२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

याक्खाले ल्याए ‘झुटको पुलिन्दा’

साहित्यकार विक्रम याक्खाको लघुकथासंग्रह ‘झुटको पुलिन्दा’ लोकार्पण गरिएकाे छ।

लघुकथा समाज नेपाल,कोशी प्रदेशका अध्यक्ष ममता मृदुलको सभा अध्यक्षता तथा स्रष्टा समाज नेपालका अध्यक्ष एवं लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्य र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको विशिष्ट आतिथ्यमा कृतिको लोकार्पण भएको थियो।

कार्यक्रमका अभ्यक्ष ममता मृदुल, प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, विशेष अतिथि राधेश्याम लेकाली, लघुकथा समाज नेपालका निवर्तमान उपाध्यक्ष ध्रुव मधिकर्मी, निवर्तमान सदस्य दिव्य गिरी लगायतले कृतिको लोकार्पण गरेका थिए।

लघुकथा समाज नेपालका निवर्तमान सदस्य लघुकथाकार दिव्य गिरीले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए। उनले प्रविधिबाट अगाडि बढेका याक्खाका कृतिमा समेटिएका लघुकथाहरू विषयवस्तुको चयन, लेखन र प्रस्तुतिकरण सबै दृष्टिले उत्कृष्ट रहेको बताए। उनले कथामा सामाजिक, राजनीतिक, आर्थिक व्यंग्य सशक्त रहेको पनि बताए।

लघुकथा समाज नेपालका निवर्तमान उपाध्यक्ष ध्रुव मधिकर्मीले कथाकारले  केही कथामा सम्पादन गर्नुपर्ने ठाउँ छोडे पनि नौलो विषय समेटेको र विषय विविधताले लघुकथा कृति पठनीय बनेको बताए।

साहित्यिक पत्रकार संघका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकालीले लेखकको गृहजिल्ला संखुवासभामा माननीयको निर्वाचन गराउन गएको सम्झिदै राजनीति बेथितिको प्रसंग उप्काए, ‘म २०३८ सालमा लेखककाे जिल्लामा मानीनयकाे चुनाव गराउन गएकाे थिएँ। मुलुकमा अहिलेसम्म सुधारकाे केही संकेत देखिएकाे छैन। मुलुकमा राजनीतिक प्रतिबद्धता छैन। दैनिक लाखौंका हाराहारीमा नेपालीहरू विदेशिंदै छन्। यस्तो अवस्थामा लेखकको यस्तो कृतिले बाँच्न प्रेरणा दिलाएको पाइन्छ।’

उनले भने,  ‘लेखक नौलो हैन, पुरानै हुनु हुँदाे रहेछ। उहाँको रचना निकै लोभलाग्दो रहेछ।’

प्रमुख अतिथि लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कृतिकार याख्खालाई बधाई तथा शुभकामना दिएका थिए। उनले लोकार्पित कृतिबारे बोल्ने क्रममा आफ्नो विगत सम्झिए,‘हामीले पहिले केही नहुँदा लघुकथाका लागि गाली पनि सह्यौ। अहिले आधार तयार भएको छ, लघुकथा अभियन्ताले सजग हुनुपर्ने दिन आएको छ। राम्रो लेख्ने र हतार गरेर लेख्ने दुवै खाले लेखक बढेका छन्। लघुकथा छोटो छ भन्दैमा लेख्न सजिलो हुन्छ भन्नु भ्रम हो। छोटो नै चुनौतीपूर्ण हुन्छ, कठिन काम स्विकार्नु भनेको लघुकथा लेख्न थाल्नु पनि हाे।’

प्रमुख अतिथि श्रेष्ठले यो कृतिभन्दा अर्को कृति झन् उत्कृष्ट लेख्न पनि कथाकारलाई सुझाव दिए।

मलेसियामा बसेर नेपाली भाषा साहित्यका विविध विधामा कलम चलाउँदै आएका याक्खाको यसअघि ‘अतीत सम्झेर’ (उपन्यास,२०६४), ‘ए कान्छी’ (म्यूजिक भिडियो, २०७८), ‘गाजल हुँ तिम्रो आँखाको’ गीत र ‘कञ्चनजङ्घा सामूहिक लघुकथासंग्रह प्रकाशित छन्।

कार्यक्रममा पत्रकार तथा साहित्यकार राजेश खनाल, अतिथिहरू मधु पाठक, लघुकथा साैन्दर्यका संस्थापक श्रीराम राई, विक्रमभक्त जोशी, धवन्तरी मिश्र कात्यायन, मनीषकुमार शर्मा समित,अदिति श्रेष्ठ आदि लेखक साहित्यकारकाे उपस्थिति रहेको थियो।

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा समाजको कोशी प्रदेश अध्यक्ष ममता मृदुलले सामाजिक सञ्जालबाट चिनेका याख्खाको आग्रहमा कार्यक्रमकाे आयोजना गरेकाे बताइन्।

लाेकार्पित कृति पाल्पा, निस्दी गाउँपालिकाका वीरबहादुर सारू मगर (सारू) ले प्रकाशन सहयाेग गरेका हुन्। कार्यक्रममा विभिन्न लघुकथाकारहरूले कृतिका केही लघुकथा वाचन  गरेका थिए। लघुकथा समाज नेपालका केन्द्रीय उपाध्यक्ष तुलसीहरि कोइरालाले साे कार्यक्रम सञ्चालन गरेका थिए।

प्रकाशित: १ कार्तिक २०८० ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App