८ वैशाख २०८१ शनिबार
कला

रङ्गमञ्चबाट जमेका चलचित्रकर्मी अहिले रङ्गमञ्चमा देखिन छाडे

रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत रहेका छन।उल्लेखित नाम चलचित्रमा स्थापित भएका केही प्रतिनिधि मात्र हुन्।

लेखिएको भूमिकालाई न्याय गर्ने कलाकारको खोजी हुँदा प्रायः लेखक र निर्देशक रङ्गमञ्चमा धाउने गरेका छन्।अहिले सानो भूमिकादेखि शीर्ष भूमिकासम्म उनीहरूको उपस्थिति छ।यद्यपि चलचित्रमा स्थापित भएका रङ्गकर्मी रङ्गमञ्चमा कमै फर्किने गरेका छन्।

चलचित्रको व्यस्तताले उनीहरूलाई फर्किन सहजता दिएको छैन।कतिपय अवस्थामा कलामाथि व्यापार पनि हाबी भएको छ।‘नाटकलाई समय दिनुपर्छ, अभ्यास र मञ्चन गरेर झन्डै दुईदेखि तीन महिनासम्म समय लाग्छ, त्यही कारण पनि धेरैलाई समय मिलाउन सहज नभएको हुन्सक्छ’, अभिनेता महेश त्रिपाठीले भन्छन, ‘म भने समय मिलाएर नाटकमा अभिनय गरिरहेको हुन्छु, किनकि त्यहाँ आफूलाई महसुस गर्न पाउँछु।’

अहिले प्रदर्शनरत चलचित्र ‘हल्कारा’ मा मुख्य भूमिका उनले  रङ्गमञ्चकै कारण पाएका हुन। चलचित्रमा गाउँगाउँ पुगेर चिठ्ठी बाँड्ने पात्रलाई निर्वाह गर्ने अनुहार रङ्गमञ्चमा पाइने विश्वासले निर्देशक विक्रम सापकोटाले अडिसन गरेर अभिनेता त्रिपाठीलाई चयन गरेका रहेछन।

व्यावसायिक पाटोभन्दा कला महत्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रङ्गकर्मीको भनाइ छ।रङ्गकर्मी भोलाराज सापकोटाले नाटकलाई कलाले मात्र जीवित राखेको बताए।‘रङ्गकर्मी गरिरहेकालाई यसैबाट जीविकोपार्जन गर्न सहज छैन, अहिले चलचित्रमा महँगो अभिनेतामा पर्ने केहीले यहीँबाट सुरूआत नगरेको भने होइनन्, तर यो अभिनय बुझ्ने र सिक्ने मञ्चमात्र बनिरहेको छ’, सापकोटाले भने। पछिल्लो समय नाम चलेका कलाकार रङ्गमञ्चभन्दा पनि चलचित्रमा व्यस्त छन् ।

आर्थिक पक्षलाई सवल बनाउन भए पनि चलचित्रमा काम गर्नेक्रम बढेको छ।रङ्गमञ्चमार्फत कलाकारिता सुरू गरेका अनुहार चलचित्रमा मात्र देखिनु दुःखद् रहेको अभिनेता कमलमणि नेपालले बताए।‘रङ्गमञ्चमार्फत मेरो जीविका चल्थ्यो भने सायद म त्यहीँ हुन्थे, तर हामीकहाँ नाटक हेर्ने संस्कार निकै कम छ, यहाँ मात्र नभइ विदेशमा कमै सङ्ख्यामा नाटक जाने गर्छ, यस्तै कारणले रङ्गकर्मी चलचित्रमा बढी व्यस्त हुनुहुन्छ होला’, अभिनेता नेपालले भन्छन, ‘नाटकमा फर्किन ढिलाइ गर्न हुँदैन, हामीले आफ्नो उपस्थिति रङ्गमञ्चमा पनि राख्नुपर्छ, चलचित्रमा मात्र केन्द्रित भएर रङ्गमञ्च भुल्यौँ भने कलाकारिता पनि जीवित रहन सक्दैन ।’

रङ्गकर्मी प्रकाश घिमिरेले समय अभावकै कारण नाटकघरसम्म आउन विलम्ब भएको बताए।उनले भने , ‘चलचित्रमा व्यस्त कलाकार समय मिलाउन सकेका छैनन्, उनीहरूले वर्षको एउटा समय नाटक घरलाई दिए राम्रो हुन्थ्यो, यद्यपि नाटक गर्ने तयारी र सोच भने छ, यस वर्ष केही परिचित अनुहार नाटकमा छन्।’

उनले पनि हालै सम्पन्न एक नाटकमा चलचित्रकै कारण अभिनय पाएनन। आर्थिक हिसाबले समृद्ध भएका वर्षका एक÷दुई पटक नाटकमा प्रस्तुत भए टेवा पुग्ने विश्वास उनको छ।नाटकमा आफ्नो कला देखाएर चलचित्रसम्मको यात्रा तय गरेका रङ्गकर्मीलाई रङ्गमञ्चमै अहिले विरलै देख्न पाइन्छ।रासस

प्रकाशित: ४ जेष्ठ २०८० ०९:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App