१४ फाल्गुन २०८० सोमबार
कला

महक

कविता

मेरो नसिबमा तिमी छौ

त्यसैले कैयाैं जुनीले कोल्टे फेर्छ

तिमीलाई मेरो प्रियसी बनाउन!

म जन्म दोषले श्रापित छैन

मेरा हातका नाडीभित्र अपवित्र रगत बग्दैन

म सास फेर्दा रगतको घुट्को पिउँछु

जसरी मुटुले रगतको बूँद जुटाउँछ

ओहो म त एउटा ज्यूँदो मान्छे पो हुँ।

मेरो मनको भयले

मलाई भौतिकवादको गुफामा

कैद गरेको छ

जहाँ म र एक योगीले

आफ्ना शरीरका घाउहरू पखालेर

अमूर्त देवताको मन्दिर

र मूर्ति मात्र सम्झन्छौ।

देवतालाई आँखा जुधाउने त

साहसीको काम न हो!

मानिस कालखण्डमा

आश्चर्यहरू देखाउने त

मस्तिष्कको काम न हो!

हाडमाथि छाला झुन्डिएको

मनुष्य कंकाल हामी

‘बुद्धिको बाजी’ लाउने बुद्धिजीवी न हौं

जो देवताको नाम ‘हे शिव सम्भो’ भन्दै जप्छौं।

आखिर धार्मिक मन्त्र नै त हो त्यो नाम।

ओहो! देवताको माहात्म्य नगाउने  

कुनै पापी त हुँदैन नि!

मेरा हर मनोकाङ्क्षामा

म मेरा ‘परम देवता’ पाउँछु।

मैले तपस्या गरें-

ॐ अंधकार हरने नमः

ॐ पार्वतीपतये नमः

प्रभु प्रसन्न हुनुभयो

अनि आँखा उघारेर वरदान दिनुभयो,

तथास्तु! जे माग्छौ त्यो मिल्छ।

मेरो सामुन्ने उनी प्रकट भइन्।

उनको नजिक पुग्दा

उनको शरीरभरि अत्तर मगमगाउँछ

मेरी प्रियसीको ओठमा

बेग्लै महक छ।

ती योगी मेरी प्रियसी नै हुन् कि?

कि प्रेमको वासना मेटाउन भौतारिरहेकी

एक परनारी हुन्?

त्यही प्रेमिल अनुहार

मेरो सम्झनामा आइरहन्छ

किम्ती रत्न बनेर।

-सुरभि रेग्मी

प्रकाशित: १८ मंसिर २०८० ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App