४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

चिसो बाफ: फिल्म बनाउन मिल्ने कथा

पुस्तक

काँचो कागज उपन्यासको सफलता र चर्चा पछि गोपी सापकोटाले अर्को उपन्यास चिसो बाफ लेखे। गोपी नाटककार हुन् ,नाटक लेखक हुन् र राम्रो कवि पनि हुन्।

चिसो बाफ पढ्न शुरूवात पूर्व पाठकले किताबको पछाडि रहेको यो भूमिकामा पढे अझ बुझ्न सजिलो हुन्छ।

‘शारीरिक अवस्था बिग्रदै गएकी युवती र मानसिक अवस्था बिग्रदै गएको युवक बीचको प्रेम र सम्बन्धको कथा हो,चिसो बाफ। मानिसको मस्तिष्कको धागो कतै गुजमुजिएपछि अलमलिने जीवनको लय र त्यही धागो कतै चुँडिएपछि भत्कने जीवनको समन्वय चिसो बाफका विषय हुन्। कथानकमा कल्पनाशीलता र संरचनामा नवीन प्रयोग ‘चिसो बाफ’ का विशेषता हुन्।’

चिसो बाफ उपन्यासको केन्द्रमा दुई पात्र छन् ,अमित र मुना। उपन्यासको प्रमुख पात्र मुना हुन्।

दुवै नेपालीको भेट नटिङ्घम विश्वविद्यालय बेलायतमा हुन्छ। अमित दर्शनशास्त्र पढ्छन् भने मुना मनोविज्ञान। छोटो भेटमा नै दुवै नजिक बन्छन्। शुरूमा लिभीङ् टुगेदरबाट बढेको सम्बन्ध नेपाली मन्दिरमा नेपाली शैलीबाट विवाह बन्धनमा बाँधिन्छ्न।

यहाँसम्म उपन्यास स्वाभाविक तबरले अगाडि बढेको छ।

ऐतिहासिक सामाजिक उपन्यासको धारलाई पछि पार्दै मुनालाई अज्ञात रोग लागेको दर्शाइएको छ। कोरोनाले उनीहरूलाई घरमै बस्न बाध्य पार्छ। कताकता स्वाभाविक र अस्वाभाविक लाग्छ। पाँच वर्ष अगाडि कोरोना भन्ने महामारी थिएन। विश्व हल्लाएपछि स्वाभाविक र यथार्थ लाग्छ। मुनाको रोग पनि त्यस्तै लाग्छ तर काल्पनिक। अमिताभ बच्चनको पा फिल्म जस्तै लाग्छ।

उपन्यासकार गोपी सापकोटा बेलायतमा केही वर्षदेखि बस्छन्।

प्रमुख पात्र मुनालाई  एक्स्पेरियन्स द देथः नियर डेथ एक्सपिरेन्स अर्थात मर्नुभन्दा पहिले नै मृत्युको अनुभव बेलायतमा गराउछ्न,के यो सम्भव छ/छैन। तर यस्ता कल्पना साउथ इण्डियन फिल्ममा धेरै प्रयोग छ।

चिसो बाफ फिल्म बनाउन मिल्ने कथा छ। आधुनिक वैज्ञानिक मेसिन र उपकरणको प्रयोग उपन्यासमा भएको छ। नेपालमा मरेकी मुनाले फुपू देख्नु र सम्बाद हुनु सपना या भ्रम जस्तो लाग्छ।

एउटा रेस्टुरेन्टमा साँच्चिकै जस्तो रूख प्लास्टिकको रूख देख्नु त्यसमा पानीको फोका देख्नु,मुनाले सपनामा पनि त्यही रूख देख्नु,पार्कमा पनि त्यही रूख देख्नु,मुनालाई रोग लागेपछि अमेजन सपिङबाट रूख घरमा ल्याउनु,रूखमा पानी आएपछि यौनेच्छालाई संकेत गर्नु  यो स्वैरकल्पना सहितको म्याजिक रियलिज्म नभए के त? उपन्यास प्रयोगधर्मी भएको छ तर उपन्यासकार प्रयोगधर्मिताको अर्थ खुम्चिएको स्विकार्छन्। मुनाको खुट्टामा रोग लागेर माथि माथि सर्दै जानू यौनांग सकृय हुनु,अमितको मस्तिष्कमा अनेकौं हुण्डरी पस्नु अनि यौनमा सक्रिय हुनु। स्वाभाविक/अस्वाभाविक लाग्छ।

उपन्यासका हरेक घटना  स्वाभाविक लाग्छ,उत्तिकै अस्वाभाविक पनि लाग्छ। पात्र कथा पढ्दा नेपालीले विदेशमा भोग्नुपरेको तीतो यथार्थ पनि लाग्छ। लिभीङ् टुगेदर हुनु नेपालमा अस्वाभाविक लागे पनि बेलायतमा स्वाभाविक लाग्छ। अमितको पहाड घर बागलुङ पछि चितवन हुँदै हाल बेलायत रहेको हुँदा यो उपन्यासलाई डायस्फोरा साहित्य किन नभन्ने प्रश्न पनि उब्जिन्छ,पाठक मनमा।

मुनाको रोग बढेर मृत्यु भएपछि पनि  माया लागेर फ्जिरमा राख्नु र रूखमा पानी आएपछि यौनोत्तेजना बढ्नु र समागम गर्नु अस्वाभाविक लाग्छ। अमित मानसिक रोगी भएपछि जो पनि गर्ला भन्न सकिन्छ। रोगीका लागि स्वाभाविक हो,कानुनले त फरक गर्छ भने उपन्यासमा यो आउनु अस्वाभाविक होइन। अन्ततः बेलायतका प्रहरी अमितको घरमा आएर सोधपुछ गरेर अमितलाई प्रहरी स्टेसन र मुनालाई एम्बुलेन्सबाट अस्पताल लगेपछि उपन्यास सकिन्छ। उपन्यासको अन्तिम कथा पहिलो खण्डमा आउँदा पाठक रन्थनिन सक्छन्।

उपन्यासकार गोपी लेख्छन्:

‘अमित मानसिक रूपमा बिरामी छ। ऊ उपन्यासको न्यारेटर हो। न्यारेटर नै मानसिक रूपमा अस्वस्थ भएकाले उपन्यासका कुनै कुरा जस्टिफाइड लाग्दैनन। ऊ पूरै अस्वस्थ पनि होइन,त्यसैले उसका कुनै कुनै कुरा फेरि जस्टिफाइड लाग्छन्।’

उपन्यासमा म्याजिक रियालिज्मको प्रयोग छ। यो लेखकको स्विकारोक्ति हो।

के हो त? म्याजिक रियालिज्म।

म्याजिक रियलिज्म साहित्य र कलाको एक शैली हो। यसले संसारको यथार्थ परक दृश्य चित्रण गरेर जादूयी तत्व पनि थप्छ। झट्ट पढ्दा होइन हुँदैन लागे पनि हो हुन सक्छ। काल्पनिक र वास्तविकता बीचको रेखालाई धमिलो पारेर एकाकार बनाउछ। सपना वा कल्पना जस्तो लागे पनि यथार्थ जस्तो लाग्नु नै म्याजिक रियलिज्म हो। यसको प्रयोग कला,नाटक र साहित्यमा हुन्छ।

धेरै खुसी हर्ष विभोर हुँदा हाँसोपछि आँसु आउँछ, धेरै दुःखी हुँदा आँखाबाट आँसु बगेपछि त्यही मानिस हाँस्न थाल्छ। यो अवस्थामा आँसु र हाँसो बीचको रेखा धमिलो छ। यो नै हो, जादूयी यथार्थवाद।

यी दुवै अवस्था स्वाभाविक बनाउनेतर्फ लेखक जागरूक भएको हुन्छ। कथावाचकको सोचाइ, भनाइ र गराइ ठीक नहुँदा नहुँदै भ्रम र यथार्थ पस्कनु नै लेखन जादू हो।

पेन्टिङ अनि नाटकमा  पनि रगत बगेको देखाउन कलर प्रयोग गर्नु,आँखाबाट आँसु देखाउन पानी जस्तो ग्लिटर प्रयोग गर्नु जस्तै लेखनमा पनि त्यस्तै प्रभाव देखाउन कथा वाचनले बारम्बार दृश्य वर्णन गरेर पाठकलाई हो जस्तै पार्नु जादूयी कला हो। कथावाचकले वर्णन गरेको दृश्यलाई पाठकले सादृश्य मस्तिष्कमा स्थापित गर्नु नै लेखन कला हो।

गोपी नाटककार र उपन्यासकार भएकाले यसको प्रयोग गरिएको हुन सक्छ। यस अर्थमा गोपी सफल भएका छन्।

गोपीकै शब्दमा ‘मूलतः उपन्यास पढेर पाठकमा पर्ने प्रभावको बारेमा प्रयोग गर्ने प्रयास गरेको छु। मलाई विश्वास छ,उपन्यास पढेर सकेको दिन पाठकहरूले एउटा छुट्टै सन्तुष्टिको महसुस गर्नु हुनेछ। भोलिपल्ट उहाँहरूलाई कतै केही नमिलेको, कतै केही बुझे जस्तो लाग्नेछ। अनि अलिपछि पाठकहरू त्यही बुझे नबुझे जस्तो बीचमा हुनु हुनेछ। उपन्यासका घटना कतै सपना जस्तो लाग्नेछ्न।’

कोरोनाका कारण सरकारले बाहिर निस्कन रोक लगाएको छ। मुनाको मृत्युपछि शवलाई फृजरमा राख्नु बाध्यता वा प्रेमलाई दर्शाउँछ भने मृत्युपछि पनि सदा झै रूखमा पानी आएपछि संभोग गर्नुलाई अति ठानिए पनि अमित पागलपनको पराकाष्ठा पुगेको देखाएपछि स्वाभाविक लाग्छ।

प्रहरी घरमा आएपछि अरू छिमेकीले देखे भने भन्ने सोचाइ अमितको छ। यतिबेला स्वाभाविक लाग्छ। अमित प्रहरी स्टेशन र मुनाको शव अस्पताल लागेपछि छुट्टिएको देखाइन्छ। जब कि मृत्युपछिका कति दिनसम्म मुनासँगै छिन् भन्ने भान पार्नु चमत्कार नै हो। घरमै राखी रहनु कोरोनाको प्रभाव देखाइएको छ। भ्रम र यथार्थको दोसाँधमा रहेको छ चिसो बाफ।

गोपी बेलायत बस्छन्। उनी अंग्रेजी साहित्य प्रशस्त अध्ययन गरेकाले पनि नेपाली परम्परागत शैलीको धार छोडेर नयाँ बाटो लिएको देखिन्छ। त्यसैले पनि उनलाई आविष्कारी लेखक भन्न मिल्छ।

उपन्यासमा दृश्यहरूको धेरै वर्णन,सम्बाद पुनः उक्तिले पाठकलाई अघिल्लो चरणमा भनिसकेको फेरि किन भन्ने लाग्छ। रूखको प्रयोग पनि धेरै ठाउँ हुँदा कतै अति भए पनि ठीकै हो कि जस्तो लाग्छ।

अन्त्यमा लेखकले पात्रको नाम थर सापकोटा नै किन राखे?

अत्यन्तै सरल शब्द शिल्पमा उपन्यास तयार भएको छ। अंक अक्षरमा दीर्घ हुनुपर्नेमा ह्रस्व भएको छ चालीस, चौबीस हुनुपर्ने, ठीक पनि ह्रस्व नै छ, सांस्कृतिक हुनुपर्ने, मुद्रणमा सामान्य फरक पर्न गरेको होला। कतै मुना,कतै उनी भएकाले पाठक अलमल पर्न सक्छन्। अर्को संस्करणमा सुधार होला। २२८ पृष्ठमा तयार गरि कलम प्रकाशनले २०७९ चैतमा बजार ल्याएको यसको मूल्य ४४५/-रूपैयाँ रहेको छ।

-मुरारि सिग्देल

प्रकाशित: ३० भाद्र २०८० ०४:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App