२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

२०७९ को मदन पुरस्कार 'ऐँठन' लाई

२०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’ लाई प्रदान गरिने भएको छ।

आइतवार बसेको मदन पुरस्कार गुठीको बैठकले ‘ऐँठन’ लाई २०७९ को मदन पुरस्कार दिने निर्णय गरेको हो। ओझाको उपन्यास ‘ऐँठन’ सशस्त्र द्वन्द्व र त्यसको नेपाली समाजमा परेको प्रभावलाई केन्द्रमा राखेर लेखिएको छ।

बैठकले २०७९ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट ओझाद्वारा लिखित ऐँठन  पुस्तकलाई विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले हामीलाई ऐँठनका पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा मदन पुरस्कार २०७९ अर्पण गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दिक्षितले बताए।

मदन पुरस्कारका लागि गुठीमा ३१३ पुस्तकहरू परेका थिए। ती मध्येबाट पाँच पुस्तकहरू इजोरिया (सुबिन भट्टराई), ऐँठन (विवेक ओझा), चक्रव्यूहमा नेपालको जलस्रोत (द्वारिकानाथ ढुङ्गेल), थाङ्ग्रा (प्रगति राई) र माटाको घर (सञ्जय विष्ट) मदन पुरस्कार श्रेष्ठ सूची २०७९’ का निम्ति छनौट भएका थिए। जसमा ओझाको ऐँठनलाई मदन पुरस्कार दिने निर्णय भएको हो।

यस्तै चित्रकार टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरिएको गुठीले बताएको छ।  

अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा श्रष्टालाई मुहारचित्रमार्फत साहित्यानुरागीहरू माझ पु¥याउन महत्त्वपूर्ण योगदान दिएकोमा मुखियाज्यूलाई वर्ष २०७८ सालको जगदम्बा–श्री अर्पण गर्ने निर्णय गरिएको हो।

नेपाल तथा नेपालबाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति÷संस्थालाई जगदम्बा–श्री अर्पण गर्ने गरिन्छ।

दुबै पुरस्कार कोजाग्रत पूर्णिमाको दिनमा प्रदान गरिने छ।  

प्रकाशित: १४ आश्विन २०८० ०६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App