दशैंलाई विभिन्न रूपमा अर्थ्याउने गरिन्छ। कसैले हर्षोल्लासको रूपमा लिन्छन भने कसैले दशाको रूपमा लिन्छन। जे होस् यो मान्छेको दृष्टीकोण हो। चाहेर नचाहेर जसरी होस दशैं सबैले मानेका छन्, चाहे यो सस्तो होस् या महँगो होस् यो सदभावको पर्व हो;
अहिले हामी एक्काइसौं सताब्दीमा छौँ। हरेक सताब्दीमा हामीलाई हाम्रा सँस्कार र सँस्कृतिले डोर्याइरहेका छन्। दशैं मनाउनु हाम्रो सँस्कार बनिसकेको छ। सँस्कारले भाषाको संरक्षण गर्छ भने प्रविधिले अन्वेषण नगर्नेहरुको भाषाको विनाश गरिरहेको छ।
दशैं इतिहासदेखि लिएर धर्म, नैतिकता, सहास, बहादुरीको संरक्षकको प्रतिक हो। मानिसहरू जो पनि कमजोर होइन शक्तिशाली बन्न चाहान्छन् र त्यसैका लागि संघर्ष गरेका छन्। कोही पनि कमजोर र निर्धाे बन्न चाहँदैनन् समय र परिवेशले बनाएको हो यस्तो अवस्थामा दशैंको भाइब्स भनेको उत्प्रेरणा र शक्ति प्रदान साथै हिम्मतिलो, आँटिलो बनाउने चुक औषधी हो। यो पर्वले कमजोर होइन साहासी बन्नुपर्छ भनेर देवीदेउताको माध्यमबाट वीरताको संकेत प्रदान गरेको छ।
दशैंलाई धेरै मानिसले आआफ्नो तरिकाले व्याख्या बिश्लेषण गर्छन्। जसले जसरी बिश्लेषण गरे पनि म भने यसलाई सदभावको पर्व भन्छु। म खोटाङमा या माझकिँरातमा बसोबास गर्ने क्षेत्रीको छोरो हुँ, त्यसमा पनि काजी खलक। म भाषा र साहित्यको अध्ययन गरेको मान्छे हो तापनि मेरो जीवनयापन बहुसाँस्कृतिक क्षेत्रमा छ। म बस्ने भूगोलमा राईको बाहुल्य छ, जसको किँरात धर्म र संस्कृति छ, सँगसँगै मगर, गुरुङ, क्षेत्री, बाहुन, तामाङ, विक., दर्जी, नेपाली, शेर्पा, भुजेल, माझी लगायतका जातहरुको बसोबास छ।
हामी सबैका रीतिरिवाज, धर्म सँस्कृति, चालचलन फरक ढंगले चलेका छन तापनि हामी एक अर्कामा सदभावपूर्ण व्यवहार गर्छौं। हामी एक अर्काको सँस्कार र सँस्कृतिलाई सम्मान गर्छौं। हामीले मान्ने दशैंमा दशैं नमान्ने दाजुभाइ, दिदीबहिनी आउनुहुन्छ र खुशियाली साटासाट गर्नुहुन्छ। जुन कुराले उत्साह थपेको छ। सबै जातिका मानिसहरु साकेलामा गएर नाच्छन्, ल्होसारमा गएर निम्तो मान्छन् दशैंमा पूजापाठ गर्छन यो नै हाम्रो सदभाव हो।
दशैंमा लगाउने रोटे पिङ र लिङगे पिङले हाम्रो आत्मा र भावनालाई जोडेको छ। जसरी लिङगे पिङको डोरी गाँसिएको छ र जसरी रोटे पिङको काठले चुकुल समेत ठोकेर सम्बन्ध दर्बिलो बनाएको छ त्यसैगरी हाम्रो सम्बन्धलाई दर्बिलो बनाउने काम दशैंले गरेको छ।
पिङमा चेली र माइती हुन्छन्। चेलीले रोटी पकाएर माइतीलाई दिन्छन् र माइतीले सकेको दान टीका लगाएर चेलीलाई दिन्छन्। यसले गाउँले दिदीबहिनी र दाजुभाइको बीचमा गाढा सम्बन्ध स्थापित गर्छ।
दशैं हिन्दूको मात्र नभएर सबै धर्मावलम्बीहरुले मानेका हुन्छन्। दशैंको पन्ध्र दिनले नै विशेष महत्व राखेको छ। क्षेत्री, बाहुन र अन्य केही जातिले दशैं अगाडि सराद्द गर्छन् भने मगरका धेरै जातिले षष्टी र सप्तमीका दिन सराद्द गर्छन् भने अन्य जातिहरुको पनि विशेष कार्यहरु गर्छन्।
सप्तमीका दिनको फुलपाती बडाइँ, भिउसिन पूजा, खेतिपातीको हेरविचार सबैको महत्व छ। अष्ठमीका दिनमा गरिने कालरात्रि पूजाको छुट्टै महत्व छ भने महानवमी र बिजया दशमीको आआफ्ना महत्वहरु छन। दशमीका दिन आफन्तसँग रातको समयमा गएर पिङ खेलेर भुइँ छोडनुपर्छ भन्ने मान्यताले ठूलो घर गरेको छ।
अर्को विशेषता भनेको यो मासु खाने पर्व हो। यसमा दिइने भोकले शक्ति प्रदान गर्छ भन्ने धार्मिक विश्वास छ। दशैँको जमरा स्वास्थ्य, आयु, धनसँग जोडिएको छ। दशैँलाई असत्यमाथि सत्यको विजयको रुपमा हेरिन्छ। त्रेता युगमा श्रीरामकी श्रीमती सीतालाई हरण गर्ने रावणलाई मारेको सम्झनामा यो चाड मानिन्छ।
दशैं हर्ष एवम् उल्लासको पर्व हो। यो खुशीको पर्व हो। यहाँ खानुसँग मात्र सम्बन्ध छैन आफन्तहरुसँग भेटघाट गर्नु, टीका लगाउनु, जमरा लगाउनु, पिङ खेल्नु र खुशियाली साटासाट गर्नु नै यसको प्रमुख विशेषता हो।
नवदुर्गा भनेका महिलाहरु हुन्। त्यसैले नवदुर्गाको पूजा गरी महिलाप्रति सम्मान गर्ने पर्वको रुपमा यसलाई लिइन्छ। दशैंमा लगाउने रातो टीका भनेको नवदुर्गाको प्रसाद हो।
दशैंमा महासरस्वतीको पूजा हुन्छ। यस दिन पढने व्याक्तिले पुस्तक, कपी, कलम इत्यादिको पूजा गर्छन्। मिश्रित फूलपातीले सामाजिक मिश्रण देखाएको हुन्छ। कुलदेवीदेउताको पूजा तथा आराधना गरी मनाइने पर्व दशैंले आफ्नो कूलपूजाको रक्षा गर्छ भन्ने जनबिश्वास छ। स्थानीय देवीदेउताको पूजा गरिन्छ। ठुलाबडाले दिएको आसिरबादले सही सँस्कार सिकाएको हुन्छ भन्ने जनबिश्वास छ।
हातहतियारको भन्डारण गरि बिश्वकर्माको पूजा गरिन्छ। बिश्वकर्माले बनाएको हतियार भन्डारमा लगेर राख्नुले जातिय सम्मान गरेको हुन्छ। टीका लगाउँदा वाचन गरिने स्लोकले जीवनमा बाँच्नका लागि उपयुक्त मार्ग देखाउँछ बहादुर बन्नु भनेर आसिरबाद दिइन्छ।। टीकाले मानिसको मस्तिष्कमा रहेको विकार हटाई पराक्रमी, पुरुषार्थी बनाउँछ। रातो, पहेंलो र सेतो टीका शान्ति एबम् समृद्दिका प्रतिक हुन। टीकाले मष्तिष्क, मन र विचारलाई शुद्ध गराउँछ।
दशैं सद्भावको पर्व हो। शक्ति उपासना र प्रकृतिको उपासनाको पर्व हो। यस पर्वले सबैलाई हर्ष र उल्लासको वातावरण सृजना गराउँछ। देश बिदेशमा रहेका सबै नेपाली आफ्ना बुवाआमा दाजुभाइ भए ठाउँमा वा मूल थलोमा गइ आफन्तसँग भेला भै यो चाड मनाउँछन्। समाजमा मितेरी साइनो हुन्छ त्यसैले मित बुवा, मितआमाको घरमा गै एक आपसमा आसिरबाद लिने र दिने काम गरिन्छ जस्ले शक्ति प्रदान गर्छ भन्ने जनविश्वास रहेको छ।
यो पर्वको नकरात्मकभन्दा सकरात्मक पक्ष ज्यादा छ। जुठो परेर दशैं मनाउन पाइएन भने मन नै खिन्न भएर घर भित्र बसेका घटनाहरु प्रशस्त देखिन्छ। यदि यस्ता पर्वहरु नहुने हो भने हामी बाँचेको सार्थकता नरहने भएकाले ज्ञान, बुद्धि र विवेकको लागि र आफन्तहरुसँगको भेटघाटका लागि अनि दुखसुखको भलाकुसारीको लागि पनि यो पर्व महत्वपूर्ण छ।
महत्वपूर्ण भएकै कारण मानिसहरु प्रशस्त खर्च गरेर टाढाटाढादेखि यो पर्व मान्न आएका हुन्छन्। त्यसकारण यो सदभावको पर्व हो। दशैँ बिनाको जीवनको परिकल्पना गर्न पनि सकिँदैन। यसको मूल्य र मान्यता झन बढ्दै गइरहेको छ। आस्था र विश्वास दिन प्रतिदिन बढदै गएको छ। दशैं पर्वको महत्व आफन्त गुमाएका वा आफन्तभन्दा टाढा रहेकाहरुलाई थाहा हुन्छ। बडादशैँको हार्दिक मङगलमय शुभकामना।
गोपाल बस्नेत प्रअ,श्री शारदा मा. वि. खार्पा खोटाङ।
प्रकाशित: ८ कार्तिक २०८० ००:५९ बुधबार