१० श्रावण २०८१ बिहीबार
image/svg+xml
कला

मुस्कुराउन कारण चाहिन्न

कविता

दुखी हुन पो कारण चाहिन्छ

मुस्कुराउन कुनै कारण चाहिन्न

कहिले सुख सम्झेर मुस्कुराएँ

कहिले दुख भुलेर मुस्कुराएँ।

हिंड्नलाई जुत्ता हैन लक्ष्य हुनुपर्छ

मुस्किललाई अवरोध हैन सिंढी बनाउनुपर्छ

जुत्ता हुँदा जुत्ताको रङसँगै मुस्कुराएँ

जुत्ता नहुँदा खुट्टाको नङसँगै मुस्कुराएँ

सफलता सिधै कहाँ हात पर्छ र?

असफलताले पनि सफलतातर्फ डोर्‍याउँछ

उक्लिंदै गर्दा सगरमाथा सम्झिदै मुस्कुराएँ

झर्दै गर्दा झर्ना बनी झरझर मुस्कुराएँ

आफ्नै आँगनको खुसी नदेख्दा

पराई दुनियाँको फन्को मारें

लेकमा पुग्दा स्याउझै मुस्कुराएँ

तराई पुग्दा मञ्जरीझैं मुस्कुराएँ

दुनियाँमा अजम्मरी को छ र?

रूखले पालुवा फेरेझै संसार फेरिन्छ

कहिले बाआमामा भगवान् देखेर मुस्कुराएँ

कहिले सन्तानमै बाआमा भेटेर मुस्कुराएँ

आफैंलाई खोज्न संसारमा भौंतारिएँ

नाभीको सुगन्ध नदेखेको कस्तुरीझै कुदिरहें

कहिले कुमारको मयूर सम्झेर मुस्कुराएँ

कहिले  गणेशको मुसो सम्झेर मुस्कुराएँ।

दुखी हुनलाई पो कारण चाहिन्छ

मुस्कुराउन कुनै कारण चाहिन्न

कहिले ऊ बेलाको  नेपाल सम्झेर मुस्कुराए।

कहिले नयाँ नेपालको कल्पनामा  मुस्कुराए।

प्रकाशित: १९ आश्विन २०८० ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App