१५ आश्विन २०७७ बिहीबार
कला

‘जरा'मा नरेन्द्रका अनमोल कला

काठमाडौं- खोलाकिनार, बागबगैंचा वा सडक। नरेन्द्रबहादुर श्रेष्ठले यत्रतत्र रुखका जरा फेला पारे। बाढीको राप। घामको ताप। पानीको चाप। मान्छेको जीवन र मृत्यु झल्काउदै राष्ट्रकवि माधवप्रसाद घिमिरेले श्रेष्ठले बनाएको चितामा जल्दै गरेको मूर्तीबारे यसरी लेखेका छन्।

तिम्रो अन्तिमको सिंगार संगिनी

‘कात्रो' कसोरी भनु

तिम्रो निम्ति दिईन्छ पात्र जुन

त्यो ‘टिलो' कसरी भनु

गाली होईन ,किन्तु भन्नु कसरी

यो अन्न ‘बुर्की ' भनी

‘मुर्दार्नी' कसरी भनु

जुन तिमी मेरी थियौ जीवनी

अर्को एउटा जरा हेर्दा जीवनको आँधीबेहरी खपिसकेको वृद्ध जस्तो देखिन्थ्यो। काप कापमा बगरे ढुंगा खाँदिएका। नआईदिए हुन्थ्यो भन्दा पनि वृद्ध अनुहारमा अचानक आइदिएका चाउरी जस्ता।

हातले मुसार्दै उनले उनले घर पुर्याए। एकदिन दुईदिन गर्दागर्दै उनले खंग्रग परेको जरामा कला भरे। अनि बन्यो गजेन्द्रमोक्ष। कविता सहितको पहिचान जराले पायो। गोही राक्षसले भगवानप्रति आस्था राख्ने हात्तीमार्न खोजिरहेको दृष्य छ। हात्ती जोगाउन विष्णु देव गरुड चढेर आउँछन्। त्यो जरामै प्रतिबिम्बित छ।

दुबै हात नभएकी एउटी महिला आफ्नो प्रिय बालकलाई खुट्टाले च्यापेर माया दर्शाउछिन्। जसको मन पनि हर्न सक्छ। त्यो मूर्ती हेर्नासाथ हरेकले मातृवात्सल्य अनुभुत गर्छ। उषा शेरचन मूर्ती बनेर बोल्छिन्।

तिमीलाई जन्माउनुको अर्थ

आफैले आफूलाई पाउनु पनि हो

मेरै रगतले बन्छौ तिमी

र त हाम्रो नाता यति प्रगाढ छ...

महसुस नै गर्न सकिने एउटा जरासँग नरेन्द्रबहादुरले सामिप्यता कसेको ४२ वर्ष भैसक्यो। एउटा हात र एउटा खुट्टा नभएको व्यक्तिजस्तो देखिन्छ त्यो जरामूर्ती। तर सबैमा संघर्ष गराउन सिकाउँदछ्। कस्तो खस्रो थियो यो जरा नरेन्द्रबहादुर सम्झन्छन् मैले माया गर्दा गर्दै निकै चिल्लो भैसक्यो अब त मेरोभन्दा उसैको माया बढी लाग्छ मलाई। कलाकार अषेश मल्लले त उसका बारेमा कविता नै कोरेका छन्।

धर्तीमै कतै फालिएको एउटा

मूर्दा मृत्यु सडेर माटोमै विलाउन लागेको थिएँ

ए नरेन्द्र

तिमीले त आकार दियौ

परिचय दियौ

र मेरो मृत्युलाई ब्यूँताएर

जीवन दियौ...

आई लभ यु नरेन ...

अर्को एउटा मूर्ती जसमा बाँदरले भन्छ मान्छेका हातमा नरिबल। मूर्ति अनुसार नै रमण घिमिरेले कविता कोरेका छन्।

कुनै समय त्यो मेरो हातमा थियो

मेरो हातमा त्यो सुरक्षित थियो

एक दिन ६ सय एकको जुलुस आयो

जुलुसका मानिसले भने– बाँदरको हातमा नरिबल!

यसरी उनका निर्जीव जराका मूर्तिहरू सजीव भएका छन्। एउटा पहिचानसँगै ती जीवन्त भएका छन्। 'मेरो ४२ वर्षको सिर्जना हुन्,' श्रेष्ठ भन्छन्, 'एउटा साधना जुन माया गर्दागर्दै पलायो।'

उनले भने झै ति रुखका मिल्किएका जरामा उनले न कुनै महंगा रंग भरे। न कुनै महंगो रोगनले सिंगारे। छालाका जुत्तामा लगाउने काला र खैरा पालिस लगाउँदै घाममा सुकाए। हातले मुसारे। माया गरे। फोहर सफा गरिदिए। अकार दिएर। अनि टलक्क टल्किदै आयो। त्यसमाथी ३४ जना कविले कविता लेखेरै पहिचान कोरिदिए।

‘चिरा परेका भित्ता हेरेर म कवि कलाकार भए'ँ ,नेपाल कला परिषदमा चलिरहेको उनकोे कला प्रदर्शनीको भित्तामा कोरिएका छन्। उनले भने झै गाउँघरको माटो, भुस, गोबरको लिउन लाएर पोतिएको भित्ता सुकेपछि चर्चर चिरिन्छ। त्यही भित्तापटि्ट फर्केर निदाउन खोज्दा खोज्दै उनमा अनगिन्ती कल्पनाहरु भरिन्छन। बरालिदा बरालिदै उनी ति कल्पनाहरु निर्जीव जरामा पोख्न पुग्छन्। ‘प्रकृती र मेरो सहकार्य हो मेरो कला', उनी भन्छन् ,‘आधा उसैले बनायो आधा मैले प्राण भरे यसको कुनै मूल्य छैन अनमोल छ।' नरेन्द्रबहादुर श्रेष्ठको दृष्टीकोण ,जरामा अर्थ खोज्दै शिर्षकमा कला प्रदर्शनी आईतबारदेखि शुरु भएको हो। यसअघि उनले सामुहिक कला प्रदर्शनीमा सहभागिता जनाएपनि एकल प्रदर्शनी भने पहिलो हो।

अनमोल काठ्यकला उनी बिक्रि गर्न चाँहदैनन्। सरकारले संरक्षण गर्छ भने दिने तर बिक्रि गरेर विदेशीको घरमा नपुर्याउने उनी बताउँन्। उनका छोरा निश्चल बहादुर श्रेष्ठ बुबाको कला जोगाउन आफै संग्रहालय खोल्ने उल्लेख गर्छन्। चारदिनमा झण्डै पन्द्रसय जनाले अवलोकन गरिसकेको छ कला प्रदर्शनी। श्रेष्ठ बागमती नदी सरसफाईका अभियन्ता समेत हुन्। ‘रुखका फल मिठो हुन्छ,यसका हाँगाविंगा पनि काम लाग्छन् तर जरा फालिन्छन्,' प्रशसंक शिक्षक ,‘देवी घिमिरेले भने जरा पनि काम लाग्छ भन्ने सन्देश दिन्छ उहाँका कलाले।'

बुधबार कला प्रदर्शनी हेर्न आएकी कक्षा नौ कि विद्यार्थी विज्ञता कार्कीलाई श्रेष्ठका कलाले निकै छोयो। ‘कन्सेप्ट नै राम्रो छ,' उनले भनिन् ,‘मूर्ती बनेका मात्र हैन आफै बोल्छन्।' कुनै वस्तु हेरेर कविता कोर्नु सहज हुन्छ। तर आफै कथा बनाएपछि मुर्ती बनाउनु निकै कठिन काम भएको हेर्न आउनेहरु सुनाउँछन्।

प्रकाशित: ६ आश्विन २०७३ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App