिच्न अनुमति दिएका थियौँ। इनारमा चढेर भिडियो खिच्न अनुमति नै दिएका थिएनौँ। कलाकारहरूले गमला राखिएको इनारमाथि चढेर डान्स गरेको भिडियो देखेर आश्चर्यमा परेका छौँ।’
काठमाडौं महानगरपालिकाले केही समययता बसन्तपुर क्षेत्रमा फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री र सर्ट फिल्मलगायतको सुटिङको लागि नियम पालनासहित शुल्क लिदैं आएको छ। ‘विश्व सम्पदा सूचीमा रहेको बसन्तपुर दरबार क्षेत्रमा भइरहेको उच्छृङ्खल गतिविधि रोक्न नसक्दा नेवाः संस्कृतिमाथि आघात पुग्न गएको हो,’ काठमाडौं महानगरपालिका वडा नं. २३ का अध्यक्ष मचाराज महर्जनले भने, ‘यस क्षेत्रमा परिचालित नेपाल प्रहरीले सहयोग र सहकार्य नगर्दा यस किसिमका गतिविधि गर्नेमाथि कारबाही गर्न सकिएको छैन। हामीले यस क्षेत्रमा व्यवसाय गर्नेलाई कारबाही गर्न सकेपछि धर्म र संस्कृतिमाथि आघात पु¥याउने किसिमको भिडियो बनाउनेलाई कारबाही गर्न सक्ने अवस्था छैन।’ उनका अनुसार केही दिनअघिमात्र चिया बिक्री गर्दै आएका एक व्यक्ति र टिकटक प्रयोगकर्ताले सो क्षेत्रका परिचालित महिला नगर प्रहरीलाई हातपात गरेपछि जनसेवा प्रहरीमा उजुरी दिँदा समेत कारबाही हुन सकेको छैन।
यसअघि गायक सपुत ‘सकम्बरी’, ‘गलबन्दी च्यातियो’, ‘फुटेको चुरा’, ‘कुरा बुझ्न पर्छ’ र ‘पीर’ लगायत गीतको म्युजिक भिडियोका कारण विवादित भएका थिए।
प्रकाशित: २० मंसिर २०८० १३:२६ बुधबार


-1200x560-600x400.jpg)


