१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

डा. श्रेष्ठकाे बोकाको खुसी लघुकथासंग्रहमाथि पाठकीय दृष्टि

पुस्तक

डा. शेखरकुमार श्रेष्ठको बोकाको खुसी लघुकथासङ्ग्रहले भर्खरै मात्र लघुकथालय पुरस्कार-२०८० सम्मान हात पार्न सफल भएको छ।

हाम्रो लघुकथा केन्द्रका उपाध्याक्ष डा.शेखरकुमार श्रेष्ठ समालोचक,प्राध्यापक, लेखक एवम् अनुसन्धानकर्ता पनि हुन्। ५० को दशकको उत्तरार्धबाट लघुकथा लेख्ने लघुकथाकार डा .शेखर एक लगनशील र इमान्दार व्यक्ति हुन्।

२०५८ सालमा कृष्ण कँडेलद्वारा सम्पादित संवेदन स्वरहरू लघुकथासङ्ग्रहमा कसले बुझ्ने? र दिनदिनै   शीर्षकको  दुई लघुकथा प्रकाशित  गरेर लघुकथाको यात्राराम्भ गर्ने डा. शेखरका आजसम्म  सगरपुर, बोकाको खुसी र छाता तीन  लघुकथासङ्ग्र प्रकाशित छन्।

युद्धको मैदानमा दुई पक्षले आँखा चिम्लेर बर्साएको गोला बारूदले  ध्वस्त निम्याएको भाव बटुलेको दुखान्त विषयभावको लघुकथा  जिम्मेवार को? नै उनको पहिलो लघुकथाको हो भनेर सर्जकको ठम्याइ छ।

लघुकथासङ्ग्रहकाको साथ  उनले सेतो हिमालमून्तिर, पूर्णिमाको  राति, रोपाई, रमाइलो पहाड, मृत्यु उत्सव होस्, गोदाबरी मेला र दक्षिणकाली नगरका तीर्थस्थल, कमिलाको जन्ती, धन्यवादका पात्र जस्ता  बालकथा, बालकविता, निबन्ध र कविता कृतिहरू प्रकाशन गरेका छन्। साथै सिद्धिचरणका खण्डकाव्यमा क्रान्तिचेत,  समालोचना  र पौरषत्व दर्शनमा उनले विद्यावारिधि  गरेका छन्।

२०३१ साल माघ २९ गते फर्पिङमा उनको जन्म भएको हो। लक्ष्मी श्रेष्ठ एवं नारायणबहादुर श्रेष्ठका सुपुत्र डा. शेखरले  नेपाली विषयमा एमए/एम एड गरेका छन्।

हाम्रो लघुकथा केन्द्रमा आबद्ध शेखर भाइ र म सहकर्मी हौ। यसले पनि होला,  पुरस्कारको खबरले म आह्लादित हुनु भनेको स्वभाविक थियो। यद्धपि पुस्तक गत वर्ष हात परेको थियो र पनि मानौँ, पढने समय जुरेको थिएन। पुरस्कृत पुस्तक भनेपछि म चूप रहन सकिँनँ र  पुस्तकका पाना पल्टाउन थालेँ।

अक्षरधाम प्रकाशन प्रालि काठमाडौं  वितरक,  नीरबहादुर याक्खाको आवरण चित्र रहेको यस पुस्तकको मूल्य २ सय रुपैयाँ रहेको छ।

साहित्यकार विधान आचार्यको भूमिका रहेको छ। सुसेली साहित्यिक प्रतिष्ठानद्वारा प्रकाशित बोकाको खुसीमा ५२ लघुकथा सङगृहीत छन्।

पहिलो लघुकथा  साधनमा  पौराणिक पात्रहरू खडा गरेर आजको मानवको स्वार्थी प्रवृत्ति देखाइएको छ। गन्तव्य प्राप्तिको लागि साधनको महत्त्व सबैलाई हुन्छ तर खोला तर्‍यो,  लौरो बिर्सियो भनेझैं कार्य सिद्धिपछि साधन ओझेलमा पर्ने सत्य भाव प्रस्तुत गरिएको छ। बौद्धिक चिन्तन, तर्क र संवादले  लघुकथा  गहन बनेको छ।

त्यसैगरी क्रमशः पूजा लघुकथामा प्रलयको सम्भावनामा शक्तिको पूजा हुन्छ भन्ने भाव झल्किएको छ। भविष्यको काममा शिक्षित बेरोजगारीको पीडा, सिकाइ १ मा  बालबालिकाको शिक्षाप्रति वितृष्णा भाव  र सिकाइ २ मा कर्मले भाग्य निर्माण गर्छ भन्ने सन्देश दिएको छ।

खहरे रातो भेलमा युवती बलात्कृत भएको घटनालाई  प्रस्तुत गर्न सशक्त बिम्बको प्रयोग भएको छ। एकल महिलाको पीडालाई आमा लघुकथाले उजागर गरेको छ। मायामा आदर्शवादी पात्रहरू खडा गरेर त्याग र समर्पणको भावना प्रस्तुत गरिएको  छ।

साँचो सिकाइमा नाटकीय शैली प्रयोग गर्दै सिक्ने आधारहरू पहिल्याएको छ। बिम्बको प्रयोगबाट स्वदेशमा रोजगारीको चाह प्रस्तुत गरिएको छ, केतुकेको बोट लघुकथामा।

आवश्यकता लघुकथा  विज्ञापनको नवीन शैलीमा बुनिएको छ। मेरो गन्तव्यले  विकृति फालेर धर्म र संस्कृति जोगाउने आह्वान गरेको छ।

कर लघुकथाले संगठित भिखारीहरू र राज्य पक्षबाट लाग्ने करप्रति संकेत गरेको छ। कागजको जङ्गलमा  बिम्बको प्रयोग गरेर अरूको भाग खोस्ने प्रवृत्तिमाथि प्रहार छ। भविष्यको आवाजमा साहित्यिक व्यङ्ग्यले समाज हल्लाउने विषय प्रष्फुटित भएको छ। नेताज्यू म के भनौं? लघुकथा शीर्षक र आयामले बिस्तार भएको छ। जसमा घुस र कमिशनतन्त्रको खेल प्रस्तुत गरिएको छ।

आन्दोलन लघुकथाले अराजकताप्रति सङ्केत गरेको छ। अमेरिकी भाञ्जा आयामको  दृष्टिले विस्तार भएको छ, जसमा  विदेशमा हुर्किएका केटाकेटीलाई कुवाको ब्याङ्गको रूपमा प्रस्तुत गरिएको छ। वैध सिकारीले अधिकारको दुरूपयोगबारे बोलेको छ भने निर्णयले पत्रकारहरूको योग्यतामाथि प्रश्नचिन्ह खडा गरेको छ।

नयाँ कविले मृत्युपछि गरिने चाहना प्रवृत्तिप्रति व्यङ्ग्य हानेको छ। भिखारी आयामको हिसाबले बिस्तारित छ जसमा झोलेहरूलाई प्रहार गरिएको छ। नव मोतीको सम्मान शीर्षक र आयाम बढी तन्किएको छ जसमा गर्नेभन्दा गराउने महान हुन्छ र नामका लागि काम गर्ने होइन भन्ने सन्देश प्रवाह गरेको छ।

तिजको व्रतमा धर्मप्रति हुने आडम्बर, सङ्गत लघुकथामा कुसङ्गतले घर बिगार्छ, साथीहरूको लहैलहैमा लागेर स्वच्छन्द बन्नु हुँदैन भन्ने  गतिलो सन्देश दिएको छ। नेपाली लघुकथामा विकास विरोधी नेतृत्व चरित्रमाथि व्यंग्य छ।

महादेवको आशीर्वाद रोचक शैलीमा प्रस्तुत भएको छ जसमा आफूले दिएको वचन आफैँमा फर्किंदाको  बिल्लीबाठ अवस्थालाई दर्शाएको छ। छाता लघुकथामा मीठो  संवाद शैली प्रस्तुत भएको छ जुन लघुकथामा जीवनको गाडी हाँक्न पुरुष र महिलाको साझा भूमिका हुन्छ भन्ने सत्यभाव प्रस्तुत भएको छ।

मायाको चिनो लघुकथामा बिहेपूर्व अरूको गर्व बोकेर आठ महिनामा सन्तान जन्माउँदा परिवारमा कसैलाई छनक नभएको तर स्वयं आमाले  त्यो सन्तान आफ्नो मायाको चिनो हो भनेर स्वीकारेको देखाइएको छ। यसको समापनले झसङ्ग पारेको छ।

उसले दिएको चश्मा लघुकथा चेतनामूलक लघुकथा हो। यसमा चस्मालाई बिम्ब बनाएर सन्तोष र विरोधी चरित्रलाई उदाङ्गो पारिएको छ। नारीमा नारी सहिष्णुताको पराकाष्ठा झल्काइएको छ। लघुकथा बढी  बिस्तार भएको छ।

नेपाली थिइन् लघुकथामा नेपाली हुनु पहिचान झल्किएको छ। बिदाको उपयोगले फुर्सदको समयलाई सकारात्मक र सिर्जनात्मक कार्यमा लगाउने गतिलो सन्देश प्रवाह गरेको छ। फूलको पीडामा फूल र काँडालाई बिम्ब बनाएर नारीमाथिको यौनहिंसा प्रस्तुत गरेको छ।

शान्तिका लागि लघुकथामा  मानवको सिङ्गो जीवन दर्शन व्यक्त भएको छ। कालखण्ड लामो छ। जीवनभर शान्तिको खोजीमा भौतारिंदा  पनि शान्ति नपाइने सत्यभाव व्यक्त भएको छ।

लगानी लघुकथाले जीवनको उत्तरार्धमा आत्मज्ञानको शिक्षामा धन र मन लगानी गर्ने भाव व्यक्त गरेको छ। प्रेम लघुकथामा  पागलप्रेमीको बेहाल प्रस्तुत गरिएको छ।

पाप छैनमा वंश बँचाउन एउटी महिलाको देन र भूमिका, लोभले  लोभ र असन्तोषको परिणाम, शिक्षाले नयाँ पिंढीको शिक्षाप्रतिको  दृष्टिकोण, पीडामा कुमारी आमाको सन्तान बेचिनु र बिहेपछि  उनको कुनै सन्तान नहुनुको पीडा व्यक्त भएको छ भने रावणका कुरामा  असत् रावणको सत् पक्षलाई  तार्किक शैलीमा उजागर गरिएको छ।

प्रमुख अतिथि लघुकथामा स्वार्थवश कार्यक्रममा प्रअ बनाउने गलत संस्कार कोट्याइएको, इरेजर नलगाइएको कागज लघुकथामा मायाप्रेममा पाइने आदर्शवाद झल्किएको,गिलासको पानीमा आवश्यकताले ठग्न सिकाउने यथार्थ भाव पस्किएको, प्रकृति लघुकथामा नारीको जीवनमा आउने परिवर्तन र समयअनुसार आफूलाई बदल्नुपर्ने  हुँदा नारी नै प्रकृति हुन् भन्ने भाव उजागर भएको, अर्ति लघुकथामा उपदेश दिन सजिलो तर पालना गर्न गाह्रो हुने सत्य भाव पस्केको छ।

बोकाको खुसी लघुकथा जुन किताबको नाम पनि यही लघुकथाबाट जुरेको छ। मान्छेको हिंसालु प्रवृत्तिप्रति छेड हानेको छ। दशैँमा बलि दिने चलन अनुसार गरिने हिंसाको भत्र्सना गरिएको छ। यद्यपि लघुकथा आयामको हिसाबले बिस्तारमा छ तर लघुकथा उत्कृष्ट छ।

मान्छे अजम्बरी छैन, एकदिन ऊ कसरी कहाँ मर्नुपर्ने हो ठेगान छैन तर  बोका मन्दिरमा देवताको अघिल्तिर प्राण त्याग्न पाउने अवस्थामा खुसी भएको भाव मार्मिक ढंगबाट लेखिएको छ। सर्जकले  बोका पात्रको माध्यमबाट प्रस्तुत गरेको चिन्तन र तर्कलाई सलाम!

मुसाको निर्णय लघुकथा व्यङ्ग्यपरक छ। पौराणिक पात्र  खडा गरेर वर्तमानको  राजनीतिमा घुसेका  मूसा  र न्याउरी मुसाको चटक देखाइएको छ। स्वतन्त्रता रोज्नुको परिणाम खोतलिएको छ।

यसैगरी म त्यस्ती केटी होइन लघुकथामा परिबन्दमा परेकी नारीको गुनासो व्यक्त छ भने अन्तिम लघुकथा सपनामा एउटी विवाहित महिलाको  घरपरिवार र  सन्तानप्रतिको चाहना र त्यो गुमाउनुपर्ने  अवस्थामा हुने भयको चित्रण गरिएको छ।

समग्रमा भन्नुपर्दा बोकाको खुसीभित्र समेटिएका अधिकांश लघुकथाले नेपाली सामाजिक परिवेश बोलेका छन्। नेपालको राजनीति र नेता चरित्रलाई घोचेका छन्। मानवीय संवेदना र मनोविज्ञानलाई उनिएका छन्।

प्रेम र मायाका भावहरू बुनिएका छन्। सत्य र असत्य बीचको द्वन्द भाव पोखिएका छन्। पात्रहरूको चयन गजबको सुन्दर छ। कतिपय लघुकथाहरू  शब्द सीमामा समेटिएका छैनन्। शीर्षक लामा र भद्दा पनि  बनेका छन्,  सार्थकता नपाएका  शीर्षक पनि अटाएका छन्। जे भए पनि कृति पठनीय छ , पुरस्कारयोग्य छ।

अन्त्यमा स्रष्टाका साहित्यिक आयाम अझ चुलियून् भन्ने शुभेच्छा!  

प्रकाशित: ८ कार्तिक २०८० ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App