coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

पठनीय पुस्तक पूर्वीय संस्कृति र दर्शन

पुस्तक

नगेन्द्रराज रेग्मी

पाश्चात्य संस्कार र संस्कृतिको बढ्दो प्रभावले हाम्रो जस्तो प्राचीन सनातन धर्म संस्कृति मान्दै आएको देशलाई निकै आक्रान्त गराइरहेको छ। यस्तो विकराल परिवेशमा केही आशालाग्दा स्वर र सम्भावनाहरू, किरण र त्यसका झिल्काहरू यदाकदा देखिंदा निश्चय नै त्यसले हाम्रो जनमनलाई पुलकित गराउँदै थप आशा र उत्साहको सञ्चार गराउँछ। अहिले त्यही खुसी र आशा डा.इनु महतले जगाइदिएकी छन्,‘पूर्वीय संस्कृति र दर्शन’ जस्तो महत्त्वपूर्ण ग्रन्थको प्रकाशन गरेर।

हो, विश्वमा आआफ्ना संस्कृति, सभ्यता र दर्शनहरू चलिआएका हुन्छन्। तिनीहरूलाई त्यही जाति, वर्ग र सभ्यताले जोगाउँदै आएको हुन्छ। विश्वमा संस्कृतिका दुई रूप छन् -एक मूर्त र दोस्रो अमूर्त संस्कृति। मन्दिर, मूर्ति, देवदेवी, पहाड, नदीनाला, हिमाल, धाम, चर्च, मस्जिद, गुम्बा, पाटीपौवा आदि आदि मूर्त संस्कृतिभित्र पर्दछन् भने यीबारे व्याख्या विश्लेषण गर्ने विभिन्न शास्त्र, पुराण, उपनिषद्, वेद, वेदाङ्ग, धर्मशास्त्र, आगम निगम, धम्मपद, कुराण, बाइबल, कर्मकाण्ड जस्ता विषय वाङमयहरू अमूर्त संस्कृतिभित्र पर्दछन्। अझ यसलाई अलि व्यापक र विस्तृत रूपमा बुझ्ने हो भने देस, काल, परिस्थिति, अवस्था, कारण सहितको तत्त्व मूर्त हो भने देश, काल अवस्था कारणातीत तत्त्व अमूर्त हो।

प्रस्तुत पुस्तकमा देखाउन खोजिएको अर्काे विषय हो दर्शन। दर्शनको क्षेत्र त अझ व्यापक र विस्तृत छँदैछ। परम सत्यलाई यथार्थ रूपमा ज्ञान गराउने विचारलाई नै सामान्यतः दर्शन भनेर चिनाउन सकिन्छ। अथवा अर्काे शब्दमा भन्ने हो भने प्रमाणले पुष्टि गर्दै आत्म र अनात्मको ज्ञान गराउनु अथवा जीवन र जगतका सारा गूढ रहस्यहरूको खोजी गर्ने शास्त्रलाई दर्शन भनिन्छ।

हो, विश्वमा आआफ्ना संस्कृति, सभ्यता र दर्शनहरू चलिआएका हुन्छन्। तिनीहरूलाई त्यही जाति, वर्ग र सभ्यताले जोगाउँदै आएको हुन्छ। विश्वमा संस्कृतिका दुई रूप छन् एक मूर्त र दोस्रो अमूर्त संस्कृति।

यसरी संस्कृति र दर्शन जस्ता दुई छुट्टाछुट्टै गहन विषयलाई उठाएर सर्जक डा.इनु महतले महत्त्वपूर्ण कार्य गरेकी छन्। एउटा १३६ पृष्ठको पुस्तकमा विशाल आयाम बोकेको विषयलाई अटाउनु आफैंमा गाह्रो र चुनौतिपूर्ण काम हो। यसो भए पनि उनले संक्षिप्त रूपमा धेरै कुरालाई उठाएकी छन्।

उनले प्रथम अध्यायमा पूर्वीय संस्कृतिको सैध्दान्तिक स्वरूपको परिचय दिंदै यसको अर्थ र व्युत्पत्ति, संस्कृतिका प्रकार, जातियता र लैंगिक अध्ययन, कुसंकेतक तथा फरक भिन्नताको अध्ययन जस्ता विषयवस्तुलाई समाविष्ट गरेकी छन्। वैदिक सनातनी संस्कृति, लौकिक संस्कृति गरी पूर्वीय संस्कृतिका स्रोतको पनि संग्रहमा चर्चा छ।

अध्याय दुईमा उनले पूर्वीय संस्कृतिमा दर्शनको विषयवस्तुलाई उठाएकी छन्। यसका परिचयदेखि नास्तिक, चर्वाक, बुद्ध, प्रतीत्यसमुत्पाद, हीनयान, महायान, जैन, आस्तिक, वैशेषिक, न्याय, योग, साङख्य, पूर्वमीमांसा, उत्तरमीमांसा र उपनिषद् जस्ता दर्शनहरूको संक्षिप्त चर्चा गर्दै उपनिषद्का प्रतिपाद्य विषयहरूको समेत उल्लेख गरेर निष्कर्ष प्रस्तुत गरिएको छ।

यस संग्रहको अध्याय तीनमा पूर्वीय संस्कृतिका मूलभूत लक्ष्यलाई समाविष्ट गरिएको छ। जसमा कर्मयोग, ज्ञानयोग, भक्तियोग, षोडश संस्कारहरूको परम्परा र संस्कृति, संस्कारको प्रयोजनपरक भेद र निष्कर्ष छन्। पूर्वीय संस्कृतिका महत्त्वपूर्ण पर्वको उत्पत्ति र भेदहरू पनि यसमा दिइएको छ भने पूर्वीय संस्कृतिमा ईश्वरवाद, आदर सत्कार, सदाचार  जस्ता सामग्री समावेश गरेर पुस्तक अझ पठनीय बनाइएको छ।

पूर्वीय संस्कृतिका महत्त्वपूर्ण पर्वहको उत्पत्ति र भेदहरू पनि यसमा दिइएको छ भने पूर्वीय संस्कृतिमा ईश्वरवाद, आदर सत्कार, सदाचार  जस्ता सामग्री समावेश गरेर पुस्तक अझ पठनीय बनाइएको छ।

पुस्तकको सम्पादन प्राडा कृष्णप्रसाद दाहालले गर्नुभएको छ। उहाँले डा.इनु महतको विद्यावारिधि शोधकार्यको निर्देशक समेत रहेर सहयोग गरेको पुस्तकबाटै थाह पाइन्छ। संस्कृति र दर्शनको परिभाषा प्रस्तुत गर्दै आफ्नी सुयोग्य छात्रा तथा यस पुस्तककी सर्जक इनु महतलाई डा.दाहालले आशीर्वचन दिंदै भन्नुभएको छ,‘...यस किसिमका कार्यबाट नेपाली वाङमय निकै समृद्ध बन्न सक्छ।...मानवीय संस्कारजन्य विशेषताका अनेकौ आयामलाई समेट्न लेखकले जुन किसिमबाट यो कृतिको निर्माण गरेकी छन्। यस कृतिका माध्यमले संस्कारजन्य विशेषताबाट विचलित भएकाहरूलाई मार्गनिर्देशन प्राप्त हुन्छ भन्ने मैले ठानेका छु।’

अरनिको भिलेज रिसोर्ट प्रालि भक्तपुरले प्रकाशन गरेको यो पुस्तकले पूर्वीय वाङमयसँग सरोकार राख्ने जो कोही अध्येताका लागि अत्यन्त उपयोगी सहायक ग्रन्थको काम गर्न सक्ने क्षमता राख्दछ।

नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्राडा सुधनकुमार पौडेलले पुस्तकमा भनेझैं ‘पूर्वीय संस्कृति र दर्शनको चिन्तनतिर जिज्ञासा राख्ने व्यक्तिहरूका लागि यो पुस्तक प्रवेश विन्दु हुन सक्छ। यो कृतिले संस्कृति र दर्शनको विशाल क्षितिजतिर चियाउन आँखीझ्यालको काम अवश्य गर्नेछ।’

डा. इनुले घनश्याम राजकर्णिकारका नियात्रामा पूर्वीय संस्कृतिको अध्ययन शीर्षकमा आफ्नो विद्यावारिधि पूरा गर्ने क्रममा अध्ययन-अनुसन्धान गरेको विषयवस्तुलाई अझ परिमार्जित र परिष्कृत गर्दै प्रस्तुत अनुसन्धानमूलक कृति तयार पारेकी हुन्। उनले संस्कृतिप्रतिको आफ्नो धारणा व्यक्त गर्दै प्राक्कथनमा भनेकी छन्,‘संस्कृति र दर्शन प्रत्येक जातजातिको पहिचानको मूल आधार पनि हो। विविध संस्कृति र जातजातिहरूले युक्त नेपालमा आआफ्नो संस्कृति भनेर उत्सव मनाइए तापनि मूलतः पूर्वीय संस्कृतिकै प्रभाव देखिन्छ। यस्ता विषयवस्तुलाई प्रस्तुत ग्रन्थमा परिचयका रूपमा प्रस्तुत गरेकी छु।’

नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्राडा सुधनकुमार पौडेलले पुस्तकमा भनेझैं ‘पूर्वीय संस्कृति र दर्शनको चिन्तनतिर जिज्ञासा राख्ने व्यक्तिहरूका लागि यो पुस्तक प्रवेश विन्दु हुन सक्छ।

शरीर मारेर मात्र मरिएको ठानिदैन। आफू बाँचेर संस्कृति मर्‍यो भने त्यसको पनि कुनै अर्थ रहँदैन। अतः संस्कृति र परम्परागत राष्ट्रिय संस्कारको भाव हार्‍यो, मर्‍यो वा मारियो भने हामी सबै हार्छाै, मर्छाै, त्यसबेला देश पनि हार्छ। लडाइँ अथवा युद्ध हारेर मात्र हार हुँदैन। त्यसैले संसारका सबै मानवले सबै मानवप्रति सबैको धर्म संस्कृति र संस्कारको आदर गर्न सक्नुपर्छ, सिक्नुपर्छ। सदभाव, सहिष्णुता र प्रेम गर्ने बानी बसालौं। प्रस्तुत पुस्तकले दिएको र दिन खोजेको मूल भाव पनि यही हो। हाम्रो संस्कृतिमा हाल आइरहेको विचलन, अतिक्रमणबाट आफू जोगियौ र राष्ट्रलाई पनि जोगाऔं। नाम जेजे दिइए पनि ईश्वर सबैको एउटै हो।

अतः प्रस्तुत पुस्तकले दिएको र दिन खोजेको दर्शन र संस्कृतिको यही सारतत्त्व र शिक्षालाई सबैले अनुसरण गरौ, आत्मसात गरौं। डा.इनुको प्रथम प्रयास अत्यन्त स्तुत्य छ, यसले विश्राम नलिई अझ निरन्तरता पाइरहोस्। हार्दिक बधाई तथा शुभकामना सहित। अस्तु।

प्रकाशित: ११ जेष्ठ २०८० ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App