बिहान टेबलमा चिसो दूध थियो। श्यामकी आमाले हिजो सुत्नुअघि दूध पिउनुभएनछ। सधैं त पिउनुहुन्थ्यो। एक गिलास तातो दूध नपिएको दिन उहाँलाई निद्रा पर्दैनथ्यो। आज किन पिउनुभएनछ! श्याम दुखी भयो।
‘दूध किन नखानुभएको आमा?’ चिया खानेबेला उसले आमालाई सोध्यो।
‘उसै, खान मन लागेन।’ आमाले अनुहारमा अर्कै भाव राखेर मुखबाट यस्तो जवाफ दिनुभयो।
यसो भन्दै गर्दा आमाको बोली हल्का विरसिलो थियो। श्याम आमालाई के कुरामा चित्त दुखेछ भनेर गतविगत दिनहरूका वार्ता र परिवेशमा रुमल्लियो। देख्नेहरूले श्याम टोलाएको देखे।
अघिल्लो साँझ खाना खाने बेलामा भएको वार्ता सम्झ्यो।
आमाले श्यामलाई सोध्नुभयो,‘बाबू, तिथिका हिसाबले म चौरासी भएँ कि क्या हो?’
‘हो आमा तपाईंले हजार चन्द्रमाको किरण आफूमा पारिसक्नुभो। सूर्य गणना अनुसार एकासि वर्ष छ महिना भए पनि चन्द्रमानका हिसाबले चौरासी वर्ष पुगेको मानिन्छ। हरेक बत्तिस महिनामा आउने मलमास जोडेर हिसाब गर्दा यस्तो हुन जान्छ।’ श्यामले आमालाई कुरा बुझायो।
आमाले डराई-डराई घुमाउरो पाराले मनको कुरो राख्नुभो, ‘ए त्यही भएर पो रैछ त पल्लाघर जेठानीले तेरो अब चौरासी गर्ने बेला भो भन्नुभएको।’
‘आफ्नो यहाँ शेयर डुबेर मर्नु न बाँच्नु भा छ। बेला न कुबेला तपाईलाई चैं चौरासी गर्नुपर्या छ!’ श्यामले एक्कासि ठूलो स्वर गर्यो।
‘व्यर्थै किन उतर्सेर आइलाग्छ यो! मैले त पल्ला घर दिदीले यसो भन्नुभो पो भन्या त!’ आमाले झन् ठूलो स्वर गर्नुभो।
‘व्यवहार धान्न कति गाह्रो छ यहाँ तपाईलाई के थाहा! तपाईंहरूले पिउने दूधमा मात्र महिनाको सात हजार जान्छ।’ श्याम झन् चर्कियो।
‘...सात हजार जान्छ!’ हिजो बेलुकीको यत्ति एक वाक्य काफी थियो आमाको दूध टेबलमा जस्ताको तस्तै रहनुको कारण।
प्रकाशित: ८ वैशाख २०८० ०६:४९ शुक्रबार