१५ असार २०८१ शनिबार
image/svg+xml
कला

हजुरबुबाको डायरी

पुस्तक परिचय

साहित्यकार भरत मल्लको लेखन कविता, गीत, गजल हुँदै उपन्यासमा आइपुगेको छ। उनका आधा दर्जन गीति कविता तथा गजलसङ्ग्रह छन् भने पहिलो औपन्यासक कृति हो ‘हजुरबुबाको डायरी’।

उनले जीवनको ऊर्जाशील समय नेपाली सेनाका अधिकृतका रूपमा राष्ट्रसेवामा सुम्पेर बाँकी रहेको जीवन लेखनका लागि समर्पित गरेका छन्।

‘हजुरबुबाको डायरी’ गाउँघरमा घटिरहने सामाजिक घटनाको उठान गरिएको उपन्यास हो। विकट गाउँसमाजको त कुरै छाडौं, काठमाडौंजस्तो सहरमा समेत अझै पनि अनेकौं अन्धविश्वास रहेका पाइन्छन्।

उपन्यासकार मल्लकै भनाइअनुसार एक बिहान सिफल चौरबाट पशुपतिनाथ जाँदै गर्दा उनले एउटा घरको सटरभित्र धामीले ससाना बिरामी बच्चाहरूलाई उपचारका नाममा झारफुक गर्दै गरेको देखे। केही बेर हिँडेपछि अर्को घरको सटरमा पनि त्यसैगरी ससाना बिरामी बच्चाहरूलाई झारफुक गर्दै गरेको देखियो। एक्काइसौं शताब्दीमा समेत काठमाडौंजस्तो विकसित सहरमा देखिएका अन्धविश्वासका यसप्रकारका दृश्य नै उपन्यास ‘हजरबुबाको डायरी’ लेखनका लागि पृष्ठपोषक बने।

उपन्यासकार सैनिक अधिकृत भएकाले आफूले देखे भोगेका सैनिक जीवनका यथार्थलाई समेत उपन्यासमा प्रस्तुत गरिएको छ। आफैले सैनिक तालिम गराएका सरल, मृदुभाषी, मिलनसार, मेहनती, कर्मठ तथा अनुशासित क्याडेटको बहादुरी र जिम्मेवारीलाई उपन्यासमा देखाइएको छ।

धेरै वर्ष अगाडि शान्ति सेनामा कार्यरत नेपाली सेनाका तिनै अधिकृतले मिसनमा आफ्ना सहकर्मीहरूलाई विद्रोहीको आक्रमणबाट सकुशल बचाएका थिए। उनले विद्रोहीसँग ज्यानको कत्ति पनि प्रवाह नगरी लडेका थिए। मिसन पूरा भइसकेपछि आफू भने सहिद भए। उपन्यासमा यो मार्मिक सन्दर्भको उठान गरिएको छ। साथै समानान्तर रूपमा गाउँसमाजभित्र भइरहेका सामाजिक विकृति, विसङ्गतिलाई समेत देखाइएको छ।

उपन्यासको प्रकाशन उपन्यासकार मल्लकै जीवनसँगिनी राधा राणा मल्लले गरेकी छिन्। २२४ पृष्ठमा समायोजित प्रस्तुत उपन्यासको मूल्य ५०० रूपैयाँ रहेको छ।

प्रकाशित: १३ श्रावण २०८० ०४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App