१७ असार २०८१ सोमबार
image/svg+xml
कला

बालसाहित्य महोत्सव सम्पन्न

अक्षरा स्कुलले आयोजना गरेको दोस्रो अक्षरा बालसाहित्य महोत्सव सम्पन्न भएको छ। उपत्यकाका सरकारी तथा संस्थागत गरी २५ भन्दा बढी विद्यालय र चार हजारभन्दा बढी अभिभावक बिच विभिन्न कार्यक्रम गरी अक्षरा स्कुलले साहित्य महोत्सव गरेको हो।

महोत्सवमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बालबालिकालाई विद्यालय तहदेखि नै साहित्यको ज्ञान दिनु निकै अर्थपूर्ण भएको बताए। उनले साहित्य विधा आफैंमा महत्त्वपूर्ण भएकाले हरेक व्यक्ति साहित्यकार बन्न सक्ने बताए। उनले भने, ‘हरेक मान्छे साहित्यकार बन्न सक्छ, यदि मनमा खेलेका कुरा काँटछाँट गरेर प्रस्तुत गर्ने अभ्यास गर्न सकेमा साहित्य जटिल विषय होइन। यसका विभिन्न फरक विधामा अभ्यास हुन जरुरी छ।’

बालबालिकामा पठन संस्कृतिको विकास र विशेषगरी साहित्यमा ज्ञान अभिवृद्धिका लागि आयोजित महोत्सवमा विद्यार्थी र शिक्षकलाई भाषा शिक्षण, लेखन सीप, रेडियो नाटक, पुस्तकको आवरण चित्र, लेखक अध्ययन, पात्र चित्रण लगायत विभिन्न शीर्षकमा साहित्यसम्बन्धी कार्यशाला गरिएको हो। साथै महोत्सवको बन्द सत्रमा विभिन्न विद्यालयका विद्यार्थीलाई कक्षामा पाठ्यपुस्तकसँगै साहित्यका पुस्तक रमाइलो र अर्थपूर्ण तरीकाले कसरी शिक्षण गर्ने विषयमा अन्तरक्रिया गरिएको हो।

बालबालिकामा निर्धारित पाठ्युपुस्तकबाहेक पठन संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा लेखक नीलम कार्की निहारिका र बुद्धिसागरसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा बल्दै लेखकद्वयले व्यावहारिक ज्ञानका लागि पाठ्यक्रम बाहिरका पुस्तक बढी आवश्यक भएको बताए। उनीहरूले बालबालिकालाई विद्यालयमै विविध विषयमा आधारभूत ज्ञान दिनु आवश्यक भए पनि हालसम्म बाल तथा किशोर साहित्यसम्बन्धी साम्रगी सहज उपलब्ध नहुनु दुःखद् रहेको बताए।

विद्यालयबाटै संस्कारयुक्त शिक्षाको अभ्यास गरिरहेको अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले बाल साहित्य महोत्सवको माध्यमबाट बालबालिकामा पठन संस्कृतिको विकास गर्न सकिने बताइन्। रासस  

प्रकाशित: १ फाल्गुन २०७९ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App