२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

राष्ट्रिय स्वाभिमानका गायक: गोपाल योञ्जन

व्यक्तित्व

गोपाल योञ्जनले नेपालमा आएर आफ्नो कीर्तित्व निर्माण गरे र त्यसको नासो आगामी पुस्ताहरूका लागि छोडेर बिदा भए। दार्जिलिङ क्षेत्रमा जन्मेर नेपाल आई यतै स्थायी रूपमा बसेर आफ्नो सिर्जन ऊर्जा र सामथ्र्यलाई प्रस्फुटित गर्दै/गराउँदै समस्त नेपाल र नेपालीभाषी भूगोलमा शीर्ष सम्मान पाउने सांगीतिक साधकहरूमध्ये गोपाल योञ्जनको नाम लिन सकिन्छ।

 सांगीतिक फाँटका ती स्वनामधन्य साधक–श्रष्टाहरूका आआफ्नै विशेषता रहे, जसले आआफ्नो अलग अलग उचाइ निर्माण गर्दै नेपाली सांगीतिक फाँटलाई माथि पुर्‍याउन विशेष योगदान दिएर हामीबाट बिदा लिए। यहाँ गोपाल योञ्जनको सांगीतिक व्यक्तित्वलाई उनीद्वारा लिखित, संगीत एवम् स्वरबद्ध केही राष्ट्रिय भावनाका गीति अभिव्यक्तिसित गाँसेर केहीबेर चर्चा गर्ने प्रयास गरिएको छ।

गोपाल योञ्जनको सबैभन्दा महत्वपूर्ण विशषता उनी रचना, संगीत र स्वर तिनै विधामा अब्बल थिए। उनले सिर्जना गरेका कालजयी सिर्जनाहरू त्यसका ज्वलन्त साक्षीका रूपमा रहेका छन्। आधुनिक गीतका अतिरिक्त उनले केही त्यस्ता नेपाली राष्ट्रिय भावनाका गीतको सिर्जना गरे, तिनले उनको प्रतिभाको उत्कृष्टता र नेपालीत्वप्रतिको अन्तरभावनालाई प्रस्फुटित गरिरहेका छन्।

उनले रचेका राष्ट्रिय भावनाका गीतहरूको छुट्टै मौलिकता छ। तिनले अरू राष्ट्रिय गीतहरूभन्दा बेग्लै ढंगले आम नेपाली जनमानसलाई झङ्कृत गर्छन्। ती गीतहरूले सामान्य रूपमा देशको प्रकृति, संस्कृति र सभ्यतालाई वर्णन नगरी भित्री मुटुलाई छुन्छन्। श्रोताको आत्मालाई शब्दका माध्यमबाट ध्वनिमा अनुमिश्रित गरी हृदयभित्र प्रवेश गराउँछन्, तिनलाई नसामा रगतसँगै बगाउँछन् अनि शरीरका तन्तुहरूलाई झङ्कृत बनाउँदै चैतन्य सञ्चार गराउँछन्।

गोपाल योञ्जनले नेपालमा आएर आफ्नो कीर्तित्व निर्माण गरे र त्यसको नासो आगामी पुस्ताहरूका लागि छोडेर बिदा भए।

प्रकृतिको वर्णन गरी राष्ट्रिय गीतहरू धेरै लेखिएका छन्। सँगसँगै कला–संस्कृतिसँग भावनात्मक एकता जनाउँदै लेखिएका धेरैजसो गीतहरूले मूलतः देशको अन्तर जगत्भन्दा दृश्य जगत्लाई विषयवस्तु बनाइएको पाइन्छ।

गोपाल योञ्जनद्वारा लिखित राष्ट्रिय गीतहरूले नेपालीका हृदयलाई बढी स्पर्श गर्छन्। आँखाबाट देखिने दृश्य जस्तै हिमाल, पहाड, तराई, मधेश, लेक, बेंसी, नदीनाला आदिलाई जोडेर धेरै गीत लेखिएका छन्।

यस्तै जाति, भाषा, धर्म, संस्कृति, राष्ट्रिय एकता, राष्ट्रिय भ्रातृत्व, राष्ट्रिय झन्डा, मठमन्दिर वा सांस्कृतिक सम्पदा, बाजागाजा, मेलापाल, परम्परागत सामाजिक–सांस्कृतिक रीतिथिति, इतिहास, ऐतिहासिक वीरता, गौरवगाथाहरू आदि कैयौं दृश्यात्मक–भावनात्मक आयामहरूलाई नेपाली राष्ट्रिय गीतका विषयवस्तु बनाइने गरेका छन्। यी र यस्ता विषयलाई राष्ट्रिय गीतहरूमा समावेश गरिँदै तिनलाई स्वरबद्ध र संगीतबद्ध गर्न थालिएको झन्डै २००७ सालदेखि नै हो।

रेडियो नेपालमा रेकर्डिङ गर्न भने अलि पछि मात्र थालियो। तुलनात्मक रूपमा उल्लिखित विषयवस्तु, सन्दर्भ वा पक्षहरूमा बढी राष्ट्रिय गीतहरूको रचना गरिएको भए पनि देशको राष्ट्रिय अस्मिता स्वाभिमानजस्ता भावनात्मक पक्षलाई केन्द्रीय भावभूमि बनाएर सांगीतिक रूपमा प्रस्तुति गरिएका गीतहरू संख्यात्मक रूपमा कम छन् भन्न सकिन्छ।

देशको आर्थिक विपन्नता वा गरिबीलाई केन्द्रीय भावभूमिमा राखेर बीसको दशकमा केही गीत लेखिएको पाइन्छ। एकदलीय निरंकुश व्यवस्थाद्वारा प्रताडित नेपाली राष्ट्रिय जनजीवनलाई ब्युँझाउने उद्देश्यका साथ सांगीतिक अभियान पनि विगतमा चलाइएको पाइन्छ।

प्रकृतिको वर्णन गरी राष्ट्रिय गीतहरू धेरै लेखिएका छन्। सँगसँगै कला–संस्कृतिसँग भावनात्मक एकता जनाउँदै लेखिएका धेरैजसो गीतहरूले मूलतः देशको अन्तर जगत्भन्दा दृश्य जगत्लाई विषयवस्तु बनाइएको पाइन्छ।

राष्ट्रिय स्वाभिमानलाई केन्द्रीय भावभूमिमा अंकित गरेर सिर्जित वा संगीतबद्ध गीतहरू धेरै छैनन्, सुनिँदैनन्। गोपाल योञ्जन त्यस्ता स्वदेश गानका रचनाकार हुन् जसले रचना गरेका गीतहरूको केन्द्रीय तत्व राष्ट्रिय अस्मिता, स्वाभिमान र नेपाली जातित्वको पहिचान रहेको छ।

गोपाल योञ्जन त्यस्ता सांगीतिक गौरव हुन् जसले रचना, संगीत र स्वर तीनै विधामा उत्तिकै सशक्त र प्रभावशाली श्रष्टाका हैसियतमा आम नेपाली श्रोतामाझ आफूलाई सम्मानित एवम् लोकप्रिय बनाए। उनका आधुनिक गीतहरू धेरैमा स्वरसम्राट नारायण गोपालले स्वर दिएका छन्। उनको संगीतमा अरूका धेरै रचनाहरू स्वरबद्ध पनि भएका छन्। यद्यपि रचना, संगीत र स्वर तिनै क्षेत्रमा उत्कृष्टता प्राप्त गर्न सक्ने प्रतिभा गोपाल योञ्जनबाहेक अरू पाउन निकै गाह्रो छ।

राष्ट्रिय स्वाभिमानलाई केन्द्रीय भावभूमिमा अंकित गरेर सिर्जित वा संगीतबद्ध गीतहरू धेरै छैनन्, सुनिँदैनन्।

नारायण गोपालको लोकप्रियता मूलतः उनको मौलिक विशिष्टतासहितको गला (स्वर) का आधारमा रहेको पाइन्छ। त्यसकारण उनलाई आम नेपाली श्रोता र स्वरका पारखीहरूद्वारा स्वतःस्फूर्त रूपमा स्वरसम्राट मानिएको महसुस हुन्छ। गोपाल योञ्जन र नारायण गोपालका स्वरहरूमा आआफ्नै मौलिक विशेषता छन्। राष्ट्रिय भावनाका गीति साधकका हैसियतमा गोपाल योञ्जनको सांगीतिक शिखरत्व भने झन्डैझन्डै अतुलनीय छ भन्न सकिन्छ।

राष्ट्रिय स्वाभिमानका भावनाले ओतप्रोत गोपाल योञ्जनको एउटा राष्ट्रिय गीत हो:

‘बनेको छ पहराले यो छाती मेरो,

बगेको छ छहरा रगतमा मेरो

पखेरुमा जन्में, टाकुरामा खेल्ने,

म झुक्दै नझुक्ने नेपालको छोरो।’

यी पंक्तिहरू गीतका स्थायी अर्थात् पुनरावृत्ति भइरहने पंक्तिहरू हुन्। यी पंक्तिमा देशको भौगोलिक अवस्थासँग नेपालीको शारीरिक अस्तित्व आत्मसातीकरण गराउँदै, भूगोल र नेपाली जातिको सम्बन्धलाई पर्यायवाची रूपमा अर्थबोध गराइएको छ। भूगोलको जुन उच्चता छ त्यसले नेपाली जातिको स्वाभिमानलाई पनि कहिल्यै झुक्न दिएको छैन भन्ने मर्म यी पंक्तिमा अभिव्यक्त भएको बुझिन्छ।

यस राष्ट्रिय गानको पहिलो अन्तरामा नेपाली जातिको कर्मशील जीवनको चित्र प्रस्तुत गरिएको छ। नेपाली जाति पसिना बगाउन पछि पर्दैन। यसले कसैका सामु हात जोडेर वा झुकेर बाँच्न पर्दैन। स्वावलम्बन र आत्मनिर्भरता नेपाली जातिका जन्मसिद्ध गुणहरू हुन्, जसले यस जातिलाई पराश्रित भई स्वाभिमान गुमाउन दिएका छैनन्। गीतका यी पंक्तिले व्यक्त गरेको अर्थले पनि नेपाली जातिको स्वाभिमानलाई उद्बोधन गर्छन्:

‘खोसेको रोटीले मेरो पेट भरिन्न,

मागेको धोतीले मेरो लाश छोपिन्न,

घोटिएर हातपाउ झरी जाऊन् औंला,

तर क्वै अगाडि यी हात जोडिन्न।’

गीतको दोस्रो अन्तरामा नेपाली जातिको अन्तरहृदयबाट निःसृत गुणहरूलाई अभिव्यक्त गरिएको छ। नेपाली जाति अन्यायलाई कहिल्यै सहँदैन, कसैको उपेक्षा वा तिरस्कारलाई यस जातिले कहिल्यै सहेन, सहन चाहँदैन।

कोही पराइले यस धर्तीमाथि कुल्चने दुश्चेष्टा गर्छ भने त्यसलाई प्राण गए पनि स्वीकार नगर्ने यस जातिको स्वाभाविक गुण रहेको छ। वीर पुर्खाहरूले ज्यानको बाजी लगाएर निर्माण गरेको र बचाएको यस राष्ट्रमा कसैले पनि टेक्न सक्दैन, टेक्न दिने छैन भन्ने वीरत्वपूर्ण नेपाली स्वाभिमानयुक्त गुणवत्तालाई स्मरण गरिएको छ:

‘म आगो सहन्छु, अन्याय सहन्न,

म तृष्णा सहन्छु, तिरस्कार सहन्न,

मेरो शिर उडाऊ बरु त्यो सहन्छु,

तर क्वै परायाले टेके सहन्न।’

नेपाली जातिको जातीय स्वाभिमानका विभिन्न पाटालाई सरल शब्दमा उद्बोधन गरिएको यो स्वदेश गान श्रष्टा साधक गोपाल योञ्जनको एक अमर सिर्जना हो।

गोपाल योञ्जनद्वारा सिर्जित, संगीतबद्ध र स्वराङ्कन गरिएको अर्को प्रसिद्ध राष्ट्रिय भावनाको गीत हो ‘देशले रगत मागे’। यस गीतको मर्म वा सार पनि राष्ट्रिय स्वाभिमान नै हो। यस गीतमा वीरमाता नेपालकी छोरी आफ्नी आमाको वीरोचित, स्वाभिमानी र गर्वशाली मनोभावनाद्वारा अभिसिञ्चित नेपाली जातिको वीरत्वपूर्ण चैतन्यभावलाई अभिव्यक्त गरिएको छ।

नेपाली जातिको जातीय स्वाभिमानका विभिन्न पाटालाई सरल शब्दमा उद्बोधन गरिएको यो स्वदेश गान श्रष्टा साधक गोपाल योञ्जनको एक अमर सिर्जना हो।

प्रत्येक नेपालीका आमाले नेपाल आमाको प्रतिनिधित्व गर्छिन्। आफूले जन्माएका वीर सन्तानहरूप्रति उनको गर्व चुलिएको छ अर्थात् उनी सन्तानको वीरत्वप्रति गर्व गरिरहन्छिन्। छोराले आमाको स्वाभिमानी र वीराङ्गनायुक्त अनि गर्वोन्नत स्वाभाविक सामीप्यप्रति गर्व गर्छ। आफ्नो पीयूषधारा पिएर बाँचेहुर्केको छोरो राष्ट्रको संरक्षण र सुरक्षाको यज्ञमा होम्न नेपालीमात्रकी आमा अर्थात् नेपाल आमा सधैं तयार रहन्छिन् भन्ने गौरवपूर्ण मातृ–अठोटलाई गीतमा समेटिएको छ।

प्रत्येक नेपालीका आमाले नेपाल आमाको प्रतिनिधित्व गर्छिन्। आफूले जन्माएका वीर सन्तानहरूप्रति उनको गर्व चुलिएको छ अर्थात् उनी सन्तानको वीरत्वप्रति गर्व गरिरहन्छिन्।

गोपाल योञ्जनको यस राष्ट्रभक्तिपूर्ण गीतमा उनको नेपाली जातीय वीरत्वको भावना बढी गहिराइसम्म पुगेको प्रतीत हुन्छ। यसमा जातित्वको गौरव, मातृत्वको वीरत्वपूर्ण अठोट र मातृहृदयबाट प्रवाहित हुँदै आएको स्वाभिमानपूर्ण ओजस्वी आशीर्वादले सन्तानलाई जहिल्यै पनि राष्ट्रिय चुनौतिलाई स्वीकार्न अभिप्रेरित गरिरहेको सन्देश प्राप्त भएको छ।

देशको रक्षार्थ आवश्यक परे प्रत्येक नेपालीले आफूलाई बलि दिन तयार हुनुपर्छ। राष्ट्रको सुरक्षार्थ खटिँदा सन्तानले वीरगति प्राप्त गरे भने पनि आमाले सन्ताप गर्दिनन्। यहाँ नेपाल आमाको वीराङ्गनापूर्ण अतीतलाई स्मरण गरिएको छ। त्यस वीरत्वलाई आफ्नै जन्मदायी मातृहृदयमा भावारोपण गरिएको छ:

‘देशले रगत मागे मलाई बलि चढाऊ,

रुँदिनन् मेरी आमा ऊ नेपालीकी छोरी।’

सन्तान भनेका आमाका लागि बुढेसकालका सहारा हुन् तापनि त्यस सहारालाई राष्ट्रिय सुरक्षार्थ हुने यज्ञमा आवश्यक परे होम्ने साहस आमाभित्र बाँचिरहेको हुन्छ। सन्तानभन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण हो, त्यसमा आमाले आफ्ना सन्तानको बलिदानीलाई खुसीसाथ सहन्छिन् भन्ने मर्म व्यक्त भएको छ।

यस्तै इतिहासमा नेपाली वीर जातिद्वारा विजित भूगोलको स्मरण गर्दै, अझै त्यस सौर्यशाली इतिहास निर्माताका सन्तानमा त्यस वीरतापूर्ण सामथ्र्य मेटिएको छैन, अझै बाँकी छ। त्यस्ता सन्तानकी आमा आफ्ना सन्ततिको सौर्य, पराक्रम र आत्मोत्सर्गको बदलामा केही कुराको अपेक्षा राख्दिनन्, मात्र राष्ट्र बाँचिरहोस् भन्ने कामना गर्छिन् भन्ने भाव व्यक्त भएको छः

‘बुढेसकालका लाठी त्यस यज्ञभित्र होमी,

मेरी बुढी आमा गोठमै हाँसी खुसी देखिन्छिन्

ती काँगडाका सन्तान अझै मरेका छैनन्,

तर चियाबारी र बाँसघारी कुरिरहेका हुन्छन्,

पाउँदिन केही पनि रगत, स्तनको साटो,

आउँदैन माग्न उसलाई, ऊ नेपालीकी छोरी।’

नेपाली आमाको दुध कुनै हिंस्रक जनावर (बघिनी) को दुधजस्तो होइन, जसले संसारलाई निल्न खोज्ने शक्ति (यमराज) लाई पनि पराजित गरेको अतीत छ। नेपाली आमाको दुध पिएकै सन्तानले विश्वशक्तिलाई पराजित गरेका छन्। त्यो गर्विलो अतीतले कमजोर भएर बाँच्न प्रेरित गर्दैन। बरु त्यसले वीरतापूर्ण मृत्युलाई हाँसीहाँसी वरण गर्न प्रेरित गर्छ।

सन्तान भनेका आमाका लागि बुढेसकालका सहारा हुन् तापनि त्यस सहारालाई राष्ट्रिय सुरक्षार्थ हुने यज्ञमा आवश्यक परे होम्ने साहस आमाभित्र बाँचिरहेको हुन्छ।

कुनै प्रलोभन वा याचना ती आमाका लागि स्वीकार्य छैन, बरु गोली सहन उनी तयार हुन्छिन्। आमा यस देशकी छोरी हुन्। साहसी वीराङ्गना मातृशक्तिका सन्तान नेपाली स्वतस्फूर्त वीरत्वलाई वरण गर्न चाहन्छ, कसैसँग झुक्न पराजित भएर बाँच्न चाहँदैन। गीतले आमाको साहस र अविचलित स्वाभिमानबाट प्रेरित सन्तानलाई राष्ट्रप्रति आफ्नो कर्तव्यबोध गराउन एवम् वीर माताका वीर सन्तान भएर बाँच्न प्रेरणा दिएको छः

‘यमराजको शिर छिनाउने सारा पृथ्वीका सन्तान,  बघिनीको दुध हैन त्यो त नेपालीको स्तन

सक्दिन म त बाँच्न निर्धा भएर एकछिन,

बरु सहिद भएरै वीरकै मृत्यु म मर्छु

हामी वीर बनेर मर्छौं, गोली त ऊ सहन्छे,

माग्दिनन् सुनका अक्षर, ऊ नेपालीकी छोरी।’

यो गीतले नेपाली राष्ट्रिय भावनाभित्र अतीतदेखि जीवन्त बन्दै आएको स्वाभिमान र वीरत्वले भरिएको इतिहासलाई पुनः स्मरण गराएको छ। यसले अतीतको नेपाली वीरगाथालाई वर्तमान पुस्तासम्म ल्याएर अतीतबाट प्रेरित रहनका निम्ति सन्देश दिएको छ।

वीरमाता र वीर सन्तानको वीरत्वपूर्ण स्वाभिमानी भावनालाई यसले सशक्त अभिव्यक्ति दिएको छ। राष्ट्र र राष्ट्रियताप्रति समर्पण भाव जागृत गराउन मूलतः आमाको स्वाभिमानी एवम् अपराजित मनस्थितिलाई केन्द्रमा राखेर सिर्जित यति शक्तिशाली राष्ट्रिय भावनाको गीत अर्को सुनिएको छैन।

गोपाल योञ्जनका कैयौं राष्ट्रिय भावनाका गीतमध्ये यो एक उत्कृष्ट वीरत्व–भावनाप्रधान गीत हो। देशको इतिहासप्रति, इतिहासले निर्माण गरेको वीरत्वपूर्ण गौरवप्रति गीतकार योञ्जनमा कति गहिरो आस्था रहेछ भन्ने कुरा यस गीतमा अभिव्यक्त भएको पाइन्छ।

गोपाल योञ्जन अत्यन्त प्रभावशाली राष्ट्रिय भावनालाई गीतिसिर्जनामा अभिव्यक्त गर्ने श्रष्टा हुन् भन्ने कुरालाई अर्को एउटा गीतले उत्तिकै सशक्त अभिव्यक्ति दिएको छ। ‘धेरै छ गर्नु स्वदेशको सेवा’ बोलको गीत उनीद्वारा सिर्जित यस्तै एक अर्को अमर सिर्जना हो। यस गीतमा पनि उनले सच्चा नेपाली भएर स्वाभिमानपूर्वक बाँच्न नेपाली जातिलाई आह्वान गरेका छन्, सचेत गराएका छन् र नेपाली हुनुको कर्तव्य पूरा गर्न सचेतना जगाएका छन्।

यस गीतले नेपाल राष्ट्रलाई केन्द्रमा राखेर राष्ट्रका सन्नतिलाई इमान्दार राष्ट्रभक्त बन्न र त्यसनिम्ति अनिवार्य गुणहरूको परिपालना गर्नसमेत प्रेरित गरेको छ। त्यसो गर्न नसक्नेले नेपाली हुँ भनेर हिँड्न पनि संकोच मान्नुपर्छ।

गोपाल योञ्जन अत्यन्त प्रभावशाली राष्ट्रिय भावनालाई गीतिसिर्जनामा अभिव्यक्त गर्ने श्रष्टा हुन् भन्ने कुरालाई अर्को एउटा गीतले उत्तिकै सशक्त अभिव्यक्ति दिएको छ।

मन र मुटुमा नेपाल बोक्न नसक्नेले बाहिरी आवरणले वा मुखले मात्र नेपालको नाम जपेर ऊ नेपाली हुन नसक्ने वास्तविकतालाई पनि गीतमा स्मरण गराइएको छ। यस गीतमा पनि राष्ट्रिय अस्मिता, स्वाभिमान र सिंगो नेपाली जातित्वलाई केन्द्रीय भावबिन्दुमा प्रतिस्थापित गरिएको छ। गीतको स्थायी बोलले नै श्रोताहरूलाई एकपटक इमान्दारपूर्वक आफंैप्रति फर्केर आत्म विश्लेषण गर्न प्रेरित गर्छः  

‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई

शिर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई,

हैन भने नेपाली नभन, वीरको छोरा नातिमा नगन।”

राष्ट्रका लागि गर्नुपर्ने काम कर्तव्यहरू अनेक छन्, हुन्छन्। आफ्ना लागि मात्र काम गर्नेले राष्ट्रसेवा गरेको भनेर शिर ठाडो पारेर हिँड्न सक्दैन। वीर पुर्खाको वास्तविक सन्ततिका रूपमा गनिनका लागि हृदयदेखि नै स्वदेशको सेवा गर्नु जरुरत पर्छ। राष्ट्रसेवाका लागि गरिने सत्कर्महरू नै नेपाली हुनुका आधार हुन्, प्रमाण हुन्। नत्र नेपाली हुनुको अर्थले सार्थकता पाउँदैन भन्ने मर्म यी पंक्तिहरूले अभिव्यक्त गरेका छन्।

योञ्जनलाई राष्ट्रिय भावनापूर्ण गीतले एक सशक्त राष्ट्रवादी, राष्ट्रियतावादी वा देशभक्त गीतकारका हैसियतमा प्रतिष्ठा दिलाएका त छन् नै, यस गीतको सिर्जनाले उनको त्यस प्रतिष्ठालाई अझ चहकिलो पारेको छ। जन्म मात्रैले नेपाली भएर वा पूर्वजन्ममा नेपाली हुन जुरेको भएर नै नेपाली हुन पाएको भन्ने सम्झी बस्नुको कुनै अर्थ छैन। पूर्वजन्मको कमाइ, पुर्खाको पौरख वा आशिष्ले मात्र नेपाली बन्ने योग्यता प्राप्त गर्न सकिन्न। पुर्खाले त पौरख गरेर देशको अस्तित्व राखेका थिए।

राष्ट्रका लागि गर्नुपर्ने काम कर्तव्यहरू अनेक छन्, हुन्छन्। आफ्ना लागि मात्र काम गर्नेले राष्ट्रसेवा गरेको भनेर शिर ठाडो पारेर हिँड्न सक्दैन।

वर्तमानमा सच्चा नेपाली बन्न इतिहास मात्र सम्झेर पुग्दैन। वास्तविक नेपाली बन्न आत्मादेखि नै नेपाली बनेर नेपालको सेवा गर्नुपर्छ। पहिरन नेपाली लाएर मात्र नेपाली बन्न सकिन्न, दौराको फेरले मात्र वास्तविक नेपाली बन्ने योग्यता बोक्न सक्दैन। नेपालीभित्र नेपाली आत्मा छ भने पहिरन जस्तो भए पनि हुन्छ। आत्मादेखि नेपाली भए मात्र नेपाली हुनुको अर्थ रहन्छ। गीत मार्फत् नेपालीलाई यस्तो सचेतना दिने, ब्युझाउँने अरू गीत थोरै मात्र होलान् भन्ने अनुमान गर्न सकिन्छः  

‘नेपाली हुन पूर्वजनमको कमाइले पुग्दैन,

पुर्खाको पौरख, श्रम र आशिष् मात्रैले पुग्दैन,

नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ,

पराया मुटु दौराको फेरले छोपेर पुग्दैन।’

गीतले श्रोताको मुटुलाई झङ्कृत गराउँछ, रोमाञ्चित गराउँछ र अन्तर हृदयदेखिको प्रसन्नताबोधले आह्लादित गराउँछ। गीतकार गोपाल योञ्जनले यस गीतमार्फत् देशको नक्सालाई सम्झेका छन्। उनले भूगोलमा आबद्ध वा सीमाङ्कित क्षेत्रलाई मात्र नेपाल नसम्झ, मेची र महाकालीबीचको धर्तीलाई मात्र नेपाल नसम्झ, नेपाली जहाँ जहाँ बसेका छन्, त्यहाँ त्यहाँ ‘नेपाल’ बनाएर, सम्झेर बसेका छन्।

नेपालीको रगत पसिना बगिरहेको प्रत्येक भूगोल नेपाल हो, त्यो नेपाली मानचित्र हो। नेपाली आत्मा गाँसिएको छ त्यहाँ। त्यसैले नेपाली मन जहाँ पुग्छ त्यहाँ नेपाल हुन्छ, भूगोलले नेपाली हुनुलाई साँध लगाउन सक्दैन। गीतले भन्छ:

‘महाकाली मेची हो भन्छन् नेपाल म भन्छु मानचित्र,

वास्तविक नेपाल छ भने कतै नेपाली मनभित्र।’

यी पंक्तिहरूमा योञ्जनले भूगोलको सीमारेखामा उभिएर वास्तविक नेपालको सीमा नछुट्याऊ, सीमा बाहिर बसेका नेपालीभित्र पनि नेपाल बाँचिरहेको छ, मेची–महाकाली पारी पनि छ नेपाल।

गीतले श्रोताको मुटुलाई झङ्कृत गराउँछ, रोमाञ्चित गराउँछ र अन्तर हृदयदेखिको प्रसन्नताबोधले आह्लादित गराउँछ।

सीमापारि बाँचिरहेको नेपाललाई सीमावारि जत्तिकै आफ्नो सम्झ। उनीहरू सीमापारि भए पनि आफूलाई नेपाल आमाकै सन्तति ठान्छन्। त्यसैले नेपाललाई भूगोलको साँध नलगाऊ भनेका छन्। यो बडो मार्मिक गीति अभिव्यक्तिमार्फत् गोपाल योञ्जनले सीमाबाहिर बस्ने नेपालीहरूको भावनालाई सम्मान गर्न आग्रह गरेका छन्। उनी स्वयम् दार्जिलिङ इलाकाबाट भूगोलको सीमाबद्ध नेपाल आएका थिए। शरीर रहेको भूगोलभन्दा आत्मा रहेको स्थान वास्तविक देश हुन्छ भन्ने मर्मलाई यी पंक्तिले उद्बोधन गरेका छन्:

‘सबैले मन खोलेर भन जय जय नेपाल,

भन्यो कि बन्यो नेपाल सुन्दर, शान्त र विशाल।’

मनबाटै नेपालप्रतिको आस्था प्रकट गर्नुमा नै वास्तविक देशप्रेम हुन्छ। मन र मुटुले देशको माया गर्नेले नै देश बनाउन सक्छ। शान्त र सुन्दर अनि विशाल नेपाल, यसलाई माया गर्नेहरूको हृदयमा बसेको छ, आस्थामा बाँचेको छ र नेपालीका स्वच्छ कर्म अनि पवित्र सेवामा प्रतिबिम्बित भएको छ। गीतकारले यस गीतमा नेपाली जातित्वप्रति, नेपाली हुनुको वास्तविक गौरवबोधका निम्ति आत्मादेखि नै नेपाली बन्न सक्नुपर्छ, नेपाली भएर पनि नेपालप्रति इमान्दार रहन नसक्नेहरू वास्तविक नेपाली बन्न सक्दैनन् भन्ने सन्देश दिएका छन्।

नेपाली भूगोलको सीमाबाहिर जन्मेका भए पनि योञ्जन प्रवासी नेपाली भएर बाँचेनन्। नेपाली भौगोलिक सीमाभित्र जन्मेका करोडौं नेपालीमाझ उनी मन, मुटु र कर्मले सचेत एवम् स्वाभिमानी नेपाली हुनुको उच्च परिचय दिएर बाँचे र पुस्तौंपुस्तासम्मका लागि अमर सांगीतिक कर्मका निसानहरू छोडेर बिदा भए।

गीतकार नेपाल योञ्जनद्वारा लिखित ‘मेरो टोपी’ शीर्षक गीत सांस्कृतिक भावनाले ओतप्रोत अर्को एक राष्ट्रिय भावना प्रधान लोकप्रिय गीत हो। उनका राष्ट्रिय भावनाद्वारा अभिसिञ्चित अन्य कैयौं गीतहरू पनि लोकप्रिय छन्। योञ्जनका यस्ता गीतमा नेपाली जातित्वको कहिल्यै नओइलाउने महक छ, सुगन्ध छ र राष्ट्रभक्तिको अन्तहीन अमर अनुभूति छ। उनका आफ्नै स्वर र संगीतमा सजिएका ती गीतहरू नेपालीका मनभित्र सदा अमर रहनेछन्।

गोपाल योञ्जन २००० सालको भदौमा दार्जिलिङमा जन्मे अनि २०५४ सालमा काठमाडांैमा उनको निधन भयो। यिनले नेपालबाटै नेपाली विषयमा एमएसम्मको अध्ययन गरेका थिए र शास्त्रीय संगीतका यिनी स्नातक थिए। यिनको निशानी–५२, निशानी–५३ एवम् संगीताञ्जलीलगायतका गीति एल्बम प्रकाशित छन्। यिनले कतिपय नेपाली चलचित्रहरूमा पनि कुशल संगीत संयोजन गरे।

नेपाल र नेपालीको स्वाभिमानी शिर कहिल्यै झुक्नुहुँदैन भन्ने प्रतिभाशाली श्रष्टा गोपाल योञ्जन गीत रचना, संगीत सिर्जना र गायनका त्रिवेणी हुन्। नेपाली भूगोलको सीमाबाहिर जन्मेका भए पनि उनी प्रवासी नेपाली भएर बाँचेनन्। नेपाली भौगोलिक सीमाभित्र जन्मेका करोडौं नेपालीमाझ उनी मन, मुटु र कर्मले सचेत एवम् स्वाभिमानी नेपाली हुनुको उच्च परिचय दिएर बाँचे र पुस्तौंपुस्तासम्मका लागि अमर सांगीतिक कर्मका निसानहरू छोडेर बिदा भए।

योञ्जन रचना, संगीत र स्वर तिनै विधामा अब्बल थिए। उनले सिर्जना गरेका कालजयी गीतहरू त्यसका ज्वलन्त साक्षीका रूपमा रहेका छन्। आधुनिक गीतका अतिरिक्त उनले केही त्यस्ता नेपाली राष्ट्रिय भावनाका गीतको सिर्जना गरे, तिनले उनको प्रतिभाको उत्कृष्टता र नेपालीत्वप्रतिको अन्तरभावनालाई प्रस्फुटित गरिरहेका छन्।

यी अमर साधकप्रति उनको उपस्थितिमा यस राष्ट्रले उचित सम्मान ग¥यो कि गरेन, त्यसको उपयुक्त अध्ययन गरिनुपर्छ। उनले राष्ट्रलाई जति दिएका छन् त्यसको मूल्यांकन गरी उनीप्रति सम्मान गर्न राज्यले तत्परता देखाउनैपर्छ। पारिवारिक सक्रियतामा स्थापित संस्थाहरूको चीरकालीन स्थायित्व नरहन सक्छ। गोपाल योञ्जन एक सांगीतिक धरोहर हुन्, उनी लगायत यस क्षेत्रका अन्य अतीत भइसकेका विशिष्ट सांगीतिक साधकहरूको कीर्तित्वलाई जीवन्त राख्ने शीर्ष दायित्व राज्यको हो। संस्कृति मन्त्रालय तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानजस्ता सम्बद्ध निकायले यसप्रति गम्भीर चासो दिनु उपयुक्त हुनेछ। 

प्रकाशित: १६ असार २०८० ०२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App