१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

जेन दीपिका पहिलो ‘प्लस साइज मोडल’

मिलेको जिउडाल भएका युवतीहरू मात्र सुन्दरी प्रतियोगितामा सहभागी हुन्छन् भन्ने वर्षौंदेखिको मान्यतालाई यस वर्षको मिस युनिभर्सले तोडेको छ।

शनिबार सान साल्भाडोरमा आयोजित मिस युनिभर्सको ७२औं संस्करणको फाइनलको टप २० मा अमेरिकी मूलकी नेपाली प्लस साइज मोडल जेन दिपिका ग्यारेट पर्न सफल भएकी छन्।

गैर आवासीय नेपाली सहभागी हुन पाउने नियमका आधारमा नेपालको प्रतिनिधित्व गरेकी ग्यारेट मिस युनिभर्सजस्तो अन्तराष्ट्र्रिय प्रतियोगितामा भाग लिने पहिलो प्लस साइज मोडल भएकी हुन्। उनी मोटोपनका कारण जीवनका चाहना रोकिनु हुन्न, निराश हुनु हुन्न र आफ्नो शरीरलाई माया गर्नुपर्छ भन्ने विचारलाई वकालत गर्दै आएकी मोडल हुन्।

मोटोपनले न उनको सौन्दर्यको परिभाषालाई परिवर्तन गर्‍यो न उनको शारीरिक सक्रियतामा बाधा गर्‍यो।

‘सौन्दर्य प्रतियोगितामा ठुलो जिउडाल भएका महिलाहरू सहभागी हुनुहुन्न भन्ने मान्यता गलत हो,’ उनले भनिन्, ‘ठुलो जीउडालका कारण जीवनमा विभिन्न खुसीबाट टाढा भइरहेका महिलालाई मोटोपन समस्या होइन भन्ने सन्देश दिन चाहन्छु।’

चाँदनी बोहोरा र अमेरिकी नागरिक जोल डग्गलस ग्यारेटकी पहिलो सन्तान उनी पेसाले नर्स हुन्। निकट व्यक्तिहरूले राम्री हुन तौल घटाउन सुल्झाइरहँदा मोटी भएको भानले केही वर्ष उनी मानसिक रूपमा विक्षिप्त भइन्।

‘केही वर्ष अघिसम्म आफूलाई असुरक्षित महसुस गर्थें र आत्मबलसमेत कमजोर भएको थियो,’ उनले भनिन्, ‘अहिले म सबैभन्दा बढी आफैंलाई माया गर्छु र यो मेरा लागि सफलता हो। सुन्दरताको परिभाषालाई सीमित रूपमा वर्णन गर्न सकिन्न। हरेक महिला सुन्दर छन्।’

उनीबाहेक यस वर्षको मिस युनिभर्समा २ जना ट्रान्सजेन्डर महिला र २ आमाहरूसमेत सहभागी थिए। यस वर्ष मिस पोर्चुगल र मिस नेदरल्यान्ड्स मिस युनिभर्समा सहभागी हुने पहिलो ट्रान्सजेन्डर महिला भएका छन् भने मिस ग्वाटेमाला र कोलम्बियाको प्रतिनिधित्व गरेकी क्यामिला एभिला प्रतियोगिता सहभागी हुने पहिलो विवाहित महिला र आमाहरूले प्रतिस्पर्धा गरेका हुन्।

८४ देशको प्रतिनिधित्व रहेको मिस युनिभर्समा पहिलो पटक पाकिस्तानले सहभागिता जनाएको छ। यस वर्षको मिस युनिभर्सको उपाधि निकारागुआकी सेनिस पालासियोसले जितिन् भने थाइल्यान्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनरअप घोषित भइन्।

ग्यारेटले मिस युनिभर्समा भाग लिएसँगै अन्तराष्ट्र्रिय ब्युटी प्रतियोगितामा प्लस साइज मोडलमा सहभागी गराउने विषयमा विश्वव्यापी रूपमा बहस भइरहेको छ। स्विमवेयर राउन्डको र्‍याम्पमा उनले संसारभरको ध्यान केन्द्रित गरेकी थिइन्।

मिस युनिभर्समा सहभागी हुन तयार गरेको भिडियोमा उनले शरीरको साइजका आधारमा सुन्दरताको मापन गर्ने मापदण्डको विपक्षमा आफ्नो मत राखेकी छन्।

 ‘शरीरको आकारको आधारमा सुन्दरताको मापन हुनु बडी सेमिङ भएको हुँदा म यसको विपक्षमा उभिएको छु। यस विषयमा बहस हुनुपर्छ।’

यसअघि सन् २०१८ मा नेपालको प्रतिनिधित्व गरेकी मनिता देवकोटा मिस युनिभर्स प्रतियोगिताको टप १० मा परेकी थिइन्।

प्रकाशित: ४ मंसिर २०८० ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App