२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

रौतहटका लघुकथा लोकार्पित

लघुकथा समाज नेपालका अध्यक्ष तथा भाषा आयोगका सदस्य माननीय गोपाल अश्कले रौतहटका लघुकथा नामक कृतिको लोकार्पण गरेका छन्। सिर्जना साहित्य समाज रौतहटद्वारा प्रकाशित रौतहटका लघुकथा कृतिलाई माननीय अश्कले एक समारोह बिच लोकार्पण गरेका हुन्।

रौतहटको गरुडास्थित रेडियो मधेश मसला एफएमको प्रेक्षालयमा आयोजित कृति लोकार्पण समारोहमा कृति लोकार्पण गर्दै माननीय अश्कले लोकार्पित कृति रौतहटका लघुकथालाई मधेश प्रदेशको पहिलो लघुकथा कृतिको रूपमा बताएका छन्।

नेपालमा लघुकथाको सैद्धान्तिक परिचय तथा इतिहास नै पहिलो पटक लेखेका माननीय अश्कले मधेश प्रदेशको पहिलो लघुकथा कृतिलाई सार्वजनिक गर्न पाउँदा आफूलाई हर्ष लागेको बताएका छन्। नेपाली लघुकथाले निकै फड्को मारेको बताउँदै मा.अश्कले नेपालको आख्यानमा द्वन्द्वको कमी रहेको स्पष्ट पार्दै लघुकथालाई चुट्किला हुनबाट जोगाउनुपर्ने बताएका छन्। नेपाली साहित्यमा मधेश प्रदेशको अत्यन्त ठूलो योगदान रहेको बताउँदै मा. अश्कले लघुकथाको इतिहासको पनि एक हिसाबले सुरुआत भएको बताएका छन्।

लघुकथा समाज नेपालका मधेश प्रदेश अध्यक्ष तथा समालोचक डा. विश्वम्भर शर्माले आयामको संक्षिप्ततामा आरम्भ, उत्कर्ष र कलात्मक निष्कर्ष दिन सक्नु लघुकथाको चमत्कार भएको बताएका छन्। डा. शर्माले पनि मधेश प्रदेशको पहिलो लघुकथा कृतिको लोकार्पण गर्न पाएकामा हर्ष व्यक्त गर्दै लघुकथाको क्षेत्रमा नयाँ इतिहास रौतहटबाट प्रारम्भ भएको बताएका छन्।

रौतहटमा लघुकथा दिवस मनाइँदा कार्यक्रममा लघुकथा वाचन गर्ने कथाकारहरूले पाँचपाँच लघुकथा समेटेर सिर्जना साहित्य समाजमार्फत कृतिको प्रकाशन गराएका हुन्। रौतहटका लघुकथा नामक कृतिमा किशुनदयाल श्रीकृष्ण, केदार यादव, धनदेव जोशी, रेणु गुप्ता, सञ्जय साह मित्र र जिसी हरिका लघुकथा संकलित छन्। प्रत्येक लघुकथाकारका पाँच गरी तिस लघुकथा संकलित कृतिको विमोचन कार्यक्रममा लघुकथाबारे राम्रै चर्चा गरिएको छ।

सिर्जना साहित्य समाज रौतहट र बुढ्यौली साहित्य समाज रौतहट-सर्लाहीको संयुक्त आयोजना भएको कार्यक्रममा पर्सा, बारा, रौतहट र सर्लाहीका साहित्यकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बालदेव प्रसाद साह, विन्दा साहनी, बृजकिशोर यादव, शिवचन्द साह, विपिनबिहारी सिंह, मनमोहन सिंह मनोहर, सञ्जय सुदामा, रुबि गुप्ता, घनश्याम पन्त, कुमार चन्दन, गोपाल शर्मा पौडेल, विजय यादव, राजेश महतो, सिकिन्दर साह, विन्दुलाल राउत, कुन्दन यादव, शंकर यादव, धनदेव जोशी, किशुनदयाल श्रीकृष्ण, उपेन्द मिश्र, राजेन्द्र साह, सञ्जय साह मित्रले रचना र मन्तव्य व्यक्त गरेका छन्।

साहित्यकार लम्बोदर काफ्लेले स्वागत गरेको कार्यक्रमको अध्यक्षता रेणु गुप्ताले गरेकी थिइन्।

प्रकाशित: ५ चैत्र २०७९ ०६:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App