१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

तिहार, विज्ञान र ब्रेन

संस्कृति

नेपाली हिन्दुहरूको दोस्रो प्रमुख चाड तिहारको आफ्नै व्यावहारिक, सांस्कृतिक, वैज्ञानिक तथा मनोवैज्ञानिक महत्त्व छ। घरघरमा दीपहरूको झिलिमिलीद्वारा मनाइने भएकाले तिहारलाई दीपावली पनि भन्ने गरिन्छ।

कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म कागतिहार, कुकुरतिहार, लक्ष्मीपूजा (दिपावली), गाईतिहार र भाइतिहार (भाइटीका) गरेर पाँच दिनसम्म लगातार मनाइने यो चाड पूर्णरूपमा वैज्ञानिक तथा मनोवैज्ञानिक जगमा खडा भएको देखिन्छ।

तिहारको पहिलो दिन कागपूजामा घरआँगनको फोहोरमैला सफा गर्ने र किंवदन्तीअनुसार हुलाकीको काम गर्ने कागलाई थरीथरीका परिकारहरू खुवाएर कागपूजा गरिन्छ। कुकुरतिहारका दिन घरको रखवाली गर्ने कुकुरको पूजा गरेर कुकुर तिहार मनाइन्छ। मानिसको जीवनमा कुकुरको कति महत्त्व छ भन्ने कुरा त सर्वविदितै छ। लक्ष्मीपूजाका दिन धनकी देवी लक्ष्मीको पूजा र दिपावली गरेर मनाइन्छ।

मानिसको जीवनमा धनसम्पत्ति अत्यावश्यक कुरा हो। रूपैयाँपैसाबिना मानिसको जीवन चल्न सक्दैन। आम मानिसको कुरा त परै छोडौं, घरपरिवार त्याग गरेका सन्यासीलाई समेत पैसा आवश्यक पर्छ। पैसाको यही महत्त्वलाई ध्यान दिएर नै लक्ष्मीपूजाको सुरुवात भएको हो। लक्ष्मीपूजाको आफ्नै किसिमको विशिष्ट महत्त्व छ। यो व्यावहारिक र वैज्ञानिक कुरा पनि हो।

पौराणिक कथाअनुसार लक्ष्मी विष्णुकी पत्नी, धनकी अधिष्ठात्री देवी हुन्। अर्को शब्दमा भन्ने हो भने लक्ष्मीदेवी त्यतिबेलाकी अर्थमन्त्रीजस्तै हुन्। त्यसैले ढुकुटीको साँचो लिएर बसेकी लक्ष्मीको पूजा गरेपछि धनसम्पत्ति पाइन्छ भन्ने मान्यता बसेको हो। जस्तो कि अहिले जसले अर्थमन्त्रीको जति पूजा गर्न सक्छ, त्यति नै बजेट निकासा पाउँछ भन्ने कुरा त सबैलाई थाहा भएकै हो।

मनोवैज्ञानिक दृष्टिले लक्ष्मी तथा सरस्वतीजस्ता देवीदेवताहरू मानव मनमस्तिष्कमा गहिरो ज्ञान राख्ने ऋषिमुनिहरू (प्राचीन वैज्ञानिकहरू) को महान् मनोवैज्ञानिक आविष्कार हुन्। यस्ता मनोवैज्ञानिक टेक्नोलोजीलाई नै चलाखीपूर्ण ढंगले धर्मसंस्कृतिमार्फत् जनमानसको जीवनशैलीमा ल्याइएको हो।

लक्ष्मीपूजाको वैज्ञानिक तथा मनोवैज्ञानिक आधार भनेको नै न्यूरो–कन्डिसनिङ सिद्धान्त हो। यो सिद्धान्तलाई प्रसिद्ध मनोवैज्ञानिक पैवलवले कुकुरमा प्रयोग गरेर देखाएपछि यो सिद्धान्त पैवलवको क्लासिकल कन्डिसनिङ सिद्धान्तका नाउँमा चर्चित भएको हो। त्यसैले शान्त मनले एकाग्र भएर धनकी देवी लक्ष्मीको पूजाप्रार्थना गर्नुको एक मात्र उद्देश्य धन–मनस्थितिको मस्तिष्क पुनर्संरचना (बे्रन रिवाइरिंग) गर्नु हो। यो एकदम सम्भव र वैज्ञानिक कुरा हो।

मानव मस्तिष्कमा एक असाधारण र अद्भुत लचकताको गुण हुन्छ, त्यो गुणलाई स्नायुविज्ञानको भाषामा न्युरोप्ल्यास्टिसिटी भनिन्छ। मस्तिष्कको यही गुणका कारण नै मानिसको जीवनभरि नै मस्तिष्क पुनर्संरचना सम्भव हुन्छ।

मस्तिष्कको पुनर्संरचनामा मनको सबैभन्दा ठुलो हात हुन्छ। एक खुङ्खार डाँका रत्नाकर कसरी महर्षि वाल्मीकि भए? अंगुलीमालजस्तो हत्यारा कसरी बुद्धको चेला बन्न पुग्यो? के मस्तिष्क पुनर्संरचनाबिना यो सम्भव थियो? कदापि थिएन।

सिद्धार्थ गौतम पनि जन्मिँदै बुद्ध भएका होइनन्, ध्यानद्वारा मस्तिष्क पुनर्संरचना गरेर महात्मा बुद्ध भएका हुन्। अतः ध्यान मन प्रशिक्षणको एक सर्वोत्तम मनोवैज्ञानिक विधि हो। ध्यानको यही महत्त्वलाई बुझेर नै प्राचीन ऋषिमुनिहरूले धर्म र चाडपर्वका माध्यमबाट यसलाई मानिसको दैनिक जीवनमा ल्याएका हुन्।

पूजापाठ गर्नु, प्रार्थना गर्नु, भजनकीर्तन गर्नु तथा निधारमा टीका लगाउनुको कारण पनि ध्यान नै हो। मनको प्रशिक्षण हो। निधारमा टीका लगाएपछि ध्यान कहाँ जान्छ, निधारमा। होइन र?

गाईतिहारका दिन गाईको पूजा गरेर मनाइन्छ। गाई हिन्दुहरूका लागि आमा जस्तै हुन्। त्यसैले गाईलाई गौमाता भन्ने गरिन्छ। लक्ष्मी पनि भन्ने गरिन्छ। कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घरआँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठा, चोटा पवित्र तुल्याउने तथा पञ्चामृत र पञ्चागम्यको प्रयोग गर्ने हिन्दुहरूको संस्कार छ। गाईलाई पशुधनका रूपमा पनि लिइन्छ।

शास्त्रमा भनिएको छ, जसमा माला र जुरो हुन्छ, त्यो नै गाई हो। स्थानीय गाई, गोरुमा जुरो हुन्छ। स्थानीय गाईगोरु प्राकृतिक हुन् भने जर्सी गाईगोरु कृत्रिम हुन्।

स्थानीय गाईगोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई तान्ने (अवशोषण) काम गर्छ। यो जुरोलाई सूर्यकेतु नाडी भनिन्छ। सूर्यकेतु नाडीले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रूपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ।

यसरी प्रकट भएका शक्ति र ऊर्जाले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्त्व प्रदान गर्ने भएकाले गाईको दुध, दही, घिउ, गहुँत र गोबर पवित्र मानिएको स्थानीय गाईको अध्ययन अनुसन्धानमा लागेका वैज्ञानिकहरूको दाबी छ।

शास्त्रअनुसार परापूर्व कालमा जंगलमा आश्रम बनाएर बस्ने ऋषिमुनिदेखि श्रीकृष्णले समेत गाईको सेवा गर्थे। ऋषिमुनिले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दुधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिक अनुसन्धानबाट प्रमाणित हुन थालेको छ।

गाईको दुध जति पोसिलो हुन्छ, त्यति नै गाईको पिसाब र गोबर गुनिलो हुन्छ। वास्तवमा गाई एक औषधालय हो। हिन्दुहरूको जीवनमा गोरुको पनि कम महत्त्व छैन। त्यसैले गोरुतिहार र गाईगोरुको संरक्षण तथा संवृद्धिका लागि गोवद्र्धन पूजा गर्ने चलन चलेको हो।

तिहारको अन्तिम दिन भाइटीका पर्छ। भाइतिहारमा दिदीबहिनी, दाजुभाइ जम्मा भएर अष्ट चिरञ्जीवी (अश्वत्थामा, बलि, व्यास, हनुमान्, विभीषण, परशुराम, प्रह्लाद) र यम-यमुनाको पूजा गरी दाजुभाइलाई दिदीबहिनीले निधारमा मंगलटीका र कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिएर मनाउने गरिन्छ। भाइटीकाले दिदीबहिनी तथा दाजुभाइबिचको प्रेमलाई अझ प्रगाढ र सुमधुर बनाउन सघाउँछ।

दसैंतिहार होस् वा कुनै पनि बेलामा होस्, निधारमा टीका लगाउने प्रचलन हाम्रा ऋषिमुनि (प्राचीन वैज्ञानिक) हरूको महान् आविष्कार हो। निधारमा टीका लगाउनुको वैज्ञानिक महत्व छ।

दुई आँखीभौंको बिचको भाग अर्थात् भृकुटी, जहाँ टीका लगाइन्छ, त्यो पिनियल ग्लैन्डको केन्द्र (योग विज्ञानअनुसार आज्ञा चक्रको केन्द्र वा त्रिनेत्र) हो। त्यसैले यस केन्द्रमा टीका लगाउनाले आज्ञा चक्र वा पिनियल ग्लैन्ड सक्रिय हुन्छ, जसले गर्दा मस्तिष्क शक्ति तथा चेतना शक्ति बढ्छ। यो वैज्ञानिक तथ्य हो।

अतः तिहार विज्ञानमा आधारित सांस्कृतिक उत्सव हो। त्यसैले यस पवित्र सांस्कृतिक उत्सवलाई मौलिक रूपमा मनाउनुपर्छ। आधुनिकताको लहडमा यस पर्वमा विकृतिहरू भित्रिन दिनुहुँदैन। तिहारका नाममा जुवातास खेलेर परिवारलाई नै उठिवास गराउने तथा अत्यधिक मात्रामा जाँडरक्सी सेवन गरेर दुर्घटना निम्ताउने जस्ता कार्य गर्नु हुँदैन।

तिहारमा घरलाई झिलिमिली बनाइ पूजाआजा गर्ने तथा टीका लगाउनुका साथै भैलो र देउसी खेल्ने परम्परा छ। देउसीभैलोको पनि आफ्नै सामाजिक तथा मनोवैज्ञानिक महत्त्व छ। यो परम्परा मनोरञ्जनका साथसाथै सामाजिक सद्भाव विकासका लागि सुरु गरिएको अनुमान गर्न सकिन्छ।

शब्दकोशका अनुसार कात्तिक कृष्ण औंसी र गाईतिहारका दिन लक्ष्मीपूजाको उपलक्ष्यमा गाइने विशेष किसिमको गाथा वा गीत र त्यस्तो गीत घरघरमा गाउँदै हिँड्दा श्रद्धाले दिइएको चिज लिँदै हिँड्ने-सांस्कृतिक उत्सव मनाउने काम भैलो हो। भैलो लक्ष्मीपूजा गरेपछि मनाउने चलन हो।

लक्ष्मीपूजाको वा गाईतिहारको भोलिपल्ट र पर्सिपल्ट (भाइटीकाको दिन) घरघर घुम्दै एउटा (नायक)ले भट्याउँदै सहयोगीहरूले सम्याउने आसिकसूचक गाथा र सोही गाथामार्फत गाउँदै माग्दै आसिक दिने काम देउसी हो। देउसी र भैलो अलग-अलग किसिमका सांस्कृतिक उत्सव हुन्। 

प्रकाशित: २५ कार्तिक २०८० ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App