१२ असार २०८१ बुधबार
image/svg+xml
कला

प्रवीण गुरुङको स्मृतिमा विशेष सांगीतिक कार्यक्रम

प्रवीण गुरुङको स्मृतिमा आयोजित सांगीतिक कार्यक्रममा प्रस्तुति दिँदै कलाकारहरू। तस्बिर: नागरिक

‘यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगार्‍यो दिमाख, नरोऊ मायालु’

कुनै समय यो गीत निकै चर्चित थियो, सबैको जिब्रोमा थियो। सरल शब्द अनि लोकभाकामा गाइएको यो गीतलाई फेरि एकपटक कलाकारले सम्झे। गीत मात्रै होइन, गीतका सर्जक प्रवीण गुरुङलाई सम्झँदै उनका गीतलाई सुनाए। उनकै स्मृतिमा कास्कीको अन्नपूर्ण गाँउपालिकास्थित लुम्लेमा विशेष सांगीतिक कार्यक्रम गरियो। सांगीतिक कार्यक्रममा कलाकारहरू सामूहिक रूपमा गाएर प्रवीण गुरुङलाई सम्झिन पुगे।

‘फूल, मायामा नभुल’

उनको यो गीतमा पोखराका संगीतकर्मीले दोहोरी खेले। माया गुरुङ र रामजी पौडेलले प्रवीण गुरुङको यो गीतमा गाएको दोहोरीले पनि उपस्थित आम दर्शकले पूर्ण मनोरञ्जन लिए। प्रवीण गुरुङ विशेष सांगीतिक कार्यक्रममा कलाकारहरूले आफ्ना गीतहरू समेत प्रस्तुत गरेका थिए।

सांगीतिक कार्यक्रम तीन दिन चल्यो। तीन दिनसम्म फरक फरक कलाकारले सांगीतिक माहोल जमाए। नेपालका चर्चित लोकदोहोरी गायकगायिकाहरू जीवन दाहाल, कुमार पुन, कृष्ण अखेली, रामजी पौडेल, गंगा पौडेल, माया गुरुङ, चोलेन्द्र पौडेल लगायतका कलाकारले प्रस्तुति दिएका थिए। यस्तै सुगम संगीतमा गायक सन्तोष बस्याल र प्रिया गुरुङको प्रस्तुति रहँदा अन्तिम दिन साँझ भने लेकाली ब्यान्ड र नवीन गुरुङको प्रस्तुति थियो।

सांगीतिक कार्यक्रममा स्रष्टालाई सम्मानसमेत गरिएको थियो। प्रवीण गुरुङ स्मृति पुरस्कार गमबहादुर गुरुङलाई प्रदान गरियो। उनलाई नगद १० हजारसहित दोसल्ला र सम्मान पत्रद्वारा पुरस्कृत गरिएको हो। गमबहादुर गुरुङ स्व. प्रवीण गुरुङको सांगीतिक जीवनका सहयात्रीसमेत हुन्।

अन्नपूर्ण गाउँपालिकाले गाउँपालिकाभित्रका एक जना स्रष्टालाई प्रत्येक वर्ष गर्दै आएको सम्मान स्वरूप यस वर्ष भने लोकदोहोरी गायक बाबुराम पौडेललाई सम्मान गरेको छ। नगद १० हजार, दोसल्ला र सम्मान पत्रसहित उनलाई सम्मान गरियो। गण्डकी प्रदेश सदस्य प्रकाश बरालले सम्मान गर्दै अन्नपूर्ण गाउँपालिकाको सांस्कृतिक संरक्षणमा सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिए।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसीले अन्नपूर्ण गाउँपालिकाको पहिचान बढाउन स्वर्गीय गायक प्रवीण गुरुङले संगीतका माध्यमबाट महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। यस्ता कार्यक्रमको निरन्तरताले सर्जकको सच्चा सम्मान हुने विश्वास उनको थियो। 

प्रकाशित: १८ चैत्र २०७९ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App