२३ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला बढ्योः भुवन केसी

बोर्डले कर्मकाण्डी रुपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको छ: नवल खड्का

चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताएका छन्।  

मंगलवार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटि डेस्कबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन।

कार्यकारी अध्यक्ष केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढीरहेको बताए।  

उनले प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौति थपेको बताए। उनले साइबर हमलाको समस्या समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिट सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको स्पष्ट पारे।

साइबर सुरक्षालाई बहुपक्षिय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने पनि बताए। नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतिलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिवद्ध रहेको उनले उल्लेख गरे।

उनले भने, ‘प्रविधिका कारण हामीलाई दर्शसँग सहजै पुग्न र चलचित्र क्षेत्रको बिस्तार गर्न सहज भएको छ तर यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौति सिर्जना गरेको छ। हामीले नेपाली चलचित्रहरु अनलाइन लिक भएका प्रशस्त उदाहरण देखेका छौँ। यसले चलचित्र उद्योगलाई ठूलो नोक्शान भएको छ। यसबाहेक हाम्रा कलाकारहरुको गोपनियता र सुरक्षामा पनि साइबर हमला हुने गरेको हामीले पाएका छौँ। यी चुनौतिहरुलाई सम्बोधन गर्न चलचित्र विकास बोर्डले चलचित्र साइबर सेक्युरिट सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिँदै सक्रिय कदम चाल्ने निर्णय गरेको छ। साइबर सेक्युरिटी एक जटिल मुद्दा हो। यसलाई हामीले बहुपक्षिय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने हुन्छ। नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतिलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिवद्ध छ।’

कार्यक्रममा  चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रुपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाए। उनले टिकटकले धेरै लामो समयको भिडियो अपलोड गर्न पाउनेगरी विकास गरेकाले सबै भिडियो टिकटबाट नै सार्वजनिक हुने गरेको बताए। उनले यसरी अनैतिक रुपमा भिडियो पोस्ट गर्नेहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने बताए।

उनले भने, ‘विषय महत्वपूर्ण छ तर आउँदा छरपस्ट भएर आयो। समस्या हामी सबैलाई थाहा छ तर समाधान केही पनि आएन। अहिले कर्मकाण्डी जस्तो छलफल भयो्। अहिले टिकटकले धेरै समस्या ल्याएको छ। टिकटकमा २ मिनेट ४ मिनेसम्मको मात्रै भिडियो आउँछ भन्थे अहिले त ४० मिनेटसम्मको हाल्न मिल्छ। त्यो प्रविधि रहेछ, दुई पटक हाल्दा त फिल्म सकियो। तर त्यसलाई रोक्ने संयन्त्र के छ हामीसँग। मरिसकेपछि उपचार खोजेर के हुन्छ? कानूनी उपचार तत्काल हुनुपर्छ ।’

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले चलचित्रसम्बन्धी कानूनलाई नै बलियो बनाएर साइबर क्राइमका घटना कम गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा बन्ने  चलचित्रहरुको स्वीकृति लिने मापदण्ड बनइ अघि बढ्न सुझाव दिए।

उनले भने, ‘देशको कानूनलाई नै मजबुत पारेर अघि बढ्यो भने साइबर क्राइमका घटनाहरु सहज रुपमा समाधान गर्न सकिन्छ। नेपालमा जतिपनि फिल्म बन्छन्, त्यो स्वीकृति लिइसकेपछि स्वीकृतिको मापदण्ड बनाएर अघि बढ्नसके अझै राम्रो हुन्छ।’

कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले प्रत्यक्ष असर परेका चलचित्रकर्मीहरुले उजुरी दिन कन्जुस्याँइ गर्नु नहुने बताए। उनले साइबर अपराधलाई कम गर्न दर्शकहरुलाई सचेतना जगाउन आवश्यक रहेको बताए।

उनले भने, ‘यसबाट जसलाई प्रत्यक्ष क्षति पुगेको छ, उसले उजुरी हालेको हाल्यै गर्नुपर्छ, सूचना दिनुपर्छ यसो गर्नु हुँदैन भनेर। दर्शकको गोपनियताको होला। यसबारे बुझाउन सक्यो भने न्युनिकरण गर्न सम्भव छ। प्रो एक्टिभ काम तपाईहरुले गर्नुहोस् हामी रि एक्टिभ काम गर्छौं।’

प्रहरी उपरीक्षक रेग्मीले साइबर अपराध कम गर्नका लागि सबै सम्बन्धित निकायहरु मिलेर जनचेतनामुखी काम गर्न आवश्यक रहेको बताए। 

प्रकाशित: १४ चैत्र २०७९ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App