कथाकार शोभा ज्ञवालीको दोस्रो कथासंग्रह ‘संघर्ष’ मंगलबार लोकार्पण गरिएको छ। उनको पहिलो कथासंग्रह ‘सम्पूर्ण आकाश’ प्रकाशित भइसकेको छ।
‘संघर्ष’ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्राध्यापक डा. ज्ञानु पाण्डे, माइती नेपालका अध्यक्ष अनुराधा कोइराला, साहित्यकार डा. नवराज लम्साल, समाजसेवी डा. माला खरेलबाट मंगलबार सामूहिक रूपमा लोकार्पण गरिएको हो। सो अवसरमा बोल्दै कथाकार ज्ञवालीले समाजको विभिन्न क्षेत्रमा रहेका नारी पात्रका समस्या र संघर्ष कथामा समेटिएको बताइन्। ‘‘विभिन्न ठाउँमा घुम्ने क्रममा मेचीदेखि महाकालीसम्मका महिलाहरूले नेपाली समाजमा भोग्नु परेको असमानता, विभेदका विषयलाई समेटेकी छु, कथामा नारी आफैंले संघर्षवाट नेतृत्व प्राप्त गर्न सक्छन् भन्ने मेरो बुझाइ हो,’ ज्ञवालीले भनिन्।
नेपाल रिपब्लिक मिडियाकी प्रमुख कार्यकारी समृद्धि ज्ञवालीले आमा शोभाले कथा लेखनका लागि व्यस्तताबीच समय निकालेको बताइन्। कथामा नेपाली समाजमा देखे भोगेका अनुभवलाई पुस्तकमा समेटेको बताइन्। ‘उहाँको कार्यको धैर्य मेरो निम्ति प्रेरक छ र अघि बढ्नको बलियो आधार बनेको छ,’ उनले भनिन्।
कथाका टिप्पणीकर्ता साहित्यकार लम्सालले ‘संघर्ष’ कथास्रंगह र ज्ञवालीको लेखन नेपाली साहित्यको इतिहासमा नयाँ मोडको रूप हुन सक्ने संकेत गरे। ‘कथा लेखनको सयौं वर्षको इतिहासमा ज्ञवालीका कथा लेखनमा ‘टर्निङ प्वाइन्ट’ हुन सक्छ,’ उनले भने। सबैजसो कथाले आजको नारी समावेशीभन्दा पनि नेतृत्व तहमा पुग्नुपर्ने विषयलाई प्रभावकारी रूपमा उठाएको लम्सालले बताए।
‘काल्पनिक शैलीभन्दा पनि प्रत्यक्ष भेटेका पात्रका कथा बढी समेटिएको हुनाले भिन्न शैली भेटिन्छ,’ लम्सालले भने। कथामा नारी संघर्ष, ऊर्जाको सन्देश भरिएको लम्सालको टिप्पणी थियो। ‘कथामा नारीको लागि ऊर्जाको क्याप्सुल भेटिन्छ,’ उनले भने। एउटी सक्षम नारी भएर पनि कथामा आमा, बुहारी, छोरी पात्र भएर लेखन रहेको बताए। सरल भाषा, नयाँ विषयवस्तु कथाको रोचक पक्ष रहेको उनले आंैल्याए।
प्राध्यापक डा. ज्ञानु पाण्डेले समालोचना गर्दै कथामा समाजको नारी समस्या, संघर्ष, असमानताको उजागार हुनु सवल पक्ष रहेको बताइन्। तर कथाको परम्परागत शैलीलाई तोड्नको लागि नारीमाथि विभेद गर्ने, अपराध गर्न पुग्ने पुरुष पात्रभित्र लुकेका सामाजिक, आर्थिक संरचनाको भूमिकाको पक्षलाई उजागार हुन नसकेको बताइन्। ‘समाजमा पुरुष पात्रले नारी माथि किन अपराध गर्छ ? किन विभेद गर्छ ? आफैंले गरेको विभेदी व्यवहारले पुरुष पात्रभित्र उब्जिने मनोदशा, सामाजिक बाधा, उत्प्रेरणा जस्ता पक्षलाई उजागार गरी अबको कथा लेखिनुपर्छ,’ पाण्डेले भनिन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कथाहरू महिला केन्द्रित र निजात्मक शैलीमा रहेको बताए। यथार्थवादी, समसामयिक विषय समेटिएकाले कथा पाठकको आकर्षण पक्ष रहेको उनले बताए। कथाले नारी समस्या र संघर्षको विषयलाई उठान गरेको भए पनि समाधानको अन्य समाधानको बाटो उल्लेख गर्न छुटाएको बताए। ‘नारीमाथिको कुनै पनि विभेदको अन्त्य गर्न राजनीतिक तथा आर्थिक अधिकार सुनिश्चत नभएसम्म समस्या सकिँदैन,’ डा. भट्टराईले भने।
कार्यक्रमकी अतिथि अनुराधा कोइरालाले कथाका पात्र खोज्न ज्ञवाली माइती नेपालको सम्पर्कमा पुगेको स्मरण गरिन्। कथाका पात्रजस्तै अहिले पनि नेपाली समाजमा महिला र बालिकामाथिको बलात्कार, वेचबिखन नयाँ स्वरूपमा फस्टाएको बताइन्। ‘अहिले आन्तरिक बेचबिखन पनि मौलाएको छ। यी विषयमा नेताले कडा कदम चाल्दैनन्,’ उनले भनिन्। आफ्नो जन्मदिनकै दिन ज्ञवालीको पुस्तक लोकार्पण भएको हो। कार्यक्रममा मुख्य टिप्पणीकर्ता लम्सालले कथा लेखनका विभिन्न पक्षमा कथाकार ज्ञवालीलाई प्रश्न सोधेका थिए।
प्रकाशित: ३ फाल्गुन २०७९ ०२:२८ बुधबार