२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

यन्त्र

लघुकथा

तुलसी पण्डित

गजव लाग्यो। दिनको एक लाख भत्ता रे।

विदेशी एक संस्था भ्रष्टाचार के कति भइरहेछ भन्ने मनसायले यहाँ आयो। आजसम्म बाँचेका उच्चस्थ पदाधिकारी सबैलाई प्रशिक्षण दिने भन्दै बोलायो। दिनको एक लाख भत्तासहित खानबस्न सुविधा थियो। पाँच दिने प्रशिक्षण थियो।

सबैले उक्त संस्थाको अनुरोधलाई स्विकारे। सबै उच्चस्थ व्यक्ति भनेको समयमा उपस्थित भए। आएका सबैलाई सम्मान गर्दै संस्थाले कार्यक्रम अगाडि बढायो। उसले विभिन्न वक्तालाई सोध्यो।

‘किन,भ्रष्टाचार राम्रो होइन?’

‘भ्रष्टाचारले देश र जनताको हित गर्दैन।’

‘के तपाईहरूबाट भ्रष्टाचार भएको छ?’

‘भएको छैन।’

‘के तपाईहरू भ्रष्टाचार गर्न मन पराउनुहुन्छ?’

‘यो त हामी नामै सुन्न चाहन्नौं।’

सबैको यति राम्रो उत्तर आएकाले विदेशी संस्थाले खुशी हुँदै भन्यो, ‘तपाईहरू कति महान् हुनुहुन्छ। कार्यक्रम चलेकाे आज पाँच दिन भयो। तपाईहरूले भनेअनुसार यहाँको भ्रष्टाचार शून्यमा रहेछ। मैले एक यन्त्र ल्याएको छु। यस यन्त्रको विशेषता, उच्च पदाधिकारीलाई छुँदा उसले आजसम्म के कति भ्रष्टाचार गरेको छ। त्यसको एकएक गरेर हिसाब देखाउँछ। भ्रष्टाचार नगरेकालाई शून्यमा देखाउँछ। तपाईहरूलाई के यो कुरा मान्य छ?’

त्यहाँ उपस्थित सबैले मुखामुख गरे। उनीहरूले एक घण्टापछि काम थाल्ने भन्दै आवाज उठाए।

एक घण्टापछि संस्थाका मान्छेहरू काम पूरा गराउन यन्त्र लिएर आए। तर, कार्यकक्षमा कोही थिएनन्।

प्रकाशित: २५ फाल्गुन २०७९ ०६:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App