२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

पूर्वप्रधानमन्त्री चन्दको ‘अपराजिता’ सार्वजनिक

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपन्यास ‘अपराजिता’ सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा आयोजित एक समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उपन्यास ‘अपराजिता’ सार्वजनिक गरेकी हुन्।

पुस्तक सार्वजनिकपछि बोल्दै पूर्वराष्ट्रपति भण्डारीले लेखक चन्दले सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वको समयमा त्यहाँका जनताले भोग्नुपरेको दुःख र पीडाका कथाहरूको मार्मिक रूपमा चित्रण गरेको तर्क गरिन्।

उनले उपन्यासका पात्रहरूको माध्यमबाट लेखकले क्रान्तिको नाममा गरिने निर्दोष मानिसहरूको हत्या र हिंसाको विपक्षमा आफ्नो मत प्रकट गरेको जनाइन्।

‘यस पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनका माध्यमबाट सिंगो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवम् दार्शनिक मतलाई लेखक चन्दले सशक्त रूपमा प्रस्तुत गर्नुभएको छ,’ पूर्वराष्ट्रपति भण्डारीको भनिन्, ‘८० वर्ष नाघिसकेका लेखक चन्दको यस प्रकारको सक्रियताबाट नयाँ पुस्ताले पनि पाठ सिक्नुपर्छ।’

सो समारोहमा बोल्दै पुस्तकका लेखक चन्दले आफ्नो एउटा उपन्यास लेख्ने धोको भए पनि विगतमा समय अभावका कारण कथामा टुंग्याएको बताए। प्रस्तुत उपन्यास सिमल बुक पब्लिकेसनले प्रकाशन गरेको हो।

प्रकाशित: २७ आश्विन २०८० ०१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App