गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। खोटाङको बराहपोखरी गाउँपालिका १, पिप्लेका उनको उक्त नयाँ गीतिसङ्ग्रहमा निर्माण गरिएको म्यूजिक भिडियो ओएसआर डिजिटल नेपाल युट्युब च्यानलबाट आइतबार सार्वजनिक गरिएको हो।
दिनेश सुवेदीको शब्द, करसाङ लामाको सङ्गीत रहेको उक्त गीतमा गायक मगरसँगै चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने गीति म्युजिक भिडियोमा चर्चित नायिका रस्मिला तामाङ, जीवन बस्नेत, किरन मगर, राजु श्रेष्ठ, परिश्ना बस्तोला र भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा-२०८०’ अन्तर्गत नृत्य विद्याका उपविजेता सुवास विश्वकर्माले अभिनय गरेका छन्।
अर्जुन खड्काले सम्पादन गरेको उक्त म्यूजिक भिडियोको निर्देशन राजु श्रेष्ठले र कोरियोग्राफी मनोज तामाङले गरेको गायक मगरले बताए।
रावासावा प्राज्ञिक समाज नेपालका महासचिव मगरको यो सातौं गीतिसङ्ग्रह हाे। उनले यसअघि मायाको आशैमा, भञ्ज्याङ र चौतारी, मनको कुरा, सहारा र तिम्लाई पाउँ जस्ता दर्जनाै गीतिसङ्ग्रह बजारमा ल्याएका छन्।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएका गायक मगर काठमाडौं लिटल ब्लोजम स्कूल नयाँबजार, भक्ति इन्टरनेशनल एकेडेमी बूढानीलकण्ठ र प्रगति बोर्डिङ हाइस्कूल बालाजुमा अध्यापन गर्दै छन्। ‘गाउँदै-पढाउँदै’ गायक मगरले लोक-आधुनिक भाकामा निर्माण गरेको यो म्यूजिक भिडियोमा माया-पिरतीका कुरा छ।
प्रकाशित: १५ आश्विन २०८० ०६:४६ सोमबार





