२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

नेपाली चलचित्र इमान्दार शिक्षकको कथा ‘कौसीद’

केही समयअगाडि काठमाडौँमा मिटरब्याजको समस्याबाट पीडित र सार्वजनिक विद्यालयका शिक्षकले जनजीविका र सामाजिक सुरक्षाको विषय जोडेर आन्दोलन गरे। यी दुई आन्दोलनको विषयलाई चलचित्रको पर्दामा देखिएको छ। यही मर्ममा आधारित रहेर कुमार भाष्करले निर्देशन गरेको चलचित्र ‘कौसीद’ गत शुक्रबारदेखि प्रदर्शनरत छ।

संस्कृत भाषामा ‘कौसीद’को अर्थ बैंकबाट लिइएको ऋणसम्बन्धी हो। मधेसको मिथिलानगरी जनकपुरमा जन्मेर हुर्किएका  निर्देशक भाष्करले सिङ्गो नेपालको समस्यालाई चलचित्रको विषय बनाए। केही पुस्तकलाई मैथलीमा अनुवाद र केही छोटा चलचित्रको निर्देशन गरिसकेका निर्देशक भाष्करको यो ठूलो पर्दाका लागि पहिलो काम हो।

‘मैले शिक्षकको समस्यालाई भोग्ने शिक्षक भेटेको थिएँ। छोरालाई उच्च शिक्षा पढाउनुपर्यो, छोरीको विवाह गराइदिनुपर्यो, घर बनाउनुपर्यो, यो बेला सम्झिने भनेको बैंक हो। तर यी सबमा एक इमान्दार शिक्षक एक्लो हुन्छ, त्यहीँ भोगाइ पर्दामा छ’, निर्देशक भाष्करले भने, ‘यसलाई मैले दुई वर्ष अगाडि नै लेखेर तयार गरेको थिएँ। अहिले यो समस्या सबैको आँखामा परेको छ। हामीले चलचित्रमार्फत आफ्नै समाजको मौलिक विषयलाई उठाउन खोजेका थियौँ।’

चलचित्रले एक शिक्षकको कथा व्यक्त गरेको छ। इमान्दार शिक्षकको भूमिकामा भोलाराज सापकोटा रहेका छन। उनको श्रीमतीको भुमिकामा श्रीमती ऋचा शर्मा र एक छोरा र एक छोरी छन्। छोरीको जन्मदिन मनाउने क्रममा घरबेटीले भाडाको विषय किचलो गरेपछि शिक्षक परिवारको जोडबलमा ऋण गरेर भए पनि घर बनाउन सफल हुन्छन्। श्रीमती, छोराछोरीको रहर हुँदै गर्दा सालोले बैंकमा चिनजान भएकाले सस्तो ब्याजमा ऋण मिलाइदिने भनेपछि शिक्षक सहमत हुन्छन्।

 

यद्यपि विद्यालयको तलबले घरखर्च टार्न नै धौधौ हुन्छ। इमान्दार भएकाले विद्यालयको विभिन्न निर्माणसम्बन्धी बोलपत्र, शिक्षक नियुक्तिका विषयमा उनले अनैतिक काम गर्दैनन्। यद्यपि बैंकको ब्याज तिर्न नसक्दा उनको नाम नै पत्रिकामार्फत खराब ऋणीको रूपमा प्रकाशित हुन्छ। त्यसपछि ती इमान्दार शिक्षकले के गर्छन् रु भन्ने विषयवस्तु नै चलचित्रमा देखाइएको छ।  

‘यो कथाले आकर्षित गरेर मैले काम गरेको हुँ। यस्ता चलचित्र नेपालमा कमै बन्छन् र बनेकालाई एउटा कलाकारका हिसाबले हामीले हौसला दिनुपर्छ’, अभिनेता सापकोटाले भने। चलचित्रमा रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले समेत अभिनय गरेका छन्।

प्रकाशित: ३० आश्विन २०८० ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App