जुलाई ४, २०२३ मा युक्रेनको किभस्थित सोभियतकालीन प्रतिष्ठित ‘मातृभूमि आमा’ को स्मारक अमेरिकी झन्डाका रंगहरूमा सजाइएको खबर भाइरल बन्यो। स्वयम् रुसी विदेश मन्त्रालयले समेत आफ्नो पेजमा फोटो पोस्ट गरेकाले यो खबर हावादारी हुने कुरा भएन। यो समाचारले किभ, युक्रेन र विश्वलाई अचम्मित तुल्यायो भने म आधा दशकभन्दा बढी सोभियत भूमिमा अध्ययन गरेको विद्यार्थी स्तब्ध भएँ।
‘मातृभूमि आमा’ को इतिहास
सोभियत संघका ऐतिहासिक सहरहरूमा देखिने ‘मातृभूमि आमाको स्मारक’ ती आमाको प्रतीक हो, जसले आफ्ना सन्तानलाई देशको रक्षार्थ लड्न आह्वान गर्छिन्।
मातृभूमि आमा-भोल्गाग्राड
जब युरोप कब्जा गर्दै अघि बढिरहेको फासिस्ट शक्तिले सोभियत भूमिमा आक्रमण गर्यो, लाखौं घर, करोडौं नागरिक, सयौं सहर, हजारौं कारखाना र संग्रहालयहरू खरानी भए। युगौंदेखि कैयन् युद्ध र झैझगडा झेल्दै बल्लतल्ल शान्तिपूर्ण संसारको निर्माणमा जुटेका सोभियतहरूको सपनालाई दुस्स्वप्नमा परिणत गर्दै नाजीहरू राजधानी मस्कोनजिक पुगे र आगामी अक्टोबर ९, १९४१ मा आफूहरू रेड स्क्वायरमा परेड खेल्ने घोषणा समेत गरे।
राष्ट्रको जीवनमा आइपरेको यो कठिन र संकटको घडीमा सोभियत सर्वोच्च सुरक्षा कमान्डले सबै देशवासीलाई आह्वान गर्यो-‘सम्पूर्ण देश रणमैदानका लागि, सबै विजयका लागि’।
जब युरोप कब्जा गर्दै अघि बढिरहेको फासिस्ट शक्तिले सोभियत भूमिमा आक्रमण गर्यो, लाखौं घर, करोडौं नागरिक, सयौं सहर, हजारौं कारखाना र संग्रहालयहरू खरानी भए।
यही नारा सन् १९४१ जुलाई १ मा राष्ट्रिय प्राव्दा दैनिकको पहिलो पृष्ठको हेडिङ बनेर बाहिर आयो। सरकारको यो नारालाई सम्पूर्ण सोभियत जनता, सबै वर्ग, तप्का र विचारधाराले समर्थन गरे। उनीहरूले ‘काममा, लडाइँमा जस्तै’, ‘युद्धलाई जे चाहिन्छ, हामी गर्छौं’ नाराहरू प्रतिध्वनित गरे। साथै आह्वानको प्रत्युत्तरमा ‘सबै युद्धका लागि, सबै विजयका लागि, सबै स्टालिनका लागि’ भन्दै डट्ने प्रतिबद्धताको शङ्खघोष गरे।
यससँगै विभिन्न नारा तथा गीतहरू सिर्जना भए। तीमध्ये एक हो:
‘मातृभूमि आमा बोलाउँदै छिन्
युवाहरू अघि बढ’
यो गीत हामीले पहिलो वर्षमा रुसी भाषाको पुस्तकमा पढ्नु पथ्र्यो। त्यसैले अझैसम्म कण्ठस्थ छ।
‘मातृभूमि आमा’को यस आह्वानको वरिपरि धेरै फरक विचार र संस्कृति भएका मानिस, सैन्यशक्ति र सामान्य नागरिक, पुरुष र महिला, युवा र किशोर उमेर र उत्पत्तिको पावन्दीबिना गोलबद्ध भए। मातृभूमि आमाको यही पुकारलाई शिरोपर गरेर करोडौं वीरवीराङ्गनाहरू महान् देशभक्ति युद्धको महासंग्राममा होमिए र दुई करोड सत्तरी लाखको जीवन आहुतिबाट युरोपलाई ग्यास च्याम्बर र यातना शिविरको चङ्गुलबाट मुक्त गरे।
‘मातृभूमि आमा’को स्मारक त्यसैको प्रतिरूप हो, जसले सङ्कटको घडीमा सम्पूर्ण देशलाई एकताबद्ध गर्यो। योे देशभक्ति, राष्ट्रिय भावनाको अभिव्यक्ति र मातृभूमिका लागि प्रेम तथा एकता रक्षा गर्ने प्रतिबद्धताको प्रतीक हो। मानव इतिहासमै अनुपम त्याग, बलिदान र देशभक्तिको निःस्वार्थ भावनाले जीवन न्यौछ्यावर गर्ने वीरहरूको सम्मानमा सोभियत भूमिका प्रायः सहरमा सालिक र अनन्त प्रज्वलित दीप स्थापना गरिएका छन्।
ती स्मारकमध्ये स्टालिनग्राद (हालः भोल्गाग्राड)को मामायव कुर्गानमा रहेको ‘मातृभूमि आमा’ को मूर्ति विश्वको सबैभन्दा अग्लो मूर्र्तिमध्ये एक हो। यो आफ्नो अनुपम कलात्मक प्रतीक र ऐतिहासिक साहसिकताका लागि विश्वविख्यात छ। यो मूर्ति भोल्गा नदीको दाहिने किनारमा रहेको एउटा पहाडमा अवस्थित छ, जहाँ स्टालिनग्रादको युद्धका क्रममा सोभियत सेना र नाजी फासिस्टहरूबीच भयङ्कर लडाइँ भएका थिए। आमाको मूर्तिसँगै त्यहाँ युद्धका वीर नायक–छोराहरूको सम्मानमा सामूहिक स्मारक संरचनात्मक केन्द्र पनि खडा गरिएको छ।
‘मातृभूमि आमा’को स्मारक त्यसैको प्रतिरूप हो, जसले सङ्कटको घडीमा सम्पूर्ण देशलाई एकताबद्ध गर्यो। योे देशभक्ति, राष्ट्रिय भावनाको अभिव्यक्ति र मातृभूमिका लागि प्रेम तथा एकता रक्षा गर्ने प्रतिबद्धताको प्रतीक हो।
मानव जातिको इतिहासमा हजारौं रक्तरञ्जित लडाइँ भएका छन। यद्यपि, संसारको स्वतन्त्र जिउने भाग्यका लागि स्टालिनग्रादको युद्धसमान अरू छैनन्। जुलाई १९४२ मा सुरु भएर फेब्रुअरी १९४३ मा अन्त्य भएको सृष्टिको सबैभन्दा ठुलो लडाइँमध्ये एक ‘स्टालिनग्रादको लडाइँ’ २०० दिन चल्यो।
यो मरणमारणको युद्धमा तीन लाखभन्दा बढी सैनिक एकअर्का विरुद्ध उत्रिए। यो समर महान् देशभक्तिपूर्ण युद्धका क्रममा एक मोड साबित भयो र सोभियत सेनाको विजयसँगै समाप्त भयो। यस संग्रामको रणनीतिक महत्व यसकारण छ कि यो सफलतापछि सोभियत सेनालाई कहिल्यै पछि हट्नुपरेन। नाजीहरू जो कुनै बेला रेड स्क्वायरमा मार्च गर्दै जर्मनीको विजय उत्सव मनाउने कुरामा विश्वस्त थिए, स्टालिनग्रादको पराजयपछि तिनैले जर्मनीमा तीन दिने शोक घोषणा गरे। साँच्चीकै विश्व मानव इतिहासकै त्रासदी र वीरतापूर्ण महाभारत थियो यो युद्ध।
मातृभूमि आमा–युक्रेन (परिवर्तनअघि)
भोल्गाग्राडको ‘मातृभूमि आमा’जस्तै ड्नेपर नदीको दाहिने किनारमा अवस्थित युक्रेनी राजधानीको यो ‘मातृभूमि आमा’ संसारका विख्यात स्मारक मूर्तिकलामध्ये एक हो र यो विश्वको पाँचौं अग्लो र युक्रेनो सबैभन्दा उच्च मूर्ति हो।
नाजीवादमाथि विजय हासिल गरेको ३६औं वर्षगाँठमा स्थापित यो प्रतिष्ठित सोभियत स्मारकको सन् १९८१ मा तत्कालीन सोभियत नेता लियोनिद ब्रेझ्नेभले उद्घाटन गरेका थिए। यहाँ हरेक वर्ष किभ र युक्रेन फासिस्टहरूबाट मुक्त भएको उपलक्ष्यमा विजय दिवस आयोजन गरिन्थ्यो र महान् देशभक्तिपूर्ण युद्धका भेट्रान र तिनका सन्तति उपस्थित हुन्थे।
जुलाई ४, २०२३ मा अमेरिकी झन्डाका रङमा सजाइएको खबरसँगै ३० जुलाई २०२३ मा यो स्मारकको नाम ‘मातृभूमि आमा’बाट ‘युक्रेन आमा’मा परिवर्तन भएको घोषणा गरियो।
भोल्गाग्राडको ‘मातृभूमि आमा’जस्तै ड्नेपर नदीको दाहिने किनारमा अवस्थित युक्रेनी राजधानीको यो ‘मातृभूमि आमा’ संसारका विख्यात स्मारक मूर्तिकलामध्ये एक हो र यो विश्वको पाँचौं अग्लो र युक्रेनो सबैभन्दा उच्च मूर्ति हो।
६ अगस्त, आइतबारका दिन युक्रेनी अधिकारीहरूले किभस्थित ऐतिहासिक ‘मातृभूमि आमा’को मूर्तिबाट सोभियत युगको प्रतीक चिह्न हटाए र त्यसलाई त्रिशूल चिह्नबाट प्रतिस्थापित गरे। त्यस दिनदेखि यो भव्य इतिहासको साक्षीले एक हातको ढालमा रहेको हतौडा र हँसियाको निसान छाप गुमायो। युक्रेन सत्ता यो कदमलाई कम्युनिस्ट विगतबाट युक्रेनको सांस्कृतिक पहिचानको पुनस्र्थापनाको एक हिस्सा हो भन्ने दाबी गर्छ।
यद्यपि यो असाध्य विरोधाभासपूर्ण छ। वर्तमान रुसी सत्ता ‘रुसी, युक्रेनी र बेलारुसी’हरूलाई प्राचीन रुसका उत्तराधिकारी ठान्छ। रुसी सत्ताले सोभियत संघ स्थापनाका क्रममा युक्रेन र अन्य पूर्व रुसी साम्राज्यअन्तर्गतका राज्य भूभागलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको मान्यता दिएकोमा लेनिन र सोभियतकालप्रति सदैव रोष प्रकट गर्छ, जब कि युक्रेन सत्ता सोभियतकाल र सोभियत सत्तालाई युक्रेनको स्वतन्त्रता कुण्ठित गर्ने काल मान्छ।
१९९१ को परिवर्तनसँगै सुरु भएको शताब्दीऔं देखिका सोभियतकालीन अवशेषहरू मेटाउने यस्ता शृङ्खलालाई युक्रेन युद्धपछि झन् तीव्र बनाइँदै छ। ऐतिहासिक स्मारकहरू भत्काएर तथा सडक र चोकहरूको पुनर्नामकरण गरेर इतिहासको पुनव्र्याख्या गर्न खोज्ने यी घटना नौला चाहिँ होइनन्।
मातृभूमि आमा (परिवर्तनपछि)
आज युद्ध, विभिन्न घटनाक्रमहरूले मान्छे मान्छेबीच विमति, मनमुटाव र द्वन्द्व हुनु स्वाभाविक हो। तथापि इतिहासको साक्षीका रूपमा खडा गरिएका स्मारक तथा सालिकहरूको तोडफोड र इतिहासको तोडमोड गर्नु गलत हो।
दोस्रो विश्वयुद्ध रुस, बेलारुस र युक्रेनको दुःख, पीडा र बलिदानको साझा इतिहास हो। नाजीहरूले आक्रमणको सुरुआत नै युक्रेनको किभमा बमबारीसहित गरेका थिए। त्यसमा सहादत प्राप्त गर्नेमध्ये एक करोड युक्रेनी नै थिए। हामीलाई तितो अतीत लागे पनि त्यस बेलाको पिँढीका लागि ती घटना वर्तमान हुन्।
वर्तमान रुस–युक्रेन युद्ध अत्यन्त पीडादायी छ। ककसको स्वार्थले द्वन्द्वको अग्निमा घिउ थपिँदै छ, यसको मूल्याङ्कन इतिहासले गर्ला तर पीडा युक्रेनी नागरिकले भोगिरहेका छन्, युक्रेनी–रुसी सैनिक मरिरहेका छन्।
लेखक श्रेष्ठ सोभियत विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर हुन्।
प्रकाशित: १६ भाद्र २०८० ०१:४० शनिबार