१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नयाँ वर्षको उराठिलो उत्सव

कविता

चर्को घाम

हावा हुरी

असिना-पानी !

यस्तो उराठ, दिक्दार मौसममा

राज्यले

उर्दी जारी गरेको छ

उत्सवले नयाँ वर्ष मनाऊ !

म कसरी

मनाउन सक्छु हर्षोल्लास?

न हावा उमङ्गित छ

न त वातावरण सफा !

कसरी हाँस्नु, कसरी नाच्नु

यो उराठ ऋतुमा

दिक्दार प्रकृतिमा

पट्यारलाग्दो समयमा !

यही

हावा, पानी,

माटोमा जन्मेका भूमिपुत्र

बुझ्छन्-तिनैको अनुभूति

सुन्छन्-तिनैको ढुकढुकी

ठम्याउँछन् हावाको प्रतिध्वनि

कारुणिक

हृदयविदारक

शोकाकुल

अनि गाउँछन् घाटु गीत

नाचिदिन्छन् घाटु

प्रसार गर्छन्-

हावासँगै बहेर गाइरहने  

उदासिलो भावना।

सरकार,

तिम्रो उर्दीलाई मानेर

मान्छेले त मनाइदेलान्  

अन्यमनस्क पनि नयाँ वर्ष

तर, हावाको विरक्ति

माटोको अरूचि देख्दादेख्दै

खिन्न आकाशको माहोलमा

प्रदूषित पोखरीको भ्रष्टाचारले नुहाएर  

आमा प्रकृति र

उर्वर पृथ्वीको सभ्यता मासेर

आफ्नो शक्तिको मातले

कसरी मनाउन सक्छौं नयाँ वर्ष?

प्रकाशित: २ वैशाख २०८० ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App