विद्यालयबाट आउँदै गरेको राकेशलाई देवीलालले भने, ‘ल अब आफ्नो सामान उठा र हिंड्।’
आफ्नो सुत्ने ओछ्यानदेखि पढ्ने पुस्तकसम्म बाहिर निकालिएको रहेछ।
‘मलाई निकाल्ने भए घरबाट। अब कता जाने?’ राकेशको मनमा पिर पर्यो। दरीले बेरेको सिरक-डसना बोकेर बाबु अगाडि लागे। उसले बाहिर निकालेको कपडाको झोला बोक्यो।
देवीलालले भने, ‘तेरा किताब हामीलाई के काम, तेरै हो बोक्।’
ऊ आज्ञाकारी बनेर बाबुको पछि लाग्यो।
‘कहिलेकाहीं गोजीमा पैसा नहुँदा ‘चिनी छिटो सकिस्’ भनेर आमासँग झर्केको र दशैं-तिहारपछि बजारको साहु आँगनमा आउँदा आँगनमा चकचक गरेको मैले हप्की खाएको बेलाबाहेक आजको जस्तो निर्दयी रूप त बुबाको देखेको छैन।’ उसको मनमा कुरा खेल्न थाल्यो।
बाटामा आफूलाई पढाउने हरि सरसँग भेट भयो।
उसले राहत महसुस गर्दै मनमनै भन्यो,‘हरि सरको कुरा काट्न सक्नु हुन्न। अब पक्कै हामीलाई घर फर्काउनुहुन्छ।’
हरि सरले सोध्नुभयो,‘देवीलाल दाइ कता हाे?’
देवीलालले भने,‘सर, गरिबी र अभावले सधैं घरमा बुढाबुढीको कचकच भइरहने। यसलाई पढ्ने वातावरण नै बनेन। घरमा बसेर पढ्ने कोठा पनि छैन। बिहान-बेलुका खाना खान घरमै आउँछ। गोपालको घर कोठा छ। टाढा पनि हैन। भाडा नै तिरेर भए पनि राख्नुपर्यो।’
प्रकाशित: १५ वैशाख २०८० ०७:५३ शुक्रबार





