भौतिक विकासले सम्पन्न सहरमा प्राकृतिक सुन्दरताको भने असाध्यै कमी छ। कामै कामबाट थाकेर यसो शरीरलाई आराम, आँखालाई शीतलता र मनलाई आनन्द दिने खुला, मनोरम र शान्त ठाउँको अभाव बढ्दै गएको छ सहरमा। घुमफिर गर्न, आनन्द प्राप्त गर्न र नयाँ-नौलो अनुभव र अनुभूति बटुल्न मनोरम प्राकृतिक सौन्दर्यको खोजीमा हिँड्नेहरू सहरमा बग्रेल्ती भेटिन थालेका छन्। यसो त नेपाल प्राकृतिक सम्पदा र सौन्दर्यले धनी देश नै हो। त्यसैले फुर्सदको समयमा घुमफिरका लागि आकर्षक गन्तव्यहरू यथेष्ट छन्। घुमफिरका लागि विदेशै पुग्नुपर्छ भन्ने छैन। आफ्नै देशमा पनि घुमफिर गरेर आनन्द प्राप्त गर्न सकिने प्रशस्त आकर्षक गन्तव्यस्थलहरू छन् ।
रोमाञ्चक यात्रा र नयाँ-नौलो अनुभव एवम् अनुभूतिका लागि एउटा आकर्षक गन्तव्य हो कालिन्चोक। भौगोलिक विविधतासँगै प्राकृतिक सौन्दर्य बोकेको कालिन्चोक पछिल्लो समय आकर्षक धार्मिक गन्तव्यका रूपमा पनि चिनिन थालेको छ। कालिन्चोक भगवतीको दर्शनसँगै मनोरम हिमशृंखलाहरूको दृश्यावलोकन र संयोग परे हिउँमा चिप्लेटी खेल्दै हिउँकै डल्लासँग खेल्न पाइने हुँदा कालिन्चोक आन्तरिक र बाह्य पर्यटकका लागि घुमफिरको रोजाइको गन्तव्य बन्न थालेको छ।
धेरै टाढा छैन कालिन्चोक भगवती रहेको स्थान। काठमाडौंबाट १२५ किलोमिटर र दोलखाको सदरमुकाम चरिकोटबाट १७ किलोमिटरको दुरी र ३,८४२ मिटर उचाइमा छ यो प्रसिद्ध स्थल। सवारी साधनमा गए चरिकोटबाट करिब एक घण्टामै पुग्न सकिन्छ कालिन्चोक नजिकको कुरी बजार। त्यहाँ होटल, लज र रेस्टुरेन्ट लेखिएका साइनबोर्ड झुन्ड्याइएका केही दर्जन घरहरू छन्। ती सबै आन्तरिक तथा बाह्य पर्यटकलक्षित नै छन्। त्यहाँबाट अलिकति माथि छ केबुलकार स्टेसन। केबुलकार चढेर अथवा हिँडेर पनि पुग्न सकिन्छ कालिन्चोक भगवतीको मन्दिर।
आन्तरिक र बाह्य पर्यटकका लागि दर्शनीय स्थल बनेको छ कालिन्चोक। सडक र यातायात पूर्वाधारको राम्रो विकास गर्न सके कालिन्चोकमा आन्तरिक तथा बाह्य पर्यटनको राम्रै सम्भावना रहेको छ। अहिले तीर्थयात्री अथवा दर्शनार्थीका रूपमा आन्तरिक पर्यटकको निकै घुइँचो हुने कालिन्चोकमा सडक, यातायात र होटल आदि पूर्वाधारको थप विकास गर्नसके बाह्य पर्यटकको ओइरो लाग्ने र पर्यटन प्रवद्र्धनले टेवा पाउने सम्भावना छ।
उचाइमा रहेको हुँदा कालिन्चोकमा समय-समयमा हिमपात भइरहन्छ। यसरी हिमपात परेको समयमा चिसो हिउँका डल्लाले एक-अर्कालाई हिर्काउँदै मायाको न्यानो अनुभूति गर्ने युवा जोडीहरूको पनि कमी छैन कालिन्चोकमा। आकाशबाट फुरुरुरु परेको हिउँले शरीर सेताम्मे र गाला राताम्मे पारेर हिउँमा रमाउँदै गरेका युवा जोडीलाई देखेर अरू अधबैंसे र बुढापाकाका मनमा पनि उस्तै जोस जागृत भएर आउँछ।
चिसो-चिसो सिरेटोसँगसँगै हुसुसुसु आउने हुस्सुले आकाश डम्म ढाकेपछि दिउँसै साँझ परेजस्तो हुने उत्ताउलो मौसमले मान्छेका मनमा पनि उस्तै उत्ताउलोपन जगाइदिन्छ। अनि त चिसो-चिसो सिरेटोलाई छल्न युवा जोडीहरू एक अर्काको शरीरमा टाँस्सिन थाल्छन्। मिठो स्पर्शको आनन्द लिएर चिसो सिरेटो र चिसो हिउँको असरलाई भुल्ने प्रयास गर्छन्।
हिउँ खेल्दा नि आनन्द। हिउँमा चिप्लिएर लड्दा नि आनन्द। चिसो हिउँ पनि न्यानोजस्तो लाग्ने। कस्तो जादुमयी हिउँ। छुँदा चिसो र कपासजस्तो नरम, तर उत्तिकै न्यानो र गरम। कति धेरै विशेषतायुक्त हिउँ। त्यही भएर त मान्छेहरू टाढाटाढासम्म हिउँ हेर्न र हिउँमा खेल्न पुग्छन्। जसरी काठमाडौंदेखि कालिन्चोकको हिउँमा खेल्न आइपुगेको छु म आफैं पनि। खासमा कालिन्चोक भगवतीको दर्शन गर्ने लक्ष्य र उद्देश्यले पुगेको हो कालिन्चोक, यही चैत १८ गते शनिबार।
चैत १७ गते शुक्रबार चरिकोट पुगेर त्यहीं बास बसिएको थियो ‘दि पुखुर्चा दोलखा रिसोर्ट’मा। चैत १८ गते बिहान सबेरै उठेर दोलखा भीमसेनको दर्शन गरी मनको इच्छा पूरा गर्ने प्रसिद्ध कालिन्चोक भगवतीको दर्शनका लागि प्रस्थान गरिएको थियो। संयोगले हिउँसँग रमाउने र हिउँको तन्नामा लडिबुडी खेल्ने अवसर पनि मिल्यो। जीवनमा पहिलो पटक हिउँको तन्नामा लडिबुडी गर्ने र आकाशबाट कपासझैं झर्दै गरेका हिउँका ससाना डल्लाले तातो गालामा चिसो स्पर्श गरेको नयाँ अनुभव बटुल्ने र रमाउने अवसर पनि मिल्यो।
चैत १७ गते साँझको हिमपातले गर्दा हिउँमा गाडी चिप्लिने हुँदा जान सकिने हो कि होइन भन्ने दुविधाबीच चरिकोटको होटलबाट चेकआउट भएर हिँडेका थियौं हामी। हामी अर्थात् स्कुल पढ्दाका केही सहपाठीहरू। उमेरले भर्खरै पचास कटेका हामी सहपाठी ‘चालीस कटेसी रमाउँला’ भनेझैं रमाउनकै लागि त्यहाँ पुगेका थियौं। किशोरकालीन साथीहरू आपसमा भेट हुँदा अझै पनि उही स्कुले विद्यार्थीजस्तै ठान्छौं आफूलाई। स्कुले विद्यार्थीजस्तै फुरफुर गर्दै कालिन्चोकको उकालो चढ्न आएका छौं। संयोगले हिउँ पनि हेर्न पायौं र हिउँमा खेल्न पनि पायौं।
प्रविधिले धेरै सजिलो बनाइदिएको छ हाम्रो जीवनशैलीलाई। हाम्रा बाउबाजेहरू यही कालिन्चोक भगवतीको दर्शन गर्न घरदेखि हिँड्थे र हिँडेरै ठसठसी कन्दै कालिन्चोकको ठाडो उकालो चढ्थे। कोहीकोही लेक लागेर तलै फेदीमै बस्थे र कालिन्चोकको दर्शन गर्नबाट बञ्चित हुन्थे। कोही लेक लागेर बिरामी पनि पर्थे। जो त्यो ठाडो र कहालीलाग्दो उकालो चढेर देवीको दर्शन गर्न पाउँथे, तिनीहरू बडो बहादुरीका साथ आफ्नो सफलताको कथा सुनाउँथे।
दमले छाती फुलेर फुट्लाझैं हुन्छ भन्थे। अनि लेक लाग्न नदिन टिमुर, लसुन र अदुवा खानुपर्छ भन्थे। चिसो सिरेटोबाट बच्न न्यानो लुगा लगाउनुपर्छ भन्थे। तर ती आफैंले चाहिँ के लगाए हुन् न्यानो लुगा? त्यतिखेर न अहिलेको जस्तो देशीविदेशी बाक्ला र न्याना ज्याकेटहरू थिए। भएकै भए पनि किन्न सक्ने सामथ्र्य कति जनाको हुन्थ्यो होला र? घरबुना कपडाका दौरासुरुवाल लगाएरै कालिन्चोकको चिसो सिरेटो र चिसो हिउँको फूर्ति झारे होलान्।
शुद्ध घिउ र शुद्ध अन्न खाएका हाम्रा बाउबाजेमा त्यो चिसो सिरटो र चिसो हिउँ खप्न सक्ने सामथ्र्य थियो नै होला। तर अहिलेको मिसावटको जमानामा मिसावटी अन्न खाएर हुर्केका आधुनिक मान्छेमा त्यस्तो सामर्थ्य कहाँ ! त्यसैले बाक्लो ज्याकेट र बाक्लो जुत्ता नलगाई कहाँ थेग्न सक्छौं र चिसो सिरेटो र चिसो हिउँलाई।
टोपी खस्ने ठाडो उकालो हिँड्दै छिचोल्नु पनि पर्दैन अहिले। केबुल कारले चार मिनेटमै डाँडोमा सजिलै पुर्याइदिन्छ कालिन्चोक भगवती रहेको स्थाननजिकसम्म। तैपनि केबुलकारबाट झरिसकेपछि पनि कालिन्चोक भगवतीको दर्शन गर्न अलिकति त हिँड्नैपर्ने रहेछ। ठाडो र अप्ठ्यारो बाटोमा सुस्तरी हिँड्दा ज्यानलाई सुविस्ता हुँदोरहेछ।
हतार गरी हिँड्दा श्वास बढ्ने, थकाइ लाग्ने र विशेषगरी लेक लाग्ने डर हुँदोरहेछ। लेक लागेर धेरैले कालिन्चोक यात्रालाई नै अधुरो छोड्नुपर्ने रहेछ। लेक लाग्छ भनेरै भुक्तभोगी बुढापाकाले कालिन्चोक यात्राका क्रममा टिमुर, अदुवा, लसुन लिएर जान सुझाव दिँदा रहेछन्। लेकको वैज्ञानिक नाम थाहा नभएका बुढापाकाले घरेलु औषधिका रूपमा टिमुर, लसुन र अदुवा प्रयोग गर्न जान्नु हाम्रा लागि पनि उपयोगी बन्यो। घरेलु औषधि र उपचार पद्धतिको उपयोग र संरक्षण गर्न सके आर्थिक रूपमा पनि हामी आफैं लाभान्वित हुन सक्दा रहेछौं।
डाँडाको टुप्पामा पुगेर कालिन्चोक भगवतीको दर्शन गर्न पाउँदाको असीम आनन्दले मन पुलकित र प्रफुल्लित त हुन्छ नै। त्यही डाँडोको टुप्पोमा उभिएर हेर्दा नजिकै देखिने रोल्वालिङ, गौरीशंकर र लाङटाङ हिमशृंखला र आँखैसामु देखिने उस्तै सेतो हिउँको तन्नाले त्यसैत्यसै लडिबुडी खेल्न मन लागेर आउँछ। उकालो उक्लिँदै गर्दाको सास्ती र पछाडि फर्केर हेर्दाखेरि ठाडो भिर देखेर लागेको कहाली पनि माथि पुगिसकेपछि त्यसैत्यसै बिर्सिइँदोरहेछ।
मनमा खालि आनन्दको मात्रै सञ्चार हुँदोरहेछ। अरू धेरैजना नपुगेको ठाउँमा आफू पुग्न सफल भएकोमा आत्मगौरवको बोध हुँदोरहेछ। डाँडोमाथि पुग्नै सकिन्न। लेक लाग्छ। चिसोले सताउँछ। हिउँले पोल्छ इत्यादि भन्नेहरूलाई म त पुगेर आएँ भनेर धाक लाउन पाइने कुराको खुसीले मन ढक्क फुल्दोरहेछ। अनि डाँडामाथिसम्म आफ्ना उत्पादन बोकेर पुगेका स्थानीय व्यापारीले त्यहाँ बेच्न राखेको चौंरीगाईको दुधबाट बनेको स्वादिलो र रसिलो छुर्पी चपाउँदै फर्किंदाको आनन्द पनि वर्णन गरी साध्य छैन।
कहिलेकाहीं मनमा लाग्छ हाम्रा देवीदेवताको वास किन मानिसको बस्तीदेखि टाढा, अग्ला डाँडाका टुप्पामा हुने गर्छ? कारण जेसुकै होस्, तर त्यहाँ पुगेपछि प्राप्त हुने असीम आनन्दले हामीलाई पुलकित बनाउँछ। प्रफुल्लित बनाउँछ। अनि त्यही आनन्दको वर्णन हामी भविष्यसम्म गरिरहन्छौं। यस्तै आनन्दको वर्णनका लागि एकपटक पुग्नैपर्ने ठाउँ रहेछ कालिन्चोक भगवती। यात्राको आनन्द पनि प्राप्त हुने र देवीको दर्शन पनि गर्न पाइने। स्वास्थ्य र धार्मिक दुवै दृष्टिकोणले फाइदाजनक छ कालिन्चोक यात्रा।
न गासको चिन्ता, न त बासकै। कुरी बजारमा उपलब्ध छन् गास र बासको राम्रै सुविधा। यात्राका लागि पनि कुनै समस्या छैन। आफ्नै सवारीसाधन हुनेलाई नो टेन्सन। नहुनेलाई पनि नो टेन्सन। अहिले सडक निर्माण हुँदै गरेकाले देउरालीबाट ठुला सवारी साधन जान कठिन छ। तर त्यही देउरालीमै पाइन्छन् बोलेरो र स्कोर्पियो। त्यसैमा चढेर गएपछि सजिलै पुगिन्छ कालिन्चोक। कालिन्चोक यात्रा असम्भव छैन तर अविस्मरणीय चाहिँ अवश्य हुन्छ।
आँट र बल हुनेहरू केबुलकार नचढीकनै पनि झन्डै पैंतालीस मिनेट वा एक घण्टा ठाडो उकालो चढेर डाँडाको टुप्पामा पुग्न र कालिन्चोक भगवतीको दर्शन गर्न सकिन्छ। त्यहाँबाट देखिने मनोरम सेता हिमालको अवलोकन गर्न सकिन्छ। डाँडामुनिका जमिन र रुख तथा बुट्यानमाथि सेतो तन्ना ओछ्याएझैं देखिने हिउँका थाक हेरेर पनि रमाउन सकिन्छ। वरिपरि देखिने प्राकृतिक सौन्दर्यले मन हर्षले विभोर हुन्छ।
बाटाका दुवैतिर फुलेका राता, कलेजी, सेता आदि थरीथरी रङका लालीगुराँसले यात्रुको मन हर्छ। एउटै लालीगुराँस फूलमा पनि रातो, कलेजी र सेतो रङ देखेर यात्रुहरूको मन रोमाञ्चित हुन्छ। तर यस्तो सौभाग्य भने त्यतिखेर प्राप्त हुन्छ, जतिखेर हुस्सु लागेको नहोस्। हुस्सु र कुइरोले ढाक्यो भने चाहिँ अँध्यारोबाहेक केही देखिन्न। तर हुस्सु र कुइरोमा पनि दर्शनार्थीको धुइँरो भने कहिल्यै कम नहुने रहेछ। प्रायः दिउँसोको बाह्र बजेपछि लाग्ने हुस्सु र कुइरोसँगसँगै हिउँ झर्ने क्रमले यात्रुहरूलाई छिटोछिटो तल झर्न बाध्य पार्दोरहेछ किनभने हुस्सु, कुइरो र हिउँले जाडो बढेर त्यहाँ अडिन गाह्रो हुँदोरहेछ। अझ चट्याङको चर्को आवाजले त मान्छेको सातो नै खाँदो रहेछ।
प्रकाशित: २५ चैत्र २०७९ ०२:१६ शनिबार