२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

नवकलाकुञ्ज हेटौंडा, एकादेशको कथा र म

यो दृश्य हो। परिदृश्य हो। यो परिदृश्यले मेरो मधुदृश्यलाई डाक्न खोज्दै छ। हुन पनि बाहिर हेरेको बतास हुइँकिएको हुइँक्यै ! त्यो बतासले सुनका सङ्ख्याहीन गिन्नी–असर्फी ओइराइरहेको आकाशै ढाकुँलाझैं गर्दै। बाल उद्यानमा विद्यमान थुप्रै बोटबोटबाट, डालीडालीबाट, झाडीझाडीबाट। केही बोटबुट्यान रङरङका पहिरन रङ्ग। राता, सेता, बैजनी, प्याजी र अरूहरू।

एउटा गतिलै रुखबोटले त हाम्रो घरआँगनीसम्मै आफ्ना डाँडीडाली फैलाएको र त सुन हाम्रा आँगनीभरि छरपस्ट छरिएका।

आँखा नअघाएसम्म बाहिर बरन्डामै बसें।

आज नोभेम्बर महिनाको ७ तारिख, २०२२। कोलोराडो, वेस्टमिन्सटर। शिरीषको घर। हाम्रो घर। यता ‘फल’ सुरुभएको रे ! हामीले भन्ने गरेको ‘पतझड’ !

कोलोराडोको पतझड त पतझडै हुँदोरहेछ। जताततै त्यस्तै दृश्य ! अरूतिर सुन्दरताको त्यस्तो दुर्लभ दृश्य देख्न पाइन्छ कि पाइँदैन मलाई थाहा छैन। लाग्छ, भएभरका बोटबिरुवा नांगिँदै छन् हिउँदमा पर्ने हिउँको बोझ बोक्न।

मनमा मनग्गे ‘मिठो’ बोक्दै बैठक कोठामा छिरें। टेबुलमा एउटा किताब रहेछ। टिपें।

आफ्नै पुस्तक ‘नेपाली गीत–संगीतका केही रङ्ग केही तरङ्ग’ हेर्न मनले माग्यो।

हेरें। गातो पल्टाएँ। उर्मिला। उर्मिला श्रेष्ठ। भित्री गातोमा उर्मिलाको उद्गार छ, ‘मैले देखेको हिरण्य, हिरण्य भोजपुरे ।’ पढदै गएँ।

एक ठाउँ पुगेर अड्किएँ–‘नवकलाकुञ्ज !’

एक्कासी मेरो मुखबाट निक्लियो, ‘नवकलाकुञ्ज हेटाैडा, एकादेशको कथा’।

त्यतिले पुगेन। मन हुँडलियो, हुँडलिले कुण्डली मार्‍यो। एकादेशको कथाको ‘म’ पनि एक अभिन्न पात्र ! मलाई फेरि त्यहीं पुगूँ पुगूँ लाग्यो। आहा ! त्यहाँको विगत सोच्दासम्म पनि प्रसन्न आनन्द ओर्लियो यताउता, जतातता !

मलाई लेख्न मन लाग्यो आफ्नैबारे र नवकला कुञ्जबारे। लेख्दै छु।  

भन्न मन लाग्यो–मेराबारे बोल्न मभन्दा उर्मिला उम्दा छिन्।

लु हेर्नु न, उनले कस्तो भाँति पारेर भन्न जानेकी, ‘हिरण्य भोजपुरेको जन्म १९९९ साल मङ्सिर १२ गते शुक्रबारका दिन भोजपुर देउरालीमा भएको हो। उनको जन्मपछिको पहिलो नाम हिरण्यप्रसाद श्रेष्ठ हो।

२०११ सालमा भोजपुरबाट झापा झरेपछि ट्याम्केको ओतदेखि उनी ओझेल भए। त्यसो त आफ्नो आकाशमाथि सधैं सधैं उनले ट्याम्के ओडेर हिँडेका छँदै छन्। हुन पनि ट्याम्केले हिरण्यलाई ओत मात्र दिएन, उचाइ पनि दियो। टाढाटाढा हेर्ने दूरदृष्टि दियो।’

यी कथनी मैले मेरै पुस्तक ‘नेपाली गीत–संगीतका केही रङ्ग केही तरङ्ग’को भित्री गातोबाट निकालेको हुँ है। उर्मिला श्रेष्ठले मेराबारे लेखेको लेखकीयको अंश। त्यहाँ कथनी छ। कथनीभित्र कुरा मात्र छैन, विचार छ, काव्य पनि छ र त मलाई उनकै लेखनीको बेलो समात्दै लेकालीसम्म पुग्ने रहर जागेको छ। मैले आफूलाई लागेको कुरा जाहेर गरिहालें, त्यसै गर्छु है।

‘माता लक्ष्मीदेवी श्रेष्ठ र पिता चण्डिप्रसाद श्रेष्ठको वात्सल्य र स्नेहले (उनलाई) अरूलाई माया गर्नसक्ने मन दियो। देउरालीको मुण्डे झिँगटी घरमुनिको बलेसीमा बसेर उनले एक्लो भावनाका कति बुट्टाहरू बुने होलान्।

‘बुबाको जागिरले तानेर उसलाई झापा झार्‍यो। दुई वर्ष उनी मेचीको किनारमा अवस्थित श्री पद्म हाइस्कुलमा अध्ययनरत रहे र बुबाको जागिरले नै २०१३ सालतिर काठमाडौंतिर तान्यो उनलाई।’

त्यसपछि उर्मिलाले मैले पद्मोदय हाइस्कुलबाट प्रवेशिका परीक्षा पास गरेको कुरा, त्रिचन्द्र कलेजमा आइएस्सी पढेको अनि आइएस्सीमा दुईपल्ट गुल्ट्याङ खाएपछि बुबाको सरुवाथलो मकवानपुर पुगेको वर्णन बडो जीवन्त ढङ्गले गरेकी छन्।

‘आइएस्सीमा दुईपटक फेल भएर मकवानपुरको रुवाभन्दा नरम र कोमल कुहिरो उड्ने अचम्मको देश मकवानपुर गढीमा पुगे उनी ।’ उर्मिलाले मकवानपुरको कुरा उक्काइहालिन्, ‘अब एकछिन म मकवानपुरमै रम्न चाहन्छु।’

मकवानपुर, मेरो आराध्य स्थान। भोजपुरपछि मलाई मेरो भित्रसम्म छुने परम्प्रियपुर मकवानपुर।  

‘म यहाँ, नयन नभमा, मन वहाँ कहाँ हो कहाँ !’

दिलको धड्कन छ यहाँ, मन वहाँ कहाँ हो कहाँ।

यो मेरो पहिलो कविता हो भनेर मैले हुङ्कार गरें।

एकाबिहानै उठेको। बाहिर पालीबाटै छुँदो रहेछ दृष्टिले तलतल सुदूर तराईसम्म। तराई, सौम्य सफेद बादलको सागर ! अचल बादलको सागर महासागर बन्दै घुसेको मधेसदेखि भित्री मधेससम्म टम्म।

म मुग्ध बनें। अविरल, अविचल, अद्भुत बादलको सुन्दरताले म अभिभूत भइरहें। त्यतिखेर जतिखेर अचलमल बादल विन्यासमा सुस्त सुस्त हलचल चल्न थाल्यो। म भावुक बन्नुथियो बनें। पछि थाहा भयो, अचल बादलको त्यो चलमल चलमल चाल घामको कमलो र कमनीय स्पर्शको कारणले रहेछ। घाम राँकिएर आयो। बादल हुँडलिन थाल्यो। मन मौन बनिरह्यो। घामको किरण र बादलको आकर्षण विकर्षणबीचको चलायमान चाप उत्कर्षतिर उचालिन थाल्यो। घाम मियो बनिरह्यो, बादल दाइँ बन्दै घुमिरह्यो। एकैछिनपछि त बादल चुरचुर भएर चोइटिन थाल्यो।

चोइटिँदै चोइटिँदै ती त्यान्द्रा बन्न थाले। ती त्यान्द्रा बादलबुट्टा बन्दै उँभो उँभो उकाली लाग्न थाले। कतै बादल लुम्सो, कतै कुहिरो त्यान्द्रा ! ती उँधो उँधोबाट उँभो उँभो उडिरहे। चौदिशा फैलिरहे। राखापाखा ढाक्तै ढाक्तै। कोमलता र सुमधुरतालाई डाक्तै डाक्तै। मेरो जिउज्यानलाई स्पर्श सुख दिँदै दिँदै। त्यो अद्भुत अनि अनन्त दृश्य सुख मेरा निम्ति अभूतपूर्व थियो।

म एकदम भावुक भएछु। त्यो सरसता तरल बन्दै एक्कासि पोखिएछ– ‘म यहाँ नयन नभमा...।’ यस कवितामा शब्द मात्र थिएनन्। धुन पनि गुन्गुनाएथें। तर, त्यो धुन नातिकाजी दाइको ‘निरव रातमा आँसु खसाली पर्खिरहेकी होली’ को धुनसित मिल्दोजुल्दो लाग्यो। पछि लाग्यो–त्यो प्रभाव मात्र रहेछ। यी बादलबुट्टे विन्यासपूर्ण दिनहरू २०१८ सालको उत्तरार्धतिरका हुनुपर्छ।

अनि मेरो दैनिकी नै भयो–एकाबिहानै उठेर घण्टौं कुहिरोसँग रुझ्ने, बिझ्ने, भिज्ने अनि टोलाउँदै उड्ने। त्यहींको त्यस्तै त्यस्तै बादलबुट्टे आह्वानले मलाई कविता कोर्न लगाएछ। पूर्ण कविता:

कल्पना

‘ठन्डीको एक दिवसमा

बादलुको आवरणमा

देखें दृष्टि पर्दापछाडि

थिइन् एक सुकुमारी।...’

मेरो पहिलो पूर्ण कविता। मकवानपुर जिल्लास्तरीय कविता प्रतियोगितामा पठाएको, पहिलो भएछ। पछि कञ्चन पुडासैनीले गरिमामा छपाइदिनुभएछ, उहाँ साझा प्रकाशनको अध्यक्ष हुनुभएका बेला।

‘मकवानपुर माल मकवानपुरगढीमा थियो २०१९ सालसम्म। पछि गढीबाट मालअड्डा हेटौंडामा झरेपछि उनले त्यहीं विद्युत विभागअन्तर्गतको (हेटौंडा डिजेल प्लान्ट) कार्यालयमा खरिदार जागिर खाए। त्यहीं अन्य उत्साही स्थानीय र जागिरे युवाहरूसँग मिलेर नवकलाकुञ्जको स्थापना गरे। सही अर्थमा साहित्य र संगीतमा उनीबाट निकास र विस्तार पाएको सही थलो हेटौंडाको ‘नवकलाकुञ्ज’ नै हो।’

ओहो ! आज यसो सम्झन्छु, हेटौंडामा म रमेको समयले पनि छ दशक छुन लागेछ। कस्ता सपनासरि दिनहरू थिए ती। आँखाका नानी टोलाइरहन खोजिरहेझैं रुमानी खालका।

सायद मैले त्यतिखेर ‘टिनएज’ पार गरिसकेको थिएँ। नृत्याङ्गनाहरू सबै ‘टिनएज’ भित्रका। सीता गोर्खाली, ओम गोर्खाली, कमला श्रेष्ठ, मोती मैयाँ, मन राना आदि। केटाहरू भने लक्का जवान। कोमल पाण्डे, मोतीरत्न स्थापित, नन्दरत्न स्थापित, मीनबहादुर नेपाली, टी दास ‘छ्याकछुक’, ब्लैकी, बद्री बिरानो र मसमेत। मित्र माधव तन्नेरीले चाहिँ नाचे कि नाचेनन् बिर्सें। उनी साहित्यिक मान्छे। आरती साहित्यिक पत्रिकामा मेरै पहिलो कथा छापियो २०२२ सालतिर। माधवजीले पछिल्लो आरतीमा प्रतिक्रिया लेखेछन्–‘शैली अत्यन्त आकर्षक छ। भारतीय उपन्यासकार कुशुवाह कान्तको राम्रै प्रभाव परेझैं लाग्छ।’

नवकलाकुञ्ज, हेटौंडाले प्रारम्भमै अति उच्चकोटिका सिर्जनशील संगीतकार पायो–पृथु राणा। मिठास, मौलिकता र सुललितता उनको संगीतको विशेषता हो। संगीतमा उनी धेरै माथि उठ्न सक्ने शिल्पी हुन्। तर हेटौंडाबाट हिँडेपछि उनको कुनै अत्तोपत्तो भएन। उनी धरानका भन्नेसम्म सुनेथें।

वर्तमानमा मेसेन्जरमार्फत पृथु राणालाई खोज्न खोजें तर अपशोच...। अँ, उनले आफूलाई पिआर राणा भन्न रुचाउँथे। त्यसमा म उनलाई मेसेन्जरमा उन्न खोज्दै छु, हेरूँ ।

गिरिजाप्रसाद जोशीले नवकलाकुञ्जको परिचयगीत लेखे।

पृथु राणाले संगीत हाले। हामी सबै मिलेर गायौं। त्यो गीत नवकलाकुञ्जको कुनै पनि कार्यक्रमपूर्व गाइने परिचय गीत बन्यो।

‘नवकलाले आज हामी मातृभूमि सिँगार्दछौं,

स्वर्गलाई आज हामी भूमिमा पछार्दछौं’

मान्छे भने ख्याउटे ख्याउटे खालका ! तर कडा। शब्दका कडा। भावबिम्बका कडा। मनका कमला तर सामन्तविरोधी प्रस्तरकडा ! संयोग गिरिजाप्रसाद जोशी नेपाल भाषाका माथिल्लो स्तरका लेखक र कवि रहेछन्। उनले नवकलाकुञ्जका लागि थुप्रै गीत लेखे। धेरै मैले गाएँ र मिलेर पनि गायौं। अवश्य नै ती गीतमा पृथु राणाले संगीत संयोजन गरे। उनी आफ्नो भाषा–वाङ्मयप्रेमी थिए र त उनले धेरै नेपालभाषाका गीत पनि लेखे। हामीलाई गाउन लगाए र नाच्न उत्प्रेरित गरे। उनले लेखेको एउटा ठट्यौलो गीत मैले स्टेजमा गाउने गर्थें। २०६०/६१ सालतिर मैले आफ्नो गीति अल्बम निकालें– ‘एक अँजुली घाम’। त्यो नेवारी गीत पनि रेकर्ड गरें र अल्बममा राखें:

‘भाःतया निंति भुटनदेवी ग्वंगः फ्यात का

मज्जां च्वनाः नये यःसा ड्राइभर भाःत का।’

म नेवार हुँ तर नेवारी भाषा राम्ररी आउँदैन। गाउन भने खुब गाइयो गिरिजाप्रसादका गीत। भाँती नपर्ला र पनि केही सम्झना उतार्दै छु। नवकलाकुञ्जको एउटै मात्र उपलब्ध दस्ताबेज ‘गीतकुञ्ज’ को सहारा लिँदै।

‘हुँ हुँ ख्वयेका तर मन न्हिका,

म्वाय्लि पुइका छन्त जिं यंके मानी

त्वंकिम्ह बांमलाःसां त्वनेगु मज्जा हे मवः

सुलिंमय्जु मवः थाय् वने मास्ति हे मवः जि।

गिरिजाप्रसाद जोशीले हामीसँग धेरै समय हेमखेम गरे। उनको काठमाडौं फिर्नुपर्ने साइत जुरेछ। हाम्रो सधैंको भेला हुने र रिहर्सल गर्ने थलो भुटनदेवी हाइस्कुलको हलमा जोशीको बिदाई समारोह भयो। उहाँको सम्मानमा मैले यौटा गीत गाए:

‘माया गाँसी भागिजाने संसारलाई चिन

हिजो आयो भोलि भुर्र उडिजाने किन

कैले यहाँ कैले वहाँ कैले कहाँ कहाँ

जीवन नै के रै’छ र एक क्षणको छाया।’

यसमा भाका पनि मैले भरेको थिएँ। जोशीले प्रतिक्रियामा भने, ‘नवकलाकुञ्जले भोजपुरे शारिका, प्रतिभाशाली साहित्यिक स्वर पाएको छ। यो संस्था जीवन्त रहने छ।’

जोशीको भनाइले फेल खाएजस्तो लाग्छ। आज ‘नवकलाकुञ्ज’को अस्तित्व बाँकी छजस्तो लाग्दैन। त्यसो त समयले पनि निकै लामो फड्को मारिसक्यो। धन्न ! नवकलाकुञ्जको बिँडो थामेको छ ‘गीत–कुञ्ज’ पुस्तिकाले। यस पुस्तिकामा आधुनिक गीत, राष्ट्रिय गीत, लोकगीत, लोकगीतमा आधारित गीत भजनसमेत गरेर जम्मा १०६ गीत सङ्गृहीत छन्। (स्रोत:गीतकुञ्ज)

धन्य धनसुन्दर ! तिमीले नवकलाकुञ्जलाई धन्य बनायौ, आफ्नो ‘कोरियोग्राफी’ कला कलाकुञ्जमा कुँदेर। त्यस्तै, प्रेमकुमार शाही, तिमी पनि नृत्य निर्देशनमा माहिर रह्यौ र त हामी बाँदर होइन, मान्छे नाच्यौं।

कुशल नृत्य–निर्देशक धनसुन्दरले कुशलतापूर्वक हामीलाई नाँच सिकाउँथे। हामी कुशलतापूर्वक नाच्थ्यौं। स्टेपहरूमा नयाँ नयाँ चाप दिन र सोच उतार्न धनसुन्दर औधी बाठा थिए।

नवकलाकुञ्जको नेतृत्व धेरैजसो शैलराज रञ्जितकारले लिन्थे। वीरगन्जवासी उनी चाँजोपाँजो मिलाउनमा खप्पिस थिए। नन्दरत्न नाटकमा खेल्थे। अरूलाई खेलाउँथे। गीत लेख्थे, गाउँथे पनि। गिरिजाप्रसादले पनि नाटक लेख्थे। नाटकभित्रका गीत लेख्थे नेपालीमा। एउटा नाटकमा मैले र मेरो भाइ दक्षप्रसाद श्रेष्ठले पनि छोटो रोल खेलेको मलाई हेक्का छ। दक्ष र मैले एकैपटक एकै ठाउँमा जागिर खाएका थियौं, हेटौंडा डिजेल प्लान्टमा। ऊ मुखिया म खरिदार। श्यामा गोर्खाली स्टेज र पाश्र्व गायिका। टी दास ‘छ्याकछुक’ आधुनिक नाँचमा रम्थे। उनी आफैले एउटा ‘इफेक्ट’ बाजा बनाएका थिए, काठका दुई फक्लेंटोको। सायद उनी दाइने हातका चोर र माझी औंलाले छाकछाक छुकछुक ध्वनि निकाल्दै सो बाजा बजाउँथे। पछि ‘छाकछुक’ उनको ‘निकनेम’ नै रह्यो। ब्लाकी पनि आधुनिक नेवारी नाँच नाच्थे, हुच्छेबहादुर डंगोल ‘ब्लाकी’।

पृथु (नरसिंह) राणा हेटौंडाबाट गए। हेटौंडाबाट कहाँ गए थाहा भएन। हेटौंडाबाट जानुअघि उनको सांगीतिक योगदान अत्यन्त उच्च छ। सारगर्भित, मधुर र मर्मस्पर्शी संगीत कथ्न सक्नु उनको शिल्पसिद्धि हो। मैलै गीत लेखें। उनले भाका भरे अनि स्टेजमा गायौं पृथु र म भएर– ‘बुद्धभूमि हाम्रो देश, विश्वको तारा हाम्रो देश, सुन्दर हिमशृंखला र पञ्चहरूको हाम्रो देश ।’ राजा महेन्द्रको सवारीमा पनि हामी दुई भाइले यो गीत गाएका थियौं चितवनमा।

यो सन्दर्भ २०२१ सालतिरको हुँदो हो। त्यही गीत रेडियो नेपालबाट गायौं। गाउनेहरू–मेरा दाजु द्रोणप्रसाद श्रेष्ठ, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ र म। शैक्षिक कार्यक्रम। कार्यक्रम सञ्चालक–कुवेर गर्तौला र बिबी सिंह। उक्त शैक्षिक कार्यक्रममा हामीले धेरै गीत गायौं र त्यो कार्यक्रम म र उर्मिलाका लागि ‘ब्याक डोर’ बन्न पुगेछ। हामी दुईले रेडियो नेपालबाट ‘भ्वाइस टेस्ट’ दिएको मलाई थाहा छैन।

त्यतिखेरसम्म हामी राजनीतिदेखि अलि टाढै थियौं। संस्थामा राजनीतिक आस्था बोकी हिँड्ने पनि थिए होलान् तर त्यो स्वस्थ आस्थाको स्वच्छ कुञ्ज नवकलाकुञ्जमा केवल संगीत हुन्थ्यो। नाँचका बान्कीहरू हुन्थे। कलम, कला र गलाका निर्झर झरी झर्थे।

नवकलाकुञ्जका लागि मैले गीत लेखें, म गीतकार बनें। गाना गाएँ, गायक भएँ। गीतमा भाका भरें र त संगीतकार कहलिएँ। म गुन्गुनाएर गुन्गुनलाई कण्ठ गर्थेंं। हार्मोनियम पृथु राणा, कपिल श्रेष्ठ अथवा शुक्रराज शाक्यले बजाइदिन्थे। तबलामा विलक्षण तबलावादक भोला जोशीले ताल दिन्थे।

भोला जोशी त्यसताका शास्त्रीय तबलावादन परम्पराका आदर्श थिए। भोला मुलुककै नामुद तबलाबादक मोहन जोशीका सहोदर भाइ थिए। भोलाका औंला हार्मोनियममा त्यत्तिकै कलात्मक अनि चामत्कारिक ढंगले द्रूततर गतिमा चल्थे। त्यसरी हार्मोनियमलाई विलक्षणतापूर्वक बजाउने अर्का महारथी त्यसताका मैले देखेको सुयोग्य संगीतकार हुतराज शर्मा हुन्। मादल ठोक्ने र अन्य इफेक्ट बाजालाई संगीतको सज्जा बनाउने संगीतका सारथीहरूको त्यहाँ कमी थिएन। रहँदाबस्दा अलिअलि हार्मोनियम बजाउन थालेछु। तबलाको बायाँबाट इफेक्ट बजाउन थालेछु। त्यतिखेर त्यहाँ गितार भित्रिइसकेको थिएन। पछि २०२२ सालतिर नवकलाकुञ्जबाट बिदा भएपछि बल्ल गितार हात पर्‍यो। हाम्रा जेठा ठुलोबाका जेठा छोरा ईश्वरप्रसाद श्रेष्ठ दाइ अफिसबाट फिलिपिन्स जानुभएको थियो। त्यहींबाट गितार उपहार आएछ।

पृथु राणा एउटा बतास थिए। संगीतको पराग छोए। सुगन्धहरू छरे र गए। उनी गएपछि मुख्य संगीतकार बनेर कपिलराम श्रेष्ठ आए। कपिल मेरा काठमाडौंदेखिकै साथी। फूर्तिवाज संगीतकार। थोरै गर्थे तर राम्रो गर्थे। उनले धेरैजसो पूर्ववर्तीकै संगीतलाई ‘बर्करार’ राखे। उनले सिर्जना गरेको एउटा गीतको मलाई अलिअलि हेक्का हुँदै छ, ‘आएन निँद रातबीचमा सम्झी कसको याद लि...।’ शब्द कसको हो बिर्सें। संगीतमा क्लासिकल ‘बेस’ थियो। कपिलराम श्रेष्ठ नेपाल भाषाका लोकप्रिय गायक भृगुराम श्रेष्ठका सहोदर भाइ हुन् तर कपिललाई नवकलाकुञ्जको सेवा गर्ने लामो समयको जोग जुरेन। केही तारतम्य मिलेर हो कि नमिलेर हो, उनले चाँडै काठमाडौं फिर्नुपर्ने भयो र उनी गए।

कपिलराम गए। शुक्रराज शाक्य आए। हुन त पृथुकै पालादेखि पृथु, कपिल र शुक्र साथसाथै मिलेर गीतमा संगीतको पाइन चढाइआएकै हुन् र पनि पृथु राणा भएसम्म पृथुले ‘मेन’ रोल खेले। त्यसपछि कपिलराम संस्थाको सांगीतिक मुखिया बने अनि त्यसपछि शुक्रराज।

शुक्रराज एक जाज्वल्यमान संगीतकार। उनले संगीत कहाँ र कसरी सिके, थाहा छैन। प्रातिभ ज्ञानका भने उनी भकारी ! नवकलाकुञ्जलाई सबैभन्दा लामो समयसम्म सेवा दिने संगीत–सेवक ! शुक्रराजले संस्थाका थुप्रै गीतकारका गीतमा घतलाग्दा धुन भरेका छन्। त्यस्तै मेरा धेरै गीतलाई पनि गुनिलो अनि गतिलो गमक दिएका छन्।

त्यतिखेरसम्म म लोकगीत के हो भनेर त्यति बुझ्दिन्नथें। मलाई धनसुन्दर, पुष्पनाथ शर्मा, मनसुवा घले अनि आरबी लामाले लोकगीत सिकाए।

मलाई पिरलो पर्नसम्म पर्‍यो, नवकलाकुञ्जको गठनावधिसम्बन्धमा। मैले गुनें, आफ्नै दिलको धड्कन सुनें र भनें, ‘नवकला कुञ्ज, हेटौंडा २०१९ सालको उत्तरार्धतिर उब्जेको हो ।’ तर म गलत रहेछु। गीतकुञ्जका दुई शब्द अर्थात् भूमिकामा भनिएको रहेछ, ‘नवकलाकुञ्जको स्थापना स्थानीय हेटौंडाका कलाप्रेमी युवकहरूको प्रयासबाट २०२० साल भाद्र १ गतेका दिन हेटौंडामा भएको हो।’

अँ, गीतकुञ्ज प्राप्तिभित्र एउटा गतिलै कथा छ। मित्रवर नन्दरत्न स्थापितले दिएका हुन् गीतकुञ्ज मलाई। गीतकुञ्जको गातोभित्रको पातोमा उनले लेखेका छन्, ‘स्नेही भोजपुरेज्यूमा प्रेम उपहार/नन्द, हटौंडा/५४–७–१९’ साल २०५५ जस्तो पनि देखिन्छ। अझ २०४४ पो हो कि !

जे होस, गीतकुञ्ज छ तर नेपालस्थित घरमा। म अमेरिकामा। मैले मेरा सहयोगी बाबुकृष्ण महर्जनलाई फोन गरें र भनें, ‘मेरो घर गएर गीतकुञ्ज खोज र यता पठाइदिने जनी गर न बाबु !’  

बाबुले दुई दिनपछि फोन गरे। दुई दिनसम्म धुइँपत्ताल लगाएर खोज्दा पनि पत्तो लागेन रे पुस्तकको। बिचरा ! बाबुकृष्णले भेट्नु पनि कसरी ! किताब र कागजहरूको त्यत्रो थुप्रोबाट। मेरो पुस्तक परिसरलाई पुस्तकालय नभनेर ‘मेस’ को थुप्रो भनिदिए पनि पाप लाग्दैन। अवैज्ञानिक, अव्यवस्थित, ल्याङफ्याङे पाराले राखेको। भोलिपल्टै बाबुले फेरि फोन गरे। बडो मुस्किलले फेला पर्‍यो रे गीतकुञ्ज। एउटा दराज र भित्ताको कोप्चोमा कागजको थुप्रोबीच कोचिएको रहेछ रे। बाबुले किताबै इमेल गरेर पठाइदिए। म ढुक्क भएँ। पहिले नवकलाकुञ्जका दुई शब्द पढें।

‘यो संस्थाले २०२१ र २०२३ सालको फाल्गुन ७ गते प्रजातन्त्र दिवसका उपलक्ष्यमा भएको ‘अखिल नेपाल सांस्कृतिक प्रतियोगिता’मा काठमाडौंमा भाग लिएको थियो। २०२२ साल चैत्र २० गते काठमाडौंमा भएको रेडियो नेपालको जन्मजयन्ती समारोहमा आधुनिक गीत प्रतियोगितामा संस्थाका तर्फबाट सुशीला मानन्धरलाई पठाइयो र उहाँले उक्त प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेर संस्थाको प्रतिष्ठा बढाउनुभयो।’

नवकलाकुञ्जकी सुशीला मानन्धर राष्ट्रव्यापी प्रतियोगितामा प्रथम भइन्। गीतकार थिए बद्रीप्रसाद तिमल्सिना अर्थात् बद्री बिरानो। गीतको बोल–

‘उजाड, उजाड उजाड छ वन

धमिलो, धमिलो, धमिलो छ आकाश’

अनि संगीत माहिर संगीतकार शुक्रराज शाक्यको। दर्दले बिझेको र भिजेको प्रस्तुत गीत सायद बद्री बिरानोको सबैभन्दा मार्मिक र सफल गीत हो। शाक्यको संगीत रचनाले शब्दलाई त्यत्तिकै उचाइमा उचालेको छ। सुशीलाको स्वरको त झन् कुरै भएन। सुशीला मानन्धरको गायकी र स्वर मधुरतामा एउटा बेग्लैपन र पाइन पाइन्छ। उनको स्वरमा पाइने प्राकृतिक ताजापन अनि स्वस्थ सत्वको कारण श्रोता उनलाई सुनेर लट्ठ पर्छन्। उनले गाउँछिन् लट्ठ पार्नेगरी। सुन्नेले लट्ठ पर्नैपर्ने हुन्छ र लट्ठ पर्छ। त्यतिखेर मेरा दाइ द्रोणप्रसाद श्रेष्ठले भन्ने गर्थे– सुशीलाको जस्तो मिठो स्वर उनले सुनेकै छैनन् रे। अर्कातिर संगीतकर्मी शुक्रराज भन्थे, ‘सुशीलाको स्वर ज्यादै मिठो छ र मलाई उर्मिला दिदीको स्वर पनि औधी मनपर्छ।

सायद २०२२ सालको चैत्र २० गतेको दिन हुनुपर्छ। रेडियो नेपालको जन्मजयन्तीका उपलक्ष्यमा आयोजित राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगिता थियो। प्रतियोगिताभन्दा बाहिर बसेर एउटा गीत गाएका थिए उर्मिला श्रेष्ठ र निर्मला श्रेष्ठले। शब्द मेरा, संगीत शुक्रराज शाक्यको थियो।  

‘खोलाको तीर नाचेर हिँड्छ,

त्यो सानो जुरेली, त्यो सानो जुरेली

मसँगसँगै गाएर हिँड्छ

यो मेरो मुरली, यो मेरो मुरली।’

रेडियो नेपालको पुरानो बिल्डिङ। बुइँगले हलमा लाइभ कार्यक्रम। लाइभ प्रसारण। कार्यक्रमको समाप्तिमा नातिकाजी दाइले भाषण गरेका थिए। लाग्छ, नेपाली समकालीन संगीतका शिखर लहरका नातिकाजी श्रेष्ठ कार्यक्रमका सभापति थिए। उनले भाषण गर्दागर्दै उर्मिला र निर्मलाको स्वरको तारिफ गरे। मेरा शब्द र शाक्यको संगीतको प्रशंसा गरे र भने, ‘गीत नेपालीपनले ओतप्रोत छ। नेपाली गीत यस्तै हुनुपर्छ। आहा ! खोलाको तीर नाचेर हिँड्छ।’

‘गीतकुञ्ज’ को भूमिका पढिसकेपछि ममा कृतिकार र कलाकारहरूको लहरको लर्कन् लगाउने रहर जाग्यो। तर मैले यहाँ भएभरका कलाकर्मीको नाम राख्न भने सकेको छैन। सम्झेकाहरूको फेहरिस्त मात्र हो यो। शब्द शिल्पीहरूः गिरिजाप्रसाद जोशी, नरहरिनन्दन खरेल, चण्डीप्रसाद श्रेष्ठ, नन्दरत्न स्थापित, बोर्को, बिन्दु प्रधान, विश्वनाथ रेग्मी, केशरी खरेल, शैलराज रञ्जितकार, पुष्पनाथ शर्मा, डेन्टिजंग शाह, आरबी लामा, गङ्गाराम बोकी, पृथु राणा, बद्री बिरानो, हिरण्य भोजपुरे र अरू।

समयभन्दा छिटो केही नहुँदो रहेछ। न बखत न बतास न ध्वनि न चमक न फूलकेशरीको महक। दुई दशकभन्दा बढी भयो होला सुशीलासित भेट नभएको। पछिल्लो पटक हेटांैडा जाँदा भेटेको थिएँ उनलाई। हेटौंडा उद्योग वाणिज्य संघमा कार्यरत। उनलाई भेट्न संघको कार्यालयमै पुगें। ‘अरे, तिमी त जस्ताको त्यस्तै रहिछौ ! राम्री त्यस्तै !’ यो हिन्दाइको जिस्किने बानी जस्ताको त्यस्तै रहेछ। केही चेन्ज भा’को रै’नछ भन्दै सुशीलाले कुतकुती प्रश्नको फुतफुती जवाफ दिइन्। हामीले निकै लामो बात मार्‍यौं। आपसमा बात मार्दै उहिलेको नवकलाकुञ्जमै पुग्यौं। त्यतै हाँस्यौं, खेल्यौं, बात मार्‍यौं र साथसाथै गीत गायौं।

मेरा बहिनीहरू नन्दिका श्रेष्ठ, खेसर श्रेष्ठ र सरस्वती श्रेष्ठ नवकलाकुञ्जकै अंगका रूपमा लिन्थे आफूहरूलाई। तीनैजना भुटनदेवी हाइस्कुलमा पढ्ने। नवकलाकुञ्जको रिहर्सल धेरैजसो हाइस्कुलमै हुने। कार्यक्रम पनि अधिकांश त्यहींको चौरमा चल्थे।

मेरा बहिनी र भान्जाहरू भूषण श्रेष्ठ, रोशन श्रेष्ठ र किशोर श्रेष्ठले पनि कुनै कार्यक्रम हेर्न छुटाउँदैनथे।

नवकलाकुञ्जलाई मेरो गीतसंगीतको पहिलो गुरु भने पनि हुन्छ, पहिलो सुरु भने पनि हुन्छ। पहिलो पाठशाला भने पनि हुन्छ, पहिलो कर्मशाला अथवा कार्यशाला भने पनि हुन्छ।

नवकलाकुञ्जले मलाई भविष्यसित भिज्न एउटा ‘भिजन’ दियो। साहित्य र संगीतसित रुझ्न एउटा ‘रिजन’ दियो। यो संस्था मेरो जीवनलाई एउटा दृष्टि दिन आँखा बन्यो। लेकालीलाई प्रारम्भमै परिपक्व पार्न मलाई ऊर्जा दियो। नवकलाकुञ्जलाई कुनै दिन पुनर्जन्म दिन सक्ने कुनै दैवले अवतार लिएको दिनलाई म सदा सादर कुरेर बस्ने छु।

मेरा बिटाका बिटा सम्झनाका छिटाहरूलाई बिट मार्नुअघि म कोलोराडोको पतझडलाई प्रणाम गर्दै नवकलाकुञ्जसम्म तान्दै तान्दै लैजाने उर्मिलाको लेखकीयलाई धन्यवाद दिन चाहन्छु। जसले मेरा सुत्न खोज्दै गरेका विस्मृतिलाई उठाउन ऊर्जा दिए। र म उठें अनि यहाँसम्म पुगें। उर्मिलाले देखाइदिएको बाटो पहिल्याउँदै अर्को झमकमा म लेकालीसम्म पुग्ने छु। मेरा समकालीन सांगीतिक गतिविधिमा रुझ्न खोज्दै शब्दहरूमा छरपस्ट छरिन खोज्ने छु।

‘मेरै आग्रहमा उनले रेडियोमा गाउन थाले। उनी सँगसँगै म पनि रेडियोबाट गाउन थालें। २०२४ सालतिर लेकाली खुल्यो। लेकालीहरू मिलेर लेकालीलाई उठाए।

लेकालीले उनलाई उठायो। मेरै आग्रहमा उनले आइए गरे, बिए गरे र नेपाली साहित्यमा एमए गरे ।’ मेरै पुस्तक ‘नेपाली गीतसंगीतका केही रङ्ग केही तरङ्ग’ पुस्तकको भित्री गातोको अन्तिम पातोबाट।

प्रकाशित: २७ फाल्गुन २०७९ ००:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App