नेपालको कूटनीतिक इतिहास लेखनमा डा. मदनकुमार भट्टराईको सक्रियताले प्रकाशमा नआएका तर निकै महत्वपूर्ण पाटा मात्र उजागर गरेको छैन, भोलिको नेपाली कूटनीतिलाई अझ परिपक्व बनाउन पनि टेवा पुर्याएको छ।
लामो समय नेपालको परराष्ट्र सेवामा योगदान गरी सेवा निवृत्त भएका भट्टराईको गहन अध्ययन र फराकिलो सम्पर्कबाट आर्जित जानकारी उल्लेख्य छ। परराष्ट्र क्षेत्र र सेवाबारे दुई पुस्तक ‘परराष्ट्रका पात्र’ र ‘परराष्ट्रका प्रशासक’ पहिल्यै प्रकाशित भएका हुन्। त्यही शृङ्खलाको तेस्रो पुस्तक ‘चार कूटनीतिज्ञ’ प्रकाशन भएको छ। पुस्तक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको हो।
भट्टराईको ‘चार कूटनीतिज्ञ’ कृति मुख्यतः नेपालको परराष्ट्र सेवाको प्रारम्भिक चरणका चार जना प्रभावशाली व्यक्तित्व रामप्रसाद मानन्धर, शोभागजंग थापा, पद्मबहादुर खत्री र झरेन्द्रनारायण सिंहको जीवनवृत्त र योगदानमा आधारित छ। तथापि पुस्तकलाई चार जना व्यक्तिको जीवनीपरक कृतिका रूपमा मात्र बुझ्नु भने गल्ती हुनेछ। खासमा यो पुस्तक चार जना अगुवाको योगदानको ढाँचाभित्र बसेर नेपालको तत्कालीन कूटनीतिक र परराष्ट्र सेवा तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थितिको फराकिलो अध्ययन हो।
नेपालको कूटनीतिक इतिहास लेखनमा डा. मदनकुमार भट्टराईको सक्रियताले प्रकाशमा नआएका तर निकै महत्वपूर्ण पाटा मात्र उजागर गरेको छैन, भोलिको नेपाली कूटनीतिलाई अझ परिपक्व बनाउन पनि टेवा पुर्याएको छ।
२००७ सालमा राणाशासन समाप्त भएपछि झन्डै बन्द नेपाली समाज अन्तर्राष्ट्रिय क्षेत्रका लागि क्रमशः खुल्दै गयो। संयुक्त राष्ट्र संघको स्थापनाले नेपालजस्ता साना र अविकसित देशका लागि सार्वभौम मुलुकका रूपमा अन्तर्राष्ट्रिय डबलीमा उभिने अवस्था बन्यो। एकातिर एक शताब्दीभन्दा लामो समय जरा गाडेको राणाशासनको जरा उखेलिएपछि देशभित्रै सङ्क्रमणकालीन परिस्थिति थियो भने अर्कातिर दोस्रो विश्वयुद्धको समाप्तिसँगै संसारभर फैलिएका स्वतन्त्रता सङ्घर्षले देशबाहिर पनि सङ्क्रमणकाल थियो। त्यस्तो परिस्थितिमा बदलिँदो विश्वमा नेपालको उपस्थिति देखाउने गम्भीर जिम्मेवारी सम्हालेका चार जना कूटनीतिज्ञहरूको जीवनचर्चा आफै पनि इतिहास हो।
विशेषतः सन् १९५० देखि १९७० सम्मको कालखण्ड नेपालको कूटनीतिक क्षेत्रमा विशेष महत्वको थियो। भर्खर स्वतन्त्र भएको भारतका शासकमा वरपरका छिमेकी देशसँग गर्ने व्यवहारमा बेलायती उपनिवेशवादको बिरासत बाँकी थियो। त्यसमाथि भारत र चीनबीच भएको लडाइँले उतिबेला नेपालको सार्वभौमिकतामाथि नै प्रश्न उठ्यो।
पण्डित जवाहरलाल नेहरूको भारतको उत्तरमा रहेका हिमालय छेउछाउका ससाना देशहरूको सांस्कृतिक अस्तित्व मात्र कायम रहने चिन्तन र सिक्किमको भारतमा विलयले नेपालीसँग आफ्नो देशको सार्वभौमिकता र अलग अस्तित्व जोगाउन गम्भीर हुनुको विकल्प थिएन।
कूटनीति नै तत्कालीन परिस्थितिमा नेपालसँग भएको सबभन्दा अचुक हतियार थियो, जसले देशको सार्वभौमिकताको रक्षा गर्न सम्भव थियो। त्यस परिस्थितिमा नेपाली कूटनीतिको बागडोर सम्हालेका चार कूटनीतिज्ञको जीवनचर्चा व्यक्ति परिचयमा मात्र सीमित हुनै सक्दैन। भट्टराईको पुस्तकअध्ययनले यो तर्क पुष्टि गरेको छ।
पुस्तकमा चर्चा गरिएका चारै जना कूटनीतिज्ञहरू राणाकालमै सरकारी सेवामा सामेल थिए। आजको नेपाली प्रशासन त भनसुन, नातावाद, कृपावादबाट मुक्त हुन सकेको छैन भने आजभन्दा झन्डै ७०–८० वर्षअघिको नेपालको कर्मचारी प्रशासन, विशेषतः कूटनीतिक क्षेत्रमा नियुक्ति बिनापारिवारिक पृष्ठभूमि सम्भव थिएन।
रामप्रसाद मानन्धर विशिष्ट प्रतिभाका कारण प्राध्यापनबाट कूटनीतिक सेवामा आएका थिए भने बाँकी तीन जनाले पारिवारिक पृष्ठभूमिकै आधारमा पनि यो क्षेत्रमा उच्च पदमा बसी सेवा गर्ने अवसर पाएका देखिन्छन्। तथापि, संयुक्त राष्ट्र संघमा नेपालको सदस्यतादेखि विभिन्न देशमा नेपाली दूतावास स्थापना र सञ्चालनमा पहिलो पुस्ताका कूटनीतिज्ञहरूले उल्लेख्य भूमिका निर्वाह गरे। त्यसैगरी शीतयुद्धको असजिलो परिस्थितिमा असंलग्न आन्दोलनमा नेपालको संलग्नताका सन्दर्भमा उनीहरूले पुर्याएको योगदान इतिहासमा अक्षुण्ण छ।
पण्डित जवाहरलाल नेहरूको भारतको उत्तरमा रहेका हिमालय छेउछाउका ससाना देशहरूको सांस्कृतिक अस्तित्व मात्र कायम रहने चिन्तन र सिक्किमको भारतमा विलयले नेपालीसँग आफ्नो देशको सार्वभौमिकता र अलग अस्तित्व जोगाउन गम्भीर हुनुको विकल्प थिएन।
राजदूतदेखि परराष्ट्र सचिव हुँदै परराष्ट्र मन्त्रीसम्मका जिम्मेवारी बहन गरेर उनीहरूले नेपाली कूटनीतिक क्षेत्रको सुरुवाती जग बसाल्न योगदान गरे। यसले तत्कालीन परिस्थितिमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको परिचय स्थापित बनाउन मद्दत पुग्यो। तत्कालीन परिस्थितिमा नेपाल अन्तर्राष्ट्रिय डबलीमा सक्रियतापूर्वक नलाग्दा नेपालको सार्वभौमिकता नै कुण्ठित हुने अवस्थाको चर्चा पुस्तकका विभिन्न प्रसङ्गमा गरिएको छ। तिनै अग्रजले जानी नजानी गरेका कूटनीतिक व्यवहार नै आजका नेपालका कूटनीतिज्ञका निम्ति सकारात्मक र नकारात्मक पाठ हुन सक्छन्।
‘चार कूटनीतिज्ञ’मा लेखक भट्टराईले सूचना र जानकारीको सङ्कलन यति फराकिलो तरिकाले गरेका छन्, कतिबेला त लेखनको प्रवाह मूल विषयभन्दा उछिटिएर विभिन्न उपविषय र प्रसङ्गमा बढी केन्द्रित भएको देखिन्छ।
लेखकले चारै जना कूटनीतिज्ञसँगको लामो समयको सङ्गत, अन्तरर्वार्ता, भेटघाट र सूचना सङ्कलनकै कारण यति सूचना सङ्कलन सम्भव भएको हुनुपर्छ। ती कूटनीतिज्ञ नेतृत्वमा रहँदा भएका प्रमुख अन्तर्राष्ट्रिय घटनाबारे पनि लेखकले विभिन्न स्रोतबाट सूचना सङ्कलन गरी पाठकसमक्ष पस्केका छन्।
विशेषतः भारतीय परराष्ट्र सेवामा लागेका व्यक्तित्वबाट लेखक आफैले भेटेर गरेका सूचनाको सङ्कलनले पुस्तकलाई अझ ओझपूर्ण बनाएको छ। त्यसकारण ‘चार कूटनीतिज्ञ’ चार जना राष्ट्रसेवकका परिचर्चाभन्दा पर तत्कालीन कालखण्डको कूटनीतिक वृत्तान्त बनेको छ।
पुस्तकमा नेपालको तत्कालीन कूटनीतिज्ञ क्षेत्रका समस्याबारे पनि लेखकले पुग्दो चर्चा गरेका छन्। कूटनीतिज्ञहरूबीचको आपसी झैझगडा र मनमुटावका कारण विदेशस्थित नियोगले झेल्नुपरेका समस्यादेखि कूटनीतिज्ञका व्यक्तिगत कमीकमजोरीका कारण त्यो क्षेत्रमा मौलाएका विकृतिबारे पनि लेखकले अनुसन्धान गरी प्रस्ट चित्रण गरेका छन्।
लेखकले पुस्तक लेखनका क्रममा गरेको अनुसन्धानका क्रममा यसअघि सामान्यतः नसुनिएका तर महत्वपूर्ण योगदान गरेका व्यक्तिका नाम आउनु स्वागतयोग्य छ। यसले कम्तीमा मानिसको अस्तुसँगै योगदानको पनि अवसान हुने अवस्था रहनेछैन। तर, पुस्तकमा सूचनाको आकार निकै ठुलो हुँदा पाठकलाई ती सूचनाको भारी बोक्न कठिन हुने हो कि भन्ने भान हुन्छ। यद्यपि, लेखकको मिहिन अध्ययन र मिहिनेत कदरयोग्य छ नै।
‘चार कूटनीतिज्ञ’मा लेखक भट्टराईले सूचना र जानकारीको सङ्कलन यति फराकिलो तरिकाले गरेका छन्, कतिबेला त लेखनको प्रवाह मूल विषयभन्दा उछिटिएर विभिन्न उपविषय र प्रसङ्गमा बढी केन्द्रित भएको देखिन्छ।
व्यक्तिका सकारात्मक र नकारात्मक पाटा हुन्छन्। कोही पनि व्यक्ति सकारात्मक गुणले मात्र भरिएको र नकारात्मकता कत्ति पनि नभएको हुँदैन। कोही व्यक्ति जतिसुकै नकारात्मक भए पनि उसमा सकारात्मकताको कुनै न कुनै गुण निहीत हुने गर्छ। व्यक्तिको मूल्याङ्कन गर्दा हामीले गुणैगुणको मात्र चर्चा गर्नु जति गलत हुन्छ, दोषैदोषको कुराले मात्र पुर्नु पनि उतिकै गल्ती हुनेछ। भट्टराईले पुस्तकमा चर्चा गरिएका चार जना कूटनीतिज्ञका गुण र दोष केलाएर वस्तुगत मूल्याङ्कन गर्ने प्रयास गरेका छन्।
लेखकले कूटनीति र परराष्ट्र सेवाको इतिहासलेखनको यो सिलसिलालाई चालु राख्ने वचनबद्धता पुस्तकमै पनि व्यक्त गरेका छन्। यदुनाथ खनालजस्ता नेपालका कूटनीतिक क्षेत्रका नमेटिने डोबहरूका विषयमा पनि लेखकले पुस्तक प्रकाशनको सङ्कल्प गर्नु पाठकका निम्ति सन्तोषको विषय हो। यो क्षेत्रबारे छिटफुट निजी अनुभवका केही पुस्तक प्रकाशित भए पनि समग्र लेखनको अभाव कायम नै छ। भट्टराईको कलम यो दौडमा लाग्नु पनि अध्येताका निम्ति सन्तोषको विषय हो।
प्रकाशित: २ भाद्र २०८० ०३:२२ शनिबार