मलाई एयर होस्टेज बनेर पन्छीझैं आकाशमा उड्ने ठुलो रहर थियो। यस्तो रहर हुँदाहुँदै पनि मेरो रहर अधुरो नै रह्यो। यस क्षेत्रमा मलाई हात समाएर डोर्याउने मान्छे कोही भएन। सँगैका मेरा साथीहरू आकाशमा उडे। ग्लामरस र सुन्दर राम्री युवती देखिएर दुई हात जोड्ने रहर बीचैमा टुङ्गियो मेरो। वषौंदेखि देखेको सपना टुट्दा म निराश भएँ। म एक्लै रुन्थें। अब मेरो सबै सिद्धियो। मैलै जीवनमा केही गर्न सक्दिनँ। सबै सिद्धियो जस्तो लाग्थ्यो।
मलाई मिडिया र ग्लामरस दुनियाँ मन पर्ने भएकाले दृष्टि साप्ताहिकमा मैले निरन्तर चलचित्र विधामा मोडलिङ विषयमा लेख्न थालें। त्यसबीचमा मैले बैंकमा काम गर्न थालें।
आज म सोच्छु–एक चिज नपाउँदैमा जीवन नसिद्धिने रहेछ। मैले त्यति बेला जीवनमा असफल भएपछि आफैलाई हानी पुर्याएँ।
पत्रिकामा लेख्दालेख्दै र याममा हिँड्ने अवसर पनि पाएँ। त्यो मेरा लागि सुनौलो अवसर थियो। बिस्तारै अवसरका बाटा बन्दै गए। एयर होस्टेज बन्न नपाएर विचलित भएको म बिस्तारै अरूमा रमाउन थालें। आफूले आफैंलाई ऊर्जा थप्दै गएँ।
सानैदेखि म टिपटप भएर हिँड्न रुचाउने मान्छे भएका कारणले पनि ममा ग्लामरस क्षेत्रमा लाग्ने रुची बढ्दै गएको थियो। म टिपटप भएर हिँडेको देखेर होला, मलाई मैरै आफन्तले ईर्ष्या गर्थे। अरूको प्रगति देखेर डाह गर्ने यो समाजले जहिले पनि खुट्टा तान्ने प्रवृत्ति अँगाल्यो। यही सोचका कारण कति आपूmले चाहेका काम आधामा नै छोड्न पर्ने बाध्यता धेरैको छ।
आज यसो सोच्छु, जीवन एक कारणले अन्त नहुँदो रहेछ। जीवनमा कहिले सफलता हात पर्छ कहिले असफलता। यो जिन्दगीको गति नै हो। जित्दा मतमत हुने हार्दा आत्तिने होइन। जीवनमा बाँच्ने आधार धेरै छन्। जीवनमा अवसरहरू पनि धेरै आउँछन् जान्छन्।
एक जना दिदीले महिनाै लगाएर लोक सेवाको तयारी गरिन् तर उनी असफल भइन्। सकारात्मक नतिजा नआएपछि हतोत्साहित भइन्। परिवारको सहयोगले उनी केही समालिइन्। आज एउटा प्राइभेट बैंकमा कार्यरत छिन्। एक जना साथीले अमेरिकाको भिसा नआएपछि जीवनमा अब म केही गर्न सक्दिनँ भन्दै हरेस खाएका थिए। जीवनमा सोचेजति कमाउन नसकेपछि घर फर्किएका भाइको हालत विरहको कथाजस्तो लाग्छ। घरको ऋण तिर्न नसकेर विदेशमा नै पासो लगाएर मरेको कथा सुन्दा अचम्म लाग्छ मलाई। आफ्नो सपना पूरा भएन भन्दै वृद्ध भएका आमाबालाई दर्दनाक पीडा दिएर जाने सन्तान झन् असफल हुन जस्तो लाग्छ।
हामी भाग्यमानी छौं। राम्रो संसार देख्ने मौका पाएका छौं। हामी जन्मेको उज्यालोका लागि हो। जिन्दगीमा चुनौतीहरू धेरै छन्। खेल्दाखेल्दै लड्छौं। कहिले जित्छौं, कहिले हार्छौं। यही हारले उठ्न पनि सिकाउँछ। यसै बीचमा कति लडेर उठे होलान्, कति उठ्न सकेनन् होला। चाहेको सपना पूरा हुने भए यो संसारमा बाँच्नेको कुनै आधार नै हुँदैनथ्यो होला। हामीसँग धेरै सपना हुन्छन्। सबै सपना पूरा होस् भन्ने हाम्रो प्रयास हुन्छ तर त्यो कहाँ सम्भव छ र?
कुनै दिन मैले देख्ने सपना समाजका लागि तिखो अस्त्र भएको थियो। अब आकाशमा उड्ने रे, मोडल बन्ने रे भन्दै गिज्याउँथे। अब यो पेसामा लागेर छोरी बिग्रन्छे भन्दै खिल्ली उडाउँथे। हामीले हेर्ने आँखा फरक फरक छन्। तर आज परिस्थिति फरक भइसकेको छ। एयर होस्टेज, मोडलिङ, नायिका, ग्लामरस दुनियाँमा रमाउनेहरू धेरै छन्। धेरैको रुचिको विषय पनि बन्ने गरेको छ। परिवारको साथ पनि पाएका छन्।
सबै भाग्यमानी कहाँ छन् र? उनीहरू कहिले गरिबीले रोकिन्छन्, कहिले समाजले रोक्छ, कहिले आफ्नै रूपले दिँदैन। जे जसरी सपना टुटे पनि जीवनलाई हानी गरे भने पछाडि आफैलाई पश्चाताप हुन्छ।
हामीसँग अनगिन्ती सपना हुन्छन्। धेरैका सपना पूरा हुँदैनन्। कतिको देख्न नपाउँदै हराउँछन्। कतिको सपना दुरुस्त पूरा हुन्छन्। यो किस्मतको खेल हो तर एक चिज नपाउँदा सबै बाटो बन्द भयो भन्ने पनि छैन। बाटो निर्माण हुँदै जान्छन्।
मलाई आकाशजस्तै खुल्न मन लाग्छ, धर्तीजस्तो सहेर होइन। मलाई समुद्रजस्तो गहिराइ पनि चाहिँदैन। म शान्त खोलाजस्तै सलल बग्न सकूँ। फेदीमा नै बसेर जीवन साथर्क बनाउन सकूँ। समाजले हेर्ने हेय दृष्टिकोणसँग प्रतिकार गर्दै आफ्नो बाटो पहिल्याउन सकूँ जस्तो लाग्छ।
मेरो जिन्दगी मेरो हो। सामाजिक ठालुपन, पहुँच आदिको आडमा हुने गरेको अन्यायमा मैले यो सुन्दर जीवन किन बरबाद गरूँ।
पढेलेखेको विज्ञ मानिने बाहुन समुदायमा मोडलिङ, फेसनजस्ता काम कमैले गर्थे। बाहुनहरू लोकसेवा लडेर या पावर लगाएर ओहोदामा काम गर्नु पर्छ भन्ने मान्यता थियो। मोडल भएपछि सबै घर, संसार नै बिग्रन्छ भन्ने मान्यता राख्थौं। छोरीमाथि कडाइ नै हुन्थ्यो। यसैले गर्दा पनि कति काम गर्न पाईंदैनथे। सोचेको सपना पनि कमैले मात्र पूरा गर्ने अवसर पाउँथे।
म नेपाली साहित्य मन पराउने मान्छे हुँ। सोचेजस्तो अभिनय त जीवनमा गर्न सकिनँ तर शब्दमार्फत आफूलाई प्रस्तुति हुने मौका पाएको छु। खुशी लाग्छ। जीवनमा बाच्ने आधार धेरै छन्। एउटा गुमाए अर्को आशा पलाइदिएको छ।
केही समयअघि पशुपतिमा साँझ गंगा आरती हेर्न पुगेको थिएँ। सिँगारिएको चितामा पोल्न तयार भएर राखिएको लासलाई हेरेर रुवाबासी गरिरहेको थियो युवक। श्रीमतीको जलिरहेको लास हेर्दै मौन थिए श्रीमान्। विछोडको पीडा दर्दनाक थियो। त्यही घाटमा माथितिर हेर्दै दुई हात जोडी कतिले जिन्दगी मागिरहेका थिए। कति जोडीहरू रोमान्समा थिए। कोही जिन्दगीको अर्थ खोज्ने प्रयासमा थिए अनि त्यहीं सयौं मान्छे आरतीमा मग्नमस्त थिए। यस अर्थमा पनि जे जस्तो अवस्था आए पनि मानिसले स्विकार्नुपर्छ।
जीवन चलिरहन्छ। अवसरहरू धेरै आउँछन्। पाएको अवसरलाई नगुमाउने प्रयास गर्ने हो। असफल भएपछि आफैलाई कमजोर बनाउनु मूर्खता जस्तो लाग्छ।
कहिले घाम कहिले पानी दुःखसुख चलिरहन्छ जिन्दगीमा।
मान्छेको सृष्टि अपार छ। मान्छेले हरेक कुरामा प्रश्न खोज्छ। हामी जन्म लिन्छौं, हुर्कन्छौं, स्कुल जान्छौं, जागिर खान्छौं, घर किन्छौं, सपनाहरू पूरा गर्न लडिरहन्छौं। आफ्नालाई घृणा गर्छौं। आफन्तलाई चोट पुर्याउँछौं।
जीवनको अर्थ बुझ्न वा अर्थपूर्ण जीवन बाँच्ने अनेक उपाय छ। कति चमत्कार गर्छन्, अविष्कार गर्छन्। जे गरे पनि जीवनको उद्देश्य यसलाई अर्थपूर्ण बनाउनु हो, हरेस खानु होइन।
मन्दिरको आकार सानो ठुलो भन्ने हुँदैन। मन्दिरमा भगवान्को महत्व हुन्छ। मन्दिर अलग होला, आस्था र विश्वास उही हो।
सधैं भविष्यका बारेमा यो पाइनँ, यो गुमाएँ। सोचेजस्तो घर बन्न सकेन। मेरो छोरा विदेश जान सकेन। फलानोका छोराले त केके गरिसके। यो पाइनँ, त्यो पाइनँ भन्दै अल्मलिनेभन्दा पाएको कुरामा सन्तुष्टि लिने ठुलो कुरा हो। जीवनलाई कसरी सही अर्थमा लगाउने भन्ने आफ्नै हातमा छ। विगत फक्रेर कहिल्यै आउँदैन तर भविष्यलाई सही अर्थमा लग्यौं भने आफू र आफ्नालाई सिञ्जित गर्न सक्छौं।
जीवन सुन्दर पनि छ। साच्चै चुनौतीपूर्ण पनि छ। यही जीवन कष्टकर पनि हुने गर्छ। यस्तै चुनौतीहरूले नै अघि बढ्न र बाँच्न सिकाउँछ। यसैले त यही जिन्दगी रहस्यमय लाग्दै जान्छ। पुरानो याद कथा बन्दै जान्छ।
जीवनमा आफ्नो भूमिकाले निकै महत्व राख्छ। के पाएँ के गुमाएँ भन्नुभन्दा पनि पाएको चिजबाट नै जीवनलाई सहज बनाउनु उत्तम उपाय हो।
प्रकाशित: २७ फाल्गुन २०७९ ०१:५५ शनिबार