८ वैशाख २०८१ शनिबार
कला

हास्य विधालाई दर्शकले रुचाए

क्याप्शन

नेपालमा अन्यको तुलनामा हास्य विधामा निर्माण भएका चलचित्र दर्शकको रोजाइमा परिरहेका छन्।

गत वर्ष विक्रम संवत् २०७९ मा प्रदर्शन भएर सफल भएका चलचित्रमा हास्यव्यङ्ग्य शैलीमा निर्माण हुनेकै सङ्ख्या बढी छ । यसको उदाहरण ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हुन् ।निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन् ।‘कबड्डी ४’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनायो । यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन्।

टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायतका कलाकार अहिले चलचित्रमा सफल छन। उनीहरुको चलचित्र हेर्न दर्शकको राम्रै भीड देखिन्छ।

बक्सअफिसलाई हेर्दासमेत हास्यव्यङ्ग्य शैलीमा तयार गरिएको चलचित्रकै वर्चस्व देखिन्छ, बजारमा जे कुराको माग हुन्छ, अभाव पनि त्यसकै हुन्छ । सायद खुसी खोज्न दर्शक हलसम्म आउनुभएको हुनसक्छ’, निर्देशक प्रदीप भट्टराईले भने । हास्यकलाकार किरण केसीका अनुसार हाँस्दा मस्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मुड ठीक गर्न मद्दत गर्छ । मुड ठीक हुनुको अर्थ हो, जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु । मुड ठीक हुँदा मानिसको व्यक्तिगत, सामाजिक, व्यावसायिक जीवनमा सकारात्मक प्रभाव पर्छ । यी यस्तै कारणले हास्य विधालाई दर्शकले प्राथमिकतामा राखेको हुन सक्छ ।

‘हास्य विधामा काम गर्ने कलाकार अहिले सम्पन्न भएका छन् । देशदेखि विदेशसम्म पुगेर आफ्नो प्रस्तुति दिएका छन् । यो सबै दर्शकको रोजाइका कारण सम्भव भएको हो’, हास्य कलाकार केसीले भने, ‘हाम्रो कामले एकै छिन भए पनि मुहार उज्यालो बनाउने काम गर्छ । त्यसैले हाम्रो काम शृङ्खलामा होस् या चलचित्रमा दर्शकले रुचाएका छन्।’

चलचित्रभित्र पहिला हास्यव्यङ्ग्य एउटा पाटोमात्र हुन्थ्यो । हास्यकलाकारको काम नै हसाउने हुन्थ्यो तर अहिले हास्यकलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छ । यद्यपि सचेत हुनुपर्ने अवस्था पनि रहेको निर्देशक भट्टराईको भनाइ थियो । उनले भने , ‘दर्शकले गरिरहनुभएको विश्वासलाई कम हुन दिनुहुँदैन । जति धेरैले चलचित्र हेर्नुहुन्छ, दायित्व उत्ति नै बढ्छ ।’ 

प्रकाशित: २३ जेष्ठ २०८० १५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App