कांग्रेस नेता राहुल गान्धीसहित विपक्षी दलका नेताहरूले अमेरिकी यौन अपराधी जेफ्री एपस्टाइनसँग भारतका केन्द्रीय मन्त्री हरदीप सिंह पुरीका तस्बिर सार्वजनिक भएपछि सरकारसँग जवाफ मागेका छन्।
विपक्षी नेताहरूले पुरी र एपस्टाइनबिचको भेटघाटको उद्देश्यबारे प्रश्न उठाउँदै सरकारले यस विषयमा स्पष्ट पार्नुपर्ने बताएका हुन्।
राहुलले बुधबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘रुबियो मुम्बई पुग्छन्। अमेरिकी न्याय विभागले एपस्टाइन र पुरीको तस्बिर सार्वजनिक गर्छ। भाजपा र आरएसएसका कार्यकर्तालाई के लाग्छ, उनीहरूले कुन देशविरोधी गद्दारलाई ब्ल्याकमेल गरिरहेका छन्?’
कांग्रेस महासचिव केसी वेणुगोपालले पुरीको एपस्टाइनसँगको कथित सम्बन्धबारे प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार मौन बसेको भन्दै आलोचना गरेका छन्। उनले पुरीमाथि लागेका आरोपबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन्। उनका अनुसार यस्तो विषयमा सरकारको मौनताले मन्त्रीविरुद्ध उठेका प्रश्नलाई थप गम्भीर बनाएको छ।
कांग्रेस प्रवक्ता पवन खेराले अमेरिकी न्याय विभागका कागजात उद्धृत गर्दै सन् २०१४ देखि २०१७ सम्म पुरी र एपस्टाइनबिच ६२ वटा इमेल आदानप्रदान भएको र उनीहरूबिच १४ पटक भेट भएको दाबी गरे। उनले सार्वजनिक भएका तस्बिरले पुरीले यसअघि दिएको स्पष्टीकरणमाथि थप प्रश्न उठाएको बताए।
कांग्रेसकी सामाजिक सञ्जाल प्रमुख सुप्रिया श्रीनेतले पनि पुरीको पुरानो स्पष्टीकरण र सार्वजनिक भएका तस्बिरबारे प्रश्न उठाएकी छन्। विपक्षी नेताहरूले पुरीले एपस्टाइनसँगको भेटबारे पहिले दिएको विवरण र अहिले सार्वजनिक भएका सामग्रीबिच के सम्बन्ध छ भन्ने स्पष्ट पार्न माग गरेका हुन्।
शिव सेना (यूबीटी) का नेता संजय राउतले पनि पुरीले एपस्टाइनलाई भेट्दा कसको सन्देश बोकेका थिए भन्दै प्रश्न गरेका छन्। उनले प्रधानमन्त्री मोदीको तर्फबाट कुनै सन्देश लगिएको थियो कि थिएन भन्ने प्रश्नसमेत उठाए।
राष्ट्रवादी कांग्रेस पार्टी (शरदचन्द्र पवार) का प्रवक्ता अनिश गावन्डेले पुरीसँग भेटको उद्देश्य र त्यसक्रममा भएका छलफलका विषयबारे स्पष्टीकरण मागेका छन्। वरिष्ठ अधिवक्ता प्रशान्त भूषण र कांग्रेस नेतृ अलका लाम्बाले पनि यस विषयमा प्रश्न उठाइन्।
यसअघि पुरीले राहुल गान्धीले लगाएका आरोप अस्वीकार गर्दै एपस्टाइनलाई सन् २००९ देखि २०१७ सम्म नौ वर्षको अवधिमा तीन वा चार पटक भेटेको बताएका थिए।
उनका अनुसार ती भेट अन्तर्राष्ट्रिय शान्ति संस्थानसँग सम्बन्धित व्यावसायिक कामका क्रममा भएका थिए। उनले लिंक्डइनका संस्थापक रीड हफम्यानसँग सम्बन्धित कामका सिलसिलामा एपस्टाइनसँग सम्पर्क भएको र उनीसँग आफ्नो कुनै स्वतन्त्र बैठक नभएको बताएका थिए।
प्रकाशित: ४ कार्तिक २०८३ २२:४२ बुधबार





