२२ असार २०८१ शनिबार
image/svg+xml
कला

हरेक कुरामा पूर्ण त प्रकृति पनि देखिइनन्

मुक्तक

कमला घिमिरे

 १) मुक्तक

फाइदाका लागि मान्छे औकातबाटै झरिदिन्छन्  

भविष्यको ख्याल नगरी क्षणिक स्वार्थमा परिदिन्छन्  

चर्को स्वरले झुट-सत्य र सत्य-झुट बनाउने जमातले,

कमजोर व्यक्तिलाई नै गलत सावित गरिदिन्छन्।

 २) मुक्तक

पृथ्वीका हरेक प्राणीमा घमण्डको राग देखिन्छ

जीवन यात्रामा कर्मका आआफ्नै भाग देखिन्छ  

हरेक कुरामा पूर्ण त प्रकृति पनि देखिइनन्,

नियालेर हेर्दा जूनघामभित्र पनि दाग देखिन्छ।

 ३) मुक्तक

आगो र हिउँको फरकफरक हुन्छन् तापहरू

अनजानवश हुन सक्छन् जो कोहीबाट पापहरू

अनेकौं कष्ट सँगसँगै उमंगका पलहरू नियाल्दै,

मिल्छन् कति श्राप त कतै स्याबासीका धापहरू।

 ४) मुक्तक

समयले साथ दिंदा नाम, वजन धप्प बलेको हुन्छ

त्यही समयले कोल्टे फेर्दा विपरीत ढलेको हुन्छ  

समयको अघिल्तिर बुद्धि र ताकतले हार खाई,  

सिक्काको दुई पाटाले झैं एकले अर्कालाई छलेको हुन्छ।

 ५) मुक्तक

निराश बनेको छ माली बगैंचाको फूल झरेको देख्दा  

दंग परेको छ आँसु पनि आफू बग्ने नसा मरेको देख्दा  

के सुनाउनु छ र अरूलाई सिरानी नै छ असल मित्र,

पत्थर बनें म पनि मुटु साटौं भन्नेले आखा तरेको देख्दा।

प्रकाशित: १ जेष्ठ २०८० ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App