७ वैशाख २०८१ शुक्रबार
कला

सुवेदीको नाटक भारतको थिएटर अवार्डमा मनोनीत

निर्देशक विमल सुवेदीले निर्देशन गरेको ‘दि डिपार्टेड डाउन’ नाटक भारतको प्रतिष्ठित थिएटर अवार्ड ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’मा मनोनित भएको छ। शुक्रबार सो नाटकका युनिटले एक विज्ञप्ति जारी गर्दै भारतको प्रतिष्ठित ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’ का विभिन्न चार विधामा छनोट भएको जानकारी दिए।

निर्देशक सुवेदीले लेखेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को उत्कृष्ट निर्देशन, संगीत, कोरियोग्राफी र लाइट गरी चार विधामा मनोनयनमा परेको हो। ‘मैले निर्देशन र लेखन गरेको नाटक भारतको प्रतिष्ठित थिएटर अवार्डमा मनोनित भएको खबरले उत्साहित भएको छु,’ निर्देशक सुवेदीले भने, ‘भारतभर मञ्चन हुने नाटकमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा झन्डै पाँच सयबाट छानिएर उत्कृष्ट १० मा नाटक परेको छ।’

अवार्डका लागि छनोट भएको उत्कृष्ट १० नाटक आगामी मार्चको २५ देखि २९ तारिखसम्म दिल्लीमा मञ्चन हुँदै छ।

जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था चित्रण गरिएको सो नाटक निर्देशक सुवेदीले फिल्म बनाउने सिलसिलामा तयार गरेको बताउँछन्। ‘नौ वर्षअघि फिल्म बनाउने सिलसिलामा यसको कथा तयार गरेको थिएँ,’ उनले स्मरण गरे, ‘तर विविध कारणले फिल्म नबनेपछि यही कथालाई नाट्य रूपान्तरण गरेको थिएँ। यो भुटानी शरणार्थीको कथा हो। जो आफ्नो पुर्ख्यौली थलो छाड्न बाध्य भएर विश्वका धेरै देशमा पुगे। नाटकले घर बन्ने प्रक्रियादेखि बनेको घर भताभुङ्ग भएको अवस्थासम्मलाई अभिव्यक्त गर्ने प्रयास गरेको छ।’

निर्देशक सुवेदीले नेपाली कथा विश्व रंगमञ्चमा प्रस्तुत गर्ने आफ्नो उद्देश्य रहेको र आफूले लेखन तथा निर्देशन गरेको नाटक भारतभरका नाटकमध्ये उत्कृष्ट १० मा पर्नाले आफू त्यो अभियानमा एक कदम अघि बढेको महसुस भएको बताएका छन्।

‘यो उपलब्धी समग्र नेपाल र नेपाली रंगमञ्चका लागि गर्वको विषय हो। नेपाली कथा विश्व घुम्नुपर्छ र हाम्रो दर्शनलाई आफ्नै हिसाबले अभिव्यक्त गर्नुपर्छ भन्ने मेरो मान्यता हो। यो नाटकको यात्राले मलाई त्यो मान्यतामा अडिग रहन प्रेरित गरेको छ,’ उनले भने।

निर्देशक सुवेदीले सो नाटक भारतको अखोका थिएटरका भिक्टर थाउडमसँग मिलेर तयार गरेका हुन्। नेपालको थिएटर भिलेज र भारतको अखोका थिएटर मिलेर तयार गरेको नाटकले सन् २०१९ मा सेरेनपिडिटी आर्टस् ग्रान्ट अवार्ड प्राप्त गरेको थियो। यो नाटक नयाँ दिल्लीमा २५ तारिखका दिन श्रीराम सेन्टरमा प्रदर्शन हुँदै छ।

यसअघि सो नाटक नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामाको हलमा मञ्चन भएको थियो। सो नाटक नेपाल, भारत, चीन, पाकिस्तान, थाइल्यान्डबाहेक बेलायत र युरोपका विभिन्न देशमा मञ्चन भइसकेको छ। निर्देशक सुवेदीले सन् २०१६ मा भारतमा अन थिएटर अवार्ड प्राप्त गरेका थिए। उनी यो अवार्ड पाउने कम उमेरका नाट्यकर्मी हुन्। उनले सन् २०२२ मा मलेसियामा इन्टरनेसनल हेरिटेज अवार्ड पनि प्राप्त गरेका छन्।

प्रकाशित: ४ चैत्र २०७९ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App