चितवनमा जनवादी कलाकारहरुले जन-साङ्गीतिक प्रस्तुति दिने भएका छन्।
राष्ट्रिय एकताको सन्देश दिनका लागि भोलि (बिहीबार) बिपी कोइराला क्यान्सर अस्पतालको सभा हलमा डेढ दर्जन जनवादी कलाकारहरुले जन-साङ्गीतिक प्रस्तुति दिन लागेका हुन्।
'राष्ट्रको लागि संगीत अभियान' लिएर जनवादी कलाकारहरुले चैत्र ४ गते धनगढीबाट अभियानकाे सुरुवात गरेका थिए। भोलि दिउँसो २ बजे सुरु हुने जन सांस्कृतिक कार्यक्रममा जनवादी गायक जीवन शर्मा, माधव प्रधान, मणी थापा, उदय श्रेष्ठ, ओम श्रेष्ठ, चिरण सी, कर्ण विद्रोही, नीलिमा पुन, मोहित श्रेष्ठ, नारायण शर्मा, उदय रिजाल, सन्ध्या मगर, कविता पुन, लक्षमण पाख्रिन, निशा बुढामगर, अनु शर्मा, लक्ष्मी केसी र कुवेर सीको प्रस्तुति रहेनेछ।
नेताहरुलाई जनताप्रति उत्तरदायी बनाउनका लागि साङ्गीतिक अभियान सञ्चालन गरिएको जनवादी गायक जीवन शर्माले जानकारी दिए। यस अभियान आफ्नो स्वार्थको लागि नभई राष्ट्रका लागि भएको उनको भनाइ थियो।
भोलि हुने कार्यकममा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ।
चैत्र ४ गते धनगढी बाट सुरु भएको अभियान १४ गते सम्म आइपुग्दा टोलीले कैलालीको धनगढी, सुर्खेतको वीरेन्द्रनगर, दाङ्को घोराही र राप्ती गाउँपालिका कार्यालय र रुपन्देहीको बुटवलमा कार्यक्रम सम्पन्न गरिसकेको छ। ती सबै स्थानका कार्यक्रमहरू निकै भव्य र सानदार रुपमा सम्पन्न भएका थिए।
सङ्गीत अभियान टोलीले भरतपुरपछि चैत १८ गते रोयल पार्टी प्यालेस हेटौँडा, चैत २० गते दीपक पार्टी प्यालेस बर्दिबास महोत्तरी, चैत २२ गते सैनिक भवन धरान सुनसरी, चैत २५ गते साइ पार्टी प्यालेस सिटिसेन्टर बिर्तामोड झापा र चैत २८ गते उद्योग वाणिज्य संघको सभा हल पोखरा कास्कीमा कार्यक्रम गर्नेछ।
अभियानको अन्तिम कार्यक्रम टोलीले देशमा क्रियाशील वाम पार्टीहरुका शीर्ष नेताहरुको उपस्थितिकाबीच बैशाख ५ गते प्रज्ञा भवन कमलादी काठमाडौँमा गर्ने जनवादी गायक चिरण सिले जानकारी दिए।
प्रकाशित: १५ चैत्र २०७९ २१:०८ बुधबार