४ वैशाख २०८१ मंगलबार
कला

इलाममा साहित्य महोत्सव हुने

इलाम बजार । तस्बिरः भीम/नागरिक

जिल्लाको पर्यटन प्रवर्धनका लागि साहित्य महोत्सव आयोजना गरिने भएको छ। यही चैत २६ र २७ गते सदरमुकामस्थित सिटीहलमा महोत्सव आयोजना गर्न लागिएको हो।  

महोत्सवमा १२ वटा विशेष ‘इभेन्ट’ राखिएको छ। इलाम नगरपालिकाअन्तर्गतको साहित्य, कला तथा संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजनामा महोत्सव हुने भएको हो। समाज अध्यक्ष सुरेन्द्र राईका अनुसार ‘अंक, अर्थ र अध्यात्म’ विषयका कि–नोट स्पिकर विश्व पौडेल छन्। ‘कवितामा स्थानीय चेत’ विषयमा कवि तीर्थ श्रेष्ठ, लीला अनमोल र भूपिन वक्ता छन् भने यसको सहजीकरण राजु स्याङतानले गर्नेछन्। ‘कला र आदिवासी सौन्दर्य चेतना’ शीर्षकमा वन्दना टेटे र अश्विनी पंकजले वक्तव्य दिनेछन्। यसमा राजा पुनियानीको सहजीकरण रहने छ।  

सकुन्तला जोशी सहजकर्ता रहेको ‘महाभारादेखि टिस्टासम्म’ शीर्षकमा छुदेन काविमो र बसन्त बस्नेत वक्ता छन्। ‘कस्तो सिनेमा’ शीर्षकमा हुने छलफलका वक्ता उपेन्द्र सुब्बा, विजय बराल र केकी अधिकारी वक्ताका रूपमा छन् भने यसको सहजीकरण अन्वेश थुलुङले गर्नेछन्। ‘सफल कि सार्थक’ विषयमा विमल वैद्यले सहजीकरण गर्नेछन् भने यो विषयमा युवराज अधिकारी, विश्वमोहन श्रेष्ठ र सविता गौतम दाहाल वक्ता रहनेछन्।  

‘समावेशी लेखन’ शीर्षकमा डा.ज्ञानेन्द्र यक्सो, धर्मेन्द्र नेम्बाङ र मिश्र वैजयन्तीले आफ्नो विचार राख्दा बालिका थपलियाले सहजीकरण गर्नेछिन्। ‘नेपालको पर्यटनमा पूर्वेली भाषा’ शीर्षकमा कल्पना महर्जन, कृष्ण साह र सोनामटासी लामाबीच छलफल हुँदा विराट अनुपमले यसको सहजीकरण गर्नेछन्। ‘नारी–पर्या–साहित्य र सत्ता’ शीर्षकमा रेमिका थापा, सञ्जीव पौडेल र शोभा योल्मुुले वक्तव्य दिँदा निमेश निखिलले सहजीकरण गर्नेछन्। ‘मातृभाषा साहित्यमा शिल्प चेतना’ शीर्षकमा मधुराज केरुङ र सञ्जोग लाफामगरबीच छलफल हुनेछ । यसको सहजीकरण सन्देश सुब्बाले गर्नेछन्।  

‘कोशी प्रदेश कहिले बन्छ १ नम्बर प्रदेश ?’ शीर्षकमा गुरुराज घिमिरे, प्रदीप ज्ञवाली र घनश्याम भुसालबीच छलफल हुँदा बसन्त बस्नेतले सहजीकरण गर्नेछन्। महोत्सवमा कुमार नगरकोटीले विशेष कविता वाचन गर्नेछन्।  

महोत्सवस्थलबाहिर चित्रकला

महोत्सव चलिरहेका बेला सिटीहलको बाहिरपट्टि चित्रकला प्रदर्शनी आयोजना गरिएको छ। विश्वकै लोपोन्मुख रेडपान्डाको संरक्षणमा चेतना जगाउने उद्देश्यले रेडपान्डासम्बन्धी चित्रकला आयोजना गरिएको हो।  

उच्च पहाडी जडिबुटी उत्पादक तथा संरक्षण संस्था अध्यक्ष दीपक लुंगेलीका अनुसार काठमाडौंबाट आएका ५ र इलामका ५ चित्रकार चित्रकलामा सहभागी हुनेछन्। ‘महोत्सव चलिरहेका बेला बाहिरपट्टि कलाकारले विभिन्न स्केच बनाउनेछन्,’ लुंगेलीले भने, ‘दुर्लभ रेडपान्डा इलामसहित पूर्वीपहाडका जिल्लामा पाइने र त्यसबारे स्थानीयमा चेतना जगाउन आवश्यक रहेकाले चित्रकला प्रदर्शनी आयोजना गरिएको हो ।’ रेडपान्डा नेटवर्क (आरपिएन)ले चित्रकलामा समन्वय गरेको छ।

प्रकाशित: १७ चैत्र २०७९ ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App