सूर्यले गति परिवर्तन गरेको समयका हिसाबले नेपाली समूदाय तीनवटा संक्रान्तिलाई बिशेष महत्व दिन्छ, वैशाख संक्रान्ति, माघे संक्रान्ति र साउने संक्रान्तिलाई । साउनमा सूर्य उत्तरबाट दक्षिणतिर लाग्छन् ।
कृषि प्रधान देशमा असारे रोपाइँ सकेपछि आउने सँक्रान्तिलाई धुमधामसँग मनाईन्छ । त्यसै त हरेक सँक्रान्ति आशा र उत्साह बोकेर आउँछन् । साउन त मध्य हरियालीमा आउँछ । अध्यात्मका ज्ञाता डा. माधव भट्टराई भन्छन्, ‘प्रकृतिसँग अझै निकट गराउँछ साउनले ।’
खेतमा गाँजिदै गरेको रोपो हेरेर साउनमा किसान मुस्कुराउँछन् । भगवान शिवको प्रिय महिना साउनले प्रकृतिसँग नजिक्याउँछ ।
खेतमा गाँजिदै गरेको रोपो हेरेर किसान मुस्कुराउँछन् । साउनले आध्यात्मिक भावना जगाउँछ । महिला हरियो चुरा र हरियै पहिरन लगाउँछन् । सोमबार शिवको ब्रत बस्छन् । कतिपयले साउन महिनाभर मासु र मदिरा सेवन गर्दैनन् ।
भट्टराईका अनुसार शिवलाई जलधारा मन पर्छ किनकि उनको घाँटीमा समुन्द्र मन्थनबाट निस्केको कालकुट बिष रहेको विश्वास गरिन्छ । जलधारा हुँदा त्यो विषको पिडा कम हुन्छ । साउनमा आकाशबाट पानी धेरै पर्छ । त्यही भएर साउन शिवलाई मन परेको ।
साउन १५ मा खिर खाने चलन छ । हरियो घाँसको छेलोखेलो हुने भएकाले गाई भैंसीले दूध धेरै दिन्छन् । त्यही भएर खिर खाने चलन बसेको भट्टराईको अनुमान छ । नेपाली संस्कृति कृषिसँग जोडिएको छ ।
साउने सोमबार तिर्थालुहरु शिवालयमा पवित्र जल चढाउँछन् । कतिपय ठाउँमा बोल बम यात्रा गरिन्छ । काठमाडौं, धरान र तराई क्षेत्रमा बोल बम यात्रीको बाक्लो भिड लाग्छ । गेरु बस्त्र लगाएर कुनै लोभ लालचमा नपरी शुद्ध तन र मनले बोल बम यात्रा गर्दा तिर्थालुको मनमा शान्ति मिल्छ ।
चालीसको दशक सुरु देखि धरानबाट बोलबम यात्रा सुरु भएको मानिन्छ । सनातन धर्म सेवा समितिको अगुवाईमा चतरास्थित कोशीको जल पिण्डेश्वरमा चढाएर बोलबम यात्रा सुरु गरिएको धराने पर्यटनका ज्ञाता बासुदेव बराल बताउँछन् । पचासको दशकदेखि सुन्दरीजलको जल पशुपतिनाथमा चढाएर काठमाडौंमा बोलबम यात्रा थालिएको थियो।
त्यति मात्र होइन, साउन सृजनाको महिना पनि हो । साउने झरिमा मन भावुक बन्छ । त्यसैले त कविहरुले नयाँ नयाँ सृजना गर्छन ।
लुतो फाल्ने ?
गाउँघरतिर साउने सँक्रान्तिका दिन लुतो फ्याँक्ने चलन छ । खेतबारीको हिलोमा लामो समय काम गरेपछि लुतो लगायत रोगबाट जोगिन लुतो फयाँक्ने चलन छ । बिशेषतः साँझ कुकुरडाइनो, भलायो, कुरिलो आदि जडीबुटी बालेर आँगनबाट चारै दिशामा अगुल्टो फयाँक्ने चलन छ ।
अध्यात्मका ज्ञाता डा. माधव भट्टराईका अनुसार साँकेतिक रुपमा लुतो फाल्ने चलन बसेको हो । ‘सँक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरेर साँझ लुतो फयाँकिन्छ’, उनले भने, ‘कुनै चर्म रोग नलागोस् भनेर लुतो पयाँक्ने चलन बसेको हो ।’ त्यही दिन कण्डारक देवताको पूजा गरिन्छ । शहरीकरणले छोएका गाउँ–सहरमा लुतो फयाँक्ने चलन हराई सक्यो । कतिपय गाउँघरतिर त्यो संस्कृति जिवितै छ ।
प्रकाशित: ३१ असार २०७४ ०३:३१ शनिबार