५ वैशाख २०८१ बुधबार
कला

जेलमा जन्मिएको सानो कमरेड

कथा

इलाम जेलमा सबै जना उठिसकेका थिए। म अल्छी मानेर ओछ्यानमा सुतिरहेकी थिएँ।

‘सुधा, तपाईंको चिठी आएको रहेछ।’

यसो सिरक उठाएर हेरें, सुनिता हातमा चिठी बोकेर उभिएकी रहिछन्।

‘बिहान बिहानै कहाँबाट आउँछ चिठी ? अफिस त १० बजे मात्र खुल्छ होइन?’ मैले भनें।

‘पल्लो जेल (पुरुष कारागार)बाट चौकीदारले अहिले नै दिएको रे।’

मैले उठेर चिठी हातमा लिएँ। छुट्टै शान्ति मिल्यो मनलाई। कैदीबन्दीको चिठी प्रशासनले पढिसकेपछि मात्रै दिने भएको कारण चिठीको खाम च्यातिएको रहेछ। मैले यस्तो चिठी कहिले आफै खोल्न पाउछु होला? अक्षर चिनेर, एकपटक छातीमा टाँसे। हृदयमा हलचल भयो। एक्कासि मुटुमा गाँठो परेजस्तै भयो। सुनिता अन्तै लागिन्।

म बिस्तारै चिठी पढ्न थालें।

‘प्रिय सुधा,

तिमीलाई कस्तो छ? मलगायत सपरिवारलाई ठिकै छ।

आफ्नो ख्याल गर। हेर न, भेट्न पनि आउन सक्दिनँ। टाढाको कुरा। फेरि आमाले घरबाट निस्कनै दिनु हुन्न। तिमीलाई थाहै छ, आमा कस्तो हुनुहुन्छ भनेर! निराश नहुनु। जीवन यस्तै हो। भौतिक रूपमा म उपस्थित हुन नसके पनि मेरो साथ सधैंभरि तिमीलाई। आशा छ, तिमी र म चाँडै भेट्ने छौं, देख्ने छौं। भेट्न आइनँ भनेर मन नदुखाउनू। एक दिन म आउनेछु। स्वास्थ्यको ख्याल राख्नू। निराशाहरू कुल्चिएर आशा लिई बढ्नू। हर समस्या र चुनौतीसँग सम्झौता गर्नू।’

लेख्न त धेरै कुरा लेखिएका थिए तर सारांशमा मैले यति बुझें र खासमा बुझ्नुपर्ने पनि यति नै थियो। चिठीका हरफ सरसर्ती पढें अनि रोएँ। म रोएकाले होला, पेटमा भएको बच्चा चलमलायो। म अलि सहज भएर भित्तामा अढेस लगाई बसें।

चिठीसँगै नयनको स्नेह, हृदय सबै पोको परेर आएको रहेछ। चिठी पेटमा राखेर बिस्तारै भनें, ‘तिम्रा बाबाको चिठी!’ बल्ल बच्चा अलि चलमलाउन छोड्यो।

माया भन्नु अनुभूति त रहेछ। रुँदारुँदै ९ बजिसकेछ।

‘अब त उठ्नु न। यस्तो बेला धेरै बेर सुतिरहनु हुन्न रे। यसो हिँडडुल त गर्न पर्छ,’ सुनिताले मलाई उठाउँदै भनिन्। मलाई रोएको देखेर उनी एकैछिन स्तब्ध भइन्।

‘कसको चिठी रहेछ सुधा?’

‘नयनको ।’

‘यसरी नरोऊ, फेरि यहाँ शंंका होला अरूलाई। पछि तिम्रो चिठी आउने बाटो पनि बन्द होला। भावनालाई एकातिर थन्क्याएर यथार्थसँग हात मिलाऊ। सुधा, विगतलाई भुल्दै, भविष्य सम्झँदै वर्तमानमा रमाउनुपर्छ हामीले ।’ सुनिताले मेरा दुवै हात  समातेर भनिन्।

‘तिमीजस्तो सबै बुझ्ने कहाँ भएकी छु र?’

‘बुझ्दै जानुपर्छ मान्छेले। हेर, तिमीले तिम्रा लागि भन्दा पनि यो हाम्रो सानो कमरेडका लागि बाँच्ने हो,’ सुनिताले यताउता हेरेर मेरो कानमा सुटुक्क भनिन्। जेलमा एक प्रकारले कमरेड शब्द उच्चारण गर्न पनि मनाही थियो। बोल्दा बोल्दै एक जना नाइके कोठाभित्र पसेका कारण हाम्रो कुरा हुन नै पाएन। म पनि उठेर धारातिर लागें। म हातमुख धोएर आउँदा सुनिताले मेरो सिरक पट्याएर राखिदिएकी रहिछन्। म फेरि ओछ्यानमा बसें। उनले तातो चिया र बिस्कुट ल्याएर अगाडि राखिदिइन्। उनी जहिले पनि मलाई खाना खान कर गर्थिन्। ख्याल गर्थिन्। सुनिताको घर पनि ओखलढुंगा तर उनलाई इलामकै आइतबारेस्थित आर्मीको चेकपोस्टबाट गिरफ्तार गरी इलाम जेल ल्याइएको थियोे। उनी आएदेखि मसँग नजिक भइन्। नयनकै जिल्लावासी भएकाले पनि उनी मलाई एक्लै भएका बेला ‘भाउजू कमरेड’ भनेर बोलाउँथिन्।

प्रत्येक दिन ४० रूपैयाँ जेलभत्ता पाइन्थ्यो। त्यो भत्ताको पैसाले उनी मलाई खानेकुरा किनेर खुवाउँथिन्। धनकुटामा भिडन्तमा परेर घाइते भएकी उनी देव्रे तिघ्रामा गोली बोकेर हिँडिरहेकी थिइन्। त्यो बिरानो ठाउँमा उनको र मेरो आफ्नो भन्नु हामी आफै मात्र थियौं। उनले मेरो ख्याल गर्थिन्। नयनको न्यास्रो उनले अलिकति मेटाइदिएकी थिइन्।

‘छिटो खाएर हिजोको टोपी बुनेर सक्नु है तपाईं,’ अलिकति हाँसेर भनिन् सुनिताले। मैले टाउको हल्लाएँ।

उनलाई मेरै चिन्ता थियो। त्यही भएर उनी टोपी, सल तानमा बनाउँथिन्।

‘खर्च चाहिन्छ नि हाम्रो सानो कमरेडलाई,’ सधैंभरि मेरो पेटमा हात राखेर भन्ने गर्थिन्।

यति गहिरो माया कसरी लाग्छ मान्छेलाई मान्छेको?

उनी भन्थिन्, ‘वर्गीय माया !’

म नबुझे पनि मुसुक्क हाँसिदिन्थें। उनको प्रेम र आत्मीयता गहिरो थियो, प्रिय थियो, हिसाबकिताब विहीन थियो। यति चाहिँ बुझ्थें म।

म चिया र बिस्कुट खान थालें। पेटमा बच्चा चलिरहेको थियो। बच्चा पनि ८ महिनाको भइसकेको थियो भने म गिरफ्तार परेको ५ महिनाभन्दा बढी भइसकेको थियो। चियामा डुबेर गलेको बिस्कुटलाई नियाल्छु। आफैलाई नमिठो लाग्छ।

बेलाबखत नयनको साह्रै अभाव महसुस हुन्छ। अनेक कुरा खान मन लाग्छ। कहिले रुन मन लाग्छ भने कहिले त्यतिकै रिसाउन मन लाग्छ। कहिलेकाहीं गोडा बेसरी सुन्निन्छन्।

 सुनिताले स्टोभमा तेल तताएर लाइदिन्थिन्। मलाई नयनको झल्को लाग्थ्यो। सुनिताले मलाई सधैंभरि जीवन र जगत्का बारेमा बुझाउँथिन्। मैले अहिलेसम्म भेटेका मान्छेमध्ये उनीजस्तो प्यारो मलाई कोही लागेकै थिएन। उनका कुरा नयनका झैं गहिरा र नबुझ्ने  लाग्थ्यो मलाई।

सुनिता प्रायःजसो मेरो पेटमा हात राखेर बच्चा चलमलाएको अनुभूति गर्दै भन्थिन्-नयाँ नेपालको परिवर्तनवाहक हाम्रो सानो कमरेड-अभिवादन ! उनको यो कुराले मलाई नयनको खुब झल्को दिलाउँथ्यो। ऊ पनि यसै भन्थ्यो-न्याय र क्रान्तिको गाथा गाउनेछ हाम्रो बच्चाले।

‘भयो, मलाई यी सबैदेखि पर गएर शान्तिसित बाँच्न मन छ,’ म उसलाई भन्थें।

‘क्रान्तिपछिको शान्ति सर्वप्रिय हुन्छ सुधा। हामीले पनि मुर्दा शान्ति चाहनु हुँदैन।’

‘म यस्तो कुरा बुझ्दिनँ।’

‘बिस्तारै बुझ्नुहुन्छ नि कमरेड।’

‘मलाई कमरेड नभन्नू।’

‘हवस्’ ऊ यति भनेर फेरि किताबमै घोत्लिन्थ्यो। प्रायः ऊ किताबको नै नजिक हुने गर्थ्याे।  म नामसालिङको एउटा घरमा बसेकी थिएँ। त्यो घरमा सधैंजसो पार्टीका कार्यकर्ताहरूको भिड नै हुन्थ्यो। शुक्रबारे बजारदेखि १ घण्टा टाढाको जंगलको बिचमा ४–५ घर थिए। मलाई तिनैमध्येको एउटा घरमा राखिएको थियो।

‘यो हाम्रो पार्टीको कार्यालय हो। यहाँका सबै जनता हाम्रो पार्टीका नै हुन्।’

कहिलेकाहीं पार्टीका नेताहरू पनि आउँथे।

नयन १०-१५ दिनमा आइपुग्थ्यो, नत्र चिठी आइपुग्थ्यो। चिठीमा सामान्य कुराहरू हुँदैनथे, गहिरा गहिरा क्रान्ति र परिवर्तनका कुरा हुन्थे तर मलाई उसले यस्ता कुराहरू नलेखोस् जस्तो लाग्थ्यो। मेरो चाहना थियो-ऊ मलाई माया मात्रै पठाओस् तर ऊ सधैं न्याय र मुक्तिको सपना पठाउँथ्यो चिठीमा। सुरु सुरुमा खुब रहर लाग्थ्यो नयनसँग हाँस्न, जिस्कन, घुम्न तर बिस्तारै बुझ्दै गएँ। ऊ त यी सबैबाट टाढा भएको मान्छे रहेछ।

हामी आम मान्छेभन्दा अलि भिन्नै। उसलाई पार्टीका सबैले खुब मन पराउँथे, सम्मान गर्थे, उसले पाएको सम्मान मसम्म पनि आइपुग्थ्यो। अरूलाई सम्मान गर्ने उसको व्यवहार साह्रै राम्रो लाग्थ्यो। म बसेको घरको ऊ एक सदस्यजस्तै थियो। घरकी आमाले उसलाई आफ्नै छोरा ठान्थिन्। त्यही भएर मलाई बुहारी भन्थिन्। म पनि घरमा काम सघाउँथें।

 गाईलाई घाँस काट्न, बारीको काम, घरभित्रको सबै काम गरेको देखेर आमा खुसी हुन्थिन्। खेतीपातीको काम त मैले बाल्यकालदेखि नै गर्दै आएको कुरा। मैले गाउँमा घाँसको भारी बोकेको देखेर गाउँलेहरू भन्थे–सुधाले एउटा पाखा नै बोक्छे।

बाध्यता थियो जति नै काम गरेपनि मैले वरको सिन्को पर सारेको नदेख्ने मेरा काकाकाकीमा। मलाई अनौठो लाग्थ्यो। पढ्दापढ्दैको कक्षा ८ को वार्षिक परीक्षा आउने बेला मेरा लागि स्कुल जाने बाटो बन्द भएको थियो। काकालाई मेरो कुनै चिन्ता थिएन भने अरू त धेरै परको कुरा थियो। ‘खानको भारी’, काकीले सधैंभरि वचन लगाउँथिन्। मलाई लाग्थ्यो– संसारमा बाआमा नहुनुजस्तो नमिठो कुरा अरू केही होइन रहेछ। बाबाको त मुखै देखिनँ। सानै हुँदा मलाई र आमालाई त्यो दुःखको भुंग्रामा छोडी राखेर घर छोडेर हिँडेपछि अहिलेसम्म बेपत्ता। पछि आमाले पनि मलाई छोडेर आफ्नो भविष्य खोज्दै अर्कैसँग बिहे गरेर गइन्। एकदुई पटक खुदुनाबारी (झापा) आइतबारे बजारमा चिया बेच्दै गरेकी आमालाई देखेकी थिएँ, भेटेकी थिएँ। आँखाभरि आँसु पारेर मेरो हातमा २० रुपैयाँको नोट र एक पोका बदाम राखिदिएकी थिइन्।

अहिले सम्झन्छु आमा खुसी थिइन् कि दुःखी?

पछि त बजार जाने मेरो कामै परेन। हजुरआमा बित्नु भएपछि मेरो बजार जाने अनि (जिलेबी) जेरी खाने रहर पनि सकिएको थियो।

त्यतिबेला आमा सधैं हजुरआमाको हात समातेर रुन्थिन्। खै के के भन्थिन्। हजुरआमा पनि आमाको चिया पसलमा चिया र चना, चिउरा खाएर आँखा पुछ्दै निस्कनुहुन्थ्यो। मेरो हात समातेर मलाई छातीमा टाँसेर रुँदै गरेकी आमालाई ‘मायाले संसार थाम्दैन रै’छ त ठुली’ भनेको सुन्थें। अनि हजुरआमाको पछि लागेर आमाले दिएको चुइगम खाँदै, पट्काउँदै म शान्तिपुर घरतिर लाग्थें।

‘कति पिटिटि पार्दो रै’छ यसले,’ सुनेपछि म बेला बेला हजुरआमाको मुखमा पुलुक्क हेर्थें ।

पछि नयनले भन्थ्यो, ‘जबसम्म महिलाहरूले क्रान्तिलाई आत्मसात गर्दैनन्, तबसम्म समाज परिवर्तन असम्भव छ।’

म त्यतिबेला मेरी हजुरआमालाई सम्झन्थें। त्यो समयमा एउटी सासूले अर्कासँग गइसकेकी बुहारीलाई सम्झाउनु, बुझाउनुजस्तो क्रान्ति अरू केही होइन जस्तो लाग्थ्यो। नयनको बोली–व्यवहारमा म मेरी हजुरआमाको अंश पाउँथें तर मैले बुझेसम्म पनि मेरी हजुरआमाजस्तो क्रान्तिकारी नयन कहिले पनि लागेन।

मेरो जीवनमा त्यस्तै एउटा संयोग बनेर आएको थियो नयन। सोच्दै नसोचेको, घर ठेगाना, जात र भविष्य केही थाहा नभएको मान्छेको पछि पछि लागेर म काकाको घर शान्तिपुरदेखि एकै रातमा नयाँबजार पुगेकी थिएँ। हजुरआमा बितेपछि मेरा दुःखका दिन सुरु भएका थिए। सुख त मेरा बाआमाको भागको अंशझैं रहेछ। मेरो भागमा मात्रै केही परेन। हजुरआमाको स्नेहका अगाडि आफूलाई सुरक्षित लाग्थ्यो। अब हजुरआमा नै नरहेपछि घर घरजस्तो थिएन।

काकाको घरमा प्रायःजसो माओवादी पार्टीका कार्यकर्ता आइरहन्थे, बसिरहन्थे, गफ गरिरहन्थे। देश, दुनियाँ बदल्ने कुरा गर्थे। मलाई लाग्थ्यो-देश बदल्ने मान्छेहरूले मेरा काकाकाकीको ढुंगाजस्तो मन किन बदल्न नसकेका होलान्?

यस्तैमा एकदिन नयन आइपुगेको थियो, जिल्लाको नयाँ इन्चार्ज भएर। मैले यस्तै सुनेकी थिएँ।

गम्भीर स्वभाव, अग्लो तर कसिलो शरीर, सानो चिटिक्क परेको नाक अनि ठुलो निधार, निधारमा सानो खत, अगाडितिर अलि लामो कपाल। झट्ट हेर्दा उसको शारीरिक बनावट  यस्तै थियो।

उसलाई हाँसेको खासै देखिनँ मैले। पुरानो भए पनि सफा कपडा र जुत्ता उसको अर्को परिचय। ऊ धेरै सफासुग्घर भएर बस्थ्यो। कि ऊ शान्त स्वभावमा गहिरा दर्शन र आदर्शका कुरा गरिरहेको हुन्थ्यो कि केही लेखिरहेको हुन्थ्यो वा पढिरहेको।

उसलाई देख्दा मेरो मनलाई एक प्रकारको शान्ति मिल्थ्यो। उसलाई भेट्दा हजुरआमाको न्यास्रो मेटिएजस्तो लाग्थ्यो।

मध्य सङ्कटकाल थियो। जताततै डरलाग्दो वातावरण। रेडियो सुन्दा हत्या, आतंक, धरपकड, बलात्कारबाहेक केही सुनिँदैनथ्यो। यस्ता समाचार सुनिरहँदा नयनको झल्को लाग्थ्यो। त्यो गम्भीर, निर्दोष र भलादमी मुहार आँखामा नाच्थ्यो। घरमा काकाकाकीले गर्ने व्यवहार उस्तै थियो। मप्रति कहिल्यै पनि दया भाव जागेन काकाकाकीको मनमा।

‘त्यो घर–सम्पत्तिमा आधा तेरो हक लाग्छ,’ केही गाउँलेहरू भन्थे। मलाई भने घर-सम्पत्तिमा होइन, काकाकाकीको मायामा हक चाहिएको थियो तर कहिल्यै पाइनँ। लाग्छ, कुनै कुरा पाइन्न भन्ने थाहा हुँदाहुदै पनि धेरै लोभ लाग्ने मलाई काकाकाकी र भाइबहिनीको माया अनि आफ्नो पनको खुब लोभ लाग्थ्यो।

मेरा लागि दशैंतिहार कहिल्यै आएन। नयाँ लुगा लगाउने, पिङ खेल्ने, सिनेमा हेर्न जाने रहरहरू रहरमै सीमित भए। मेरा रहरहरू मेरै बाआमाले काकाकाकीकोमा एक छाक रुखोसुखो भातमा बन्दकी राखिदिएका रहेछन् जस्तो लाग्थ्यो। मलाई त्यो ऋणबाट मुक्त गर्ने कोही छ भने त्यो नयन नै हो जस्तो लाग्थ्यो तर मलाई उसका अगाडि पर्न डर लाग्थ्यो।

‘अभिवादन कमरेड’ उसले भन्थ्यो तर मलाई उसले सुधा मात्रै भनोस् जस्तो लाग्थ्यो।

एकदिन बाख्राले पल्लो घरको सिमीबारी खाइदिएको निहुँमा काकाको छिमेकीसँग झगडा परेछ। काकाले घरमा आएर मलाई बेसरी कुटे। काकीले पनि जगल्ट्याएर घरभित्र पस्न नदिने अड्डी कसेर बसेकी थिइन्। बाँसको भाटाको प्रहार छल्छु भन्दा मेरो हात काटिएको थियो।

‘बेस्से, कुन चैं त्यसको पोइसित लठारिएर बसेकी थिई अनि बाख्रा अर्काको बारीमा पसेको थाहा पाइन, मर्न नसकेकी।’

यी सबैको साक्षी बसेको नयनले मेरो काटेको हातमा मलमपट्टी गरिदिएको थियो। एकछिनपछि उसले काकाकाकीलाई सम्झाएको थियो। के भनेर सम्झायो, त्यो भने सुनिनँ। त्यही साँझ उसले मलाई चुलाको छेउमा बसेर अगेनामा बलिरहेको आगोमा दाउरा थप्दै भनेको थियो, ‘कमरेड, जीवनको कुनै भरोसा छैन तर जीवनमा धेरै आशाका कारण छन्। मृत्यु या मुक्ति-शपथ खाएर हिँडेको एउटा सिपाही हुँ। मसँग तत्काल केही छैन तर एकदिन सारा दुनियाँ मेरो हुनेछ। म धेरै नबोल्ने (घोसे)। आमाले भन्नुभए झैं जीवन र मृत्युको केही भर नभएको, निश्चित भविष्य नभएको एउटा छोरा मान्छेसँग जीवनका उकाली–ओराली गर्न सक्नुहुन्छ भने म तपाईंको लायक छु। जीवनसाथीका रूपमा स्वीकार्न सक्नुहुन्छ भने म तयार छु।’

मैले उसको अनुहार हेर्न खोजें। ऊ चुलामा बलेको आगो नै नियालिरहेको थियो।

‘हर चुनौतीसँग सम्झौता गरेर हिँड्न सक्नुहुन्छ र मसँग सुखको अपेक्षा राख्नुहुन्न भने म जीवनभर साथ दिन तयार छु कमरेड।’

त्यसपछि म सानो ब्यागमा आफ्ना केही पुराना लुगा बोकेर चुपचाप उसको अघि लागेकी थिएँ। लगातार हिँडेर हामी नयाँबजार पुगेका थियौं। पार्टी कार्यालयमै पार्टीका नेता, कार्यकर्ता र गाउँका बासिन्दाका अगाडि हाम्रो बिहे भएको थियो, हाम्रो नयाँ जीवन सुरु भएको थियो। मैले कहिल्यै पनि सोधिनँ, नयनले यस्तो निर्णय कसरी गर्‍यो भनेर। जहाँ पनि म उसको अघिपछि लागेर हिँड्थें। पार्टीकै कामको सिलसिलामा म ४-५ जिल्ला पुगिसकेकी थिएँ। जे जस्तो भए पनि ऊ मेरो ख्याल राख्थ्यो। मेरा रहरहरू हरतरहले पूरा गर्ने कोसिस गर्थ्याे।

मलाई पनि उसले कमरेड सम्बोधन गरेको मन पर्न थालेको थियो। आफूलाई दुःखी, अभागी सम्झेर बसेकी म ऊसँग हिँड्दै जाँदा मभन्दा धेरै दुःखी छोरीहरू देखें।

‘जिन्दगी आफूभन्दा माथिकालाई होइन, आफूभन्दा तलकालाई हेरेर जिउनुपर्छ कमरेड,’ नयन सधैं भन्ने गर्थ्याे।

म किन किन नयनसँग सामान्य जीवन बिताउन चाहन्थें। उसलाई गुमाउनुपर्छ भन्ने डरले सधैंभरि मुटु खाइरहन्थ्यो। मलाई यति ठुलो संसारमा माया गर्ने ऊबाहेक को थियो र? सधैं सपनामा मेरो पिरले रुने हजुरआमा हिजोआज खुसी देख्थें म। मलाई सिन्दुर–पोते लगाउन खुब मन पथ्र्यो तर ती सबै बन्धन हुन् भनेर अनेक किसिमले सम्झाउँथ्यो नयन। खै किन हो कुन्नि, एकदिन उसले मलाई सिन्दुर र पोते बोकेर ल्याइदिएको रहेछ। म त्यस दिन कति धेरै खुसी भएकी थिएँ। ऊ मेरो जिद्दीसँग हारेको थियो, मलाई आशा थियोे कि एकदिन उसले सामान्य बाटो रोज्नेछ। मेरो आफ्नै घर-परिवार हुनेछ।

मेरो खुसीमा ऊ हाँसेको थियो, खै के सम्झेर? ऊ खासै हाँस्दैनथ्यो। यस्तैमा उसको इलामदेखि झापा सरुवा भएको भन्थ्यो।

म आमा बन्दै थिएँ। मसँग छुट्टिनुअघि रातभर कुरा गरेर बसेको थियो नयन।

‘सुधा, हर क्षण आत्मा दह्रो बनाएर बस्ने गर्नू। तपाईं अहिले हिम्मत गरेर बाँच्नुभयो भने हाम्रो सन्तान सगरमाथा भएर जन्मनेछ। अरू केही भन्दिनँ, आफ्नो ख्याल गर्नू। म तपाईं रहने व्यवस्था मिलाएपछि लिन आउनेछु अनि घर (ओखलढुंगा) पनि जानुपर्छ। यहाँका जनतासँग घुलमिल भएर बस्नुस्। तपाईंलाई आफ्नो ठान्ने छन्। यस्तो अवस्थामा छोडेर जानुपर्दा मन तितो भएको छ तर देशका लागि केही गर्नु छ। गरिबको मुहारमा खुसी ल्याउनु छ।’

अरू केही बोलेन। म रातभर नयनलाई अँगालेर रोइरहें। बिहान घरकी आमासँग मेरो जिम्मा लगाएर सानो झोला बोकी ऊ ओरालो बाटो लागेको थियो। म आँगनको डिलमा बसेर ऊ डाँडामा नछेलिउन्जेल रोइरहेकी थिएँ।

‘यसरी हिँड्ने मान्छेको बाटो आँसुले छेक्नुहुन्न नानी। उनीहरू दुःखमा डुब्छन्,’ घरकी आमाले मलाई भनेपछि म उठेर आँसु पुछ्दै घरभित्र पसेकी थिएँ।

नयन आफ्नो कार्यक्षेत्र गएको ३ महिना भइसकेको थियो। यसबिच ठिक छु, चाँडै आउनेछु भनेर एउटा चिठी लेखेको थियो। म उसको बाटो हेरेर बसेकी थिएँ।

पेटमा बच्चा चल्न थालेको थियो। म त्यो बच्चा चलेको अनुभूति नयनलाई सुनाउन चाहन्थें।

म स्वास्थ्य चौकी नयाँबजार गएकी थिएँ। त्यस दिन सेना गस्तीमा आएको रहेछ। मसम्म खबर आइ नै पुगेन। मलाई डर लागेको थिएन। सेनाले मलाई गिरफ्तार गरेर के पाउँछ? बच्चाको खुब माया लाग्यो। म जसरी पनि बच्चालाई बचाउन चाहन्थें तर सेनाले मलाई पनि गिरफ्तार गरिसकेको थियो।

म गर्भवती भएको थाहा भएपछि सेनाले मलाई कुटपिट त गरेका थिएनन्। पार्टीकै भाइबहिनी पनि त्यो दिन पक्राउ परेका रहेछन्। उनीहरूले मलाई कमान्डरकी पत्नी भनेर चिनाएछन् जस्तो लाग्यो। मलाई हरेक कोणबाट अनुसन्धान गरे पनि मबाट राज्यले कुनै फाइदा लिन सक्दैनथ्यो। मेरो सबै कहानी सुनेपछि सेनाका अधिकृत पनि एकछिन स्तब्ध भएका थिए। त्यसपछि सेनाले मलाई प्रहरी प्रशासनलाई जिम्मा लगाइदिएको थियो। हिरासतमा दुई दिन राखेपछि मलाई इलाम कारागार चलान गरिएको थियो। जेल परेपछि नयनसँग सम्पर्क गर्ने कुनै सूत्र तयार भइसकेको थिएन। मन हतास हुन्थ्यो।

बिस्तारै शरीर गल्दै गयो। कहिलेकाहीं मन पनि गल्थ्यो तर आफूभित्र नयनको अंश छ भनेर सम्झेपछि फेरि मन बौरिन्थ्यो। म जेल परेको दुई महिनापछि आमा (सेल्टर घरकी) लाई देख्दा नयन नै आफ्नो अघि उभिएको छ जस्तो लाग्यो।

नयनले आमामार्फत केही खानेकुरा, कपडा र पैसा पठाएको रहेछ। त्यस दिन त्यो (घोसे) मान्छेलाई सम्झेर धेरै रोएकी थिएँ। आमाको हात पेटमा राखेर बच्चा चलेको सुनाएर ‘यही सुनाइदिनू नयनलाई आमा !’ भनेकी थिएँ। नयनले मलाई साह्रै मन पर्ने बटर क्रेकर भन्ने बिस्कुटको बट्टा नै पठाइदिएको रहेछ। त्यही बट्टामा चिठी भएको संकेत पाइसकेकी थिएँ मैले। बिस्तारै कोही नभएको मौकामा बट्टा खोलें।

‘प्रिय सुधा, धेरै माया...’ भनेर सुरु गरिएको चिठीका हरफहरूमा नयनको मुटु नै बोलिरहेको थियो। ‘चाँडै भेट हुनेछ। आशा राख्नू। बच्चा र आफ्नो ख्याल राख्नू। तिमीहरू दुवै जनालाई अथाह प्रेम...’ भनेर नयनले केही सुर्ता नगर्न र बेला बेला आमालाई भेट्न पठाउने कुरा गरेको थियो। खर्च पुर्‍याएर चलाउनू, मन लागेको खानू र अर्को पटक धेरै कुरा लेख्ने छु भन्दै आफू झापामा पार्टीको काममा व्यस्त भएको कुरा पनि घुमाउरो भाषामा लेखेको थियो।

त्यसपछि चिठी आज नै आएको थियो। एक प्रकारले उसको सकुशलताले मन ढुक्क भएको थियो। फेरि कता आँखामा कालो बादल छायो। मलाई सधैंभरि जेलमुक्त भएर नयन भएको ठाउँमा पुग्न मन लाग्थ्यो। दिनहरू बित्दै गए। दशैंतिहार आए गए। आफ्नाहरू कोही नभएपछि चाडपर्वले पनि खासै महत्व नराख्दो रहेछ जीवनमा।

मंसिर महिना इलाममा चिसो बढिसकेको थियो। म ओछ्यानमा नै गुटमुटिएर रेडियो नेपालको दिउँसो १ बजेको समाचार सुन्दै थिएँ।

‘इलाम जिल्लाको शान्तिपुरमा सरकारी सुरक्षा फौज र माओवादी आतंककारीबिच दोहोरो भिडन्त हुँदा झापा इन्चार्ज नयन भनिने सौगात थापाको मृत्यु भएको छ। घटनास्थलबाट सुरक्षाफौजले विष्फोटक पदार्थ, आतंककारी दस्तावेज, थुप्रै हातहतियार बरामद गरेको छ। निज नयन भनिने सौगात थापा ओखलढुंगावासी भएको बताइएको छ।’

मेरो त संसारै ध्वस्त भयो। हाम्रो बच्चाको जन्मने दिन आउन लागेको थियो यसै हप्तामा। म पूरै रेस्टमा बसेकी थिएँ। सुनिताले च्याप्पै मेरो हात समातेकी थिइन्। मेरो पीडाले बच्चालाई पनि पीडा दिएछ कि क्या हो?

कि बाबा बितेको थाहा पाएर हो, बेस्सरी चलमलाउन थाल्यो। म मानसिक पीडा र शारीरिक पीडाले छटपटाउन थालें। सुनिताको काँधमा धेरै बेर रोएपछि मन अलि हल्का भयो। म रोएको सुनेर जेलका सबै महिला दौडेर म भएको ठाउँमा आइपुगें।

‘रुनु हुँदैन, यस्तै हो जिन्दगी !’ सुन्दै थिएँ। म टुटेर रोएँ, दुखेर रोएँ। म रोएको देखेर आकाश पनि अँध्यारो भएर आयो। ढोकाबाट शान्तिपुरतर्फको आकाश हेरें। पानी परिरहेको थियो।

‘राम्रो, धर्मात्मी मान्छे मर्दा आकाश रुन्छ,’ हजुरआमाको बोली कानमा गुन्जियो।

पल्लोपट्टि पुरुष कारागारमा पनि म कहालिँदै रोएका कारण होहल्ला भएको रहेछ। मेरो खबर सुनेपछि मानवीय नाताले इलाम जेल स्तब्ध भएको थियो।

साँच्चिकै नयन राम्रो मान्छे रहेछ। त्यही राम्रो मान्छेको अंश आफूभित्र छ भनेर अलिकति मन बुझाएँ।

मैले नयनकी पत्नी भएका नाताको सजाय भोगिरहेकी थिएँ। इलाम जेलमा, उसले गरेको युद्धसँग मेरो कुनै नाता थिएन। मलाई उसले सामान्य जीवन बिताओस्जस्तो लाग्थ्यो।

रुँदारुँदै थाकें म। अब गुनासो आफैसँग मात्रै रह्यो। जजसले माया गर्नुपथ्र्यो, उनीहरूले पनि छोडेर गए। जसलाई माया गर्थें, उसले पनि छोडेर गयो। यति ठुलो दुनियाँमा म एक्लै भएँ।

भविष्यका काला दिनहरू आँखामा नाच्न थालेका थिए अनि समस्याले अट्टहास गर्दै हाँस्न थालेको भान भयो। नजन्मँदै टुहुरो भएको सन्तान च्यापेर म कहाँ जाने? केही क्षण अघिसम्म त जेल फोडेर नयनको छेउमा पुगौं लाग्थ्यो। यतिबेला लाग्दै थियो-मलाई आजन्म जेल सजाय तोकियोस्। फेरि पेटमा बच्चा चलमलाउँछ। संसार पहाड बनेर मेरो छाती थिचिरहेको छ जस्तो लाग्यो। साँझ ७ बजेको समाचारमा नयनको तस्बिर देखाएपछि एउटा झुटो भ्रम पनि टुट्यो मेरो !

नयनले यसरी अलपत्र पार्छ जस्तो पटक्कै लागेको थिएन। दुःखको महासागरमा एक्लै धकेलेर ऊ अनन्तमा बिलाउँछ जस्तो लागेको थिएन। म उसलाई मेरो पेटमा बच्चा चलेको अनुभूति गराउन चाहन्थें। युद्धबाट सामान्य संसारमा फर्काउन चाहन्थें। जेलको ढोकामा हेर्छु, नयन ठिंग उभिएजस्तो लाग्छ। आँखा चिम्लन्छु, ऊ हाँसिरहेको छ जस्तो लाग्छ। आज बिहानै पेट दुखेर गाह्रो भएको थियो। सास नै बन्द होला जस्तो भएर पेटमा बच्चालाई पनि धेरै नै अप्ठ्यारो भएकाले होला, धेरै चलमलाएको थियो। सबैले सुत्केरी व्यथा लागेको भने तर सायद त्यतिबेला नयन पनि गोली लागेर छटपटाउँदै थियो क्यारे। उसको आत्मा हामीसम्म आइपुगेको रहेछ।

‘अब म कहाँ जानू? मेरो को छ? म कसको भरले बाँच्नू?’ मैले सुनितालाई अँगालो हालेर रुँदै भनें। सधैंभरि उत्साहको कुरा गर्ने उनी आज चुपचाप थिइन्।

रुँदारुँदै हप्ता दिन बित्यो।

मलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लैजाने तयारी हुँदै थियो। केही समय त लाग्थ्यो नै, फेरि म आस्थाको बन्दी भएका कारण सुरक्षाका हिसाबले जिल्लास्थित सैनिकहरू पनि खटिन्थे। म जस्ती, निरीहबाट राज्यलाई के खतरा थियो होला र?

‘हतकडी लगाउन पर्दैन,’ इन्सपेक्टर बोले। उसलाई म चिन्थें। ऊ पनि ओखलढुंगावासी थियो भने नयनको सबैभन्दा मिल्ने साथी। जिप्रका इलामबाट प्रहरीको गाडी आएको रहेछ। त्यही गाडीमा रहेछ ऊ।

मलाई मायालु नजरले हेरेर नआत्तिन भन्यो। अलिकति आशाको दियो जल्यो मनमा।  

‘अनि उनको अवस्था यस्तो छ। एकजना साथी पठाउन मिल्दैन? मिल्छ भने पठाइदिनुस्।’

खै कसरी, सुनिता मेरो साथमा अस्पताल जान तयार भइन्।

३–४ घण्टाको प्रसव पीडापश्चात् मैले छोरो जन्माएकी थिएँ, नयनको ‘सानो कमरेड’।

यसो हेरें, छोरो निदाइरहेको थियो। वरिपरि प्रहरीहरू। बाहिर गेटमा सिपाही र सुनिता मेरो हात समातेर बसिरहेका थिए।

छोराको अनुहार हेरें। नयनका जस्तै रहेछ ओठ र निधार अनि देव्रेपट्टि चिउँडामा सानो कोठी!

छोरालाई देखेर सबै पीडा भुलें तर जब उसको बाबा यो दुनियाँमा छैन भन्ने सम्झें अनि हिक्का छोडेर रोएँ। मेरो वरिपरि उभिएका प्रहरीहरू पनि स्तब्ध थिए। ढोकामा उभिएको सिपाहीले पनि माया लाग्दो नजरले मलाई हेरिरहेको थियो।

प्रकाशित: २० आश्विन २०८० ०२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App