३ पुस २०८१ बुधबार
image/svg+xml
कला

सुन्दर-शान्त वसन्तपुर

संस्कृति

कालीमाटीमा बस्दै आएका ८३ वर्षीय लालबहादुर श्रेष्ठ विगत ७ वर्षदेखि वसन्तपुर क्षेत्रमा आउन थालेका छन्। आफूजस्तै दौंतरीसँग कुमारीघरको पेटीमा बसेर भलाकुसारी गर्दै सहरको सौन्दर्य नियाल्दै आएका उनी पछिल्लो एक महिनादेखि थप खुसी छन्।

‘पहिला सवारी साधनको भिड र आवाजले यो क्षेत्र कोलाहलपूर्ण लाग्थ्यो,’ उनले भने, ‘असारयता भने शान्त महसुस भएको छ।’

काठमाडौं महानगरपालिकाले असारको पहिलो साताबाट हनुमानढोका परिसरमा सम्पदाको मौलिकता जोगाउन भन्दै सवारी साधन निषेध गरेसँगै उनी खुसी भएका हुन्। महानगरपालिकाले न्युरोडको सालिक गेटदेखि वसन्तपुर क्षेत्र सबैमा सवारी साधन निषेध गरेको छ।

‘राम्रो त यो ठाउँ छँदै थियो,’ उनले थपे, ‘सरसफाइसँगै गमलामा फूल राखिन थालेपछि शान्त यो ठाउँ झनै राम्रो देखिएको छ।’

उनी जस्तै खुसी छन् पूर्णमान शाक्य पनि। श्रेष्ठसँगै भलाकुसारी गर्दै आएका उनी बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म समय कटाउन यहाँ आउने गरेको सुनाउँछन्।

‘अब त हाम्रा कुरा पनि हर्नको आवाजले काटिन छाडेका छन्,’ उनी भन्छन्, ‘शान्त माहोलमा बस्दा रमाइलो लाग्ने गरेको छ।’

संरक्षक कार्यक्रममा योजना प्रमुख चन्द्रगोपाल श्रेष्ठ वसन्तपुर क्षेत्रको सौन्दर्य तथा व्यवस्थापनमा सरोकारवाला अधिकारीहरूसँग छलफल गर्दै अगाडि बढेको बताउँछन्। जनसहभागिता जुटाएर, स्थानीयको अपनत्व हुने गरी महानगरपालिकाले काम गरेको उनले बताए।

सम्पदा क्षेत्रको सुन्दरता र जनजीवनको सहजता सँगै लिएर अगाडि बढेको उनले बताए। महानगरले ‘६ स’ अर्थात् ‘सरससफाइ, सुन्दरता, सुरक्षा, सत्कार, सम्पदाको महत्व प्रवर्धन र सहयोगापेक्षीको व्यवस्थापनमा एकीकृत प्रणालीबाट काम गरेर अवस्थामा सुधार ल्याउन खोज्दै छ।

उनले भनेजस्तै विगत केही समयदेखि जुद्ध सालिकबाट वसन्तपुर प्रवेश गर्ने स्थानमा राखिएका गमला र फूलले सम्पदा क्षेत्रको सुन्दरता बढाएको छ। अब हनुमानढोका दरबार क्षेत्र संरचना अवलोकनका लागि मात्र होइन, स्थानीयवासीको परम्परागत जीवन, जात्रा र चालचलन झल्कने गतिविधि प्रदर्शन गर्ने वातावरणका लागि पनि तयार हुनुपर्ने महानगरपालिका प्रवक्ता नवीन मानन्धर बताउँछन्।

महानगर क्षेत्रभित्रका ठुला जात्रा तथा पर्व सञ्चालन गर्दा हनुमानढोका दरबार क्षेत्रमा एक पटक पुग्नैपर्ने चलन छ। यहाँ इन्द्र जात्रालगायतका पर्वमा राष्ट्र प्रमुख आउने चलन छ। त्यस्तै जीवितदेवी कुमारीको घर भएको स्थान, तलेजु भवानी तथा काल भैरव लगायतका मन्दिर यसै क्षेत्रमा पर्छन्। आकर्षक कलाकृति कुँदिएका मठमन्दिर र प्रख्यात धार्मिक आस्थाका देवीदेवता भएको यस स्थानलाई खुला संग्रहालयका रूपमा लिने गरिन्छ।

त्यसैले यो क्षेत्रमा सवारी निषेध गरिएको योजना प्रमुख चन्द्रगोपाल बताउँछन्। सम्पदा क्षेत्रमा जानेहरूका लागि न्युरोड, विशाल बजार र अन्य बाहिरी क्षेत्रमा पार्किङ गर्नुपर्ने उनले बताए। सम्पदा क्षेत्रमा एम्बुलेन्स र दमकलबाहेकका अन्य सवारी साधन प्रवेश निषेध गरिएको छ। 

प्रकाशित: २० श्रावण २०८० ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App