१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

रोम इतिहास उधिन्ने मनोवैज्ञानिक कृति

मेरो हातमा एउटा उपन्यास छ। पढिसकेपछि ओल्टाइपल्टाई हेरिरहेको छु। शीर्षक छ–प्रतिशोध। कसको र कस्तो प्रतिशोध? यो निकै रोचक किस्सा छ।  

विश्व साहित्य मेरो रुचिको विषय हो। विश्वको राजनीति र घटनाक्रम पनि मलाई मन पर्छन् र प्रायः फुर्सदमा तिनलाई पछ्याइरहेको हुन्छु। राजनीतिमा प्रायः व्यक्तिहत्या भइरहेका हुन्छन्। ती हत्याले देश वा साम्राज्यको बाटो नै परिवर्तन गरिदिन्छन्। तिनै मध्येको एउटा घटना थियो, संसद्को भव्य भवनभित्रै सम्मानित एक शासकको हत्या ! र, त्यो ईशापूर्व ४४ मार्च १५ मा भएको थियो र मारिनेमा जुलियस सिजर थिए।  

त्यो बेला रोमन साम्राज्यका विभिन्न ठाउँमा विद्रोह भइरहेका थिए। तिनै विद्रोहको ओट लागेर जुलियस सिजरले आफूलाई सर्वेसर्वा घोषित गरे। आफूलाई सम्राट बनाए। यसबाट सिनेट (संसद्)का केही सदस्यलाई चित्त बुझेको थिएन। असन्तुष्ट २२ भाइले जुलियस सिजरका विभिन्न घोषणालाई लिएर विरोध पनि जनाएका थिए। तीमध्ये कतिपयलाई सिजरले लोभ देखाएका थिए, कतिलाई धन देखाएका थिए, कतिलाई पदबाट पुरस्कृत गरेका थिए।

विरोधीमध्ये केहीका लागि न पद चाहिएको थियो न त पैसा। उनीहरूको धारणा थियो– रोम साम्राज्यले कानुन बनाएर कुनै एक व्यक्तिलाई शक्तिशाली बनाउनुहुँदैन। रोम गणतन्त्रको नमुना बन्नुपर्छ। उसले आफूलाई सामूहिक शासनको नमुनाका रूपमा उभ्याउनुपर्छ।  

जुलियस सिजर सर्वसाधारणमाँझ निकै लोकप्रिय थिए। लोकप्रियताको आडमा उनले आफूलाई दह्रो बनाउन अनेक नियमकानुन बनाउँदै थप शक्तिशाली बनाइरहे। एकपछि अर्को खुड्किलोमा टेक्दै अघि बढ्दै जाँदा सत्तामा रहने आकाङ्क्षा राख्ने इतर समूहलाई ठुलै झड्का पर्ने नै भयो। त्यसमाथि सत्तामा सधैं दुई पक्षको झगडा परिरहन्छ। एउटा वर्ग लोकप्रियताको आडमा आएको हुन्छ। त्यसलाई कुलीन वर्गले उति ठिक मान्दैन। कुलीन वर्गले आफ्ना पितापुर्खाले देशका लागि गरेको संघर्षको बाजा बजाइरहन्छ।  

यहाँ पनि त्यस्तै भएको छ। जुलियस सिजरको हत्याको मुख्य योजनाकार ब्रुटस कुलीन परिवारबाट राजनीतिमा आएको प्रतिभाशाली युवा हो। उसलाई लाग्छ–यो देश र साम्राज्य बनाउन उसका पितापुर्खाले गरेको योगदानका कारण यसलाई सजाउने, सही दिशा दिलाउने उसको जिम्मेवारी हो। यस्तो धारणा राख्नेहरूको ऊ अगुवा हो। ऊसँगै एक दर्जन सांसदले त संसद्मा जुलियस सिजरलाई छुरा नै घोपे, धक्कमधक्का लगाए वा मृत शरीरलाई लात हाने।  

ब्रुटसलाई लाग्थ्यो–उसको लोकप्रियता र उसका पुर्खाको योगदानका कारण सिजरको हत्यालाई जायज ठहराइने छ। उसले बोकेको उद्देश्यलाई सर्वसाधारणले उचित ठह¥याउने छन् र एक समय उसलाई सत्तामा उभ्याइने छ। उसले गलत बाटो लिएको सिजरको नीतिलाई सही ठाउँमा ल्याउने छ।  

तर सबैले सोचेको सधैं सही हुन्छ भन्ने छैन। ब्रुटसले सोचेजस्तो मानिसहरू उसलाई सत्तामा स्थापित गर्न सडकमा ओर्लिएनन्। बरु सिजरको हत्या भएपछि सर्वसाधारणहरू भड्किए। सिजरको लोकप्रियता यति थियो कि पछि उसको नाममा मन्दिरसमेत बनाइयो। यस्तोमा ब्रुटस सधैं लुकीलुकी हिँड्नुपर्यो।  

ब्रुटसको यस्तो अवस्था ल्याउनमा सिजरले छोराका रूपमा काख लिएको अक्टेभियनले कसरी काम गर्छ भन्नेबारे यो उपन्यास बुनिएको छ। र,यसैमा मजा छ।  

रोमको त्यो समयमा आफ्नो सम्पत्तिको रक्षा गर्ने कुनै गतिलो सन्तान भएको खण्डमा सम्पत्तिवालले एउटा आफन्तलाई गोद लिन्थ्यो। जुलियस सिजरको छोरो थिएन। एउटी छोरी अक्टेभिया थिई र उही छोरीको कोखबाट जन्मिएको अक्टेभियनलाई जुलियस सिजरले आफ्नो सारा सम्पत्तिको रक्षक वा भविष्यमा सत्ता सञ्चालन गर्नुपरे सोही कार्यका लागि तयार गरिरहेको थियो।  

आफ्नो हत्या जुनसुकै बेला पनि हुने आशंकाका कारण पहिलेदेखि नै सिजरले आफ्नो वसियत बनाएका थिए। सो वसियतमा युद्धमा निकै नाम बनाएको मार्क एन्टोनी नामक सेनापतिलाई आफ्नो कुनै पनि अंश छुट्टयाइएको थिएन। यसबाट एन्टोनी निकै क्रुद्ध थियो। एउटा १८ वर्षे केटाका लागि सारा कुरा छाडेकामा ऊ विक्षिप्त थियो। मार्क एन्टोनीले आफूलाई सिजरको स्वाभाविक उत्तराधिकार ठानिरहेको थियो तर कतिपय अवस्थामा सम्बन्ध ठुलो कुरा होइन, रगत ठुलो कुरा बन्न पुग्छ।  

१८ वर्षे युवक अक्टेभियनका लागि अब रोम उभ्याउने इतिहासका आधारशीलाका ठुला अनुहार ब्रुटस परिवार र तिनका समर्थकसँगै मार्क एन्टोनीजस्तो कुशल सैन्य रणनीतिज्ञसँग दुई धारमा जुध्नु थियो। यो जुधाइलाई अक्टेभियनले सफलतापूर्वक कसरी सम्पादन गर्न सक्छ भन्ने जिज्ञासा नै यो उपन्यासको मूल विषय हो।  

युद्धमा साम, दान, दण्ड, भेदको उपयोग कसरी हुन्छ? सर्वसाधारणको मनोविज्ञानमाथि कसरी खेल्ने? व्यक्तिका लागि उमेर ठुलो कुरा हो कि उसले बोकेको उद्देश्य र सो उद्देश्य पूर्तिका लागि गरिने कार्य ठूलो हो? यस्ता कयौं कुरामा उपन्यासले ध्यानाकर्षण गराएको छ।  

नेपाली पाठकका लागि जुलियस सिजर बिल्कुल नौलो पात्र हो। ऊ एउटा सेनाको पृष्ठभूमिबाट एउटा सर्वेसर्वा तानाशाहसम्म भएको कथा निकै रोचक कथा हो। उसको जीवनकथामाथि अनेकन् फिल्महरू, टेलिभिजन शृंखला र उपन्यासहरू लेखिएका छन्। तर ती नेपाली भाषामा अप्राप्य छन्। यस हिसाबले जुलियस सिजर नेपालीका लागि बिल्कुलै नौला पात्र हुन्। उनका बारेमा हामीले जे जति जानकारी पाउने गरेका छौं, ती सबै विदेशी भाषामा छन्। तिनले हाम्रो इतिहासको भोक मेट्न सकिरहेका छैनन्। यो उपन्यासले त्यो भोक अझ तीव्रतम बनाएको छ। हामीले प्रयोग गरिरहेको जुलियन क्यालेन्डर जुलियस सिजरकै नाउँबाट आएको हो। यो क्यालेन्डरमा अक्टेभियन सम्राट बनेपछि दुई महिना थपेर जुलाई र अगस्त थपेको थियो। यसबाहेक हामीले प्रयोग गरिरहेका स्तरीय सडक, त्यो बनाउने विधिजस्ता कुरा कतिपय हाम्रा स्थानीय ज्ञान होलान् तर रोमनहरूको भव्य सडक, भव्य अट्टालिकालगायतका चिजहरू हेरेर पछिका सभ्यताले धेरै कुरा सिके। सिकेका कुरालाई परिमार्जन गरे। खासगरी रोमन निर्माण शैलीलाई परिष्कृत गर्दै इस्लामिक सभ्यताले अझ सुन्दर ज्ञान, निर्माण शैली उभ्यायो। तिनको प्रभावपछि पुनर्जागरण कालमा युरोपेली मुलुकहरूले अँगाले र नयाँ सभ्यता गढे। त्यहीं नयाँ सभ्यतालाई हामीले पश्चिमा सभ्यताका रूपमा चिन्ने गरेका छौं, तिनलाई पढ्ने गरेका छौं।  

अमेरिकाको संसद्लाई क्यापिटल हिल नामकरण गरिएको छ। यो रोमन गणतन्त्रवादीहरू लुक्ने ठाउँको प्रतीक हो। यस्ता अनेकन प्रभाव राजनीति, विकास र जनजीवनमा रोमको इतिहासले छाडेर गएको छ। त्यसैले यस्ता गहिरो प्रभाव पार्ने विषयलाई सरल, सहज, बोधगम्य र कथानक शैलीमा पस्किँदा सर्वसाधारणलाई बुझ्न सजिलो हुन्छ। लेखक विद्यासागर घिमिरेले ऐतिहासिक घटनालाई सरल उपन्यासको रूप दिएर त्यो बेलाको संस्कृति, जीवनशैली, जनजीविकाको अवस्था, रोमको आन्तरिक र बाह्य समस्याजस्ता कुरालाई सुबोध्य पुस्तक तयार परेका छन्। यसका लागि उनी स्तुत्य छन्। यसको अर्थ, उपन्यासमा कमजोरी नभएको भने होइन। ४८० पृष्ठको उपन्यासलाई छोटाछोटा खण्डमा बाँड्न सकिन्थ्यो। पृष्ठ संख्या घटाउन सकिन्थ्यो। यतिमात्र होइन, कयौं अनावश्यक व्याख्यालाई छोट्याउन पनि सकिन्थ्यो।  

यसका अतिरिक्त उपन्यासमा अक्टेभियन पात्र निरीह हो, उसले शक्ति आर्जन गर्न गरेको मिहिनेतको व्याख्या अलि कमजोर प्रतीत हुन्छ। अक्टेभियनले आफूलाई दैवीय शक्तियुक्त भएको प्रमाणित गरेर अरूको ध्यानाकर्षण गरेको प्रसंगजस्ता केही कुराले उपन्यासलाई कतै कमजोर त बनाएको छैन भन्ने जिज्ञासा उठ्छ।  

उपन्यासमा एन्टोनी, ब्रुटस, सिसेरोजस्ता निकै शक्तिशाली पात्रहरू छन्। तीमध्ये एन्टोनीको व्यक्तित्व जसरी खुलेर आएको छ, ब्रुटसको आएको छैन। उसको परिवारको ऐतिहासिक महानतालाई अझ प्रस्टसँग खुलाएको भए, ब्रुटसको उद्देश्य गलत थिएन तर तरिका गलत हुँदाको परिणाम उसको पतन भयो भन्न सहज हुने थियो। यस्तै उपन्यासमा अर्को महत्वपूर्ण पात्र त्यस बेलाका विद्वान सिसेरोको प्रसंग अझ रोचक छ।  

राजनीति गर्न विद्वानका लागि कत्तिको सहज वा असहज हुन्छ भन्ने उदाहरण उपन्यासमा सिसेरोमार्फत प्रमाणित गर्ने यहाँ गजबको अवसर छ। जसरी नेपालमा विद्वान् ठानिएका प्रदीप गिरि तथा घनश्याम भुसालहरूका लागि सत्तायात्रा कहिले पनि सहज बनेन। उनीहरूका भाषण मात्र सधैं सुन्दर र पार्टीका लागि गहना बने। रोमन राजनीतिमा पनि सिसेरोका लागि पनि त्यस्तै अवस्था भएको बुझिन्छ तर उपन्यासमा उनको सत्तायात्राका बारेमा निकै कम शब्द खर्चिएको छ। सम्भवतः रोमन ट्रियोलजी उपन्यास लेखियो भने सबैभन्दा सुन्दर चरित्र सिसेरो नै हुन सक्ला।  

यो उपन्यास डेभिड एन्ड गोलिथ उपाख्यानको एउटा राम्रो उदाहरण हो। बाइबलमा एउटा निकै सुन्दर कथा छ। जसमा डेभिड नामक बच्चाले गोलिथ नामक ज्यादै खतरनाक रोमन सेनापतिलाई सोच्दै नसोचेको पराजय चखाउँछ। त्यसैगरी अक्टेभियनले सत्ताका सबैभन्दा शक्तिशाली व्यक्तिहरूलाई सोच्दै नसोचेको पराजय चखाउँछ। 

उपन्यासको नाम ‘प्रतिशोध’ राख्नु जायज छ किनभने आफूलाई जुलियस सिजरले जुन विश्वासका साथ पालेको थियो, त्यसको तिरो प्रतिशोध लिएर नै तिर्न सकिन्थ्यो। यो त्यो बेलाको युद्ध नियमअनुसारकै पनि थियो। ‘आँखाको बदला आँखा, टाउकाको बदला टाउको’को युग थियो त्यो। शीर्षकमा रोमन इतिहास झल्काउने केही ट्यागलाइन भइदिएको भए अझ सुन्दर हुने थियो।  

समग्रमा यो उपन्यासले त्यो बेलाको रोमको सत्ता र शक्ति संघर्षलाई बुझाउने सुन्दर प्रयास गरेको छ। सत्ताको चरित्र बुझ्न पनि यसले सघाउ पुर्याउँछ।

प्रकाशित: २८ माघ २०७९ ०१:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App