१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

एरिस्टोटलको लाइसियममा एक चक्कर

नियात्रा

गुरु प्लेटोले एरिस्टोटललगायतका शिष्यहरूसँग विमर्श गर्दै। तस्बिर: विकिपेडिया

एथेन्सको सिन्टाग्मा स्क्वायरको रमझमलाई छाडेर निस्कन मन लागेको थिएन। पाइला बिसाइसकेको थिएँ एथेन्सको भासिलिसिक सोफिया सडकको पेटीमा। व्यस्त सडकमा घिस्रिरहेका छन् गाडीका ताँतीहरू। लम्किरहेछन् मानिसका भिड आआफ्ना गन्तव्यतिर। देखिरहेको छु आधुनिकताले खर्लप्पै थिचेर निसासिएको प्राचीन एथेन्स सहर। बिचरा! एथेन्सले भोगिरहेछ आधुनिक हुनुको नियति। त्यसै माया लागेर आयो ऐतिहासिक सहर एथेन्सको।

उज्यालो र उष्ण दिनले ग्रिसमा स्वागत गर्‍ यो। पर्यटकको उच्च आगमन हुने समयमा एथेन्समा यायावर भएको छु। पर्यटनले गुल्जार बनाएको रहेछ एथेन्सलाई। प्राचीन इतिहास खोज्दै हिँडेको छु सहरका कुनाकाप्चा र गल्लीहरूमा। भेट्टाउन चाहन्छु इतिहासमा लेखिएका कुराका केही भौतिक अस्तित्वहरू। आफ्नै आँखाले हेर्न चाहन्छु तिनका अवस्था। त्यसैले आधुनिक एथेन्स सहरको भिडमा आफूलाई मिसाएको छु।

मलाई भिडभाड रमाइलै लाग्छ। साँच्चै भन्ने हो भने एकान्तमा आफू निसासिएजस्तो महसुस गर्छु। भिडसँग साक्षात्कार हुँदा अचानक महान् दार्शनिक एरिस्टोटल सम्झन्छु। उनले भनेका छन्, ‘एकान्तमा खुसी हुने कि जंगली जनावर हुन् कि देवता।’ उनले जे अर्थमा भनेका भए पनि म एक सामान्य मनुवा भिडबाट निस्केर फेरि भिडमा मिसिएको छु।

पाइला चालिरहँदा अचानक प्राचीन ग्रिसलाई स्मरण गर्न पुग्छु। एरिस्टोटल हिँडेको बाटो यही हो। यहींबाट पुगिन्छ विद्याको मन्दिर। अनुमान लगाउँछु–यही सडकमा कति घन्किए होलान् प्रजातन्त्र र गणतन्त्रका नारा? यस सडकले कति भोग्यो होला रोमन र ओटोमन साम्राज्यको चोट ? शक्तिशाली ग्रिस साम्राज्यले त्यो चोट कसरी सह्यो होला? कसरी सहजतासाथ लिए होलान् ग्रिकवासीले आफ्नो साम्राज्य तहसनहस भएर अरूको अधीनमा पुगेको इतिहासको कटु यथार्थ? मथिंगलमा प्रश्नैप्रश्नको खात बोकेर यात्रारत छु।

बिचरा! एथेन्सले भोगिरहेछ आधुनिक हुनुको नियति। त्यसै माया लागेर आयो ऐतिहासिक सहर एथेन्सको।

अचानक सम्झन्छु एरिस्टोटलको धर्तीमा अरस्तुलाई। किन एरिस्टोटललाई अरस्तु भनेर पढाए होलान् हामीलाई? दोस्रो पटक कसले न्वारन गरिदियो होला एरिस्टोटललाई? थपिएको अर्को प्रश्न बोकेर चर्को घाममा एरिस्टोटलले सञ्चालन गरेको लाइसियमतिर लम्किरहेको छु। मनमा पश्चिमी सभ्यताको महत्वपूर्ण शैक्षिक केन्द्रको अवलोकन गर्ने बेग्लै आतुरता बोकेको छु। ज्ञानको केन्द्र लाइसियमका बारेमा अनेकन् कुरा थाहा पाउने तीव्र उत्कण्ठा फत्किरहेको छ मनमा।

सानैदेखि दार्शनिक तथा विचारक एरिस्टोटलको नाम सुनेको थिएँ। उनी मेरा आदर्श पात्र हुन्। एरिस्टोटलले प्रतिपादन गरेको दर्शनले मेरो मस्तिष्कमा अहिलेसम्म पनि विचारको झञ्झावात उत्पन्न गराएको छ। ‘गरिबी क्रान्ति र अपराधको जननी हो’ भन्ने उनको शक्तिशाली विचारले युवा उमेरमा मेरो मस्तिष्कमा विद्रोहको राँको सल्काएको थियो। ‘युवाहरू सजिलै धोखा खान्छन् किनकि उनीहरू ज्यादा आशावादी हुन्छन्’ भन्ने उनको भनाइ मेरो स्मृतिमा अझै पनि ताजै छ। युवा उमेरमा क्रान्तिको धङधङी बोकेर नारा, जुलुस, बन्द, हडतालमा उत्रेको सम्झन्छु। युवा उमेरमा धेरै आशावादी भएर धोका खाएको पनि सम्झन्छु। कसरी बिर्सन सक्छु र एरिस्टोटलका ती शाश्वत विचारहरू।

चलिरहेका पाइला अचानक मूल सडकमा जोडिएको ‘आर्कोलोजिकल साइट अफ द लाइसियम अफ एरिस्टोटल’ लिखित सूचनापाटी देखेर रोकिन्छन्। त्यहीं थियो लाइसियम। नाडीमा लगाएको घडी हेर्छु। करिब पन्ध्र मिनेट जति चर्को घाममा हिँडेछु। निधारको पसिना पुछेर लामो सास फेरें।

इसापूर्व ३३५ मा एरिस्टोटलले सञ्चालनमा ल्याएका थिए लाइसियम। ल्याटिन भाषाको लाइसियम शब्दको अर्थ हुन्छ-उपदेश, प्रवचन स्थल वा स्कुल। त्यही लाइसियमले मलाई डोर्‍याएको थियो त्यहाँसम्म। संसारलाई अहिलेसम्म प्रभावित पार्ने दर्शन र विचारको जन्म भएको स्थानले बोलाएको थियो मलाई।

प्रवेश शुल्क तिरेर लाइसियम परिसरभित्र प्रवेश गर्छु। लाइसियम परिसर घामको उज्यालोमा चम्किरहेको थियो। मेरो मन पनि अनायसै घामजस्तै मुस्कुरायो। त्यस महान् ऐतिहासिक स्थलमा स्पर्श गर्दा गर्वले अभिभूत भएँ।

शिक्षाको उज्यालो छर्न एरिस्टोटलले उतिबेला सञ्चालनमा ल्याएको लाइसियम धुलिसात भइसकेको कुरा मलाई थाहा थियो। त्यहाँ जे जति भेटिन्छन्, इतिहासका केही अवशेष खोज्ने छु। स्वर्णिम इतिहासको उत्खनन गर्ने छु। चिहाउने छु इतिहासका गर्तहरूमा। यस्तै योजना बनाएर निस्केको थिएँ।

प्राचीन कालको शिक्षाको केन्द्रमा हिँडिरहँदा एरिस्टोटललाई सम्झन्छु। उनले भनेका थिए, ‘शिक्षित र अशिक्षितमा त्यति फरक छ, जति जीवित र मृतमा छ।’ राष्ट्रका लागि शिक्षित, असल र जीवित नागरिक तयार होऊन् भनेरै उनले स्थापना गरेका हुन् त लाइसियम? आफैसँग प्रश्न सोध्छु।

लाइसियमको भग्नावशेषअगाडि पुगेर मेरा पाइला रोकिन्छन्। अगाडि मूल सडक वरिपरि अग्ला भवनहरू छन्। मेरो सामुन्ने जमिन खनेर निकालिएका भवनका जगहरू असरल्ल छन्। खुला आकाशमुनि आफ्नो पिरव्यथा भन्न तयार देखिन्थे इतिहासका ती गौरवहरू।

त्यहाँ राखिएका सूचनापाटीमा नजर दौडाउँछु। अहो ! ती त एरिस्टोटलको लाइसियमका भवनका जगहरू पो रहेछन्। उति बेलाको शिक्षा केन्द्र भत्किएर माटोमुनि पुरिएको पनि झन्डै दुई हजार वर्ष भइसकेको छ। त्यति प्राचीन इतिहासको सबुतका सामुन्ने उभिएर इतिहासलाई स्मरण गर्छु।

एरिस्टोटलको लाइसियम पेरिपटाटिक स्कुलका रूपमा पनि चिनिन्थ्यो। पेरिपटाटिक ल्याटिनको पेरिपाटो शब्दबाट आएको हो। त्यसको अर्थ हुन्छ–टहल्नु। एरिस्टोटलले लाइसियम वरिपरि, भित्र र बाहिर हिँड्दै, टहलिँदै प्रवचन दिन्थे। घुम्दै, हिँड्दै अध्ययन–अध्यापन गरिने भएकाले एरिस्टोटलले स्थापना गरेको विद्यालयलाई ‘पेरिपटाटिक स्कुल’ भनिएको हो। त्यहाँ पढ्ने उनका शिष्यलाई पेरिपटाटिक्स भनिन्थ्यो।

लाइसियममा पढाउने क्रममा एरिस्टोटल अघि लाग्थे र शिष्यहरू उनलाई पछ्याउँदै हिँड्थे। शिष्यहरू एरिस्टोटलले भनेका कुरा टिपोट गर्थे। त्यही हो उनको पढाउने तरिका। एरिस्टोटलका नाममा अहिले उपलब्ध कृतिहरू एरिस्टोटल आफैले लेखेकाभन्दा पनि उनका विद्यार्थीले टिपेका प्रवचनका सङ्ग्रह हुन्।

इसापूर्व ३३५ मा एरिस्टोटलले सञ्चालनमा ल्याएका थिए लाइसियम। ल्याटिन भाषाको लाइसियम शब्दको अर्थ हुन्छ–उपदेश, प्रवचन स्थल वा स्कुल। त्यही लाइसियमले मलाई डोर्‍याएको थियो त्यहाँसम्म। संसारलाई अहिलेसम्म प्रभावित पार्ने दर्शन र विचारको जन्म भएको स्थानले बोलाएको थियो मलाई।

एरिस्टोटलको पढाउने तरिका मलाई अनौठो लाग्यो। विद्यार्थी जीवनमा कुर्सीमा गजधम्म बसेर अल्छी लाग्दो तरिकाले भट्याउने, मुख बढी चलाउने तर गुदी कुरा ननिकाल्ने शिक्षकबाट शिक्षा लिएको हुँ।

कक्षा नसकिए हुन्थ्यो जस्तो लाग्ने शिक्षक र कक्षा कोठामा घुमीघुमी पढाउने शिक्षकको पनि विद्यार्थी हुँ म। आजकल त डिजिटल जमाना छ। कम्प्युटर र मोबाइल फोनको स्क्रिनमा देखा पर्ने शिक्षकदेखि आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् रोबोटको शिष्य भएर अनलाइन तालिम लिएको छु। प्रविधिको तीव्र विकासको यही रफ्तार रहेमा भविष्यमा विद्यार्थी पढाउने कस्ता शिक्षक आउलान्? केही अनुमान गर्न सक्दिन।

एरिस्टोटलले भनेका छन्, ‘प्रकृतिका सबै चीजमा केही न केही अद्भुतता र आश्चर्यजनक विशेषता हुन्छन्। ती धेरै मूल्यवान् हुन्छन्।’ त्यसैले एरिस्टोटल आफ्ना विद्यार्थीलाई आफू वरिपरिका वनस्पति, जनावर र प्राकृतिक अवस्थितिको अवलोकन गर्न लगाउँथे। विद्यार्थी र शिक्षक वरपर घुमेर अध्ययन भइरहेको विषय नजिकबाट हेरेर विचार विमर्श गर्थे। म अचानक प्राचीन समयको पूर्वीय गुरुकुल शिक्षा र ऋषिमुनिहरू सम्झन्छु। तिनीहरूले पनि प्रकृतिकै वरिपरि रहेर शिक्षा दिन्थे। विद्यार्थीहरूले त्यहीं शिक्षा लिन्थे। जंगल, गुफा आदिमा बसेर तपस्या गरी ऋषिमुनिहरूले ज्ञान र शक्ति प्राप्त गर्थे। सायद तिनीहरूले प्रकृतिको समीपमा रहँदा कुनै ऊर्जा पाउँथे होलान् भनेर अड्कल गर्छु।

एरिस्टोटलले लाइसियममा आफ्ना शिष्यलाई बिहान बिहान विस्तृतरूपमा शिक्षा दिन्थे। साँझमा भने सर्वसाधारणका लागि साधारण भाषामा प्रवचन दिन्थे। त्यहाँ ज्ञान आर्जनका लागि कुनै भेदभाव गरिँदैनथ्यो। सबैलाई शिक्षा दिने एरिस्टोटलको त्यो उदारताको म सम्मान गर्छु।

एरिस्टोटलले भनेका छन्, ‘मानिसको खुसी समाज र राज्यको पूर्णतामा मात्र सम्भव छ। त्यसैले हरेक नागरिकको कर्तव्य आफ्नो समाज र राज्यलाई न्यायपूर्ण तथा खुसी बनाउनु हो।’ शिक्षित नागरिकले उक्त कर्तव्य पूरा गर्लान् भनेर उनले शिक्षामा जोड दिए।

एरिस्टोटलको पढाउने तरिका मलाई अनौठो लाग्यो। विद्यार्थी जीवनमा कुर्सीमा गजधम्म बसेर अल्छी लाग्दो तरिकाले भट्याउने, मुख बढी चलाउने तर गुदी कुरा ननिकाल्ने शिक्षकबाट शिक्षा लिएको हुँ।

सुकरातका सबैभन्दा प्रिय शिष्य हुन् प्लेटो। प्लेटोका सबैभन्दा प्रिय शिष्य एरिस्टोटल हुन्। एरिस्टोटलका प्रिय शिष्य थिए अलेक्जेन्डर द ग्रेट। एकपछि अर्को उस्तै दार्शनिक, विद्वान् र रणकौशल सम्राट तयार पार्ने एथेन्सको धर्तीलाई सम्झन्छु।

आफूभन्दा पनि विद्वान् शिष्य तयार पार्ने गुरुहरूलाई सम्झन्छु। विद्वान् गुरुलाई सम्मान गर्ने शिष्यहरू सम्झन्छु। अहिलेको उत्तरआधुनिक समयमा त्यस्ता गुरु र शिष्यहरू कति भेटिएलान् त? दार्शनिकहरूको धर्तीमा उभिएर गम्भीर हुँदै सोच्छु।

प्राचीन समयको महत्वपूर्ण पुरातात्विक स्थलमा पाइला सरिरहेका छन्। मानसपटलमा सल्बलाइरहेछन् शिक्षामा आधुनिक, वैज्ञानिक र दार्शनिक सिद्धान्त पढाइएको विश्वको पहिलो केन्द्र लाइसियमको धमिलो इतिहास।

एरिस्टोटलले प्लेटो एकेडेमीमा बीस वर्षसम्म पढेका थिए। आफ्नो पढाइ सकिन लाग्दा अन्तिम समयतिर त्यहीं पढाउन सुरु गरेका थिए। एरिस्टोटल आफ्ना गुरुलाई खुब आदर र सम्मान गर्थे तर गुरु प्लेटोको कैयौं दर्शनमा उनको असहमति थियो।

एरिस्टोटलले भनेका छन्, ‘आलोचनाबाट बच्ने एक मात्र उपाय छ–केही पनि नगर्नू, केही पनि नभन्नू र केही पनि नबन्नू।’ आफ्नो आलोचना होस् तर नयाँ विचार र दर्शन संसारले पाओस् भनेरै प्लेटो एकेडेमी भएकै ठाउँमा प्लेटोको निधनपश्चात् एरिस्टोटलले आफ्नै लाइसियम खोलेका थिए।

एरिस्टोटलले अध्यात्म, भौतिक विज्ञान, कविता, नाटक, नीतिशास्त्र, संगीत, राजनीति शास्त्र, जीव विज्ञानलगायतका क्षेत्रमा काम गरेका थिए। उनको तर्क–शास्त्र आज पनि प्रासंगिक छ। एरिस्टोटलका कृतिहरू त्यस बेलाको चलनचल्तीको कागज पपाइरसका पानामा लेखिएका थिए। कमजोर कागज भएका कारण उनका दुई तिहाइभन्दा बढी कृति नष्ट भए। अहिले उपलब्ध महत्वपूर्ण किताबहरू पोलिटिक्स, पोएटिक्स, मेटाफिजिक्स, प्रोब्लम, हिस्ट्री अफ एनिमल्स, फिजिक्स आदि हुन्। यीमध्ये केही कृति पुस्तकालयमा स्पर्श गर्ने सौभाग्य मिलेको थियो।

सुकरातका सबैभन्दा प्रिय शिष्य हुन् प्लेटो। प्लेटोका सबैभन्दा प्रिय शिष्य एरिस्टोटल हुन्। एरिस्टोटलका प्रिय शिष्य थिए अलेक्जेन्डर द ग्रेट। एकपछि अर्को उस्तै दार्शनिक, विद्वान् र रणकौशल सम्राट तयार पार्ने एथेन्सको धर्तीलाई सम्झन्छु।

एरिस्टोटल प्रथम व्यक्ति हुन्, जसले धर्मलाई राजनीतिबाट अलग गरेर एक स्वतन्त्र विज्ञानका रूपमा उपस्थित गराए। यिनलाई राजनीतिक विज्ञान, जीवविज्ञान र दर्शनका पिता पनि भनिन्छ। एरिस्टोटल त्यस समयका एकदम बुद्धिमान् व्यक्ति मानिन्थे। उनको प्रशंसा गुरु प्लेटोले समेत गरेका थिए।

प्राचीन ग्रिसका दर्शनहरूमा एरिस्टोटलका विचार महत्वपूर्ण मानिन्छन्। इन्द्रियभन्दा पर रहेको सत्य केलाउने प्लेटोको दर्शनविपरीत अनुभवमा आधारित विद्यमान सत्यको खोजी गर्थे एरिस्टोटल।

एरिस्टोटलको दर्शनले प्रकृतिमा जान, अनुभवबाट सिक्न, विभिन्न कुरालाई नजिकबाट हेर्न र ती कुरा कसरी त्यस्तो भए भनेर बुझ्न सिकाउँछ। उनले स्थापना गरेको लाइसियम त्यही पद्धति अपनाउने ज्ञानको केन्द्रका रूपमा सञ्चालनमा रह्यो।

एरिस्टोटल त्यस समयका पहिलो व्यक्ति हुन्, जसले परम्परामाथि कहिल्यै भरोसा गरेनन्। उनी कुनै पनि घटनाको जाँच गरेपछि मात्र निष्कर्षमा पुग्थे। लाइसियम उतिबेलाको वैज्ञानिक जाँच र परीक्षण गरिने एक मात्र स्कुल थियो।

तेईस सय वर्षभन्दा अघिदेखि आजका मितिसम्म प्रभाव पार्न सफल महान् विचारक तथा दार्शनिक एरिस्टोटलको महान् कर्म उनकै लाइसियममा पुनः स्मरण गर्छु। मेरो मनमा उनीप्रति अप्रतिम श्रद्धाभाव जाग्छ।

म पुरातात्विक महत्वको प्राचीन इतिहाससामु छु। ज्ञानको अजस्र स्रोत र दर्शनको उत्पत्ति भएको भूमिमा उभिन पाउँदा गौरवान्वित भएको छु। चारैतिर नजर दौडाउँछु। त्यहाँ सग्लो रूप देखिने कुनै भौतिक अस्तित्व छैनन्। न कुनै अग्ला कोलम, स्तम्भ र पर्खाल छन्, न त अरू संरचना। देखिएका छन् जमिनमाथि अलिकति भए पनि शिर उठाएका लाइसियमका जगहरू। देखिरहेछु राजनीति, दर्शन, गणित आदि सिद्धान्तका जन्मस्थलको विरूपता। म त्यहाँ खोजिरहेछु कला र सौन्दर्यभन्दा पनि त्यसको प्राचीनता।

उत्खनन जारी रहेको स्थानको वरिपरि चक्कर लगाउन सकिने सानो पैदल मार्ग छ। सुस्तरी हिँडिरहेको छु। त्यहाँ चलायमान छन् मजस्ता थुप्रै जिज्ञासु अवलोकनकर्ता।

हठात् मेरा आँखा ठोकिए एउटा सूचना पाटीमा। त्यस सूचना पाटीको ठिक अगाडिको भग्नावशेष त व्यायामशाला पो रहेछ! त्यो देखेर अचानक मेरो मस्तिष्कमा प्राचीन ग्रिकवासीका तस्बिर र मूर्तिका दृश्यहरू आए। प्रायःजसो तस्बिर र मूर्तिमा बलिष्ठ शरीर भएका प्राचीन ग्रिकवासी देखेको छु।

प्राचीन ग्रिसका दर्शनहरूमा एरिस्टोटलका विचार महत्वपूर्ण मानिन्छन्। इन्द्रियभन्दा पर रहेको सत्य केलाउने प्लेटोको दर्शनविपरीत अनुभवमा आधारित विद्यमान सत्यको खोजी गर्थे एरिस्टोटल।

प्राचीन ग्रिसमा खासगरी पुरुषहरू नियमित खेलकुद र व्यायाम गर्थे। विद्यार्थीहरूले त झन् अनिवार्य रूपमा व्यायाम गर्नुपर्थ्याे। राम्रो दिमाग र बुद्धिका लागि राम्रो स्वास्थ्य चाहिन्छ भन्ने उनीहरूको मान्यता थियो। शरीर स्वस्थ भए अझ बढी बौद्धिक भइन्छ भन्ने विश्वास गर्थे। सोही कारण एरिस्टोटलको लाइसियममा व्यायामशाला बनाइएको थियो। त्यहाँ भएको व्यायामशाला एथेन्सका तीन पुराना प्रमुख व्यायामशाला मध्येको एक मानिन्छ। लाइसियममा व्यायामका अतिरिक्त बक्सिङ र कुस्ती पनि सिकाइन्थ्यो।

घामको वर्षा भइरहेको छ एथेन्स सहरभरि। घामको उन्मादले परितप्त छ धरती। भिटामिन ‘डी’ सम्झेर तीस डिग्री सेल्सियसको घामको राप र ताप ग्रहण गरिरहेको छु। सारिरहेछु सुस्तरी पाइला।

हेर्दै जाँदा अलिक पर सामूहिक स्नान गृहको भग्नावशेष देख्छु। त्यो देख्दा दुई हजार वर्षअघि नै ग्रिकवासीहरू स्वास्थ्य र सफाइप्रति अत्यन्त सचेत रहेको थाहा लाग्यो। नेपालमा भने अझै नुहाउने, हात धुनेजस्ता सामान्य स्वास्थ्य शिक्षाका नाममा रेडियो, टिभी र पत्रिकामा सरकारले बर्सेनि करोडौं रूपैयाँ खर्च गर्नुपरेको छ। हामी संसारभरका अरू देशभन्दा अझै कति हजार वर्ष पछाडि छौं हँ? आदिम प्रश्न उठ्छ मनमा एक्कासी।

लाइसियम क्षेत्रमा ‘एपोलो लाइसियस’ देवताको मन्दिर रहेको थाहा पाउँदा अचम्मित हुन्छु। पछि बुझ्दा थाहा लाग्यो–एरिस्टोटलको लाइसियम एपोलो देवता उपर समर्पित रहेछ। रोग निको पार्ने अद्भुत क्षमता भएका देवता थिए एपोलो। उनी सूर्य, संगीत र कला आदिसँग जोडिएका देवता हुन्। प्राचीन ग्रिकका बाह्र देवतामध्ये एपोलो लोकप्रिय देवता हुन्। उनका बारेमा थुप्रै मिथ र किंवदन्ती छन्। रोमनहरूले थुप्रै ग्रिक देवतालाई रोमन नाम दिएर आफ्नो बनाएका थिए, तर एपोलो मात्र यस्ता ग्रिकका देवता हुन् जसलाई रोमनहरूले पनि एपोलो नामले नै पुकार्थे।

सानैदेखि दार्शनिक तथा विचारक एरिस्टोटलको नाम सुनेको थिएँ। उनी मेरा आदर्श पात्र हुन्। एरिस्टोटलले प्रतिपादन गरेको दर्शनले मेरो मस्तिष्कमा अहिलेसम्म पनि विचारको झञ्झावात उत्पन्न गराएको छ। ‘गरिबी क्रान्ति र अपराधको जननी हो’ भन्ने उनको शक्तिशाली विचारले युवा उमेरमा मेरो मस्तिष्कमा विद्रोहको राँको सल्काएको थियो। ‘युवाहरू सजिलै धोखा खान्छन् किनकि उनीहरू ज्यादा आशावादी हुन्छन्’ भन्ने उनको भनाइ मेरो स्मृतिमा अझै पनि ताजै छ। युवा उमेरमा क्रान्तिको धङधङी बोकेर नारा, जुलुस, बन्द, हडतालमा उत्रेको सम्झन्छु। युवा उमेरमा धेरै आशावादी भएर धोका खाएको पनि सम्झन्छु।

ग्रिकवासीले सूर्य देवताका रूपमा एपोलोको पूजाआजा गर्थे। उनका चित्र र मूर्ति हेर्दा शरीर मजबुत, पुष्ट र स्वच्छ युवाका जस्तो देख्न पाइन्छ। यिनलाई सबैभन्दा सुन्दर देवताका रूपमा पनि मानिन्छ। सूर्यको किरण आच्छादित भएकाले एपोलोको केस सुनौलो र चम्किलो देखाइएको हुन्छ। उनको हातमा एउटा वाद्य यन्त्र पनि बोकेको पाइन्छ। सूर्य त हिन्दुहरूका पनि देवता हुन्। हिन्दुसँग प्राचीन ग्रिकका देवताको कस्तो सम्बन्ध होला? अझ बढी जान्न खसखस लागिरहेको छ।

हेरेर सकिएको छैन। हिँडिरहेको छु लाइसियमवरिपरि। दौडाइरहेको छु आँखा चारैतिर। टिपिरहेछु सानो नोटबुकमा इतिहासका घटनाहरू। कल्पना गर्छु, यदि एरिस्टोटलले त्यहाँ हिँड्दै प्रवचन दिएको भए मैले पनि पछ्याउँदै उनको प्रवचन टिप्नुपर्थ्याे होला।

अहिले एरिस्टोटल छैनन् तर म विभिन्न दर्शनको जन्मस्थलमा पुगेर इतिहासका महत्वपूर्ण घटना र सूचना टिपिरहेछु। त्यहाँ शिक्षकको प्रवचन नभए पनि म एक्लै नोट बुकमा इतिहासका कुरा टिपिरहँदा एरिस्टोटलको पेरिपटाटिक स्कुलको भग्नावशेषअगाडि आफैलाई पेरिपटाटिक्स ठान्छु। पेरिपटाटिक्स हुनुको आत्मरतिमा एकछिन रमाउँछु। उक्त कुरा सम्झेर एक्लै फिस्स हाँस्छु।

त्यस ऐतिहासिक स्थलमा अझै धेरै कुरा पत्ता लगाउन बाँकी नै छ। त्यहाँ विभिन्न राजनीतिक, धार्मिक, शिक्षण र खेलकुद प्रयोजनका लागि बनाइएका भवनहरूका बारेमा जानकारी उपलब्ध छ। उत्खननका क्रममा भेटिएका भवनका जगलाई आधार बनाएर पुरातत्वविद्हरूले नक्सा कोरेका छन्। लाइसियमको कोठा, बाटो, बगैंचा आदिको जानकारी दिइएको छ। तिनका सग्ला रूप देख्न नपाए पनि नक्सा र भग्नावशेष हेरेर आफ्नै मस्तिष्कमा भव्य आकृति बनाउँछु।

घामको वर्षा भइरहेको छ एथेन्स सहरभरि। घामको उन्मादले परितप्त छ धरती। भिटामिन ‘डी’ सम्झेर तीस डिग्री सेल्सियसको घामको राप र ताप ग्रहण गरिरहेको छु। सारिरहेछु सुस्तरी पाइला।

अवलोकनका क्रममा अचानक पुस्तकालयको भग्नावशेष देखेर मेरा आँखा चनाखा भए। उक्त पुस्तकालयमा एरिस्टोटल र उनका विद्यार्थीले लेखेका शोधपत्र राखिने गरेको थाहा पाएँ। माटोमा विलीन भइसकेको पुस्तकालयमा रहेका हस्तलिखित मौलिक पुस्तक र शोधपत्र अक्षरका रूपमा बाँचे कि बाँचेनन्, मलाई थाहा छैन। अचानक मनमा कुरा आउँछ–अहिले हामीले लेखेका वा पढिरहेका पुस्तकको भौतिक अस्तित्व दुई हजार वर्षपछि के होला? मैले लेखेका पुस्तक कुन अवस्थामा रहलान्? उक्त कुरा सम्झिँदा मेरो मनको पुस्तकालय गल्र्याम्म ढल्यो। मनमा गह्रुंगो प्रश्नले थिचिरह्यो बेसरी।

मेरो समीप रहेको इतिहासको क्षतविक्षत अनुहारबाट आँखा हटाउँछु। आँखा पुग्छन् मनोरम प्राकृतिक दृश्यमा। ती दृश्यले मलाई सुरुदेखि नै लोभ्याइरहेका छन्। त्यहाँको शान्त वातावरणमा मैले चिनेका जैतुन, धुपी आदि रुखले आत्मीयता प्रदर्शन गरिरहेका छन्। मैले नचिनेका रुखविरुवाले पनि स्वागत गरिरहेका छन्। त्यहाँ शीतल छहारी प्रदान गरिरहेको झ्याम्म परेको एउटा रुखमुनि एकछिन बिसाउँछु।

एरिस्टोटलले भनेका छन्, ‘मानिसको खुसी समाज र राज्यको पूर्णतामा मात्र सम्भव छ। त्यसैले हरेक नागरिकको कर्तव्य आफ्नो समाज र राज्यलाई न्यायपूर्ण तथा खुसी बनाउनु हो।’ शिक्षित नागरिकले उक्त कर्तव्य पूरा गर्लान् भनेर उनले शिक्षामा जोड दिए।

आनन्दले सुतेजस्ता घाँसे मैदान देखिरहेको छु। ठाउँ ठाउँमा छन् थाइम र लावेन्डर वनस्पतिका बोटहरू। तिनबाट आउने हरर बास्ना नाकसम्म ठोकिन्छ। पन्छीका आवाज कानमा गुन्जिन्छन्। उपर्युक्त दृश्यहरूले मलाई एरिस्टोटलकै प्राचीन समयमा पुर्‍ याए।

शीतल छहारीबाट जुरुक्क उठ्छु। मेरो मानसपटलमा इतिहासका पाना सर्लक्क पल्टन्छन्।  

एरिस्टोटल प्राचीन म्यासिडोनियाका सम्राट फिलिपको आग्रहमा तेह्र वर्षका राजकुमार अलेक्जेन्डरको शिक्षक भएर प्राचीन म्यासिडोनिया गएका थिए। त्यहाँ उनले बाह्र वर्ष बिताए। वास्तवमा उनकै शिक्षा, दीक्षा र रणकौशलका कारण अलेक्जेन्डर विश्वका शक्तिशाली सम्राट बनेका थिए। अलेक्जेन्डर द ग्रेट नामले संसारभर चिनिए। गुरु एरिस्टोटलले विश्व विजेता आफ्नो शिष्यको प्रगति देखेर कस्तो अनुभव गरे होलान् ? मनमनै कल्पना गर्छु।

इसापूर्व ३२३ मा अलेक्जेन्डर द ग्रेटको हाल इराकको बेबिलोनमा बत्तीस वर्षको उमेरमा निधन भएपछि एरिस्टोटलको जीवन कठिन मोडमा पुग्यो। अलेक्जेन्डर द ग्रेटको निधनपछि म्यासिडोनियाको नियन्त्रणमा रहेको एथेन्समा म्यासिडोनिया विरोधी भावना बलियो हुन थाल्यो। यसको प्रभाव अलेक्जेन्डर द ग्रेटका कुनै बेलाका गुरु रहेका एरिस्टोटलमा पनि पर्‍यो।

एथेन्सका शासकले स्थानीय देवताहरूको सम्मान नगरेको र धर्ममा आस्था नराखेको भनेर एरिस्टोटलको आलोचना गर्न थाले। त्यसबाट बच्न इसापूर्व ३२२ मा एरिस्टोटल एथेन्स छाडेर आफ्नो मामा घर भएको ठाउँ युबोआ टापुमा गए। केही समयपछि उनको त्यहीं निधन भयो। एउटा महान् विचारक र दार्शनिकले पनि सत्तासँग डरले भागेर गुमनाम मृत्युवरण गर्नुपरेको घटना सम्झँदा चसक्क मन दुख्छ।

एरिस्टोटल प्राचीन म्यासिडोनियाका सम्राट फिलिपको आग्रहमा तेह्र वर्षका राजकुमार अलेक्जेन्डरको शिक्षक भएर प्राचीन म्यासिडोनिया गएका थिए। त्यहाँ उनले बाह्र वर्ष बिताए। वास्तवमा उनकै शिक्षा, दीक्षा र रणकौशलका कारण अलेक्जेन्डर विश्वका शक्तिशाली सम्राट बनेका थिए।

एरिस्टोटलको निधनपश्चात् पछिसम्म सञ्चालनमा रहेको लाइसियम आजभन्दा दुई हजार वर्षअघि रोमन सेनाले आक्रमण गरी ध्वस्त बनाएका थिए। शिक्षाको केन्द्र ध्वस्त भएपछि त्यतिबेला त्यस क्षेत्रलाई धेरैले त्यागे तर अहिले पनि त्यसले आकर्षण गुमाएको छैन। संसारभरका मानिस लाइसियममा इतिहास र संस्कृतिको अध्ययन गर्न जाने गरेको मेरा आँखाले देखे।

ज्ञानको ज्योति छर्ने लाइसियममा उतिबेला एपोलो देवताको मन्दिरसमेत भएकाले ग्रिकवासी त्यस स्थानलाई पवित्र भूमिका रूपमा पनि मान्दा रहेछन्। उनीहरूको विश्वासप्रति शंका गर्ने आधार मसँग थिएन। लाइसियम परिसरमा एपोलो देवताको मन्दिरको अस्तित्व नदेखे पनि सूर्य देवलाई शिर झुकाएर नमन गर्दै बाहिर निस्कन्छु।

प्रकाशित: २ भाद्र २०८० ०१:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App