८ वैशाख २०८१ शनिबार
कला

दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन हुने

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ।साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न लागेको हो।

आगामी जेठ २६ र २७ गते साहित्य सम्मेलन तथा कविता प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार उक्त कार्यक्रममा प्रथम हुनेलाई रु ५५ हजार, द्वितीय हुनेलाई रु ४० हजार र तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुने छ जनालाई जनही रु १० हजारका दरले पुरस्कार प्रदान गरिने छ।

‘साहित्य सम्मेलनमा सहभागी हुन आउनेलाई व्यासभूमिको भ्रमण पनि गराउँछौँ, यसले गर्दा व्यासभूमिको प्रचार–प्रसारमा सहयोग पुग्छ’, अधिकारीले भने। व्यासको जन्म दमौलीमा भएको विभिन्न तथ्यले प्रमाणित गरे पनि प्रचार–प्रसार नहुँदा व्यासभूमि ओझेलमा पर्दै आएको अधिकारीले बताए।

साहित्य सम्मेलनलाई सफल बनाउन प्रतिष्ठानले प्रचार–प्रसारको कामलाई अन्तिम चरणमा पु¥याएको छ। उनले भने , ‘साहित्य सम्मेलनलाई सभ्य र भव्यरूपमा सम्पन्न गराउन विभिन्न स्थानीय तहसँग आर्थिक सहयोग माग गरेका छौँ। स्थानीय तहबाट सहयोगको प्रतिबद्धता आएको छ।’

प्रतिष्ठानले हरेक महिना काव्य वाचन कार्यक्रम गर्दै आइरहेको छ। जिल्लाका विभिन्न ठाउँमा पुगेर साहित्यकारहरूले रचनावाचन गर्दै आइरहेका छन्। 

प्रकाशित: २४ जेष्ठ २०८० १६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App