२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्रको पहिलो प्रदर्शनी

नेपाली चलचित्रको उपस्थिति अन्तर्राष्ट्रिय महोत्सवमा बढ्न थालेको छ। कुनै समय अन्तर्राष्ट्रिय बजारको खोजीमा रहने नेपाली चलचित्र निर्माता तथा निर्देशक अहिले पहिलो प्रदर्शनी(वर्ल्ड प्रिमियर)का लागि प्रख्यात महोत्सवमा पुग्न थालेका छन्। यसै सातामात्रै दुई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी गरिएको छ।

यही भदौ १३ देखि २३ सम्म इटालीको भेनिसमा सञ्चालन भएको ‘भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ८०औँ संस्करणमा निर्देशक फिडेल देवकोटाद्वारा निर्देशित चलचित्र ‘दि रेड सुटकेस’को पहिलो प्रदर्शनी भयो। जसमा कलाकार सौगात मल्ल, विपिन कार्की र सृष्टी श्रेष्ठ सहभागी थिए। उनीहरुले आफ्नो चलचित्रको विषयमा स्थानीय मिडियालाई जानकारी गराउनुका साथै अन्तर्राष्ट्रिय चलचित्रकर्मीसँग साक्षात्कार गरेका थिए।

महोत्सव अन्तर्गतको दोस्रो मुख्य प्रतिस्पर्धा ‘होराइजन’ विधामा छानिएर प्रदर्शन भएको चलचित्रमा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभाव देखाइएको निर्देशक देवकोटाले जानकारी दिए। उनले भने, ‘हाम्रो कथालाई विश्वका चलचित्रकर्मीले हेर्नुभयो। उहाँहरूको नेपाली चलचित्रप्रतिको सोच सकारात्मक भएको पायौँ। चलचित्रको माध्यमले कला र संस्कृतिको प्रवद्र्धधन भएको छ।’

उनले चलचित्रमा पिकअप ट्रकमा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा प्रस्तुत गरिएको जानकारी दिए। उक्त यात्रासँगै देशको आर्थिक, राजनीतिसँग परिचित हुने निर्देशक देवकोटाको भनाइ थियो।

यस्तै, चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी (प्रिमियर)भएको छ। भदौ २१ गते सुरू भएको महोत्सव ३१ गतेसम्म चल्ने छ। नवीन सुब्बाले निर्देशन गरेको चलचित्रको प्रदर्शनीमा कलाकार दयाहाङ राई र पशुपति राई सहभागी भएका थिए।

चलचित्र राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा मोटरेबल सडकको पहुँच भएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ।  निर्देशक सुब्बाले विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली  चलचित्र प्रदर्शन हुनु सकारात्मक भएको बताए।

अभिनेता राईले गाउँको भोगाइलाई पात्रमार्फत बाँच्न पाएको बताए। उनले भने, ‘पछिल्लो समय दैनिकीबाट हटेको गाउँको जनजीवनमार्फत समस्या र भोगाइलाई प्रस्तुत गरेका छौँ। विकासको प्रक्रियाले आम मानिसलाई न्याय नगरेको अवस्था छ। यस्तै सेरोफेरोमा चलचित्र तयार भएको छ।’

निर्देशक सुब्बाले निर्देशनको सुरुवात गरेको पहिलो चलचित्र ‘खाङ्गी’ नै अन्तर्राष्ट्रिय बजार पुगेको थियो। यसअघि उनीद्वारा निर्देशित ‘नुमाफुङ’ चलचित्र फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायतका  अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको थियो।

चलचित्रमा प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन। महेश राई र निर्देशक सुब्बाले लेखेको चलचित्रमा जोस हेरमले छायाङ्कन, क्वान पुन लिउङले सम्पादन र हेडी लीले सङ्गीत गरेका छन।

प्रकाशित: २६ भाद्र २०८० ०९:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App