काठमाडौं – ७३ वर्षमा टेक्दै गरेका कलाकार प्रेममान चित्रकार कला सामग्री हातमा खेलाउँदै हुर्के । बाजेदेखि बाबुसम्मको पुस्ताको पेशा नै चित्र बनाउने भएपछि उनलाई पनि अन्य पेशातिर ध्यानै गएन । बावु र बाजेले कोरेको चित्र हेरेरै हुर्किएका उनी चाहिँ बाबुबाजेभन्दा पृथक किसिमको रंगमा चित्र कोर्न थाले । ‘खानी रंगका लागि ढुंगा पिँध्दै हैरान हुन्थ्यो,’ प्रेममानले सम्झे, ‘वनस्पतिको रंग, काठलाई उमालेर, रूखका पात, फूलको केशरी घोलेर नयाँ रंग निकाल्ने कोशिश गर्थें ।’ उनले विगतका ती रंग निर्माण विधिबारे पुस्तक पनि लेखेका छन्।
उसबेला नाग पञ्चमीमा नाग, तिहारमा लक्ष्मीपत्र र दशैंमा भगवती पत्र मात्र कोरिन्थ्यो । नेवार समुदायका घरका ढोकामा राखिने परम्परागत लुखोडुवा टाँस्न चित्रकार नै चाहिन्थ्यो । उनका ठूलाबा र बाले बनाएका बान्की परेको चित्र तत्कालिन राणाजीका दरबारमा नजराना चढ्थ्यो।
अब अहिले जमाना स्मार्ट भएको छ । सबैलाई नयाँ कुराको मोह छ पूरानो कला संस्कृतिको कसैलाई वास्ता छैन । मौलिक कला देशका लागि आवश्यक छ भनिन्छ मात्र मान्यता दिइँदैन, उनी गुनासो गर्छन् । ‘अहिले थोरै सद्बुद्धि आएको छ । तर जति चाहिने हो त्यति सम्मान परम्परागत कलाले पाएको छैन,’ उनी भन्छन्, ‘परम्परागत पौभा कलालाई हेला गरिएकै छ ।’ उनका अनुसार चौथो शताब्दीमा चाबहिलको चारुमति बिहारको आँगनमा बनेको पर्दा नेपाली परम्परागत कलाको उत्कृष्ट नमूना हो।
परम्परागत कला कोर्ने अर्का कलाका लोक चित्रकारले चित्र कोर्न थालेकै ४५ वर्ष भयो । विविध धार्मिक संस्कारमा आवश्यक चित्र कोर्दै कलाकारिता थालेका उनको विधा कालान्तरमा परम्परागत कला नै भयो । ‘टोलमा कसैलाई जनै खटिरा आउँदा सन्च हुन्छ भन्ने विश्वासमा शरीरमा सिंहको चित्र बनाउँथे,’ उनले भने, ‘धर्म संस्कृतिअनुसारका चित्र बनाएर घरका भित्ता सिंगार्थे ।’ २०३२ सालदेखि १२ वर्ष उनले पौभा चित्र नै बनाए । उतीबेला रंग पाउन सहज थिएन । ‘काँचो रंग अर्थात माटोको रंग, ढुंगाको रंग अनि खनिजका रंग आफैं बनाउनु पथ्र्यो । त्यति दुःख गरेर बनाएका चित्र बेच्न निकै माया लाग्थ्यो,’ उनले भने, ‘आर्थिक अभावले चित्र नबेची सुखै थिएन । १२ वर्षको उमेरमा बनाएको अष्टमातृकाको साह्रै मन परेको चित्र ७० रुपैयाँमा बेचे । त्यो बनाउन झन्डै तीन महिना लाग्यो ।’ अन्तर्राष्ट्रिय कलामञ्चमा नेपालको परम्परागत कलाको उपस्थितिका लागि सरोकारवालाले कुनै भूमिका नखेलेकोमा उनी दिक्क छन्।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा बस्नेहरूले राज्य चिनाउने कला विकास गर्ने कार्यनीति नबनाउँदा परम्परागत कला पछि परेको उनले बताए । लोकले केही समयअघि काठमाडौंमा भएको सार्क क्याम्पमा क्याम्पको गाइडलाइन अनुसार पहिलो पटक परम्परागत कलाकारले भाग लिन पाएको उनले बताए।
कलाकार उदयचरण श्रेष्ठले पहिला मूर्ति बनाउन सिके । पछि परम्परागत धारको महत्व बुझेरै यसैमा निरन्तर लागिरहेका छन् । ‘मोर्डन र कन्टेम्पोररीमा कलाकार स्वतन्त्र हुन्छन्,’ उनी भन्छन्, ‘परम्परागतमा आफ्ना अनुकुल व्याख्या गर्न पाउ“दैन, देवी देवता मूल विषय हुन्छन् ।’ उनका अनुसार प्रतिमा लक्षण विधानमा कुन देवी देवता बनाउँदा कसरी गर्ने भन्ने नियम उल्लेख छ । तर आइकोनोग्राफी विधी संस्कृत भाषामा लेखिएको र सर्वसुलभ नभएकाले कलाकारहरूलाई काम गर्न असहज भएको उनले बताए । साधनामाला पुस्तकमा बौद्धकलाका बारेमा संस्कृतमा उल्लेख छ । त्यसलाई नेपालीमा अनुवाद गर्न सके कलाकारका लागि प्रयोग गर्न सहज हुने उनी सुनाउँछन्।
ललित कला प्रतिष्ठानले पनि परम्परागत कलाप्रति चासो नदिएको उनको गुनासो छ । बजार पहिलेभन्दा विस्तार भएको छ, परम्परागत कलाको रेखाचित्र मात्रै पनि लाखौंमा बिक्छ।
अर्का कलाकार पूर्ण ह्योजु आफ्नो संस्कृति बचाउन पनि परम्परागत कलाको महत्व उजागर गर्छन् । ‘नयाँ विधा आइराख्छन् । तर पूरानो शास्त्रीय कला जोगाउन गाह्रो छ,’ उनी भन्छन्, ‘राष्ट्र चिनाउने कलाका लागि राष्ट्रले नै राम्रो गरेको छैन ।’ कला एकेडमीमा पनि बाहिरबाट पढेर आएका र उतैका कुरा गर्नेको मात्र हालिमुहाली छ तर देशकोे मौलिक कला बाहिर लानेमा कसैले चासो नदेखाएको उनले आरोप छ।
कलाकार दीपक जोशी परम्परागत कलालाई राज्यले माथि उठाउने कुरामा ध्यान नदिएको बताउँछन् । ‘हामी कलाकार आफैं नै काम गरिरहेको छौं,’ उनले भने, ‘एकेडमीले पनि वर्षको एकचोटी कला प्रर्दशन गर्ने मात्र हो । अरु त के नै गर्छ र ?’ अनुसन्धान र विकासका लागि गर्नुपर्ने काम ठप्पै रहेको उनले औंल्याए । अरनिकोले चीनमा नेपाली कला बनाएर चर्चा पाए पनि त्यसपछि कतै नेपाली कलाको उजागर हुन नसकेको जोशीले सुनाए । । पौभा मौलिक हो, थांका तिब्बती हो भनेर चेतना जगाउनु पर्ने बेला आइसकेको उनी सुझाउँछन्।
संस्कृतमा पत्र भत्तार, पत्रचित्र हुँदै पौभा भनेर परम्परागत कला चिनिन थालेको हो । मल्ल कालमा ‘पौ’ भनेको सन्देश ‘भा’ भनेको देवी देवता हो । नेपालका धेरै पूराना चित्र भुइँचालो र प्राकृतिक विपत्तीका कारण मासिएको कलाकारहरू बताउँछन् । कलाकार लोक चित्रकारले भने, ‘ग्रन्थचित्रको प्रमाण भने सन् १०१५ प्रज्ञा पारमिता सूत्र हो । जुन क्याम्व्रिजमा सुरक्षित छ ।’ उनका अनुसार भित्तेचित्रको भने रेकर्ड छैन।
पौभाकै हिसाबले हेर्नुपर्दा १३ औं शताब्दीको बचेको छ । जुन लस एल्जलस काउन्टी म्युजियममा र फ्लोरिडा म्युजियममा छन् । आर्यताराको चित्र क्लिभल्याण्ड म्युजियममा छ । लस एन्सलस काउन्टी म्युजियममा भएको १३६५ को वसुन्धरा त्यो बेलाको उत्कृष्ट चित्र हो । विष्णु मण्डल जय तेज पुंले बनाएका हुन् । मन्जु बज्र भने केशराज चित्रकारले बनाएको लिखतबाटै भेटिएका छन् । यस्तै धेरै चित्रमा कतै कलाकारका नाम छ कतै छैन । धेरैजसो विदेशमा छन्।
परम्परागत कला जीवित सम्पदा भएकाले बचाउन राज्यको ध्यान समयमै जानुपर्ने जोड कलाकारले दिएका छन् । नयाँ पुस्तालाई परम्परागत चित्र सिकाउन सके पहिचान जागिने उनीहरू बताउँछन् । नेपालमा पौभा कोर्नेको संख्या न्यून छ । अब्बल दरिएका परम्परागत कलाकार जम्माजम्मी डेढसयको हाराहारी रहेको अनुमान छ ।
प्रकाशित: २५ श्रावण २०७४ ०४:५० बुधबार