१२ असार २०८१ बुधबार
image/svg+xml
कला

नानीहरूको दसैं

लघुकथा

मुग्लान पसेर सदा वर्षझैं दसैँमा घर आउने भीमबहादुर आफैं बिरामी परेको खवर आएपछि मनमाया चिन्तित हुन पुगिन्। मुखैमा आएको दसैंले उनलाई थप चिन्त्तित तुल्यायो। नानीहरूलाई जसोतसो एकसरो लुगासम्म सिलाइदिन भियाइन् तर मासु कसरी खुवाउने भन्ने चिन्ता पयो। समाधान गर्न छिमेकीहरूलाई आफ्नो बाध्यता देखाउने क्रममा सिरान घरे साहिंलाले आफ्ना पाहुना धेरै आउने भनेर तर्किए।

एकदुई जनाले ‘आशा त गरे भर नपरे है’ भन्ने सम्म झिनो आशा देखाएको हुँदा अष्टमीको दिन सानो थाल लिएर पुगिन् उनी। तर, च्याङ्ग्रा महँगो परेको हुँदा आफू पनि अरूसित बोकामा सहभागी हुन नपुगेको बाध्यता देखाएपछि रित्तो हात फर्किइन्।

जेठी र माइली त जसोतसो मान्लान् तर कान्छी अलि जिद्दी छे। मासु खान पाइन भने लडिबुडी खेलेर पूरै गाउँ नै उचाल्छे। यही सोच्दै आउँदै थिइन्। पाइला टक्क रोकिए। सोचिन्, ‘वीरेको घरतिर पसूँ मनकारी छन्  तर उसकी श्रीमती भोलि गाम गामै भन्दै हिंड्छे। प्याच्च वचन लगाइहाल्छे। त्यसैले उनले मुख फाल्न उचित देखिनन्। पोहरपरारकै वचनले पनि मन भरिएको थियो उनको।

आमाको निन्याउरो मुख देखेर जेठी छोरीले भनिन्, “आमा मासु नपाएको भए यही घरको भाले काटे हुन्न र?’’

माइलीले भनी,  “हुन्न-हुन्न! भाले काट्ने होइन बरु त्यो थारो पोथी काटे हुन्छ।’’, 

दिदीहरूको कुरा सुनेर बसेकी दस वर्षीय कान्छीले भनी, “भालेपोथी बेचेर फिस तिर्नु परेन? बाबा आएपछि मासु खाऊँला नि। हामीलाई आफ्नै बारीमा फलेको लौका र आलुकै तरकारी पकाएर दिए हुन्छ। दसैंमा मासु खानैपर्छ भन्ने के छ र?’’

 -राजु क्षत्री अपुरो

प्रकाशित: ८ कार्तिक २०८० ०५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App