१२ असार २०८१ बुधबार
image/svg+xml
कला

कर्मचारीहरूको सिर्जनशीलता प्रवर्द्धनमा नेपाल विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले कर्मचारीहरूको साहित्यिक सिर्जनशीलता प्रवर्द्धन गर्न मुक्तक तथा गजल लेखन प्रशिक्षण चलाएको छ। नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालयको रुफ टप हलमा  प्रशिक्षण चलाएको हो।

पूर्व प्राज्ञ, वरिष्ठ समालोचक एवं सुप्रसिद्ध कवि डा. देवी नेपाल प्रशिक्षक रहेको सो कार्यक्रममा उनले मुक्तक र गजल लेखनको सैद्धान्तिक पक्षबारे प्रशिक्षण दिंदै लेखन शिल्प विकासका लागि व्यावहारिक अभ्यास पनि गराएका थिए।

सो कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका  उपप्रबन्धक नारायणप्रसाद आचार्यसहित  विभिन्न पद र तहका अधिकृत र सहायक स्तरका कर्मचारीहरूको सहभागिता थियो। आयोजक संस्था विद्युतकर्मी साहित्यिक समाज सातौं कार्य समितिका सबै पदाधिकारी सो कार्यक्रममा पदेन प्रशिक्षार्थीका रूपमा उपस्थित भएका थिए।

सबै प्रशिक्षार्थीलाई लेखन अभ्यासमा सरिक गराउन समय पुगोस् भन्ने उद्देश्यले सो कार्यक्रमलाई विषय केन्द्रित  र अनौपचारिक स्वरूपमा चलाइएको थियो।

कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले  कार्यशाला गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्दै प्रशिक्षणका क्रममा र  प्रशिक्षणपछि सिर्जना हुने स्तरीय रचना समाजको त्रैमासिक प्रकाशन ‘अमरज्योति’मा समावेश गदै जाने बताए। उनले यस्ताे खाले  प्रशिक्षणमूलक कार्यक्रम आवधिक रूपमा चलाउने पनि बताए।

यसअघि ‘तीन तियाँ’, ‘गजल मुशायरा’, ‘पुस्तकसँग पाठक’, ‘बहुभाषिक काव्यगोष्ठी’  लगायतका विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रम चलाएको सो संस्थाले यसपटक लेखनमा रुचि भएका नवोदित स्रष्टाहरूलाई मुक्तक र गजल लेखन शैलीका आधारभूत पक्षबारे ज्ञान दिने उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरेको संस्थाका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले बताए।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षक डा. देवी नेपालले विद्युत प्राधिकरणका कर्मचारीले ‘विद्युतीय झटका’ दिन सक्ने मुक्तक र गजल लेख्न सक्नेमा आफू विश्वस्त रहेको बताए। उनले प्रशिक्षणका क्रममा सिकाइएको ढाँचा अवलम्बन गरी साहित्यिक मूल्ययुक्त रचना लेख्दै लेखकीय निरन्तरता कायम राख्न सबै प्रशिक्षार्थीलाई शुभकामना समेत दिएका थिए।

प्रशिक्षण कार्यक्रममा सहभागी कर्मचारीहरूले पनि कार्यक्रम उपलब्धिमूलक रहेको र विधागत लेखन शैलीबारे आधारभूत जानकारी पाएको भन्दै खुसी पोखेका थिए।

प्रशिक्षार्थीहरूले लेखनमा हुन सक्ने गल्ती र त्यसबाट जोगिने उपायहरू,लेखनलाई प्रभावकारी बनाउने विधि आदिबारे छोटो समयमै धेरै कुरा सिकिएकाले यस्तो कार्यक्रम बारम्बार चलाउनुुपर्ने बताए।

विद्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले सहजीकरण गरेको कार्यशालामा ४० प्रशिक्षार्थी थिए।

कार्यक्रमको समापनमा विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ ले प्रशिक्षक डा. देवी नेपाललाई मायाको चिनो र ‘अमरज्योति’ साहित्यिक त्रैमासिकको छपन्नौं अंक अर्पिएका थिए।

प्रकाशित: ११ चैत्र २०७९ ०५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App