१५ पुस २०८२ मंगलबार
image/svg+xml
कला

उस्तै हुन् सरकार सबै, हिंड्दैछ पाइला मेट्दैछ

विनोद नेपाल

१.मुक्तक

खरायो कुँद्छु भन्नेहरूलाई कछुवाले भेट्दैछ,

देख्दैन कोही, महँगीले जनताको गला रेट्दैछ।

जो पुगोस् सत्तामा चाल उही, अहँ, हुँदैन भिन्न,

उस्तै हुन् सरकार सबै, हिंड्दैछ पाइला मेट्दैछ।

२.मुक्तक

उत्तिखेरै फुटेझैं, फेरि जुटेझैं गर्छन्,

लामो यात्राको सवारी छुटेझैं गर्छन्।

बुझिनसक्नु छन् हजुर, यिनका कुरा,

कोही रोएझैं, कोही कुटेझैं गर्छन्।

३.मुक्तक

जो हरामी छन् उनै नामी हुन्छन्,

जुन निकम्मा छन् उनै दामी हुन्छन्।

विडम्बना नै यही छ हजुर यहाँको,

उनै बोक्सी, अनि, उनै धामी हुन्छन्।

४.मुक्तक

अन्यायीलाई संरक्षण, न्याय मागे कुट्नुपर्छ,

समृद्धिका नारा लाए एक भई चुट्नुपर्छ।

बन्छ कहाँ समाज यो अनि सिंगो राष्ट्र?

अघोषित सिद्धान्त नै सकेजति लुट्नुपर्छ।

५.मुक्तक

मर्दो न जिउँदो निर्वाचित जनसत्ता छ,

जनताको जीवनमाथि ख्यालठट्टा छ।

उल्टो लोप्पा खाँदैछ अभागी जनता,

देखिन्न लोकतन्त्र, खै कहाँ बेपत्ता छ?

प्रकाशित: ५ फाल्गुन २०७९ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App