४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

दलालले भताभुङ्ग पारेको अमेरिका सपना

कैफियत

प्रत्येक बाबुआमा छोरोछोरीको भविष्यलाई लिएर चिन्तित हुने गर्छन्। छोराछारीको उज्ज्वल भविष्यका लागि हरपल तिनले पसिना चुहाइरहेका हुन्छन्। नाम उल्लेख गर्न नचाहने रुकुमका एक पिताले आफ्ना छोराको पढाइका निम्ति दिनरात नभनी मेहनत गर्दै थिए। सानो र सुखी परिवार थियो। उनी नेपाली सेनाको निवृत्तीभरण पाइरहेका व्यक्ति हुन्।

यो सामान्य परिवार गाउँमा खेती किसान गर्दै आएको थियो। ती पूर्वसैनिकसँग एक वर्षअघि मेनपावरका एक एजेन्ट पूर्ण लामासँग फेसबुकमार्फत कुरा हुन थाल्यो। तिनैले यी पूर्वसैनिकलाई म्यासेन्जरबाट सन्देश पनि पठाइरहेका हुन्थे।

पूर्णले आफू लामाको छोरा भएको र नेपालका विभिन्न दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसलाई सित्तैमा विदेश पठाउने गरेको पूर्वसैनिकलाई बताए। नेपाली सेनामा जीवनको ऊर्जावान् समय बिताएका पूर्वसैनिकको इच्छा बाँकी समय परिवारसँगै बिताउने थियो। घरबार चलाउनकै निम्ति विदेश जाने सोच पनि थिएन।

‘विदेश जाने सोच मेरो कहिल्यै थिएन,’ ती पूर्वसैनिकले भने, ‘अब बुढेसकालमा विदेश जान्नँ भन्दै थिएँ। आनन्दको परिवार थियो। विदेश जानैपर्छ भन्ने भ्रम सबैतिर फैलिरहँदा सारा जिन्दगी बर्बाद भयो।’

पूर्णलाई उद्धृत गर्दै उनले भने, ‘तपाईंको परिवारलगायत छरछिमेकमा कोही विदेश जाने छन् भने मलाई सम्पर्क गर्नु है। नपढेको व्यक्ति हो भने मलेसिया लगायतको खाडी देशमा पठाउँछु। राम्रोसँग अंग्रेजी बुझ्ने व्यक्ति हो भने युरोप, अमेरिकासम्म पनि पठाउने काम गरेको छु।’ पूर्णले अरू लोभ्याउँदै ती पूर्वसैनिकलाई भनेका थिए, ‘तपार्इं नै विदेश जाने भए भन्नुस्। अरू कोही छन् भने मलाई खबर गर्नुहोला। म सहजै विदेश पठाइदिन्छु।’

रुकुमको गाउँमा परिवारसँग रमाइरहेका उनलाई हरेक दिन पूर्णले म्यासेज गरेर विभिन्न प्रलोभन देखाउन थाले। म्यासेन्जरमार्फत पूर्णले स्वदेशमा के हेरेर बस्ने हो? नेपालमा बस्यो भने पूरै जिन्दगी सखाप हुन्छ। तपाईं विदेश नजाने भए छोरा होला नि। भएको छोरालाई विदेश पठाइदिनू भन्दै अनेकौं आश्वासन दिन थालेका थिए। विस्तारै पूर्णको कुरालाई पूर्वसैनिकले पत्यार गर्न थाले।

बुढेसकालमा बाबुआमालाई हेर्ने काम छोराछोरीको हो भन्दै दैनिकजसो पूर्णले म्यासेज गरेको घटना पूर्वसैनिकले स्मरण गर्दै भने, ‘पूर्णको दिन प्रतिदिन म्यासेज आउँथ्यो। धेरै नजिक भएर कुरा गर्थ्याे। तपाईंको परिवार मेरै परिवार हो भन्ने गर्थ्याे। तपाईंको छोरासँग मेरी छोरीको बिहे गरिदिनुपर्छ। बिहेभन्दा पहिले छोरालाई अमेरिका छिराउने काम गरौं।’

पूर्णले भनेको कुरा उद्धरण गर्दै उनले भने, ‘छोरा १६ वर्ष पुग्न केही महिना मात्र बाँकी थियो। छोरा पढाइमा निकै राम्रो र कक्षाकै उत्कृष्ट थियो। भर्खर कक्षा दशमा प्रवेश गर्दैगर्दाको छोरालाई पूर्णले स्वदेशमा पढाएर केही काम छैन। बेलैमा अमेरिका पठाइदिनू। अमेरिकामै गएर पढ्छ, पैसा पनि कमाउँछ। केही समयपछि तपाईंहरू पनि अमेरिका जाने मौका पाउनुहुन्छ। यस्तो सुनौलो अवसर नगुमाउनू, फेरि पछि पछुताउनुपर्ला।’

पूर्णको आश्वासन उद्धरण गर्दै पूर्वसैनिकले भने, ‘मेरा बारेमा बुझ्नुहोस्, म लामाको छोरा ढाँटछल गरेर खान्नँ। काम गरेर मात्र खाने हो। तपाईंको छोरालाई अमेरिका पठाउने कामको शत प्रतिशत ग्यारेन्टी म लिन्छु। केही गरी काम नभएमा तपाईंले दिनुभएको रकम ब्याजसहित फिर्ता गर्छु।’

यसरी अमेरिकामा छोरो प्रवेश गरेको सपना थापालाई पूर्णले दिलाए। पूर्वसैनिकले परिवारसहित छोरासँग सरसल्लाह गर्दा परिवारका सबै राजी भए। दश कक्षामा अध्ययन गर्दै गरेको छोरालाई उनले बिचैमा निकालेर १६ वर्ष पुग्नेबित्तिकै नागरिकता र राहदानी बनाइदिए। बाबुको कुरालाई छोराले नर्कान सकेनन्। पूर्णले थापेको जालोमा पूर्वसैनिक पर्दै गरेका थिए। त्यति मात्र नभएर छोरा सानै उमेरमा बिदेसिँदै गर्दा कहींकतै केही होला कि भन्ने डरले पूर्वसैनिकका दाइको छोरालाई पनि छोरासँगै अमेरिका पठाउने तयारी भयो। यसमा दुवै दाजुभाइबिच सहमति भयो।

थापा परिवार आर्थिक रूपमा बलियो होइन। एजेन्ट पूर्णले एक व्यक्तिलाई मात्र ५० लाख लाग्नुका साथै ४५ दिनमै अवैधानिक रूपमा अमेरिका छिराउने अठोट दिलाएको पूर्वसैनिकले बताए। पूर्णको कुरामा पूर्वसैनिक परिवार सबै सहमत भयो। पूर्णले माछालाई जाल हालेजसरी यो परिवार डुबाउन लागेको उनीहरूले चाल पाएनन्।

सुरुमै अमेरिका जाँदैगर्दा पूर्णका साथी लोकेश लामासँग चिनापरिचय गराएसँगै सबै पैसा लोकेशको नामको बैंक खातामा हाल्न लगाइएको थियो। थापा–दाजुभाइले जग्गा बेचेर, बैंकबाट ऋण काढेर, श्रीमतीहरूको गरगहना बेचेर र साथीभाइसँग सरसापट गरेर पैसाको जोरजाम गरेका थिए।

‘सुरुमा कागजपत्र तयार पार्न एकजनाको १५ लाखका दरले ३० लाख रूपैयाँ मागेको थियो। तत्काल साथमा ३० लाख रूपैयाँ थिएन। केही दिनमा पैसाको व्यवस्था गरी अमेरिका पठाउने पूर्णका सहकर्मी लोकेशको बैंक खातामा पैसा हालिदिएको हो,’ थापा परिवारले भने।

घरबाट अमेरिका प्रस्थानका लागि निस्किएका दुवै छोरालाई आधा बाटोमा पुगेपछि लोकेश र पूर्णले पैसा नपुगेको भन्दै दबाब दिन थाले। बिचबाटोबाट यति धेरै पैसा मागेको हुँदा उक्त परिवारले आफन्तसँग हात थाप्नुपरेको थियो।

छोरा थाइल्यान्ड पुगेपछि सम्पर्कमा नआउँदाको पललाई स्मरण गर्दै पूर्वसैनिकले भने, ‘छोराहरूले सम्पर्क नगरेपछि लोकेशलाई फोन गर्दा तपाईंका छोराहरू होटलमा आनन्दले बसेका छन्, थाइल्यान्ड नेपालजस्तो होइन। जता पायो उता हिँड्न मिल्दैन। प्रहरीले अनावश्यक दुःख मात्र दिन्छ। जसरी पनि अमेरिका लगे भएन। कति किचकिच गरिरहेको हो भन्यो।’

एजेन्टको भनाइ उद्धृत गर्दै पूर्वसैनिकले थपे, ‘हामीले मागेजति पैसा पठाउन सक्नुभएन। त्यसमाथि तपाईंको छोरा १६ वर्षको मात्र पुगेकाले कागजपत्र मिलाउन गाह्रो भएको छ। फेरि थप पैसा दिनुपर्ने हुन्छ। होइन भने तपाईंको छोरालाई अमेरिका पठाउन सक्दिनँ। यहाँ पटक पटक फोन नगर्नू, काम गर्नुपर्ने भए समयमा पैसा पठाउनू।’ यसरी लोकेश र पूर्णले बारम्बार धम्की दिने गरेको उनले बताए।

पूर्ण लामालाई फोन गरी बुझ्दा अबको सबै काम लोकेशले नै गर्ने हो, लोकेशले भनेझैं सबै काम मान्नुहोस् भन्दै धम्क्याएको पूर्वसैनिकले सुनाए। जति पैसा भए पनि समयमा नै पठाइदिन्छु। छोरा र भतिजलाई राम्रोसँग हेरचाह गर्नुहोला भन्दै लोकेशलाई फोनमा गरेको पीडा उनले पोखे। उनी फेरि एजेन्ट लोकेशलाई पैसा पठाउँदै थिए।

आकर्षक जागिरलगायत स्थायी बसोबास (पिआर) लिई सधैंभरि अमेरिकामा बस्न पाउनेजस्तो प्रलोभन देखाई यो परिवारलाई थप अँध्यारोमा धकेल्ने काम एजेन्टले गरे।

विभिन्न देश हुँदै थाइल्यान्ड पुगेको ३८ दिनपछि ती एजेन्टले छोराहरूलाई फिलिपिन्स पुर्‍याएको ती सैनिकले बताए। फिलिपिन्समा छोराहरूमार्फत खानबस्न नपाएको खबर आएसँगै एजेन्ट पूर्ण र लोकेशलाई सम्पर्क गर्दा प्रहरीले चाल पायो। तपाईंको छोराहरूलाई नेपाल झिकाउनू। नेपाल आएपछि हामी अर्को बाटोबाट फेरि अमेरिका पठाइदिउँला भन्दै फोन आएको ती पूर्वसैनिकले बताए। यो परिवारले छोराहरूलाई जसोतसो मिलाएर नेपाल फिर्ता गरेको बताए।

पूर्ण र लोकेशले अझै अमेरिका पठाउने आश्वासन देखाउँदै थापासँग पैसा माग्दै थिए। ‘यो खबर बाहिर कतै लैजाने होइन। अमेरिका नपुगेसम्म सबै कुरा गोप्य राख्नू। केही गरी अमेरिका जान लागेको कुरा कसैलाई जानकारी गराएको थाहा भयो भने अमेरिका पठाउँदैनौं र तिमीहरूले दिएको पैसा पनि फिर्ता हुँदैन,’ एजेन्टको धम्की उद्धृत गर्दै ती पूर्वसैनिकले भने।

थापालाई डर र त्रास देखाई एक महिनापछि काठमाडौंबाट दुबई लगे। एक महिनासम्म दुबईको होटलमा राखेपछि यहाँबाट मेक्सिको जान नमिल्ने भयो। अब जाम्बिया हुँदै मेक्सिको लगी त्यँहाबाट अमेरिका लैजाने हो भन्दै जाम्बियाको राजधानी सहर लुसाकाको रिसोध गौरी होटलको कोठामा लगी बन्धक बनाई राखेको खबर नेपाल आयो।

‘हामी बन्धक अनि असुरक्षित छौं। हामीसँग नेपाल फर्कन पैसा पनि छैन। फेरि एजेन्टलाई २० लाख रूपैयाँ चाहिन्छ रे। हामीसँग पैसा नभएकाले गाली मात्र गर्ने गर्छन्। पैसा दिन नसकेको भनी जाम्बियनले शारीरिक–मानसिक यातना दिइरहेको छ। के गर्ने बुबा?’ छोराहरूको भनाइ उद्धृत गर्दै बुबाले भने।

फेरि छोराहरूलाई भनेर ४ लाख निकाली लोकेशलाई पठाएपछि दुवै एजेन्टले फोन उठाउन छाडेको उनले बताए। त्यसपश्चात् छोराहरू पनि उक्त होटलबाट भागी जाम्बियाको लुसाका सहरमा रहेको लुसाका ब्यागप्याकर्स होटलमा गई लुकीछिपी बसेको खबर परिवारसम्म आइपुग्यो।

पूर्णले यो परिवारमा अविश्वासको एक त्यान्द्रो पनि छोडेको थिएन। थापा परिवारले छोराहरू अमेरिका पुगून् भन्ने सोचले ठुलो पहल गरेका थिए। तर, मिहिनेतअनुसारको फल मिठो भएन। पूर्वसैनिक परिवारबाट निस्किएका दुई छोराहरू अमेरिका पुग्न सफल भएनन्।

‘अमेरिका पुर्‍याउँछु भन्ने एजेन्टलाई करोडौं रूपैयाँ दिइसकिएको थियो। उपाय केही थिएन,’ उनले भने, ‘ऋण लिएको साहुले चाप्दै थियो। जीवनका हरेक लडाइँमा बाँचेको मलाई अहिले जिउँदै मारे यी दलालहरूले। दाइ पनि दिन प्रतिदिन कराउन थाल्नुहुन्छ। भाउजू साह्रै रिसाउनुभएको छ।’

उनले थपे, ‘म के गरौं। कहाँ गएर न्याय माग्नू। छोरा एकातिर ‘डिप्रेसनमा’ छ। त्यही छोराका कारण पनि मर्न सकिएन। साहुलाई छोरा अमेरिका पुग्दै छ भनी ढाट्दै छु। भारतमा छोरा बसिरहेको छ। गाउँ फर्किने ठाउँ छैन। दिन प्रतिदिनको तनावले आफै गल्दै छु।’

गत वर्षको भदौबाट एजेन्ट पूर्ण र लोकेशले अमेरिका लैजाने भन्दै ग्लोबल आइएमई बैंकमार्फत् पूर्वसैनिक परिवारले निरन्तर पैसा दिइरहेको हो।

गत वर्षको विभिन्न मिति गरी १८ लाख, ३० लाख, ९ लाख, ४ लाख, ६ लाख र अन्य रकम गरेर पैसा पठाएको कागजात प्रमाणसहित १ करोड १८ लाख ९१ हजार ८ सय ९० रूपैयाँ एजेन्ट लोकेशको बैंक खातामा मात्र हालिदिएको थापाले बताए।

बैंकमार्फत नभई हाताहाती पैसा दिएको १५ लाख रहेको थापा परिवारको दाबी छ। गाउँमा हुर्किएका सोझालाई विश्वास दिलाउने फटाहाहरू गाउँगाउँमा छ्यापछ्याप्ती भएको थापा बताउँछन्।

मानसिक यातना दिएको भन्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ विपरीतको कसुर भएको हुँदा मानव बेचबिखन अनुसन्धान ब्युरोमा पूर्ण र लोकेशविरुद्ध थापा परिवारको प्रमाणसहित उजुरी परेको छ। हालसम्म ब्युरोमा उजुरी पर्नेको संख्या ६ हजार २ सय जनाको रहेको छ।

सामाजिक सञ्जालकै भरमा रुकुमबाट काठमाडौं बोलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै थाइल्यान्ड, फिलिपिन्स, नयाँ दिल्ली, दुबई, जाम्बिया लगी बन्धक बनाएको थापा परिवारले बताए।

नेपालबाट अवैधानिक रूपमा विभिन्न मुलुक हुँदै अमेरिका पुर्‍याइने गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी कृष्ण पंगेनीले जानकारी गराए। पैदलमार्ग मेक्सिकोको बाटो हुँदै विभिन्न दलालमार्फत नेपालीहरू अमेरिका प्रवेश गर्ने गरेका छन्। यो क्रम बढ्दो छ। गाउँगाउँमा दलालहरू व्यापक छन्। रुकुमका यी घटनामा पूर्वी रुकुम घर भई हाल अमेरिकाको टेक्सास बस्दै आएका हस्त गौतमको नेतृत्वमा पूर्ण र लोकेश खुल्न आएको ब्युरोले जानकारी दिएको छ।

यसरी अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने नेपालीको संख्या वार्षिक २ हजारभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ। नेपालको नक्कली राहदानी प्रयोग गरेर अन्य मुलुकका मानिस पनि अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने गरेको श्रम मन्त्रालयका एक अधिकारीले बताए।

यस्तो पासपोर्टमा नाम स्थानीय व्यक्तिकै हुन्छ भने फिंगरप्रिन्ट तथा फोटोचाहिँ अवैध आप्रवासीको राखिएको हुन्छ। जस्तो ब्राजिल पुगेको नेपालीले मेक्सिको जान पासपोर्ट बनाएको छ भने ब्राजिलको स्थानीय व्यक्तिको नाम र राष्ट्रियता हुन्छ भने फिंगरप्रिन्ट र फोटोचाहिँ यात्रा गर्ने नेपालीकै हुने ब्युरोको भनाइ छ।

मानव तस्कर र तीनका दलालले नेपालीलाई काठमाडौंबाट दिल्ली, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, दुबई, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुर्‍याउने गरेका छन्। ३० देखि ६० लाखमा नै अमेरिका पुर्‍याउने सपना बाँड्ने र अलपत्र पार्दै घरबाट रकम लिने उनीहरूको नियत रहेको ब्युरोका एसपी पंगेनी बताउँछन्।  

प्रकाशित: ६ आश्विन २०८० ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App